site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नयाँ पुस्ताको कथा

पुस्तक टिप्प्णीः सिड्नी सपना

– ज्ञानु अधिकारी


‘सिड्नी सपना’ सानु घिमिरे ज्योत्सनाको पहिलो औपन्यासिक कृति हो । यसअघि कविका रूपमा परिचित सानुको साहित्य यात्रा आख्यानतर्फ मोडिएको छ । पहिलो औपन्यासिक कृतिमा नै परिष्कृत भाषा र प्रभावकारी विषयवस्तुका साथ उपस्थित भएकी सानुको आख्यान लेखनमा प्रशस्त सम्भावना देखिन्छ । उपन्यासको शीर्षकले ध्वनित गरेको अर्थ नै यो उपन्यासको मुख्य थिम हो । खासगरी अस्ट्रेलियाको सिड्नी शहरलाई अध्ययन र रोजगारीको गन्तव्य मानेर नेपालबाट बाहिरिने नयाँ पुस्ताको एउटा लहर नै चलेको छ । आँखामा मीठो सपना र मनमा हजारौं रहर बोकेर गएको आजका नयाँ पुस्ताले त्यहाँ गएपछि कस्तो जीवन बाँच्छ र एउटा कठोर संघर्षमा कसरी होमिन्छ भन्ने यथार्थलाई यो उपन्यासमा निकै कलात्मक र प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छोटाछोटा आयामका १६ वटा खण्डमा विभाजित यो कृतिमा ठूला सपना बोकेर सिड्नी पुगेका युवा वर्गको कथा छ । कृतिमा सिड्नीको परिवेशलाई नै देखाइए पनि यो विद्यार्थी भिसामा पढ्न गएका संसारभरिका नेपाली युवा वर्गको प्रतिनिधि कथा हो । समाख्याताले मुख्य रूपमा उभ्याएर प्रस्तुत गरिएकी सृष्टि यो उपन्यासकी केन्द्रीय पात्र हो र उसकै भोगाइ, अनुभूति, दृष्टिकोण र उसको जीवन संघर्षलाई कथानकको शृंखलामा उनिएको छ । प्रेममा धोका पाएर सिड्नी पुगेकी सृष्टिको सिड्नी बसाइका शुरुका दुई वर्षको अवधिमा घटेका घटना र भोगेका भोगाइहरूको शृंखला नै यो उपन्यासको कथावस्तु हो ।

उपन्यासमा अधिकांश पात्र युवा छन् । युवा पुस्ताका नारी र पुरुषको सम्बन्धलाई देखाउन खोजिएको यो उपन्यासमा अधिकांश पुरुषहरू नारीलाई उच्च सम्मान र समभावका दृष्टिले भन्दा पनि आशक्ति र सहानुभूतिका दृष्टिले हेर्ने गर्छन् भन्ने यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । ‘उमेरको उचाइ चढ्दै गएपछि एउटी केटीमान्छेलाई एकल जिन्दगी बाँच्न जुनसुकै देशमा गए पनि गाह्रो हुने रहेछ’ भन्ने अनुभूति सँगालेको यो कृतिको प्रमुख पात्रले उपन्यासका ठाउँ–ठाउँमा ‘केटा मान्छेहरू बहुलाहा हुन्छन्’ भन्ने गरेको भनाइ उपन्यास पढिसकेपछि हरेक पाठकको मनमा घोच्ने यथार्थ बनिदिन्छ । शिक्षाको उज्यालो नपुगेको नेपालका विकट ग्रामीण क्षेत्रका मान्छेमा मात्र होइन, शिक्षित र सभ्य भनिएका युवकहरूमा पनि नारीमाथि हेर्ने दृष्टिकोणमा उदार सोच नभएको कुरालाई उपन्यासमा परोक्ष रूपमा व्यक्त गरिएको छ ।

नेपाली जनजीवनको यथार्थलाई अबको समयमा नेपालमा मात्र होइन, डायस्पोरामा पनि खोज्नुपर्छ भन्ने चेतनासहित लेखिएको यो उपन्यासमा विदेशी भूमिमा पढ्न गएका, खासगरी युवतीहरूलाई पर्ने समस्या र उनीहरूको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । यसरी हेर्दा यो उपन्यास एउटी शिक्षित र स्वाभिमानी केटीको अनुभव र भोगाइबाट निर्मित धारणाबाट लेखिएको हुनाले पनि यसको कथानक नारीकेन्द्रित बनेको छ ।

‘सिड्नी सपना’ उपन्यास नेपाली डायस्पोराको कथा पनि हो । यो कृतिमा विशेषगरी सिड्नी शहरको परिवेश र त्यहाँका नेपाली युवाहरूको जीवनशैलीलाई रोचक तरिकाले चित्रण गरिएको छ । विदेशी भूमिमा बिताउने जीवन, सपनामा देखिएजस्तै सुन्दर र सजिलो नभएको कुरा प्रस्तुत गरिएको यो उपन्यासको एक ठाउँमा भनिएको छ, “काममा गयो, कलेज गयो । थाकेर घर आयो, नेपाल सम्झेर अलिकति आँसु चुहायो अनि निदायो ।” यही दुई वाक्यले डायस्पोरिक जीवनको यथार्थ विम्बलाई उतार्न सफल भएको छ । यहाँ मानिसहरू सुविधासम्पन्न त छन् तर रित्तो मन र शून्य दिमाग लिएर जीवन बिताउन बाध्य छन् भन्ने वास्तविकतालाई पनि उपन्यासमा प्रस्तुत गरिएको छ ।

