
– रामचन्द्र भट्ट
ब्युँझिएसँगै मेरा आँखा भित्ताको घडीमा ठोक्किए । ६ बजेर १० मिनेट बजेको संकेत दिँदै थियो घडीले । बिहानको हो कि साँझको— ठ्याक्कै यकिन भएन ।
बेडबाट उठेर झ्यालको पर्दा खोलें । बाहिर परिपक्व उज्यालो थियो । देब्रे हातमा बाँधिएको राडो घडीतिर आँखा लगाएँ । १२ः१० को समय देखाइरहेको थियो । अमेरिका उत्रिएपछि समय मिलाउन भुसुक्कै बिर्सिएछु । नाडीको घडीले देखाइरहेको समय मेरो कार्यथलो अफ्रिकी शहर केपटाउनको हो ।
झ्यालबाट हेर्दा पारिपट्टि फाउन्टेनसहितको सानो पोखरीमा हाँसहरू पौडिरहेका थिए । बच्चाहरू पोखरीका माछालाई दाना राख्दै थिए । वृद्धवृद्धाहरू ट्रेलमा हिँडिरहेका थिए । घाम मधुरो हुँदै क्षितिजतिर गइरहेकोले साँझ हो भन्नेमा म ढुक्क भएँ ।
झन्डै २२ घण्टाको उडान र ५ घण्टाको ट्रान्जिटपछि म मायामी आइपुगेकी छु । केपटाउनदेखि जर्मनीको फ्र्यांकफर्टसम्म १२ घण्टा र त्यहाँदेखि मायामी १० घण्टाको उडानले म लखतरान छु । जिउ थकित छ । फ्र्यांकफर्टमा ५ घण्टाको ट्रान्जिटमा एक कप कफीमात्र पिएकी थिएँ । अमेरिका आउने उडान भएर होला— बोर्डिङ हुनुपूर्व अति नै कडा जाँच रहेछ ।
फ्लोरिडाको मायामी अमेरिकाको सर्वाधिक पर्यटकीय स्थल हो । सधैंभरि न्यानो भइरहने राज्य हो फ्लोरिडा । हरेक दिन अमेरिकी महाद्वीपमै सूर्यको पहिलो किरण पर्ने राज्य पनि हो । त्यसैले गाडीको नम्बर प्लेटमा गर्वसाथ लेखिएको हुन्छ–‘सनसाइन स्टेट ।’
अमेरिकाको आन्तरिकदेखि लिएर बाहिरबाट आउने पर्यटकका लागि आकर्षक स्थल हो मायामी । क्युबाबाट लखेटिएका हुन् या भागेर आएकाहरूले नयाँ सभ्यता बसाएको शहर हो भन्ने कुरा कुनै पुस्तकमा पढेकी थिएँ । त्यसो हुँदा बढ्ता उत्सुकता पनि थियो मेरा लागि । यसअघि पनि दुईपटक म अमेरिका आइसकेकी थिएँ । दुबै अफिसियल भ्रमण थिए । दुबै न्युयोर्क–डिसीका आसपास केन्द्रित थिए ।
वैकल्पिक ऊर्जासम्बन्धी एउटा १० दिने सेमिनारमा यसपटक मनोनयनमा परेकी हुँ । सेमिनार टेक्ससको डालसमा अर्को सातादेखि हुँदै छ । फुपूको आग्रहलाई टार्न नसकेर र मायामी पनि हेर्ने, घुम्ने पहिलेदेखिकै रहरका कारण एक साताअघि नै आज बिहान मायामी उत्रिएकी हुँ । फुपू स–परिवार मायामीमा बस्दै आउनुभएको छ ।
सेमिनारका लागि मनोनयनमा परेपछि मैले फुपूलाई केपटाउनबाटै फोन गरेकी थिएँ । उहाँले एक हप्तापहिले नै आउन आग्रह गर्नुभएको थियो । भेटघाट नभएको पनि १५ वर्ष भइसकेको छ । उहाँले मायामीका सामुद्रिक किनारदेखि लिएर क्युबानजिकको कि–वेस्टसम्म घुम्ने योजना बनाउनुभएको छ । कि–वेस्ट पुग्न मायामीबाट सुदूरदक्षिणतिर पूरै समुद्रमाथि बनेका पुलैपुल हुँदै जानुपर्छ । यो एउटा रोमाञ्चक अनुभव पनि लिने अवसर हुँदै थियो मेरा लागि ।
मेरो पिताजीका चार दाजुभाइ र एउटैमात्र बहिनी हुन् । तीमध्ये जीवित सावित्री फुपूमात्र हुनुहुन्छ ।
पर्दा खोलेर झ्यालबाट घरपछाडिको वातावरणलाई मैले निकैबेर चिहाएँ । ब्याकयार्ड पनि चिटिक्क मिलेको रहेछ । फर्सी, लौका, काँक्रो फलिरहेका थिए । रायोको साग पनि थियो । सानोतिनो नाङ्लो आकारको थियो रायोगको साग । एक साइडमा नेपालमा जस्तै टाटे सिमीको झाल थियो ।
मेरो शरीर अझै थाकेको थियो । जेटल्यागले होला— भर्खरै ब्युँझिएको मलाई अझै निद्राले हाई.. आइरहेको थियो ।
म बेडरुमबाट लिभिङ रुममा निस्किएँ । घर त सुनसान पो छ । कोही छैनन् । तल्लो तला, माथिल्लो तल्ला सबैतिर हेरें । कतै पनि मानिसको चालचुल देखिएन ।
“सावित्री फुपू,” मैले बोलाएँ । तीन पटकसम्म यसैगरी बोलाएँ ।
तर, कसैले जवाफ दिएन । मनमा डर पनि लाग्यो । नयाँ ठाउँ, आफू पनि कहाँ जानू खोज्दै ? फेरि अघि सुतेको बेडरुममा गएँ । मोबाइल फोन समातें । फोन गरौं भने पनि यहाँको सिमकार्ड छैन ।
फोनलाई हातमा खेलाउँदै गर्दा देखियो— भाइबेर म्यासेज पहिले नै आएको रहेछ । फुपूको मेसेज थियो । एक घण्टाअघिको रहेछ ।
