site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आँपको रुख

– रामकुमार पाँडे


एकादेशमा एउटा मन्त्रालयअगाडि आँपको एउटा रुख थियो । त्यस बोटमा पाकेको आँप लटरम्म थियो । एकदिन मन्त्रालयमा निक्कै हल्लिखल्ली मच्चियो । राति आँपको बोटबाट जम्मै आँप हराएको थियो । अघिल्लो दिनसम्म लटरम्म भएको आँप भोलिपल्ट एक दाना पनि थिएन । मन्त्रालयमा आँप हराएको बारे गाइँगुइँ चल्यो । आँप कसले लग्यो होला ! विदेशी मल हालेर सपारिएको आँप एक रातमै सखाप हुन्छ भने यो बोटको के फाइदा ?

एउटाले भन्यो, “आँपमा मल हालियो तर कीटनाशक औषधि नछरिएकोले कीराले खायो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्कोले भन्यो, “आँप चोरियो ।”

तेस्रोले भन्यो, “चौबीसै घण्टा पहरा दिने ठाउँमा चोरी कसरी हुन्छ ? पाकेको आँप समयमा टिपिएन, सबै कुहिएर झ¥यो ।”

कसैले भन्यो, “हैन यहाँ बाँदर लाग्यो ।”

अर्कोले भन्यो, “माथिबाट चोरियो अर्थात् चराहरूले खाँदै उडे ।”

एकै रातमा मन्त्रालय जस्तो अत्यन्त संवेदनशील ठाउँबाट आँप हराउनु कम कुरो थिएन । यसैले यो प्रश्न सदनमा उठाइयो, “अध्यक्ष महोदय ! आँप कसले हात लगायो ? अधिकारप्राप्त व्यक्तिले खायो अथवा अरू भूमिगत गिरोह कसैले अनाधिकार खायो ? जाँच गराइपाऊँ ।”

अध्यक्षले जवाफ जमाए, “यसको खोजी हुने नै छ ।”

माननीयहरूले अनेक अनुमान गरे, “यसमा सरकारको हात हुनुपर्छ । सरकार आफूमात्र आँप खाएर मोटाउन चाहन्छ ।”

एउटा माननीयले प्रश्न गरे, “अध्यक्ष महोदय ! वन मन्त्रालयलाई यसबारे थाहा छ कि छैन ? यसको जवाफ चाहियो ।”

अध्यक्षले भने, “यो विषय वनसँग हैन, फलफूल भएकोले खाद्यसँग सम्बन्धित छ । कुनै मन्त्रालयमातहत यो छैन ।”

माननीयहरूले नियमापत्ति गर्दै भने, “मन्त्रालयको कम्पाउन्डभित्रको बगैंचामा आँपको बोट छ । यसमा कुनै मन्त्रालयको जिम्मेवारी हुनैपर्छ ।”

अध्यक्षले भने, “आँपकाण्डको जाँच हुनेछ ।”

माननीयहरूले भने, “माली नै यस कुराको जाली हो कि ? आफ्नो आँखाअगाडिको कुरा भएकोले यसको जाँच अहिले हुन सक्छ ।”

अध्यक्षले भने, “सरकार यस कुरामा निदाएर बस्नेछैन । आँपको बोटमा आँप छ÷छैन जाँच गरेर माननीयज्यूहरूलाई यसको विस्तृत जानकारी दिइने नै छ ।”

माननीयहरू कराउन लागे, “जाँच किन गर्ने ? मन्त्रालयको ढोका सामुन्नेको कुरा सबैले देखेकै हो ।”

अध्यक्षले भने, “माननीयज्यूहरूको मतमा म सहमत छु । तर, औपचारिकताको निर्वाह गर्न मैलेमात्र हेरेर हुँदैन । मैले नियमानुसार सरकारको काममा हस्तक्षेप गर्न मिल्दैन । यहाँ आवाज उठाउने केही विरोधी माननीयको कुरा मेरो ब्रह्मले सही ठहराए पनि म सरकारको हात बाँध्न सक्दिनँ । यसबारे प्रधानमन्त्रीज्यूलाई साँझसम्ममा वक्तव्य दिन अनुरोध गर्दछु ।”

प्रधानमन्त्रीले बेलुकीको बैठकमा एक वक्तव्य दिनुभयो, “अध्यक्ष महोदय ! सदनमा आँप कसले खायो ? भन्ने प्रश्न उठ्यो ...”

माननीयहरूले एक्कासि टेबल ठटाए, “सदनमा आँप कसले खायो भन्ने प्रश्न हैन, आँप कसले खायो ? भन्ने प्रश्न सदनमा उठ्यो ।”

प्रधानमन्त्री पुनः बोल्न थाले, “आँप कसले खायो भन्ने कुरामा कसैले मालीलाई दोष दिए । आँपको बोटको रेखदेख मालीबाट हुने गरेको छ ।”

माननीयहरू पुनः कराए, “आँपको हैन, बोटको मात्र ?”

प्रधानमन्त्रीले भने, “पहिलेको मालीले सबै चोरेर दुई–चार दानामात्र सरकारलाई बुझाउँथ्यो । अहिलेको मालीले दुई–चार दाना आफूलाई राखी सबै सरकारलाई बुझाउने ठेक्का लिएको छ । आँप कसले खायो ? यो प्रश्नको ठीक जवाफ, स्पष्ट भन्न कठिन छ । कसैलाई तुरुन्त दोषारोपण गर्न मिल्दैन । राम्रो अनुसन्धानबिना आँप कसले खायो, रुखमा आँप छ कि छैन— यकिन गर्न सकिन्न । यसैले सरकारले एक व्यक्तिको जाँच आयोग गठन गरेको छ र अध्ययन÷अनुसन्धान गराएपछि प्राप्त प्रतिवेदन यहाँ प्रस्तुत गर्नेछु ।”

एउटा माननीयले भने, “यो राष्ट्रियस्तरको त्यति ठूलो समस्या हैन, यो जिम्मेवारीको कुरा हो ।”

अर्का सदस्यले भने, “आँप हराउनुभन्दा ठूलो कुरा सुरक्षाको छ । यसैले यसको तुरुन्तै कार्यवाही हुनुपर्छ ।”

अध्यक्षले भने, “बिनाअनुसन्धान सरकारले कार्यवाही गर्न सक्दैन ।”

सदन अनुसन्धान प्रतिवेदन नआएसम्मका लागि स्थगित गरियो । प्रतिवेदन पेश हुन निकै दिन लाग्यो । प्रतिवेदन पेश भएपछि सदन बस्यो । सदनमा एक व्यक्ति जाँच आयोगले प्रतिवेदन पेश गर्दै भन्यो, “मन्त्रालयको बगैंचामा कुनै आँपको रुख नदेखिएकोले आँप कसले खायो भन्ने सवाल नै गलत हो भन्ने कुरा यो आयोग निवेदन गर्दछ ।”

मन्त्रीपरिषद्ले यो प्रतिवेदनमा हर्ष प्रकट ग¥यो । सदस्य महोदयहरूले टेबल ठटाए, “आँप कसैले खाएकै छ । आँप चोरिएकै छ ।”

सदनमा कोलाहल मच्चियो । अध्यक्षले भने, “ती सब अनुमान हुन्, प्रमाण हैनन् ।”

माननीयहरू रिसले दौडिँदै आफैं हेर्न पुगे । नभन्दै आँपको रुख भएको ठाउँमा तिखो काँडा भएको एउटा क्याक्टस थियो ।

(उपमा २०४३/पाँडेको ‘हास्यकथा–१’ बाट)
 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ११:५१
प्रतिक्रिया दिनुहोस्