
सधैँ हिंडिरहेका सजिला बाटाहरू
पटक पटक दोहोरिरहँदा
लाग्न सक्छ तिमीलाई,
जिन्दगी सहज रहेछ ।
कहिल्यै नदेखेका
कहिल्यै नसोचेका
संघर्षका अप्ठ्यारा पहाडहरू
पर्खाल बनेर तेर्सिँदा
लाग्न सक्छ तिमीलाई,
जिन्दगी चुनौती रहेछ ।
फूल टिप्न खोज्दा
काँडाले घोचेर दुखेको बेला
लाग्न सक्छ तिमीलाई
जिन्दगी दुखाइ पनि रहेछ ।
घाम, पानी र तुषारो सहेर
मुस्कुराउदै फुल्ने
र क्षणभरमै ओइलिएर झर्ने
फूलहरू देखेपछि
लाग्न सक्छ तिमीलाई,
जिन्दगी क्षणिक पो रहेछ ।
कालो रातको कम्बल ओढाएर
जब अन्धकारले
एउटा उज्यालो दिनलाई परास्त गर्नेछ
र फेरि,
प्रभातको सुनौलो किरणले
अन्धकारमाथि विजयी भएको उद्घोष गर्नेछ,
तिमी सम्झनेछौ
जिन्दगी दिन र रात रहेछ ।
यात्रामा
माया गर्नेहरू भेटिनेछन्
साथ दिनेहरू भेटिनेछन्
र भेटिनेछन्
सही बाटो देखाउनेहरू पनि
छिर्के लाउने, खुट्टा तान्ने
र हिलो छ्याप्नेहरुको त झन
पटक्कै कमी हुनेछैन
तब यही यात्रामा तिमी
आफन्त र पराइको परिभाषा भेटाउनेछौ ।
जिन्दगीलाई तिमी
यथार्थमा भेट्नु,
आफैँभित्र खोज्नु र बुझ्नु
जिन्दगी त,
न सहज न असहज
न फूल न काँडा
न नजिक न टाढा
न घाम न झरी
न आफ्नो न पराइ
न दिन न रात
न विश्वास न घात
न एक्लो न साथ
न आँसु न हाँसो
न सुख न दुःख
केवल लीला रहेछ ।
अब तिम्रो सामु
जिन्दगीका लम्बेतान भ्रमहरू
र वास्तविकताहरूको रहस्य खुकुलिनेछ ।
यस्ता कविताहरू
जिन्दगीका पाठ होलान् नहोलान्
जिन्दगी स्वयं एक पाठ हो
एक कविता हो
र यत्ति बुझ
जिन्दगी लीला हो
जुन दिन त्यो बोध हुनेछ
हेरेर सारा दुनिया मुस्कुराउनेछौ तिमी ।
तिमीसँग सँधै हुनेछ
बाबा आमाको दिव्य आशीर्वाद
बस्,
जिन्दगीको यात्रामा तिमी
जिन्दगीकै उपहार लिएर
हिंडिरहनु अविरल
बढिरहनु अनन्त
शब्दोपहार तिमीलाई !