“नानी, तँ सुतिराखेकी थिइस् । थाकेकी होलिस् भनेर ब्युँझाउन मन लागेन । म ग्रोसरी गर्नका लागि एक घण्टालाई बाहिर निस्किएकी छु । बीचमै ब्युँझिइस् भने जुस पिएर बसिराख् है । जुस फ्रिजमा छ,” फुपूको मेसेज देखेपछि ढुक्क भएँ । धन्न बिहान आउनेबित्तिकै वाइफाइ जोडेकाले भाइबर मेसेज आउन पायो । नत्र सम्पर्कविहीन हुनुपर्ने रहेछ । मनमा कुरा खेलाउँदै फ्रिजबाट टोमाटो जुस निकालेर पिउन थालें ।
लिभिङ रुम भव्य र मिलेको थियो । निकै ठूलो थियो । सामान र सजावटले गर्दा निकै आकर्षक देखिएको थियो । भित्तामा ठूलो स्मार्ट–टिभी थियो । घरमा कोही नभएपछि के गर्नू ? टिभी अन गरें । केही बेर लोकल न्युज च्यानलहरू हेरें । मलाई चासो लाग्ने खासै समाचारहरू थिएनन् ।
टिभीमा एप्सहरू स्क्रोल गर्न थालें । नेटफ्लिक्समा नयाँ मुभी आएछन् कि ? खोल्न प्रयास गरें तर युजर आईडी र पासवर्ड माग्यो ।
मेरो ध्यान अब युजर आईडी र पासवर्ड नचाहिने यूटुबतिर गयो । यूटुबको सबैभन्दा माथि एउटा भिडियो ‘रिकमेन्डेड’ थियो । शायद यूटुबले त्यस्तै खालका भिडियोहरू हेरिरहेपछि त्यही र त्यस्तै नयाँ भिडियो आउँदा ‘रिकमेन्ड’ गर्छ । भिडियो प्ले भयो ।
धार्मिक प्रवचनजस्तो थियो त्यो भिडियो । गुलावी वस्त्रमा प्रवचन दिइरहेका अधवैंशेको अनुहार कतै देखेजस्तो लाग्यो । त्यो अनुहार परिचित र चिने–चिनेजस्तो लाग्यो । ठ्याक्कै ठम्याउन सकिनँ ।
‘लाइफ चेन्जिङ स्पिच इन यूएसए बाई रकेट महाराज’ भिडियोको नाम थियो । लहरै तिनै रकेट महाराजका भिडियो थिए ।
कहाँ देखेको हो मैले यो मान्छेलाई ? कहाँ भेटेको हो ? दुबईमा बस्दा हो कि एकपटक अमेरिका आउँदा देखेको हो ? काठमाडौंमै कहीँ भेटेको हो कि ? म अलमिलएँ । केपटाउन र नैरोबीमा त पक्कै भेटेको होइन । किनकि त्यहाँ यस्ता गुरुहरू पुगेकै छैनन् । यूट्युब भिडियो हेर्न उत्सुकता जाग्यो । भिडियो प्ले भइरहेको थियो ।
संस्कृतको एउटा श्लोकबाट प्रवचन शुरु भयो । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको सम्मान, पूजा हुन्छ, त्यहाँ भगवान् पनि रमाउँछन् । नारी भनेको पत्नीमात्र होइनन्, आमा हुन्, बहिनी हुन्, छोरी हुन्, हजुरआमा, फुपू, काकी, माइजु आदि इत्यादि सबै हुन् । स्वर्गको अनुभूति गर्न अर्को लोकको प्रतीक्षा गर्नु नै पर्दैन । तपाईहरूले नारीको सम्मान गर्नुभयो भने त्यही घर स्वर्ग हुन्छ ।”
स्वर सुन्दै जाँदा मैले आफू सपनामा छु या विपनामा भनेर निधो गर्न सकिनँ । रकेट महाराजको स्वर मेरा निम्ति परिचित मात्र नभएर कुनै बेला निकट स्वर थियो । यही स्वरले कतिलाई रकेट महाराजले मन्त्रमुग्ध बनाएका थिए ।
“नारी सृष्टिकी जननी हुन् । नारी बगैंचाकी सुन्दर पुष्प हुन् । नारी संहारकी महाकाली, ज्ञानकी महासरस्वती पनि हुन् । नारीको सम्मानले हामी सबैको सम्मान, मानसम्मानमा अभिवृद्धि पुग्छ,” मैले यतिभन्दा अघि सुन्ने आँट गर्न सकिनँ । भिडियो ‘पज’ गरें । रकेट महाराजबाट म एकैपटक ‘रकेट राज’मा पुगें ।
० ० ०
हिसाब निकालें— ठ्याक्कै १७ वर्ष पुगेछ । भर्खरै इन्जिनियरिङ क्याम्पसबाट स्नातक सिध्याएर जागिरका क्रममा एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा छनौट भएकी थिएँ म । मेरो कार्यक्षेत्र सौर्य ऊर्जाको थियो ।
जागिर शुरु गरेको दुई सातापछि एकजना खाइलाग्दो, गोरो, अग्लो युवक नियुक्त भएर आए । उनी लेखा र पब्लिकेसन हेर्ने गरी आएका थिए । हाम्रो अफिसबाट सानो न्युजलेटर प्रकाशित हुन्थ्यो । उनी त्यसैको जिम्मेवारी लिएर आएका थिए । कहीँ कतैको सोर्सफोर्समा उनी नियुक्त भएर आएजस्तो लाग्छ ।
अफिसमा तल्लो तलामा पस्नेबित्तिकै मेरो कोठा थियो । उनको पनि यही तल्लाको अलिकति भित्र छिरेर बायाँपट्टि थियो । क्याफ्टेरियामा जानका लागि उनैको कोठा अघिल्तिर हुँदै जानुपथ्र्यो ।
एकपटक क्याफ्टेरिया जानै लाग्दा उनी पनि कोठाबाट निस्किए । मलाई देखेर ‘हाई’ भन्दै मुस्कुराए । म पनि ‘हेलो’ भन्दै हल्का हाँसें ।
हामी क्याफ्टेरियामा त्यसदिन एउटै टेबुलमा बस्यौं । उसको नाम रकेट राज रहेछ । पश्चिमको कुनै एउटा जिल्लाको नाम भनेका थिए उनले, ठ्याक्कै सम्झना भएन ।
