site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘१८ लाखमा स्क्रिप्ट किन्‍न तयार छौं’ 

काठमाडौं । चलचित्र निर्माताहरु नेपालमा राम्रो स्क्रिप्टको अभाव रहेको बताउँछन् । नेपाली मेकरले राम्रा चलचित्र बनाउन नसकेको गुनासो आइरहेका बेला राम्रो स्क्रिप्टको खाँचो रहेको चलचित्र निर्माताहरु बताउँछन् ।  

भर्खरै ‘जात्रै जात्रा’ निर्माण गरेका चलचित्रकर्मी रवीन्द्रसिंह बाँनिया राम्रो स्क्रिप्टको खडेरी रहेको बताउँछन् । राम्रो स्क्रिप्ट पाएको खण्डमा आफू महङ्गो मूल्य तिर्न तयार रहेको उनले बताए । “कसैले नेपालमा राम्रो स्क्रिप्टको अभाव छैन भन्यो भने त्यो झुट हो । भन्नुपर्ने कथा धेरै छन् तर त्यसलाई स्क्रिप्टको फर्ममा लेख्ने व्यक्तिको अभाव छ,” कलाकार तथा निर्माता रवीन्द्रसिंह भन्छन्, “राम्रो स्क्रिप्ट कसैसँग छ भने हामीलाई भन्नुस् हामी किन्न तयार छौँ ।” 

उनी स्क्रिप्ट लेख्ने व्यक्ति कोही भए समय र तलब नै दिएर लेखाउन तयार रहेको बताए । “हामीलाई राम्रो स्क्रिप्ट चाहिएको छ । सुुरुमा हामीलाई स्टोरीको आइडिया सुनाउनुस् । त्यसपछि त्यसको ट्रिट्मेन्ट सुनाउनुस् । हामीलाई चित्त बुझ्यो भने हाम्रो अफिसमा आएर १० महिना लगाएर लेख्नुस्,” रवीन्द्रसिँह भन्छन्, “प्रत्येक महिनाको ३० हजारको दरले तलब पनि दिन्छौँ । तर हामीलाई बीचबीचमा स्क्रिप्टको ड्राफ्ट दिनुपर्छ । १० महिना लगाएर लेखेको स्क्रिप्ट हामीलाई मन पर्‍यो भने हामी त्यसलाई १२ देखि १५ लाखसम्म तिर्न तयार छौँ । त्यही स्क्रिप्ट हामीलेभन्दा धेरै हालेर अरु कोही किन्न तयार छ भने पनि राइटर बेच्न स्वतन्त्र हुनेछ । तर त्यस्तो अवस्थामा हामीले प्रतिमहिना ३० हजारका दरले १० महिना दिएको पैसाभने फिर्ता गर्नुपर्छ । १० महिना लगाएर लेख्दा पनि स्क्रिप्ट काम लाग्ने भएन भने ३० हजारका दरले १० महिना लिएको तलब हमीलाई फिर्ता गर्नु पर्दैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र निर्देशक तथा लेखक रामबाबु गुरुङ्ग स्क्रिप्ट राम्रो भए मात्रै चलचित्र राम्रो बन्नेभन्दै राम्रो स्क्रिप्टको अभाव रहेको बताउँछन् । “स्क्रिप्ट भनेको घरको नक्सा हो  घरको नक्सा राम्रो भएमात्रै त्यही अनुसार सिकर्मी र डकर्मीले काम गर्छन् र घर राम्रो बन्छ,” रामबाबु बाह्रखरीसँग भन्छन्, “स्क्रिप्टको फर्ममा लेख्ने व्यक्तिको पनि केहीसमय अगाडिसम्म अभाव थियो । फिल्म स्कुल पढेको नयाँ पुस्ता आएसँगै केही सुधार हुँदैछ ।”

केही समय अगाडिसम्म चलचित्रको कथा चारवटा पानामा लेखेर सुटिङमा जाने चलन रहेको स्मरण गर्दै उनी नेपाली चलचित्र उद्योगमा अझै पनि यसलाई हल्काफुल्का रुपमा लिनु नै मुख्य कमजोरी रहेको बताउँछन् ।  

चलचित्र निर्देशक र सिनेमेटोग्राफरले मात्रै चलचित्र राम्रो बनाउन नसक्ने बताउने गुरुङ स्क्रिप्टसँगै चलचित्रका हरेक पक्ष कथाको आइडियादेखि प्रदर्शनसम्म उत्तिकै सजग रहनुपर्नेमा जोड दिन्छन् । “पूर्णकालीन स्क्रिप्ट राइटर हाम्रोमा निकै कम हुनुहुन्छ । यद्यपि भर्खरै केही व्यक्ति आउनु भएको छ । यसले राम्रो रिजल्ट दिन्छ भन्ने अपेक्षा गरौँ,” उनी भन्छन्, “पूर्णकालीन साहित्यकारले पनि स्क्रिप्ट लेख्न थाल्नु भएको छ । यो राम्रो पक्ष हो ।” 

साहित्य लेखनमा राम्रो प्रभाव जमाइसकेका साहित्यकारहरु स्क्रिप्ट लेखनमा आएको खण्डमा स्क्रिप्ट लेखनमा विभिधता र गुणस्तरमा अपेक्षा गर्न सकिने उनको विश्वास छ । ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’का लेखक बुद्धिसागरले भर्खरै एउटा स्क्रिप्ट लेखेका छन् । निर्माता अर्जुनकुमारले उनलाई स्क्रिप्ट लेखाएका हुन् । 

निर्माता, निर्देशक तथा कलाकार माओत्से गुरुङ पनि नेपाली कला, साहित्य, संस्कार र संस्कृति अनुसार स्क्रिप्ट नलेखिएको बताउँछन् । स्क्रिप्टमा विविधता नरहेको उनको अनुभव छ । “स्क्रिप्ट राइटरहरुले आफूलाई विषयगत रुपमा फरक ठाउँमा उभ्याउन सक्नुभएको छैन,” माओत्से भन्छन्, “कस्तो राम्रो हुन्छ भन्दापनि बजारमा के चलिरहेको छ त्यस्तै लेखिरहेको देखिन्छ । फरक विषयमा लेखौं भनेर लेख्ने गरेको पाइएको छैन ।”

अपेक्षा गरेअनुसारको स्क्रिप्ट नआउनुमा निर्माता पनि जिम्मेवार रहेको उनको भनाइ छ । स्क्रिप्टमा पर्याप्त लगानी गर्ने र समय लगाएर स्क्रिप्ट लेख्न लगाउने निर्माताको पनि अभाव रहेको माओत्से बताउँछन् । “राम्रो विषउ उठान गर्ने स्क्रिप्टका लागि लगानी पनि गर्नुपर्छ र समय पनि दिनुपर्छ,” उनी भन्छन्, “यहाँ सबैलाई हतार छ । सबैलाई छिटो गर्नुछ । स्क्रिप्ट राम्रो भन्दापनि तत्काल चाहियो भन्नेको जमात ठूलो छ ।” 
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १६:१७
प्रतिक्रिया दिनुहोस्