उपन्यासमा सबैभन्दा प्रभावकारी रूपमा आएको पक्ष प्रेम र यौन हो । आजको युवा पुस्ता आशक्ति, प्रेम र यौनका विषयमा अनभिज्ञ र अन्योल देखिन्छ । यी तीन कुराबीचको भेद थाहा नपाएर उनीहरूको जीवन दुर्घटित भएको सन्दर्भ उपन्यासमा देखाइएको छ । उपन्यासकी प्रमुख पात्र सृष्टिलाई उपन्यासभरि ‘माया’ र ‘प्रेम’ शब्दले लखेटेको छ र एक ठाउँमा भनिएको छ, “पहिलो प्रेमीको फगत् आकर्षणभित्र चर्किएको मुटु, दोस्रो प्रेमीको दोस्रो रूपबाट टुक्रिएको थियो । अनि तेस्रो प्रेमीको झुटबाट धुजाधुजा हुन पुग्यो । अब मुसाफिकका लागि धड्किने एक टुक्रा सग्लो मुटु नै कहाँ बाँकी थियो र सृष्टिसँग ?” यसप्रकारका घटना र सन्दर्भहरूको माध्यमबाट प्रेम र आशक्तिबीचको पृथकतालाई देखाउनु पनि उपन्यासको महत्वपूर्ण पक्ष हो ।

उपन्यासकी नायिका सृष्टिको जीवनमा ठोक्किन आएका प्रज्ज्वल, आराध्य, विनोद, मुसाफिक अद्वितीयजस्ता जति पनि पुरुष पात्र छन्, के ती सबैले सृष्टिलाई प्रेम गर्थे ? वा प्रेमको नाममा यौन आमन्त्रण गर्थे ? यो कुरालाई उपन्यासमा निकै मार्मिक तरिकाले देखाइएको छ । प्रेममा जतिसुकै सचेत र गम्भीर बन्ने प्रयास गरे पनि आखिर हरेक नारीमा एउटा विवेकी र मायालु पुरुषको सामिप्यताको भोक लुकेको हुन्छ । यसैको परिणतिस्वरूप अद्वितीयजस्तो निकै पाको उमेरको पात्रसँग प्रेमपछि विवाह गर्न पुगेकी सृष्टिले ऊबाट चरम यौन शोषणमा पर्नु परेपछि प्रेम शब्द त विकृत बनेको छ नै, विवाह शब्द पनि घृणित बन्न पुगेको छ । विवाह गरेर स्वास्नी बनाएपछि यौन एकाधिकार हुने र जे गर्न पनि पाइने पुरुष मानसिकतालाई आलोचनात्मक रूपमा छर्लंग देखाइएको छ ।

उपन्यास प्रतीकात्मक छ । कतिपय सन्दर्भ र कथाहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेर उपन्यासलाई गन्थन हुनबाट बचाइएको छ । उपन्यासको प्रारम्भ सिड्नीमा अवस्थित होस्टेलको बन्द कोठाभित्र छिरेको बिहानबाट भएको छ भने अन्त्यचाहिँ मेलबर्नको एउटा नदी किनारको शान्त वातावरण र उडिरहेको परेवालाई देखाएर भएको छ । उपन्यासको खुला अन्त्य भएको छ । यसपछि उपन्यासको कथावस्तुले अर्थात् सृष्टिको जीवनले कस्तो मोड लिन्छ भन्ने कुतूहलताका बीचमा नै उपन्यासको अन्त्य भएको छ । केटी मान्छे संसारको जुनसुकै कुनामा गए पनि असुरक्षित छे र अबको उसको उद्देश्य भनेको स्वतन्त्र रूपमा बाँच्नु र सारा प्रतिकूलतालाई प्रतिकार गर्नु हो भन्ने सन्देश उपन्यासले दिएको छ ।

उपन्यासको प्रारम्भमा ध्यान र योगको सन्दर्भ आए पनि पछि ती सन्दर्भहरुले निरन्तरता पाएको देखिँदैन भने कतपय घटना र दृश्यको वर्णन गर्ने क्रममा विषयले अझ जीवन्त भाषाको अपेक्षा गरेको देखिन्छ । उपन्यासको कथानकलाई वर्णनात्मक रूपमा भन्दा पनि विश्लेषणात्मक शैलीमा प्रस्तुत गर्नु यो उपन्यासको विशेषता हो । यसरी विभिन्न उद्देश्य लिएर विदेशी भूमिमा संघर्ष गरिरहेका आजका युवा पुस्ताको साझा कथा बोकेको यो उपन्यासले समसामयिक विषयवस्तुलाई गम्भीररूपमा प्रस्तुत गरेको छ । 

shabdaga@gmail.com

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १०:०२
प्रतिक्रिया दिनुहोस्