“निकै राम्रो नाम रहेछ हजुरको,” मैले नामबाट कुराको शुरुवात गरें ।
“अँ हजुर, युनिक छ है मेरो नाम ? चन्द्रमामा रकेट बसेको समाचार सुन्नुभएको थियो रे मेरो पिताजीले । चन्द्रमामा मानवसहितको रकेट पुगेको अर्को साल म जन्मिएछु । पिताले त्यही भएर रकेट नाम राख्नुभएको रे,” उनका पिता अलिकति शिक्षित र पढेलेखेकै हुनुपर्ने मेरो अनुमान रह्यो ।
रकेट राज निकै बोलक्कड थिए । मुस्कुराएर मात्र बोल्ने उनको बानी थियो । कुनै कुरा गर्दा आँखा जुधाएर गर्ने र अरूले बोलिरहँदा मुस्कुराउँदै एकाग्र भएर सुन्ने उनको स्वभाव थियो । अरुको कुरा सुन्दा उनी ‘ए’, ‘हजुर’, ‘आच्या’, ‘हो है’, ‘ल कति राम्रो’ यस्तै यस्तै शब्दले सही थाप्थे ।
काममा आएको दुई हप्तामै अफिसका धेरैलाई प्रभावित पार्न सफल भइसकेका थिए रकेटराज । जोसँग पनि घुलमिल भइहाल्ने, जे विषयमा कुराकानी चलिरहेको छ, त्यस विषयमा अरूसँग नभएका जानकारीसहित बोल्ने बानीले अफिसमा चाँडै नै प्रभाव जमाउन सफल भए । अफिसमा कार्यरत महिलाहरूले त खुलेरै प्रशंसा गर्न थालिसकेका थिए ।
“रकेट सर त कति सहयोगी हुनुहुँदो रहेछ । मेरो घरको कम्प्युटर बिग्रिएको थियो । हिजो अफिस छुटेपछि घरमा गएर बनाइदिनुभयो । २ हजार रुपैयाँ जोगियो,” लघु जलविद्युत् शाखामा काम गर्ने अदितीले भनी । मलाई लाग्यो— होला नि त । स्वार्थी संसारमा सहयोगीहरू अझै बाँकी रहेछन् ।
रकेटराजको अफिसमा पसेपछि सबैका कोठाकोठा नमस्कार गर्न पुग्थे । हाकिमको कोठामा त १५ मिनेटसम्म बसेर देशको राजनीति, अर्थतन्त्र, खेलकुदका विषयमा गफ दिन भ्याउँथे । त्यतिखेर माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । माओवादीलाई पालनपोषण भारतले गरिरहेको भन्दै हाकिमका कानमा खुसुक्क भन्थे । शुद्ध टेक्नोक्र्याट हाकिम पनि रकेटराजसँग आकाश–पातालका कुरा सुन्न लालायित हुन्थे ।
लेखा शाखामा अरू पनि थुप्रै कर्मचारी थिए । कुनै उच्च सरकारी कर्मचारीको दबाबमा रकेटराजले नियुक्ति पाएका कारण उनको न त जिम्मेवारी नै ठूलो थियो न काम नै थियो । लेखामा त उनको कामै थिएन भन्दा पनि हुन्छ । ८ पेजको न्युजलेटर दुई महिनामा एकपटक प्रकाशित हुन्थ्यो । त्यसका लागि रकेटराजलाई एकदिन पनि बढी हुन्थ्यो । शाखा–शाखाले आफ्ना गतिविधिहरू फोटोसहित उनलाई टक्र्याउन ल्याउँथे । हाकिम सा’बले सबै शाखा प्रमुखहरूलाई बैठकमा बोलाएर निर्देशन दिएका थिए, “हेर्नुस्, अहिलेको युग भनेको सञ्चारको युग हो । गरेको कामको प्रचारप्रसार व्यापक हुनुपर्छ । अझै सक्नुहुन्छ भने कामभन्दा बढी प्रचारप्रसार गर्नुस् । ताकि हाम्रो कामको डोनरले पनि प्रशंसा गरून् र मन्त्रालयले पनि । काम त सबैले गर्छन् तर हामीले कामसँगै प्रचारप्रसारलाई फोकस गर्नैपर्छ । तपाईंहरूले आफ्नो शाखाबाट भएका काम, कहाँ के भइरहेको छ, सबै कुरालाई बढाइचढाइ गरेर रकेटराजजीलाई दिनुस् । हाम्रो प्रचारप्रसार कमजोर भएको देखेर सचिवज्यूले उहाँलाई यहाँ पठाउनुभएको छ ।”
सचिवको सोर्सफोर्समा नियुक्ति पाएको कुरा अप्रत्यक्ष रूपमा हाकिम सा’बको कुराले पनि खुलिहाल्यो ।
हाकिमले मिटिङमै यति भनिसकेपछि रकेटराजको ७५ प्रतिशत काम सजिलो भएको थियो । सबै शाखा प्रमुखहरू रकेटराजको कोठामै आउँथे । के गर्नू— सबैलाई मन्त्रालयकै डर थियो, सबैलाई सचिव चिढिएलान् भन्ने त्रास थियो ।
रकेटराज अफिसमा बलियो हुँदै गए । अफिसका महिलावर्गमा उनी आकर्षणको पात्र पनि हुँदै गए । उनले सिफारिस गरेको कुरालाई हाकिमले समेत सुन्थे । रकेटराजमार्फत हाकिम सा’बसम्म कुनै प्रस्ताव पुग्यो भने असफल भएको वा फिर्ता आएको रेकर्डै थिएन ।
“सर, एक्लै हुनुहुन्छ कि म्याडमसहित ?” एकदिन क्याफ्टेरियामा सँगै खाजा खादै गर्दा मैले सोधिहालें ।
“गाउँमा आमा एक्लै हुनुहुन्छ । त्यसैले उतै बस्छिन् उनी । यहाँ म एक्लै छु सानोभ¥याङमा,” उनले भने ।
अब मलाई थप प्रश्न गर्न सजिलो भयो, “अनि छोराछोरी पनि छन् कि ?”
