site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीतलनिवासको कमोडमा नाच्‍ने पालो कुर्दा ...
SkywellSkywell

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण शुक्रबार बिहानैबाट जनधनको क्षतिका समाचारहरु अनलाइन, रेडियो तथा टेलिभिजनहरुमा आउन थालेका थिए । अपरान्हसम्म देशभर करिब १७ जनाको ज्यान गइसकेको थियो । त्यति नै संख्यामा बाढी र पहिरोमा परी बेपत्ता भएको तथा घाइते भएको खबरहरु आइरहेका थिए । 

झरी एकतमासले दर्किरहेका बेला महाराजगन्जस्थित शीतल निवास (राष्ट्रपतिको सरकारी निवास) मा भने छुट्टै तामझाम थियो । तीन वर्षदेखि रोकिएको राष्ट्रिय चलचिचित्र अवार्ड बाँड्ने कार्यक्रम थियो । पूर्व निर्धारित कार्यक्रम भएकाले त्यो अस्वाभाविक पनि थिएन । चलचित्रकर्मीहरुको भीड थियो । राष्ट्रपति प्रमुख अतिथि थिइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि उपस्थित थिए । 

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरु समेटेर तयार पारिएको नृत्य प्रस्तुत गरियो । प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरु संलग्न थिए । अभिनेता तथा अभिनेत्रीहरु सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दीलिप रायामाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत नृत्यमा सहभागी थिए । 

KFC Island Ad
NIC Asia

नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्द प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए ।  

कार्यक्रम भव्य देखिन्थ्यो । अवार्ड जित्ने चलचित्रकर्मीको मुहारमा खुसीको आभा देखिने नै भयो । अवार्ड जित्ने चलचित्रसँग जोडिएका व्यक्तिको मुहारमा पनि चमक नै थियो । 

Royal Enfield Island Ad

तीन वर्षदेखि थाँती रहेको कार्यक्रम भव्य र सभ्य बनाउन लागिपरेका कलाकारको मुहारमा भने चमक हैन, चिन्ताका रेखाहरु प्रवाहित भइरहेका थिए । तर, पनि उनीहरु स्टेजमा गए । आफ्नो प्रस्तुति दिए । 

आफ्नो प्रस्तुति दिएपछि नायक सरोज खनाललाई भनियो– रात्रिभोज छ, सरिक भएर जानुहोला । तर, भोज नखाई उनलाई ‘घाँटीघाँटी’ भइसकेको थियो । उनी धन्यवाद ! भन्दै औपचारिकताको एक शब्द खर्चिएर घरतर्फ लागे । 

त्यसको केही समयपछि नायिका करिष्मा मानन्धरले फेसबुक स्टाटस लेखिन्, “एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस्, तपाईं हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौं ।”

नाम उल्लेख नगरे पनि करिष्माको भनाइ राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित थियो । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चलचित्रकर्मी गएर राष्ट्रपति समक्ष नृत्य प्रस्तुुत गर्नु–गराउनु गतल भएको उनको निष्कर्ष थियो । राणाकालमा शासकहरुले आफ्नै दरबारमा नर्तकी राखेर मनोरञ्जनका लागि नृत्यको रसास्वादन लिन्थे । तर, राणा शासन अन्त्य भएर नेपालको राजकाज शाह वंशमा आएपछि पछिल्ला दशकमा राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा राजपरिवार सवार हुन थाल्यो । 

नायिका करिष्मा मानन्धरको फेसबुक स्टाटसमा नायक सरोज खनालले कमेन्ट गरे, “सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए । तर, हामी पर्फर्मर करिब २५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । मचाहिँ ट्वाइलेटको कमोटमा बसेर आफ्नो पालो पर्खिएर बसेँ । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्न्छ भनेर सेयर गरिन । तर, ‘मनको बह कसैलाई कह’ भन्छन् त्यसैले आइ सेयर विथ यु ।”

पीडा मिश्रित यो कमेन्टसँगै सरोजले आफू कमोटमा बसिरहेको तस्बिर पनि पोस्ट गरे । तस्बिरमा उनी नृत्यका लागि तयार भएर पालो कुरिरहेको जस्तो देखिन्छ । करिष्माको स्टाटस र त्यसमा सरोजले गरेको कमेन्टमा धेरैले शुक्रबारको व्यवहार कलाकारिताप्रति सरकारले गर्ने व्यवहारको प्रतिबिम्ब भएको भन्दै कमेन्ट गरेका छन् । 

उनले आफूले शीतलनिवासमा निकै लज्जा र अपमानित भएको महसुस गरेको बताए । “८ बाइ १० को साँघुरो कोठामा हामी कोचाकोच थियौं । त्यही साँघुरो कोठामा बसेर हामी नृत्यका लागि ड्रेस चेन्ज गर्नुपर्ने थियो । कोठा साँघुरो तर हामी पर्फर्मर धेरै भएकाले त्यो कोठामा मात्रै अटाउने अवस्था पनि थिएन । त्यसैले ट्वाइलेटमा पनि बस्नुपर्यो,” सरोजले बाह्रखरीसँग भने, “मैले निकै धेरै अपमानित महसुस गरेँ । मेरो यो पहिलो र अन्तिम कार्यक्रम हो ।” 

उनी राष्ट्रपति कार्यालयले चाहेको भए कलाकारका लागि उचित ठाउँको व्यवस्थापन गर्न सक्ने बताउँछन् । कलाकारितालाई राज्यले हेर्ने दृष्टिकोण र व्यवहार शुक्रबार शीतलनिवासमा नृत्यका लागि बोलाइएको व्यवहारले प्रष्ट पारेको सरोजको गुनासो छ । “नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह, कमल दाइ जो मेरो नृत्यको गुरु हुनुहुन्छ, उहाँहरुले गर्नुभएको आग्रहलाई स्वीकार गरेर म गएको थिएँ । तर, यो नै मेरो पहिलो र अन्तिम पर्फर्मेन्स भयो । मलाई अब पुग्यो,” सरोजले खिन्नता प्रकट गरे, “करिष्माजीले यस्तै हुन्छ भनेर थाहा पाउनु भएको रहेछ र उहाँ जानुभएन । सुरुमै सजग हुनुभयो ।” 

उक्त अवार्ड कार्यक्रमका लागि चलचित्र विकास बोर्डले करिब दुई हप्तादेखि नृत्यको लागि नयाँ पुराना दुवै पुस्ताका कलाकारलाई रिहर्सल गराएको थियो ।

तस्बिरः सरोज खनालको फेसबुक

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro