काठमाडौं । चलचित्र बनाउन सुरु गर्नुअघि निर्देशक प्रदीप भट्टराईलाई सुरुमा आफैंलाई मन पर्ने चलचित्र कसरी बनाउने होला भन्ने प्रश्नले लखेटिरहन्छ । संसारमा रहेका लाखौं विषयमध्ये यही विषय म किन उठाउँदैछु भनेर आफैैँलाई प्रश्न गर्छन् । जब उनले चित्तबुझ्दो जवाफ पाउँछन्, अनि निर्णय गर्छन्– यो कथा भन्दा हुन्छ ।
आफूले बनाउँदै गरेको चलचित्र पहिला उनी आफैँलाई मन पर्नुपर्छ । मलाई नै मन परेन भने दर्शकले पनि मन पर्दैन भन्ने उनलाई लाग्छ । चलचित्र दर्शकसम्म पुग्नुभन्दा पहिला कथा लेख्ने व्यक्तिलाई नै मन पर्नुपर्छ भन्ने विचार राख्ने उनी आफूले सोचेको कथालाई मिहिन ढङ्गले केलाउँछन् । भित्री तहसम्म पुगेर विषयवस्तुको गुदी पत्ता लगाउँछन् । र, आफूले पटकपटक सोचेको कथा उनी आफ्नो चलचित्र युनिटलाई सुनाउँछन् ।
अक्सर नेपालमा अगाडि नै कथा आफ्नो चलचित्र युनिटलाई भनिँदैन । तर, प्रदीप सुनाउँछन् । चलचित्र युनिट भित्रकालाई कथा बुझाउने प्रयास गर्छन् । फरकफरक भूगोल, पृष्ठभूमि, विचार र लिङ्गबाट उनले सुनाएको कथामा आउने प्रतिक्रिया पनि फरक नै हुन्छ । हेरक व्यक्तिसँग फरकफरक अनुभव र ज्ञान हुन्छ । त्यसैले उनीहरुबाट आएका सुधारसहितका आइडिया उनका लागि सधैँ शिरोधार्य हुन्छ । “चलचित्रको कथाको आइडिया एउटा व्यक्तिको हुनसक्छ । तर, चलचित्र एउटा व्यक्तिले बन्दैन । एक जना व्यक्तिका लागि पनि चलचित्र बनाउँदैन । त्यसैले चलचित्रको कथा लुकाउनु वाहियात हो,” प्रदीप खुलेरै भन्छन्, “मैले सोचेको कथामा कमीकमजोरी हुन सक्छ । त्यसैले धेरै व्यक्तिबाट आएको सुझावका आधारमा कथालाई सुधार गर्दै जाँदा पक्कै पनि राम्रो हुन्छ । मेरो युनिटमा रहेका व्यक्तिलाई कथा सुनाउँदा पक्कै पनि उनीहरुले मेरो कमीकमजोरी थाहा पाउँछन् । तर, त्यही नै सही । मेरो कमजोरी उनीहरुले थाहा पाउँछन् भनेर भनिन भने पछि मेरो कमजोरी लखौं करोडौैंले थाहा पाउँछन् । बरु मेरो युनिटले मात्रै थाहा पाओस् भन्ने लाग्छ ।”
टिमबाट कन्सेप्ट फाइनल भएपछि लाइनअपमा जान्छन्, लाइनअप पछि स्क्रिनप्लेमा । स्क्रिनप्लेमा कथालाई कसरी अगाडि भनेर उनी आफैँ बस्छन् ।
संवादललाई प्रदीप त्यति धेरै महत्व दिँदैनन् । भारी, भद्धा, आदर्श र हँसाउनकै लागि फेसबुके डाइलग राख्दैनन् । पात्रहरुलाई अफ्ठ्यारो स्थितितमा पुर्याइदिन्छन् । त्यो पात्र म आफैँ हुँ भन्ने सोच्छन् र डाइलग लेख्न थाल्छन् । तर, उनी यो पात्रले यो भन्छ भनेर डाइलग लेख्दैनन् । कुन पात्रको संवाद लेख्ने हो ? त्यही पात्र बनेर त्यसले भोग्ने भोगाइको कल्पना गर्छन् । बल्ल त्यसको संवाद लेख्छन् । त्यसको काउन्टरमा सामान्य संवाद लेख्छन् ।
एउटा क्यारेक्टरको संवाद सकिएपछि उनी अर्को क्यारेक्टरको जोनभित्र पस्छन् । र, उसैगरी त्यो क्यारेक्टरको मनोभाव बुझेर संवाद सिर्जना गर्छन् । सकेसम्म बनावटी डाइलग नआवस् भनेर प्रदीप आफूले कथामा सिर्जेको पात्रभित्र पस्ने र अनुभूत गर्ने प्रयास गर्छन् ।
एउटा स्क्रिप्ट लेखनमा प्रदीप कति समय खर्चिन्छन् ? स्क्रिप्टको विषय र त्यसमा उनको ज्ञानले समय निर्धारण गर्छ । उनको जीवनसँग प्रदीपले उठान गर्न लागेको विषय कति नजिक छ, त्यसमा उनले कति जानकारी राख्छन् त्यसैले समय निर्धारण गर्छ । सबै कुरा उनी आफैँले भोगेकै हुन्छ भन्ने छैन । त्यस्तो विषयमा समय लगाउँछन् । आफूले जानेको विषय छैन भने सम्बन्धित विषयका जानकारवालाहरुलाई भेट्छन्, बुझ्छन् । सन्दर्भ सामग्रीहरुको अध्ययन गर्छन् । सकेसम्म ग्राउन्ड रियालिटीभन्दा कथा टाढा नजाओस् भन्नेमा उनी सधैँ चनाखो रहन्छन् ।
सामान्यतः प्रदीपले थिएटरका कलाकारहरुसँग काम गरेका छन् । उनको अनुभवले भन्छ, उनीहरुलाई कथा कन्भिन्स गराउनै कठिन छ । त्यसमै उनलाई मजा लाग्छ । उनीहरु हम्मेसी कन्भिन्स हुँदैनन्, कमेन्ट गर्छन् । उनीहरु कन्भिन्स भए भने प्रदीप सोच्छन्, ‘कथा राम्रै रहेछ ।’
केही थिएटरबाट आएका कलाकार छन्, जो अहिले चलचित्रमा अभिनय गरिरहेका छन् । उनीहरु आफूसम्म आइपुगेको कथामा खुलेर प्रश्न गर्छन् । कति मेकरहरुसँग उनीहरुले उठाएका प्रश्नको जवाफ हुँदैन । त्यसैले कति मेकरहरु त्यही डरले उनीहरुलाई अफर गर्न हच्किन्छन् । तर, प्रदीप भने त्यस्ता प्रश्नलाई शीरोधार्य गर्छन् । मनन्योग्य सुझाव ग्रहण गर्छन् र परिमार्जन गर्छन् ।
छायांकनमा कलाकारलाई उनीहरुको पर्फर्मेन्सबारे बुझाउन पनि सजिलो छैन । चलचित्र प्याकेजमा बन्छ । एउटा कलाकारको कथा, शैली र लवज अन्तरसम्बन्धित भएर आउँछन् । त्यसैले कलाकारले होल स्क्रिप्ट पढ्नुपर्छ । आफ्नो मात्रै होइन अरुको क्यारेक्टरबारे पनि गहिरो अध्यनन गर्नैपर्छ । सकेसम्म सुटिङमा सबै कलाकार हुनुपर्छ । यसमा हमेशा प्रयास गर्छन् प्रदीप । कलाकारले सोचेको क्यारेक्टर कहिलेकाहिँ सही नहुन पनि सक्छ, त्यस्तोमा उनी भन्छन्, “तपाईंले सोचेको क्यारेक्टर सही होला तर चलचित्रले सोचेको क्यारेक्टर यो हो । त्यसैले यसो पो गर्नुपर्छ होला ।”
कलाकारलाई चरित्रभित्र डुब्न त्यति सजिलो छैन । जति पर्दामा देखिन्छ । त्यो उनले संवाद लेख्दा नै अनुभूत गरिसकेका कारण अभिनयका लागि सहज वातावरण तयार गरिदिन्छन् । भिडभाड र गञ्जागोलमा कलाकारले राम्रो पर्फर्मेन्स दिन सक्तैनन् भन्ने उनी बुझ्छन् । र, भीड खाली गरिदिन्छन् । कतिपय अवस्थामा त्यस्ता सिन पनि हुन्छन् जो भीड र निर्देशकका अगाडि गर्न अप्ठ्यारो लाग्छ । त्यस्तो अवस्थामा प्रदीप क्यामेरा अन गरेर आफूसँगै टेक्निसियनलाई पनि बाहिर निकालेर छोड्दिन्छन्, ताकी कलाकारले निर्धक्क पर्फर्मेन्स दिन सकोस् ।
निर्देशकले देखेको दृश्य दर्शकसम्म पुर्याउने क्रममा कलाकार ऐना हो । त्यही ऐना नै धमिलो भयो भने अनुहार कसरी छर्लङ्ग देखिन्छ ? त्यसैले प्रदीप त्यो ऐना जतिसिक्दो सफा गरेर टलक्क टल्किने बनाउन चाहन्छन् । आफ्नो दिमागमा रहेको इमेज पर्दामा पुर्याउन प्रदीप आफ्नो दिमागको इमेज कलाकारको दिमागमा पु¥याउन हरसम्भव प्रयास गरिरहन्छन् ।
नेपालको सन्दर्भमा क्यामेरा वर्कको कुरा गर्दा उज्यालो, खुलेको निलो आकाश, सेतो हिमाल, हरियो फाँट, हिरोइनको फुरफुर उडेको कपाल र लुगा खिचेर सुकिलोमुकिलो दृश्य देखायो, त्यो नै राम्रो भन्ने गरिन्छ । तर, यो बुझाइ नै गलत छ भन्ने प्रदीपले राम्रोसँग बुझेका छन् । सबै विषयले सेतो हिमाल र हरियो फाँट माग्दैन । विषयवस्तु अनुसारको खिचाइ हुनुपर्छ । त्यसैले उनी क्यामेरापर्सनलाई भन्छन्, “विषयवस्तुले मागेको दृश्य कैद गर्नुस् ।”