“एउटी छोरी छिन् ४ वर्षकी । गाउँकै बोर्डिङ स्कुल जान्छिन्,” त्यति भन्दा उनको अनुहारको भाव अलि अर्कैजस्तो देखियो । थप प्रश्न नसोधिदिए हुन्थ्यो भन्ने खालको अप्ठ्यारो भाव अनुहारमा देखाप¥यो ।
“ए । सानो र सुखी परिवार रहेछ,” मैले अब पारिवारिक कुरा अघि बढाइनँ ।
झन्डै ६ महिनापछि एउटा घटना भयो ।
त्यसदिन बिहान फस्र्ट आवरमै मन्त्रालयमा समीक्षा बैठक थियो । बैठकमा हाम्रो कार्यालयको तर्फबाट हाकिम सा’ब, अर्काे शाखाबाट प्रमुख र म सहभागी भएका थियौं । समीक्षा बैठक सकेर अफिस आइपुग्दा दिउँसो २ बज्नै आँटेको थियो ।
अफिसको कम्पाउन्डमा हामी गाडीबाट झर्दै थियौं । एउटी महिला एउटा नानीलाई लिएर अफिसको छिँडीमा बसिरहेकी थिइन् । उनको वरिपरि अफिसकै अरू दुई–तीन जना स्टाफ झुम्मिएका थिए । हामी गाडीबाट झरेर अघि बढ्दै गर्दा ती स्टाफमध्ये कसैले भन्यो, “ऊ, हाकिम सा’ब उहाँ नै हुनुहुन्छ ।”
ती महिलाले हाकिम सा’बलाई नमस्कार गर्दै कुराकानीका लागि समय मागिन् । त्यतिखेरै उनका आँखामा आँशु थिए ।
“तपाईं को हो ? के कुरा छ, ल भन्नुस यहीँ,” हाकिमले भने ।
उनले वरिपरि आँखा डुलाइन् । केही बोल्न सकिनन् । उल्टै रुन थालिन् । अफिसबाहिर कर्मचारीको भीड बढ्दै थियो ।
“सर, उहाँ रकेटराज सरकी वाइफ हुनुहुँदो रहेछ,” भीडबाट कसैले बोलेको सुनियो ।
हाकिम सा’बले ती महिलालाई लिएर माथि आफ्नो कोठामा लैजानुभयो । हाकिम सा’बको कोठामा रकेटराज पत्नी र नानी आधा घण्टासम्म बसे । आधा घण्टापछि हाकिम सा’बले डेपुटी डाइरेक्टरलाई पनि कोठामा बोलाउनुभयो ।
झन्डै दुई घण्टासम्म त्यहाँ कुराकानी भयो । तर, के कुराकानी भयो— मैले जानकारी पाउन सकिनँ । किन आएकी होलिन् रकेटराजकी पत्नी ? के कुरा होला ? भनेर मनमा अनेकन् जिज्ञासा पैदा भई नै रहे । संयोग भन्ने कि के भन्ने ? त्यसै दिन रकेटराजचाहिँ अफिस आएका रहेनछन् । त्यसअघि उनी अफिस नआएको या बिदा लिएको घटना बिरलै छन् ।
हाकिम सा’बले खाजा मगाउनुभयो माथि नै । खाजा सामान्य नै थियो– चाउमिन, मःमः र दुइटा समोसा । चिया पनि तीन कप गयो माथि ।
आमा र ती सानी नानी गह्रौं पाइला लिएर अफिसबाट बाहिरिए । हाकिम सा’ब उनीहरूलाई बिदा गर्न तलै गेटसम्म पुग्नुभयो । उहाँले नमस्कार फर्काउँदै भनेको सुनियो, “चिन्ता नगर्नुस्, हामी सबै तपाईंकै पक्षमा छौं ।”
लगत्तै हाकिम सा’बले मलगायत अरू चार महिला स्टाफहरूलाई माथि डाक्नुभयो । उहाँ अलि गम्भीर मुद्रामा देखिनुहुन्थ्यो ।
“हेर्नुस्, यो महिलाको भावनासँग सम्बन्धित विषय भएर मैले सही सल्लाह र उपाय पाउने आशाले तपाईंहरूलाई बोलाएको हुँ,” हाकिम सा’बको कुराले सबैका आँखा र कान उहाँतिर गए । के भन्न खोज्नुभएको हो, मैलेचाहिँ केही निधो गर्न सकिनँ । उहाँ त्यति गम्भीर हुनुभएको मैले कहिल्यै अनुभव गरेकी थिइनँ ।
“अघि मसँग कुराकानी गर्ने महिला हाम्रै सहकर्मी रकेटराजजीकी जहान र छोरी रहेछन् । रकेटराजजीले जहान र छोरीलाई मानसिक र शारीरिक यातना दिने रहेछन् । विगत दुई वर्षदेखि यातना दिइरहेको गुनासो आयो । पालनपोषण पनि नगरेको गुनासो उहाँहरूले गर्नुभयो । अब हामीले के गर्न सक्छौं ? त्यही समस्या समाधानका लागि सल्लाहको निम्ति तपाईंहरूलाई यहाँ बोलाएको मैले,” हाकिम सा’बले वस्तुस्थिति दर्शाउनुभयो ।
उहाँका कुराले हामी निःशब्द भयौं । तत्काल दिमागमा कुनै उपाय फुरेन । एकातिर सहकर्मीमाथि आफ्नै पत्नी र छोरीउपर गरेको अन्यायको विषय थियो भने अर्कातिर महिलासँग गाँसिएको सवाल पनि । हामी निकै बेर घोत्लियौं उपायको खोजीमा ।
