
काठमाडौं । नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए ।
कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत(मल्लिका’को विशेषणले सम्वोधन गरेका थिए ।
कार्यक्रमको थालनी भजनबाट भएको थियो । श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै गर्दा आभासले भने, “शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु । उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ । भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो ।”
भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए । गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन् । अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन् ।
कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सृजना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो ।
गजल शैलीको नयाँ गीतका बारेमा आभास भन्दै थिए, “शान्ति ठटाल दिदीसँगको सांगीतिक सहकार्यको लोभले हो मैले दुई हप्ता पहिले उहाँले बजाउँदै गरेको हार्मो्नियम माथि केही गीतका शब्द छोडेर हिंडेको थिएँ । उहाँले भोलिपल्टै त्यसमा भरेको संगीत सुनाउनु भयो । उहाँको क्षमता साँच्चै अद्भूत छ । शान्ति दिदीले यति छिटै यति स्तरिय धुन भरेकोमा म चकित भएको छु ।”
आभासले प्रतिक्रिया जनाएको त्यो नयाँ सृजनालाई बिमलाले स्वर दिएकी थिइन्, “जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?”
शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दा खोज्दै पनि प्रसंशकहरूको हार्दिक अनुरोधका कारण उनले गीत नगाइ धर पाइनन् । उनले भनिन्,“हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ ! गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ ।”