तीनजना साथी मध्यरातमा जिरोवाटको बत्तीमा रक्सी पिइरहेका बेला विवाद शुरु भएर झगडा पर्यो भने उज्यालो बत्तिमा मात्रै झगडा गरौं भनेर बत्ति बालेर लड्छन् र ? त्यसैले उनले ‘जात्रा’ टर्च लाइटमा कोठाभित्र झगडाको सिन खिचेका छन् । नेपाली चलचित्रमा साउन्ड सबैभन्दा कमजोर पक्ष हो । न मेकरले यसमा ध्यान दिन्छ न साउन्डमा काम गर्ने नै उतिधेरै सचेत हुन्छन् । त्यसमा पनि साउन्डमा काम गरेका अनुभवी व्यक्तिको खाँचो छ ।
साउन्ड नमिलेर हलमा चलचित्र कमजोर सावित भइरहेको छ । साउन्डमा काम गर्ने व्यक्तिलाई सामान्यतः नेपालमा स्क्रिप्ट पनि दिइँदैन । तर, हलिउडमा स्क्रिप्ट लेखनदेखि नै साउन्ड डिजाइनर सँगै हुन्छन् ।
यो कमजोरीलाई आत्मसात् गर्दै प्रदीप स्क्रिप्ट लेखनदेखि नै साउन्ड डिजाइनरलाई राख्न नसके पनि छायांकनमा भने बोलाउँछन् । ताकी उसले चलचित्रले खोजेको साउन्ड बुझोस् । साउन्ड ६० र भिजुअल ४० प्रतिशत हो भनेर जान्दाजान्दै पनि साउन्डको जनशक्ति अभावको सामना गर्नुपरिरहेको उनी बताउँछन् । स्पट ब्वाईदेखि मेकअप पर्सन, साउन्ड डिजाइनरसम्मलाई एकै ठाउँ राखेर प्रदीप स्क्रिप्ट रिड गर्छन् ।
बक्स अफिसमा हिट हुँदैमा चलचित्र राम्रो नै हो भनेर भन्न मिल्दैन । त्यो त सफल चलचित्र मापनका विभिन्न पक्षमध्य एक पक्ष मात्रै हो । अर्थ चलेका सबै चलचित्र हिट र नचलेका सबै चलचित्र फ्लप भन्न मिल्दैन । त्यसैले प्रदीप सधैँ चल्नेभन्दा पनि राम्रो चलचित्र बनाउने सोचमा हुन्छन् । उनी पर्दामा आफ्नो इमान्दारिता देखाउने प्रयास गर्छन् । ताकी कहिलेकाहिँ राम्रो बनेर पनि चलचित्र चलेन भनेपनि आत्मसन्तुष्टिको पारो नओर्लियोस् । हतोत्साही हुन नपरोस् ।
“आफूले बनाएको चलचित्र चल्छ कि चल्दैन त्यो कुनै पनि मेकरलाई थाहै हुँदैन । जो मेरो चलचित्र चल्छ भनेर सतप्रतिशत ढुक्क हुनुहुन्छ, उहाँहरुका अधिकांश चलचित्र बिग्रिएका छन् । चलेका छैनन्,” प्रदीप भन्छन्, “ओभर कन्फिडेन्सले चलचित्र बिग्रिन्छ । आफ्नो कर्म गर्ने हो बाँकी दर्शकको हातमा छोडिदिने हो । रिजल्ट के आउँछ भन्दा पनि मैले सही ठाउँमा आवश्यक मेहनत गरेको थिएँ । काम गर्दा रमाइलो भएको थियो भन्नेमात्रै हो । जब मेरो फिल्मले यति करोड ग्रस कलेक्सन गर्छ भनेर बनाउनुहुन्छ त्यो फिल्म मेरो विचारमा चल्दैन ।”
प्रदीपको भनाइमा विश्वास गर्ने हो भने चलचित्र बनाउनु अगाडि उनी कहिल्यै पनि त्यसले कमाउने आंकडाको अनुमान लगाउँदैनन् । उनले बनाएका ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ उनले सोचेभन्दा दुईतीन गुणा बढी व्यापार गरेका छन् । “धेरै सोचेर दुःखी हुनुभन्दा कम सोचेर बढी सफलता प्राप्त भयो भने त्यसमा रमाउनु राम्रो हो,” प्रदीप अन्तिममा भन्छन्, “यदि बजार हेरेर कथा लेख्दै हुनुहुन्छ भने तपाईं क्रिएटिभ राइटिङभन्दा बाहिर गइसक्नुभयो । चलचित्र कला हो भनेर बिर्सिएपछि बजार हेर्न थालेपछि कलात्मक चलचित्र बन्दैन ।”