सहकर्मीहरूमध्ये कसैले तत्कालै रकेटजीलाई जागिरबाट अवकाश दिनुपर्ने बताए । कसैले उहाँको तलबको आधा पत्नी र छोरीलाई दिनुपर्ने सुझाव दिए ।
“सर, यो कुरा एकतर्फीमात्र सुनेर हुँदैन । त्यसैले रकेटजी नआएसम्म हामीले कुनै निर्णय लिन उचित होलाजस्तो लाग्दैन । उहाँको कुरा पनि त सुनौं न । उहाँका कुरा सुन्नका लागि एक–दुई दिन कुर्दा हामीलाई हानि पुग्लाजस्तो लाग्दैन,” मैले सुझाव दिएँ ।
मेरो कुरा सुनिसकेपछि सबैले सहमति प्रकट गरे । अघि तुरुन्तै कारबाही हुनुपर्छ भनेर चर्को आवाज उठाउनेहरू पनि ‘अँ त्यो त हो’ भन्न थाले ।
रकेटराज भोलिपल्ट पनि अफिस आएनन् । फोन गरेर ‘सिक लिभ’ मागेछन् । हाकिमसा’बले अफिस आएपछि भेटमै सबै कुरा गर्ने सोचले थप कुरा केही गर्नुभएनछ ।
पत्नी र छोरी अफिसमा आएर गुनासो गरेको चौथो दिन रकेटराज अफिस पसे । उनको टु–स्ट्रोक आरएक्स मोटरसाइकलको आवाज अफिसको गेटबाट पस्नासाथ चिनिथ्यो ।
अघिपछि गार्डलाई समेत ‘के छ दाजु ? सञ्चै हुनुहुन्छ ?’ भन्दै पस्ने रकेटराज त्यसदिन बिरालोको चालमा भित्र पसे । उनलाई सञ्चो छैन भन्ने बहाना पनि मिलेकै थियो । किनकि तीन दिन छुट्टी लिइसकेका थिए बिरामी भएँ भनेर ।
उनले त्यसदिन दुईपटकसम्म आफ्नै टेबुलमा चिया मगाएर पिए । अफिसभरि उनको कुरा छरपष्ट भइसकेको थियो । तर, कसैले पनि थाहा पाएजस्तो गरेनौं । संसारका हरेक मानिसका आ–आफ्ना बाध्यता, विवशता, समस्या हुन्छन् । त्यसमा कसैले पनि अनावश्यक हस्तक्षेप गर्नु उचित होइन । आवश्यकै प¥यो भने सल्लाह, सुझाव मागिएको खण्डमा त्यो कदम चाल्नु उचित हुन्छ ।
दिउँसो ३ बजेतिर रकेटराज हाकिमसा’बको कोठामा पसे । त्यहाँ लगभग एक घण्टाजति कुराकानी भयो । हाकिमसा’ब र रकेटराज दुई जनामात्र थिए कोठामा ।
रकेटराज त्यहाँबाट फर्किंदा उनको अनुहार निकै गढेको देखिन्थ्यो । मेरो कोठा उनको कोठा जाने बाटोमै भएकोले धेरै कुरा मैले नचाहँदा नचाहँदै पनि देखिन्थ्यो । त्यसमाथि यो विषय त मेरा लागि पनि चासोको थियो । त्यहाँ के कुराकानी भयो, केही पत्तो भएन हामी कसैलाई पनि ।
भोलिपल्ट १० बजे अफिस पुग्दा गेटभित्र प्रतीक्षालयमा रकेटराजकी पत्नी र छोरी बसिरहेका थिए । उनीहरू चुपचाप कसैको पर्खाइमा बसिरहेजस्ता देखिन्थे ।
हाकिमसा’ब आउनुभयो । उहाँले दुबैलाई आफूसँगै माथि लिएर जानुभयो । कोठामा जानुअघि हाकिमसा’बले रकेटराजको कोठामा चियाउनुभयो ।
“ए उहाँ आउनुभएको रहेनछ । फोन लगाएर तुरुन्त आउन भनिदिनुस् त,” निजी सहायकलाई भनेको सुनियो ।
रकेटराज सवा १० तिर अफिस छिरे । उनी आफ्नो कोठामा झोला राखेर हाकिमसा’बकै कोठामा पसे ।
त्यहाँ झन्डै दुई घण्टासम्म कुराकानी भयो उनीहरूको । ढोका थुनिएको थियो । त्यसैले बाहिरसम्म केही आवाज आएन । रकेटराजकी पत्नी र छोरी १ बजेतिर अफिसबाट बाहिरिए । उनीहरूको अनुहारमा थोरै मुस्कान थियो, बढीचाहिँ कृतज्ञता थियो । रकेटकी पत्नीले दुबै हात जोडिरहेकी थिइन् । छोरी आमाको पाखुरा समातेर झुन्डिएकी थिइन् । रकेटराजचाहिँ क्याफटेरियाबाट केही क्याडबरी चकलेट ल्याएर छोरीको हातमा थमाउँदै थिए । उनीलाई गेटसम्म पु¥याएर बिदा गर्नुभयो हाकिमसा’बले ।
उनीहरूबीच के कुराकानी भयो, केही पत्तो भएन । त्यसदिन रकेटराज टाउको दुख्यो भन्दै ३ बजे नै अफिसबाट निस्किए । ४ बजेतिर हामी महिला स्टाफ र लेखा शाखाका प्रमुखलाई हाकिम सा’बले फेरि आफ्नो कार्यकक्षमा बोलाउनुभयो ।
“बल्लतल्ल मिलाइयो । कस्तो लफडामा परियो भने...” हाकिम सा’बले कुराको शुरुवात गर्नुभयो । हामी सबै मौन बस्यौं ।
