
काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को मुख्य कलाकार परिवर्तन भएको छ । ‘आमा’को मुख्य कलाकारका रुपमा रहेकी सुर्यमाला शर्मा परिवर्तन भएकी हुन् । सुर्यमालाको ठाउँमा मिथिला शर्मा आएकी छन् ।
पारिवारिक कारणले सुर्यमालाले काम गर्न नसक्ने भएपछि उनको ठाउँमा मिथिला शर्मा आइपुगेकी हुन् । “मेरो यो (आमा) चलचित्र पानी परेका बेला खिच्ने सिन मात्रै छ । त्यसैले जहिले जतिबेला पानी पर्छ त्यहीबेला खिच्नुपर्छ । त्यसैले यो चलचित्रका लागि कलाकार तथा प्राविधिक जुनसुकै बेला पनि उपलब्ध हुनुपर्छ,” निर्देशक दीपेन्द्र के खनाल बाह्रखरीसँग भन्छन्, “सायद म जसरी कुनै पनि सम्झौता नगरी यो चलचित्र बनाउन खोजिरहेको छु, यसमा उहाँले सम्झौता गर्न सक्नु पनि भएन होला । अर्को कुरा उहाँ पारिवारिक कारणले अमेरिका जानै पर्ने भएछ । चलचित्र कि परिवार भन्दा उहाँले परिवार रोज्नु पर्ने भयो ।”
निर्देशक दीपेन्द्र केले आफू ‘आमा’का निर्माणमा कुनै पनि सम्झौता नगर्ने बताए । तीन वर्ष लागे पनि पानी परेकै बेला ‘आमा’को छायांकन गर्ने उनी बताउँछन् । नेपाली चलचित्रकर्मीमा धैर्यता कमै रहेको उनी बताउँछन् । राम्रो काम कसरी गर्नेभन्दा पनि छिटो कसरी गर्ने भन्नेमा केन्द्रित हुन अपेक्षित सफलता हाँसिल गर्न नसकिएको उनको भनाइ छ ।
“कलाकार मात्रै होइन, प्राविधिक पनि छट्पटाइरहनु भएको छ । तर, मैले सम्झौता नगरी पारिश्रमिक दिएकाले हतार गर्नु पर्दैन भनेर सम्झाइरहेको छु” निर्देशक दीपेन्द्र के भन्छन्, “दुई तीन जति वर्ष लागोस् तर म यो चलचित्र निर्माणमा कुनै पनि सम्झौता गर्ने पक्षमा छैन ।”
मिथिलासँगै चलचित्र ‘आमा’मा सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । सोलस ड्रामा ‘आमा’ आफ्नो करिअरकै कोषे ढुङ्गा हुने निर्देशक खनाल बताउँछन् ।
चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहने छ । ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।