
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको गद्य आख्यान विभाग तथा लघुकथा समाज, नेपालको संयुक्त आयोजनामा लघुउपन्यास र लघुकथामा अन्तरसम्बन्ध विषयक गोष्ठी सम्पन्न भयो । काठमाडौंको उत्तर–पूर्वी क्षेत्र लप्सीफेदीमा अवस्थित मैत्री सेवाश्रमको सभाहलमा शनिबार आयोजित उक्त गोष्ठीमा ‘लघुउपन्यास तथा लघुकथाको सैद्धान्तिक स्वरुप’ विषयमा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले गोष्ठीपत्र प्रस्तुत गरे ।
गोष्ठीपत्रमा उनले लघुउपन्यास र लघुकथाका सैद्धान्तिक दृष्टिकोणका बारेमा चर्चा गर्दै कथालाई काटेर लघुकथा नहुने र उपन्यासलाई काटकुट गरेर लघुउपन्यास नहुने बताए । लघुकथा र लघुउपन्यास आफैमा सम्पूर्ण हुनुपर्ने र यि विधाले आफ्नो अस्तित्व बोकेको हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्राडा गौतमले प्रस्तुत गरेको गोष्ठीपत्रमाथि लघुउपन्यासकार तथा कथाकार गोविन्द गिरी प्रेरणाले टिप्पणी गरे । कार्यक्रममा लघुउपन्यास तथा लघुकथाका विषयमा वृहत्त छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले गोष्ठीपत्रले लघुउपन्यास र लघुकथा लेखनका क्षेत्रमा एउटा आधारशीला खडा गरेको उल्लेख गरे । उक्त अवसरमा रवीन्द्र तिमसेनाद्वारा लेखिएको उनको पहिलो लघुकथा संग्रह ‘आवरण’को पनि अनावरण गरियो । लघुकथा समाज नेपालका अध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको गद्य आख्यान विभागकी प्रमुख प्राज्ञ माया ठकुरी, नाटककार अशेष मल्ल, सेवाश्रमका अध्यक्ष मित्रसेन दाहाल, डा. पुष्करराज भट्ट र तुलसीहरि कोइरालाले बोलेका थिए ।
कार्यक्रममा उपस्थित स्रस्टाहरू भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, हिरण्यकुमारी पाठक, लक्ष्मी उप्रेती, नन्दु उप्रेती, मन्दिरा मधुश्री, गोपाल अश्क, देवा अधिकारी, सुमन सौरभ, सुषमा मानन्धर, सिन्धु गौतम, लक्ष्मीशीला देउजालगायतका दुई दर्जन स्रष्टाहरूले आफ्नो आफ्नो लघुकथा वाचन गरेका थिए ।