“रकेट सरले पत्नी र छोरीलाई गाउँमा छाड्नुभएको रहेछ । यहाँ एउटी केटीसँग सल्किनुभएको छ भन्ने पत्नीको भनाइ थियो । गाउँमा सासूले लछार्ने पछार्ने, कुटपिट र यातना पनि दिनुहुने रहेछ । छोरीको स्कुल फि नतिरेर बोर्डिङले निकालिदिएछ । दुई हप्ताअघि गाउँ जान्छु भनेर जानुभएको थियो नि, त्यतिखेर उहाँ आफैंले आमासँग मुखमुखै लाग्ने भनेर कुट्नुभएको रहेछ...” हाकिम सा’बले परिस्थितिको वर्णन गर्दै जानुभयो । हामी चुपचाप उहाँका कुरा सुन्दै थियौं ।
“यो अफिसमा काम गर्ने भन्ने कुरा पनि एकजना छिमेकीमार्फत थाहा पाएर आइपुग्नुभएको रहेछ । लेखा प्रमुख सर, अब उहाँको तलबको आधा पत्नी र छोरीको नाममा चेक काटेर दिनुपर्ला । रकेटराजजीले यसमा सहीछाप पनि गर्नुभएको छ,” यति भन्दै एउटा कागज हाकिम सा’बले लेखा प्रमुखलाई दिनुभयो ।
हामीले भन्नुपर्ने केही कुरा थिएन । सबैको मुखबाट निस्कियो, “मान्छे त साह्रै भलादमी देखिन्छन् । तर, बुद्धि र व्यवहार भने खत्तमै रहेछ ।”
अघिल्लो सातासम्म सबैको हाइहाइका पात्र रकेटराजको छवि एकाएक अफिसभरि दानव, महिला हिंस्रक, पत्नी पीडकका रूपमा फैलियो । उनीसँग अफिसका निकटहरू पनि एकाएक तर्किन थाले । उनी कोठामै मात्र बसिरहन्थे, क्याफ्टेरियामा पनि एक्लै जान्थे र कुनामा बसेर खाजा खान्थे ।
कहाँबाट नम्बर पाइछन् कुन्नि, रकेटराजकी पत्नीले मलाई फोन गरिन् । उनले कतै पियनकै भए पनि जागिरका लागि सहयोग मागिन् । मैले केही भन्न सकिनँ ।
अफिसबाट बाहिरिने क्रममा त्यसदिन हाकिम सा’ब मेरो कोठामा छिर्नुभयो । उहाँले भन्नुभयो, “मैले रकेटराजको पत्नीलाई तपाईंको नम्बर दिएको थिएँ । यसो कतै केही मिल्यो भने सहयोग गरिदिनुहोला । शायद फोन गर्नुहोला उहाँले ।”
मैले फोन अघि नै आइसकेको कुरा उहाँलाई भनिनँ । जवाफमा यतिमात्र भनें, “हस् सर, यस्तो पीडामा सहयोग गर्न पाए त गुनै लाग्थ्यो । के गर्नु, भनौं भने आफ्नो मान्छे, नभनौं त गाँडो मान्छे भन्थे, त्यस्तै भयो रकेट सरको व्यवहारले ।”
उहाँले सहमतिस्वरूप मुन्टोमात्र हल्लाउनुभयो ।
कहिले दिनदिनै त कहिले एकदिन बिराएर रकेटराजकी पत्नीको फोन आउन थाल्यो । उनी बसुन्धरास्थित फुपूको डेरामा पाहुना लागेर बसेकी थिइन् ।
“दिदी, एउटा सानो काम पाएर छोरी पढाउने र बाँच्ने आधार भइदिए मात्र पनि हुन्थ्यो मेरा लागि त,” उनी बारम्बार भन्थिन् ।
झन्डै दुई हप्ताको मेरो प्रयासपछि मसँगै इन्जिनियरिङ पढेको साथीको कन्सल्ट्यान्सी फर्ममा सहायकको काम मिल्यो उनलाई । मैले नै उनलाई धापासीस्थित साथीको अफिसमा पहिलो दिन लिएर गएँ । उनी अति खुशी भइन् । अब छोरीलाई काठमाडौंमै बसेर पढाउने उनको धोको पूरा हुँदै थियो ।
रकेटराजजी अफिस आउन छाड्नुभएको त थिएन । उहाँको फुर्तीफार्ती पूरै सेलाएको थियो । बानी, व्यहोरा अफिसका सबैले थाहा पाइसकेका थिए । सबै उनीसँग टाढा हुन्थे । अफिसमा उनीसँग अफिसियल्लीभन्दा बाहेक गफगाफ गर्ने कोही भएनन् ।
एकातिर अफिसमा एक्लो पर्नु र अर्कातिर आधा तलब सीधै पत्नीको खातामा जान थालेपछि उनको छटपटाहटको मैले अनुमानमात्र गर्न सकें । उनमा कामको कुनै परवाह थिएन । यो महिनाको शुरुमै प्रकाशित हुनुपर्ने बुलेटिनसमेत निस्किएन । ढिला हुन थाल्यो । हाकिम सा’बले बोलाएर झपार्नुभएको चर्चा चलेको थियो ।
काम शुरु गरेको अर्को महिना रकेटराजकी पत्नीले फोन गरिन् । मैले सोचें— पहिलो तलब पाएर खुसियालीमा होला । तर, होइन रहेछ । उनले रकेटराज लिभिङ टुगेदरमा एउटी केटीका साथ धापाखेलतिर बसिरहेको चर्चा सुनिछन् ।
