site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डा. लोहनीद्वारा राप्रपा परित्याग, ‘अब पनि चुप लागेर बस्दिनँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आजैबाट राप्रपा परित्याग गरेका छन् । 
आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् ।  

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजको मितिबाट राप्रपाको कुनै पनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलनमार्फत जनाएका छन् । आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।

एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।”

जारी विज्ञप्तीमा भनिएको छ, “पार्टीको एकीकरण अगाढि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो, यो प्रतिवद्धतालाई पनि ठाडै लत्याईएको छ ।”

उनले चुनाव चिन्ह हलो राख्ने भद्र सहमति भएको भएपनि अहिले आएर उक्त सहमतिलाई ठाडै लत्याईएको र उल्लंघन गरेको आरोप लगाए । 
लोहनीले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्रमा ११ बुँदे असन्तुष्टिसहितका आरोपहरु लगाएका छन् । 

त्यस्तै उनले नेपालको राष्ट्रियताको जगेर्ना गर्न देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वाभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेशीहरुको ठूलो योगदान रहेको उल्ल्ेख गर्दै भने,“तर मधेशी दलहरुले आफ्नो माँगको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाइ नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ ।”

लोहनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “एकता अधिवेशनपछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन्, एनसेल कम्पनीको कारोबारसँग गाँसिएको ३५ अर्ब राजस्व उठेको छैन, उक्त रकम ३५ अर्बले दुई सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकारे यो गुमान तयार देखिन्छ, यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे हाम्रो पार्टीको भनाई के रह्यो ?’’

तपाई अब नयाँ पार्टी खोल्नुहुन्छ वा के गर्नुहुन्छ भन्ने पत्रकारको एक प्रश्नमा उनले भने, “म दालभात खाएर चुप लागेर बस्दिनँ, म सक्रिय हुन्छु, के गर्ने भन्नेबारेमा साथीहरुसँग छलफल गर्दैछु, मेरो ७५ जिल्लामा साथीभाईहरु हुनुहुन्छ, छलफल गरेर सबै कुरा सार्वजनिक गर्छु, यसको लागि धैर्य गर्नुपर्छ ।”

उनले राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्रै प्रयोग हुन थालेको आरोप लगाए । 

उनले आफूले पार्टी परित्याग गर्नुभन्दा पहिले नै शीर्ष नेताहरु लोकेन्द बहादुर चन्द र पशुपति शमशेर राणालाई जानकारी गराएको बताउँदै भने, “मैले आजमात्रै उहाँहरुलाई फोन गरेर दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्दैछु भनेर जानकारी दिएको हुँ, उहाँहरुले शुभकामना दिएर अघि बढनुहोस् भन्नुभएको छ ।”

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

श्री अध्यक्षज्यू
रा.प्र.पा.
कठमाडौ नेपाल

१. म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको  
   तपाईलाइ जानकारी गराउदछु । 
२. मैले २५ बर्ष देखि काम गरेको पार्टी छाड्न पर्दा मलाई दुःख लागेको छ । २०४७ सालमा अन्य दलहरुबाट विभिन्न भौतिक र सांघातिक आक्रमण समेत सहेर यो पार्टीको स्थापनामा सहभागि भएको हँु । त्यस्तै यो पार्टीका थुप्रै दस्तावेजहरु विगतका वर्षहरुमा मैले तयार गरेको हो । हालै मात्र पनि पार्टि एकता अधिवेशनमा पेश भएको एक महत्वपूर्ण कार्यपत्र मैले आपैm तयार गरेको हु । तर पार्टी भित्र एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आप्mनो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजारमात्र बनाउने प्रबृति हावि भएको छ ।  यस्ता हरकत स्वीकार गरेर पाटी भित्र रहन नसक्ने मैले महसुस गरेको छु । 
३. एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनु पर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो ।  साथै एकता माहाधिवेशन अगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रिय समितिको पहिलो वैठकमै हुने समझदारी भएको हो । तर निर्देशन समितिको गठन गरिएन र पदाधिकारीको चयन लगायत मन्त्रीमण्डलमा जाने औचित्य बारे पनि कुनै छलफल गरिएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानि उपेक्षा गरियो ।  पार्टीलाई एकजना व्यक्तिको वा एउटा सानो झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ । यस्तो विधान विपरितका अधिनायकबादी क्रियाकलापहरु संग मेरो पूर्ण असहमति छ ।
४. पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा रा.प्र.पा .(नेपाल) को हुनेछ र चुनाव   
   चिन्ह ‘हलो’ हुने समझदारी भएको हो । यो प्रतिवद्धतालाई पनि ठाडै लत्याइएको छ । 
५. पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संसोधन विधेयकमा भारि असन्तोष व्यक्त गर्दै आएको हो र आवश्यक परे सरकारबाट वाहिरिने स्पष्ट गरेको थियो । रा.प्र.पा.का मान्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सवै बुदाहरुमा पार्टी भित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो । यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आपूm पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् । 


६. हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसिहरुको ठूलो वलिदान र योगदान छ । तर मधेसि दलहरुले आप्mनो मागको संन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ । 
७.  आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् ।  यसबारे केन्द्रिय समिति तुरुन्त बोलाई पार्टिमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो । देशमा संकट देखे पछि त्यस्लाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उधृत सस्कार र प्रवृति प्रति मेरो गम्भीर असहमति रहेको छ । 
८. एकता अधिवेशन पछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन् । एन्सेृल कम्पनिको कारोबारसंग गासिएको ३५ अरब राजस्व उठेका छैन । आज तामाकोसिको विद्युत सालाखाला एक मेगावाटको लागि रु १६ करोड पर्छ । यसको अर्थ नेपालमा ३५ अरबले दुइ सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ । यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्ताव बारे हाम्रो पार्टीको भनाइ के रह्यो रु हामीलाई थाहा छैन । के हामी यो नाङ्गो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेको हो रु कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्री परिषदबाट संसारमा कहि नभएको मौखिक प्रस्ताव लगेर अख्तीयारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो रु हाम्रो पार्टीका मन्त्रीहरु यसबारे मौन छन् भने पार्टी भित्र यसबारे कुनै छलफल छैन । तर हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तीकै हामफाल्न तयार भयो । जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशन समेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने र सत्तामा हामफाल्नेहरुको नियत के हो रु  यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सवै थोक हो भन्ने मान्यतासंग मेरो सहमति छैन । 
९. राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निरासाजनक छ । परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभइ हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा ग¥यो ।  भ्रष्टाचारको आरोप लागेकोलाई फेरी फिर्ता लियो र त्यस पछि पनि परिवर्तन ग¥यो । हाम्रो पार्टी सत्तामा छ तर किन मौन भएर बस्छ रु के यो अराजकता र अनियमिततालाई हाम्रो पाटीको समर्थन छ रु


१०. हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन् । यसको मतलब रा.प्र.पा. के अध्यक्षको घरयासी अड्डा हो रु  अझ अचम्म के छ भने राष्ट्रिय छापामा आए अनुरुप हामीले राजदूत राख्ने भनेको देशले राजदूताबास राख्न स्विकृति पनि दिएको छैन । विवाहको कुरो छिनिएका्े छैन तर त्यो भन्दा अगाडि जन्ती लिएर जाने रु यस्तो अवस्थामा हामीले पार्टीको तर्पmबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो ।  अझ यसबारे पार्टीमा कुनै छलफलनै भएको छैन । दासहरुको जमात जस्तो पार्टीलाई व्यवहार गर्ने वर्तमान नेतृत्वको शैलि र संस्कार मलाई मान्य छैन । 
११ माथिका मैले देखाएका विभिन्न कारणहरुको परिवेशमा एकता अधिवेशन पछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्म प्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग हुदैछ । भ्रष्टाचार प्रति आँखा चिम्लने संस्कारको जग वसाल्ने प्रयास भइरहेको छ । यो प्रवृति मलाई मान्य छैन । त्यसैले म आजबाट राप्रपा बाट अलग भएको छु । 
राप्रपामा देखिएको नितान्त अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको छ । यो नेतृत्वबाट राष्ट्रियताको सम्वर्धन हुदैन । भ्रष्टाचार माथि नियन्त्रण हुदैन र नेपाली जनताको समृद्धिको लागि कुनै योगदान हुदैन । देश र जनताको हितका लागि कार्यगर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वास घात गर्नु हो । यसर्थ म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनु परेको हो ।  

भविष्यमा देशमा समावेशि राष्ट्रियता, बहुलबादी प्रजातन्त्र , प्रगतिसिल उदारबाद, हिन्दु पहिचान र संसदद्धारा अनुमोदित राजसंस्था प्रति प्रतिबद्ध रहेर देश र जनताकोे हक–हित, अधिकार र स्वमिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु । 


डा. प्रकाशचन्द्र लोहनी
२९ फागुन २०७३

 


 


 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७३  १५:२९
प्रतिक्रिया दिनुहोस्