
– गणेश पौडेल
“हातखुट्टा काटियोस् । आँखा फुटोस् । कान चुँडियोस् । केही छैन । मान्छे अलिअलि खुशीसँगै बाँच्न सक्छ । तर, सपना नटुटोस् । नत्र मान्छे जिउँदो लाश बन्छ ।”
बुझ्नुभयो नि ?
बुझ्नुभएन भने आउनुस्, म तपाईंलाई सपना टुट्ने, हराउनेहरूको कथा सुनाउँछु ।
० ० ०
सम्झनुस्— आज २०५२ फागुन १ गते हो । तपाईं भर्खर घरको सुसेधन्दा सकेर पिँढीमा पिँध टेकाउनमात्र लाग्नुभएको छ । यतिनै बेला तपाईंका घरमा एकहुल पाउना आए । तपाईंलगायत तपाईंको परिवारले उनीहरूलाई आफ्नो गच्छेअनुसार स्वागत गर्नुभयो ।
बिस्तारै साँझ छिप्पिँदै गयो । अँगेनाको डिलमा बसेर तपाईं उनीहरूसँग गफ गर्न थाल्नुभएको छ ।
पाहुनाहरूमध्येकै एउटाले घरको आधा लडेको भित्ता देखाउँदै भन्यो, “घर ढलेछ । नयाँ बनाउनुपर्छ अब ।”
अर्कोले थप्यो, “कति दिन च्याँख्लो र कोदाको खोले खाने ? माझनहरूले जस्तै धानको चामलको भात खानुपर्छ ।”
तेस्रोले पोहरसाल बाहुनको बिहे भोजमा उनीहरूसँग नराखेर तल्लो काँल्लोमा भतेर दिएको सम्झाउँदै थप्यो, “कति दिन थिचिएर बस्नू ? कति दिन हेपिएर बस्नू ? सबै मान्छे एउटै हैन र ? जातभात, वर्ग केलाई चाहियो ?”
महिला पनि रहिछ, समूहमा । उसले थपी, “तिमीसँग जन्मेका, सँगै गुच्छा खेलेका साथीहरू क्याम्पस पढ्दै छन् । तिमीचैं कतिदिन उनीहरूकै नोकर बनेर बस्ने ?”
— अर्काको अर्धाना लुगा टालेर कतिदिन लगाउने ?
— खाली खुट्टा कति दिन हिँड्ने ?
— बुर्जुवा शिक्षा कति दिन पढ्ने ?
— अर्काको जग्गामा अँधिया कमाएर कसरी पालिन्छ पेट ? कृषि क्रान्ति हुनुपर्छ । भोग्नेको हुनुपर्छ जमिन ।
— धरती पनि कसैको निजी हुन्छ ?
रातैभर उनीहरूले खै के–के नानाभाँती कुरा गरे । तपाईंको १५ वर्षे कलिलो दिमागले कति बुझ्यो, कति बुझेन । बुझेका बेला बुझेर मुन्टो हल्लाउनुभयो र नबुझेका बेलामा पनि उसरी नै मुन्टो हल्लाइरहनुभयो । जसरी तपाईंलाई ऋण दिने साहूले ब्याजको प्याज र प्याजको स्याज भन्दै हिसाब गर्दा मुन्टो हल्लाउनुहुन्थ्यो ।
भोलिपल्ट झिसमिसेमै उनीहरूले तपाईंका हातमा भरूवा बन्दुक राखिदिए र भने, “अब ढाल्नुपर्छ सामन्ती सत्ता । हामीले जोगाउनुपर्छ हाम्रो माटो । जोगाउनुपर्छ हाम्रो धर्म । हाम्रो संस्कृति । हाम्रो सभ्यता । उठाउनुपर्छ हाम्रो दबेको आवाज । यो देश हाम्रो पनि हो । यो माटो हाम्रो पनि हो । हाम्रा सन्ततिहरू पनि मालिक हुन पाउनुपर्छ । हामी सधैं नोक्कर हुनु हुँदैन ।”
उनीहरू अरू पनि धेरै कुरा भन्दै थिए, तपाईंको रगत तातिहाल्यो । रगत तात्नु भनेको उत्तेजनाले चरमोत्कर्षमा पुग्नु पनि हो । तपाईंलाई तपाईंका सपनाहरूले चरमोत्कर्षमा पुर्याए । तत्कालै तपाईं केही नबुझी सर्वस्स छाडेर लडाइँमा होमिनुभयो । तपाईंसँगै होमिए बिस्ने, सुर्जेे, गर्जे र अरू–अरू पनि थुप्रै युवाहरू ।
हो ! सपना खतरनाक हुन्छ ।