“दिदी, यो कुरा सत्य होला त ? म त त्यो मान्छेको व्यहोरा देख्दा होइन भनेर विश्वास गर्नै सक्दिनँ,” उनले भनिन् ।
पत्ता लगाउने पो कसरी ? भोलिपल्ट मैले रकेटराजको कोठामा पसेर कुरा धुत्ने प्रयास गरें । उनको आफू अहिले नख्खीपोटतिर बस्ने गरेको सुनाए । आखिर नख्खीपोट र धापाखेल त्यति टाढा त होइन ।
आधा तलब पत्नीलाई गइरहेकै थियो । कन्सल्ट्यान्सी फर्मबाट पनि तलब आइहाल्थ्यो । रकेटराजकी पत्नीलाई काठमाडौंको बसाइ त्यति गाह्रो भएन ।
एक साँझ अफिस छुट्ने बेलामा रकेटराज मेरो कोठामा पसे । उनी अलि हतास र आत्तिएको भावमा थिए ।
“मेनुका म्याडम, मैले जागिर छाड्ने निधो गरें,” उनको यो भनाइ मेरा लागि अप्रत्याशित थियो ।
“हाकिम सा’बलाई राजीनामा पनि बुझाइसकें । पृथ्वी गोलाकार छ, फेरि कुनै ठाउँमा भेट होला नि,” उनले भने ।
मलाई भने उनीसँग भेटभन्दा पनि पत्नी र छोरीको जीविकाको विषयले चिन्ता लाग्यो । यहाँबाट आधा तलब जाँदा कमसेकम सजिलोसँग जीवन चलाएका थिए विचरीहरूले । अब कसरी चलाउलान् जीवन ? साथीलाई तलब बढाइदेऊ भन्नुपर्ला । म यही चिन्तामा सोचमग्न भएँ ।
“ल है त, म गएँ । फोन गरूँला नि,” रकेटराजको भनाइले म झल्यास्स भएँ । बिदाइको हात हल्लाउन पनि मन लागेन । दुई सातासम्म मैले जागिर छाडेको कुरा उसकी पत्नीसँग लुकाएर बसें । पछि उनैले थाहा पाइछन् ।
जागिर छाडेपछि रकेटराजले दुइटा कलेज पढाउन थाले भन्ने खबर सुनिएको थियो । त्यहाँ पनि पत्नीले गएर आधा तलब लिने वातावरण मिलाएपछि उनी दिक्क भएका थिए भन्ने खबर आयो ।
एक वर्षपछि उनी शिक्षकहरूको गोष्ठीमा सहभागी हुन भनेर युरोप जाँदा उतै हराएको खबर आयो । कलेजमा पढाउने एउटी सहकर्मीलाई के–के प्रस्ताव राख्दा बबाल भएपछि मुलुक छाडेर सेफल्यान्डिङ गरेको हल्ला सुनियो । बेलाबेलामा उनकी पत्नी फोन गर्थिन् । उनले सहयोगको अपेक्षा राखेर भन्दा पनि त्यतिखेरको गुन सम्झिएर फोन गर्ने गर्थिन् ।
मैले पनि दुई वर्षपछि त्यो अफिस छाडें । एउटा अन्तर्राष्ट्रिय संस्थाको भ्याकेन्सी देखेर अप्लाइ गरेकी थिएँ । अफ्रिकाको लागि छनोट भएँ । केन्याको नैरोबीमा क्षेत्रीय अफिस थियो । त्यहीँका लागि मेरो पोस्टिङ भयो । देशमात्र नभएर मेरा लागि अफ्रिका नयाँ संसार थियो । अफ्रिका सुन्नासाथ शुरुमा डर भए पनि चुनौतीलाई स्वीकारेर म नैरोबी पुगें ।
नैरोबीमा ६ वर्ष काम गरेपछि त्यहीको अफिसले मलाई प्रमोसनसहित केपटाउन पठायो । केपटाउन साउथ अफ्रिकामा पर्ने अफ्रिका महाद्वीपकै सबैभन्दा दक्षिणी टुप्पो हो । न्यानो पानीको हिन्द महासागर र चिसो पानीको आन्ध्र महासागर केपटाउनकै समुद्रमा मिल्छन् । गोराहरूको बाहुल्य भएको केपटाउनको रमणीयताले गर्दा मलाई छोड्न मनै छैन ।
नैरोबीमा छँदा होस् या केपटाउनमा रहँदा होस्— मलाई रकेटराजको भन्दा पनि उनकी पत्नी र छोरीको सम्झना आइरहन्थ्यो । कन्सल्ट्यान्सीको साथीसँग फेसबुक, भाइबरमा कुराकानी भइरहन्थ्यो । साथीले मेरै आग्रहमा बाँच्न पुग्ने तलब दिएको थियो ।
दुई वर्षपछि कन्सट्यअन्सीवाला साथीले अचानक खबर ग¥यो, “रकेटराज आएर पत्नीलाई जागिर छाड्न लगाए । छोरीले पढिरहेको स्कुल समेत चेन्ज गर्न लगायो रे !”
काम छाड्न मन नहुँदा नहुँदै लोग्नेको दबाबले छाडेको कुरा उनले भन्दै थिइन् रे ! मेरो स्मृतिबाट रकेटराज, उनकी पत्नी र छोरी हराउन थाले । लाग्यो— ऊ सुध्रियो होला, पत्नी र छोरीलाई युरोपै लग्यो होला ।
कहिलेकाहीँ नेपालको त्यो अफिस, सहकर्मीको याद आउँदा रकेटराजको शुरुमै आउँथ्यो । मनमनै लाग्थ्यो— कुन देशमा होलिन् ती सानी छोरी ?