आगोको झिल्काले परालको कुन्यू टिपेजसरी नै टिप्न थाल्यो युद्धले देश । त्योभन्दा धेरै टिप्यो तपाईंका मगजले थरीथरीका सपना । अर्थ नबुझे पनि युद्धमै सिक्नुभयो तपाईंले संविधानसभा र गणतन्त्र । युद्धकै मैदानमा तपाईंका नजर कमरेड ज्वालासँग मिसिए । युद्धमै प्रेमको मीठो आभास पनि पाउनुभयो । तपाईंको विवाह पनि युद्धमैदानमै भयो । सन्तान पनि युद्ध मैदानमै जन्मियो ।
सपना र जिन्दगी एकै सतहमा बग्नु ठूलो कुरा हो । तपाईंले देख्नुभएको सपना र तपाईंले भोगिरहेको जिन्दगी एकै सतहमा बगिरहेका थिए । अकास्मत एकदिन क्याम्पमा साथी–साथीबीच को ठूलो भन्ने निहुँमा भनाभन भयो । भनाभनले नपुगेपछि हानाहान थपियो । हानाहानले पनि नपुगेपछि काटाकाटमा कुरा मिल्दै थियो, त्यत्तिनै बेला सरकारी सेनाले क्याम्प ध्वस्त बनाइदियो ।
सरकारी फौजको सुराकी गरेको भनेर भुनेको घाँटी रेट्यो, आफ्नै साथिले । समूहका बचेखुचेका सदस्यहरूमा घुसपैठ र प्रतिशोधको भावना बढ्न थाल्यो । अब सामन्ती सत्ताविरूद्ध शुरू भएको युद्ध आफैंभित्र हराउन थाल्यो । तपाईं आफैंमा घाइते हुनुहुन्थ्यो । युद्धमै त हो, तपाईंको खुट्टा चुँडिएको । युद्धमै त हो तपाईंका काखमा सानो छोरा राखिदिएर कमरेड ज्वाला सहिद भएकी ।
थाहै नपाई छिनभरमै तपाईंको समूह र रवाफ कता हरायो कता ।
हराएको समूह खोज्दाखोज्दै ०६३ साल लाग्यो । देशमा लोकतन्त्र आयो । तपाईं खुशीले उफ्रिनुभयो । गणतन्त्र आयो, झन् खुशी हुनुभयो । घुम्दैफिर्दै ०७२ साल पनि आयो । देशले संविधान पायो । हराएका साथीहरू महलमा भेटिए । त्यतिन्जेलसम्ममा तपाईंले भने त्रिशूलीको किनारमा गिट्टी कुट्ने काम थालिसक्नुभएको थियो । गिट्टी कुट्ने ध्याउन्नले संविधान ‘माने हो कि पिँडालु’ मरिगए बुझ्नुभएन तपाईंले ।
“हैन त ?”
“होत्ता ।”
“किन गिट्टी कुट्या त ?”
“खानु परेना ?”
“नयाँ घर बनाउनुभयो त ?”
“छैन हउ । पुरानो जलाइदिइहाले सेनाले । सानो कटेरो बनाको छु ।”
“चामलको भात पाक्छ त चुलोमा ?”
“च्याँख्लो पनि पो छैना ।”
“टालेको लुगा फेर्नुभयो त ?”
“झन् टाली पठाको पो छु ।”
“आफ्नो जमिन छ ?”
“चिल्लै ! भाको पनि पहिरोले लडाई पठायो पो ।”
“त्यो सिँगाने केटो तपाईंकै छोरो हो ?”
“हो हो ।”
“पढ्छ ?”
“पढ्देना । छाडी पठायो । गोठालो गर्छा । पढ्नु, गुड्नु छैन काम, हलो जोत्यो खायो माम भन्छा ।”
“उसो भए खै त तपाईंले देख्नुभएका ती सपनाहरू ?”
“कुन सपना ?”
“तपाईंले बन्दुक बोक्ने अघिल्लो साँझ देखेका सपना ।”
“साँच्ची, खै त्यो सपनाहरू ? तपाईंलाई थाहा छ ? भन्देना ए जेठा, कता पो हराई गोयो हाउ सपनाहरू ? गणतन्त्रले दिन्छ भन्थ्यो, दिएना ।”
० ० ०
“उफ् ! कस्तो कथा ?” भन्नुहोला ।
हैन हैन, यो कथा हैन । यो त हाम्रो देशको हविगत हो । रणमैदानमा सपना हराउने तपाईं र मबीचको संवाद हो ।
“ह्या ! म त कथा पो भनेको । उसो भए खै त कथा ?”
पख्नुस् न । भन्दै त छु । हतार केलाई छ र ? १० वर्ष युद्धमा होमिँदा र १० वर्ष संविधान पर्खिंदा केही भएन । नाथे एउटा कथा पर्खन सक्नुहुन्न ? रेल आउँदै छ क्या । छिटै पुगिन्छ । खै त कुरा बुझ्या !
० ० ०
अकास्मत धरती हल्लिन्छ । धरतीसँगै धरतीमाथिका सबैथोक हल्लिन्छन् । भूकम्पले ठूलै असर पुर्याउँछ ।
धरती हल्लिएको तेस्रो दिन गाउँबाट आएको फोनले उसको मगज हल्लाउँछ । त्यसपछि ऊ गाउँ पुग्छ ।
गाउँमा विचल्ली छ । भूकम्पसँगै आएको पहिरोले चारजना मान्छे मर्छन्, जसमा तीन जनाको लाश भेटिन्छ तर रिपदेनको भेटिँदैन । लाश नभेटिएको मान्छेलाई सरकारले मरेको मान्दैन । नमरेको मान्छेको नाममा राहत पनि त दिँदैन सरकारले । तर, वास्तविकतामा रिपदेन मरेको छ । रिपदेनको घरसहितको पूरै तोरीबारी पहिरोले बगाइसकेको छ । गाउँलेहरूले खुद देखेका हुन् । मरेकै विश्वासमा रिपदेनले लगाउने गरेको कुनै कपडाको टालोलाई कृत्रिम शव बनाएर जलाई पनि सके छिमेकीहरूले ।
ठीक यत्ति नै खेर उसलाई रिपदेन मरेको प्रमाणित गरिदिनु छ । उसले लेखिदिनु छ ‘रिपदेन मर्यो’ भनेर कुनै राष्ट्रिय पत्रिकामा । र, त्यहि पत्रिकाको हेडलाइन देखाएर रिपदेनको नाममा गाउँलेहरूले सरकारसँग राहत माग्ने यो अन्तिम विकल्प पनि हो ।
उसले चुपचाप गाउँलेहरूको अनुहार पढ्यो । र, अन्तिमचोटि रिपदेन सम्झियो । र, सम्झियो उसको खुइलिएको हाफ पाइन्ट । नङ उप्किएको बूढी औंला । लेग्रो बसिसकेको हातको नाडी । कानसम्म आएको कपाल । पुक्क फुलेका गाला । र, १५ वर्षअघिका रमाइला दिन ।
कथा यहीँबाट शुरू हुन्छ । यो कथाको टाउको हो ।
० ० ०
रिपदेन उसको बालसखा हो । त्योभन्दा अरू रिपदेन टुहुरो सन्तान हो, जसले जन्मिनुभन्दा पहिल्यै आफ्नो आपा (बुवा) गुमायो । सावाँ अक्षर नचिनी विद्यालय छाड्यो र बाख्रा गोठालो बन्यो ।
ऊ आफ्नै बालापनमा पुग्छ र स्कुने जीवनमा रिपदेन र उसले गरेका खराब हर्कतहरू सम्झन्छ । रिपदेनको आपा माटोको लागि आन्दोलनमा होमिएका एक आन्दोलनकारी हुन्, जो आजसम्म हराएका हरायै छन् । एकदिन रिपदेन र ऊ हराएका आपालाई खोज्न घरबाट भाग्छन् र फुपूकोमा पुग्छन् । त्यहाँ एकजना बूढो दाह्रीवाला मान्छेसँग उनीहरूको भेट हुन्छ । दाह्रीवाला नोरदेन (रिपदेनको आपा)को साथी हुन्छ । नसिम हो उसको नाम ।
नसिम र नोरदेन जिग्री हुन् । सँगै बढे र सँगै माटोका लागि लडे । लडाइँमा के–के भयो, सबै कुरा नसिमले रिपदेन र उसलाई बताउँछ ।
कहानी सुनेर भोलिपल्ट उनीहरू घर फर्किन्छन् । घर फर्किएकै अर्का दिन उसलाई बाजेले शहर पढ्न पठाउँछन् । त्यसपछि रिपदेन र उसको भेट कहिल्यै हुँदैन ।
अब ऊ (ऊ अर्थात् म पात्र)ले रिपदेनको कथा लेख्नु छ । रिपदेनलाई मृत घोषणा गर्नु छ ।
कथा यहीँ सकिन्छ । यो कथाको खुट्टा हो ।
“उफ् कस्तो कथा हो ! खै त भुँडी ?” भन्नुहोला ।
भुँडीचाहिँ ‘फातसुङ’मा छ ।
“हँ ? फेरि के हो यो ‘फातसुङ’ ?”