० ० ०
पज गरेको यूट्युब भिडियो जहीँको तहीँ थियो । मेरो मनले भने नेपालदेखि नैरोबी, केपटाउनसम्मका झन्डै १७ वर्षको यात्रा गरिसकेछ । अनुहारमा कुनै फेरबदल छैन, बोली शुरुमा भेट्दाजस्तै छ । मात्र आवरण फेरिएको छ । परिचय फेरिएछ । हिजोको त्यो पत्नीपीडक रकेटराज आज ‘रकेट महाराज’को परिचयमा स्थापित छ ।
पज गरेको भिडियोलाई फेरि प्ले गरें । उसले नारीलाई सम्मान गर्नुपर्छ भन्दै प्रवचन दिइरहेकै थियो । मेरो मन भने पुरानै अफिसमै थियो । फेसबुकमा रकेटराज भनेर सर्च गरें । रकेटराजको ठाउँमा यूट्युबमा देखिएजस्तै वेशको रकेट महाराज भेटियो । मैले फ्रेन्ड रिक्वेस्ट पठाउन खोजें । उसको साथी बनाउने ५ हजारको लिमिट नाघिसकेछ । मेरो भागमा फलो गर्नेमात्र प¥यो ।
बाफ रे बाफ् ! रकेट महाराजका फलोवरहरू ! साढे ४ लाख त फलोअर थिए । अमेरिकादेखि अस्ट्रेलिया, युरोप, खाडी सबैतिरका नेपाली उनका फलोअर थिए ।
‘महाराज दर्शन’, ‘गुरु हामीलाई कहिले दर्शन दिने यता ? टिकट पठाइदिऊँ ?’, ‘महाराज, मेरी छोरीले हजुरको प्रवचन नसुनी कफी पनि पिउँदिन’ आदि इत्यादि कमेन्ट थिए ।
ढोका घ¥याक्क खुल्यो । फुपू दिदी र उहाँकी बुहारी भित्र पसे । मैले रकेटराजको यूट्यूब भिडियो हेरेको देखेर फुपू दंग पर्नुभयो, “ए नानी, तँ पनि गुरुको चेली होस् कि के हो ?” फुपूले एक्कासि सोध्नुभयो ।
“गीतको भिडियो हेर्दैमा गायक–गायिका हुने, फिल्म हेर्दैमा नायक–नायिका हुने हो र फुपू ?” मैले उल्टै सोधें ।
“चेली नभए पनि तँ चिन्छेस् होला नि महाराजलाई त उसो भए ?” फुपूले फेरि प्रश्न गर्नुभयो ।
फुपूको परिवार नै रकेटराजको फ्यानमात्र होइन, चेला नै पो बनिसकेका रहेछन् । मैले अब उसको विगत केलाउनु र बताउनु जाती ठानिनँ ।
“गत साल गुरु अमेरिका आउनुहुँदा यहाँ हाम्रोमा दुई रात बसेर प्रवचन दिनुभएको थियो । साह्रै मीठो प्रवचन पो दिनुहुन्छ नि । तँ पनि सुन्ने गर् । जीवनको सार, सकारात्मक जीवन जिउने कला गुरुबाटै सिकेकी हुँ मैले,” फुपूका कुराले मेरो टाउको टिनिक्क टन्कियो । उसको विगत कसरी बताऊँ ? नबताऊँ त यो पाखण्डीलाई दुनियाँले भगवान् बनाइसकेछन् । मैले चुप लाग्ने नै निधो गरें ।
मोबाइलमा मेसेज आएको संकेत बज्यो । उही रकेटराजको रहेछ ।
“कता हुनुहुन्छ मेनुका देवी, चिन्नुभयो नि ?” रकेटराज उर्फ रकेट महाराजको प्रश्न थियो । उसले ‘देवी’ उपमा दिँदै मलाई सम्बोधन ग¥यो ।
मलाई रिस उठिरहेको थियो । मैले पनि व्यंग्य कसिहालें, “रकेट महाराज, दर्शन प्रभु ।”
मेरो जवाफलाई उसले सकारात्मक रूपमा लियो या नकारात्मक— थाहा भएन । तर, उसले भन्यो, “धन्य देवी । आज हाम्रो यो भर्चुअल दुनिया फेसबुकले भेट गराइदियो ।”
उसले मलाई पटक–पटक ‘देवी’ भनेर सम्बोधन गर्दा व्यंग्य गरेको जस्तो लाग्यो । सोधें, “रकेटराजजी, दुनियाँको नजरमा तपाईं महाराज भए पनि मेरा लागि उही रकेटराज नै हो । बरु भन्नुस्, कहाँ हुनुहुन्छ ?”
“बेल्जियमको ब्रसेल्समा बस्छु देवी,” उसले मेसेन्जरमै जवाफ दियो । म अमेरिका आएको कुरासमेत उसलाई भन्न मन लागेन ।
“अनि पत्नी र छोरीको हालखबर के छ नि ?” म प्रश्नको क्लाइमेक्समै पुगिहालें । किनकि मलाई उसका अरु पाखण्डी गतिविधिभन्दा उसको त्यो अबोध परिवारको चासो अनि चिन्ता ज्यादा थियो ।
“कहाँ हुनुहुन्छ देवी हिजोआज ?” उसले मेरो जिज्ञासाको जवाफ नदिएर मेरा बारेमा चासो राख्यो । मैले उसको जिज्ञासाको जवाफ नदिएर फेरि सोधें, “तपाईंकी पत्नी र छोरी कहाँ छन् अहिले ?”
निकै बेरसम्म उताबाट मेसेन्जरमा कुनै जवाफ आएन । मैले मेसेन्जरमा लेखेको मेसेज उसले हेरेको देखियो तर जवाफ दिएन । मैले फेरि प्रश्नवाचक चिन्ह राखेर मेसेज गरें ।
“देवी, तपाईंले थाहा पाउनुभएन ? बडो दुःखद् खबर छ । उनीहरूले त यो संसार छाडिसके । आमा–छोरीले नै यो सांसारिक पीडाबाट मुक्ति लिँदै आत्महत्या गरेको पनि पाँच वर्ष भइसक्यो देवी ।”
उसको जवाफले म बसेको सोफा घुम्न थालेको जस्तो भयो । दिमाग पूरै घुम्यो । म सम्हालिन सकिनँ । हातको मोबाइल तल गलैंचामा झ¥यो । मुखबाट अचानक निस्कियो, “तँलाई पाखण्डी रकेटे । स्वास्नी र छोरीको हत्या गरिस् होइन ?”
मुखबाट निस्किएको यो वाक्यले गर्दा फुपू अत्तालिनु भयो, “ए नानी, ए मेनुका ! के भयो तँलाई ? किन महाराजलाई रकेटे भनेर गाली गरेको ?”
फुपूलाई जवाफ दिन सक्ने अवस्थामा छैन म ।
(मे २२, २०१९, युलेस, टेक्सस)