उसले भनेको (फातसुङ) लेप्चा शब्द हो । फातसुङको अर्थ हुन्छ— माटोको कथा ।
मान्छेको जीवनमा सबैभन्दा ठूलो महत्व माटोले राख्छ । जन्म, जीवन र मृत्यु सबै माटोमाथि नै हुने प्रक्रिया हुन् । मान्छेले आफ्नो अस्तित्व जोगाउन माटोको संरक्षण गर्नुपर्छ । तर, संसारमा त्यस्ता घटना पनि छन्, जहाँ मान्छेले माटोको रक्षा गर्न भन्दै मान्छेकै नास गरेका छन् ।
यस्तै भयो दार्जिलिङमा पनि, सन् १९८६ पछाडि । सुवास घिसिङले गोर्खाल्यान्डको आगो फुकिदिए । त्यही आगोमा सल्किएर १२ सयभन्दा धेरैले आफ्नो प्राण माटोको खातिर चढाए । अन्त्यमा ‘गोर्खा पार्वत्य परिषद्’को नाममा आन्दोलन तुहियो ।
लेखक छुदेन काबिमोले उपन्यासको भूमिकामा भनेका छन्, “खासमा यो धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा हो । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसमा सपना हराएका छन् । यो ती सुस्केराहरूको कथा हो, जसले आफ्नो उमेर गुमाएका छन् । यो एउटा सहिद सपना हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।”
स्थानीय लेप्चा जातिहरू कसरी क्षेत्रीहरूको थिचोमिचोमा परेका छन्, कसरी गरिब जनतालाई राजनीतिले विभिन्न बहानामा बारम्बार चुसिरहेको छ, चेतनाको अभावले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारका लागि जनता कसरी तड्पिरहेका छन्, गिठ्ठा–भ्याकुरले कसरी प्राण बचाइराखेका छन्, उपचार र भोकमारीले कसरी नाबालकहरूले स्वास फेर्न बिर्सिए, अशिक्षितहरूको चेतनामाथि कसरी धावा बोल्छ नेतृत्व, कसरी रणमैदानमा पनि प्रेम जीवनको पर्याय बन्छ, प्रतिशोधले कसरी मान्छेले गन्तव्य बिर्सिन्छ— लेखकले भनेजस्तै ‘फातसुङ’ले धेरै कुरा बोलेको छ ।
कसरी आन्दोलनले स्पष्ट बाटो र सही नेतृत्व नपाउँदा आफैंभित्र जेलिएर मर्छ भन्ने उपन्यासको मुख्य पाठ हो ।
छुदेनले ‘फातसुङ’मा दार्जिलिङको लवज जस्ताको तस्तै उतारेका छन् । उपन्यासको सबैभन्दा लोभलाग्दो पक्ष यही हो ।
‘फातसुङ’ दार्जिलिङको मात्र कथा नभएर नेपालको पनि कथा हो । जस्तो कि— तपाईं र मबीच माथि भएको संवादको भाव उपन्यासमा भेटिन्छ । धेरैजसो घटनाक्रमहरू ठ्याक्कै हाम्रो नेपालसँग मिल्छन् । निकै लामो समय नेपालीहरूले भोगेको गृहयुद्धको दुःखलाग्दो झल्को ‘फातसुङ’ले दिन्छ । पूर्वी नेपालमा बसोबास गर्ने स्थानीय जाति, भाषीहरूको पहिचानको मुद्दा ‘फातसुङ’ले उठाएको छ । पूर्वी नेपालका विकट जिल्लामा बस्ने नेपालीहरूले भोग्ने गरिबी ‘फातसुङ’भित्र पनि छ ।
‘फातसुङ’ सपना र यथार्थको गोलचक्करमा आफ्नो अस्तित्व गुमाउनेहरूको आर्तनाद हो ।
‘फातसुङ’ले धेरै राम्रा कुराहरू बोले पनि केही कमजोरीहरू अवश्य छन् । जस्तोः सबै पाठकलाई उपन्यासमा प्रयोग भएको स्थानीय लवजले स्वाद नदिन सक्छ । कति अश्लील शब्दहरू पनि बारम्बार प्रयोग भएका छन् । ती शब्द प्रयोग नगरेकै भए पनि उपन्यास खल्लो हुने थिएन । उपन्यासमा नारी पात्रहरू गौण र लाचार छन् । प्रश्न उठ्छ— गोर्खाल्यान्डको आन्दोलनमा नारीहरू होमिएका थिएनन् ? नेतृत्व गरेका थिएनन् उनीहरूले ? अथवा किन ओझेलमा पारियो नारीलाई ?
छिनछिनमा हँँसाउने, छिनछिनमा रूवाउने ‘फातसुङ’ लोभलाग्दो छ ।
एकपटक तपाईं पनि पढ्नुस् । कतै तपाईंले आफ्ना हराएका सपनाहरू पो भेट्नुहुन्छ कि !
नामः फातसुङ (उपन्यास)
लेखकः छुदेन काबिमो
प्रकाशकः फाइनप्रिन्ट