
— अक्षर काका
“तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई तुरुन्तै भेट्नु थियो ।” २०५९ जेठ ६ गते त्यस्तै १२ बजेतिर हुनुपर्छ, संगीता खड्काको पेजरमा म्यासेज आयो ।
काठमाडौं संकटकालको चर्को सन्नाटामा थियो । चारैतिर मृत्युको कोलाहल, रुवाबासी र बम–बारुदको धूवाँले मुलुक आक्रान्त बनेका बेला शहर पनि त्यसबाट अछुतो थिएन । राजधानी शहरसमेत भएकाले आतंकको चक्रव्यूहमा थियो काठमाडौं ।
पेजरमा सन्देश खसाल्ने चिनजानकै मान्छे थिए । ‘जनदिशा’देखि नै उनीसँग जोडिएकी थिइन् संगीता । माओवादी युद्धसँग भावनात्मक साइनो जोडिएकै व्यक्ति भएकाले शंका गर्नु नपर्ने हो । तर, परिस्थिति संगीताले सोचअनुरूप कहाँ थियो र !
आफ्नै साथीहरू सुराकी बनिरहेका बेला पेजरमा बज्न आइपुगेको म्यासेजले उनको मनमा चिसो पस्ने नै भयो । मस्तिष्क शंकाले डस्ने नै भयो ।
“त्यति फुर्सद त छैन । भेट्ने नै हो भने टेकु आउनुहोला, त्यस्तै ५ बजेतिर,” उनले खबर छाडिन् ।
तिनताक उनको अस्थायी मुकाम टेकु नै थियो । चारैतिर युद्धको डँढेलो सल्किएकाले राँकिएको मन लिएर अपराह्नतिर टेकु लागिन् । गन्तव्य पुग्न भ्याएकी थिइनन् । उनको नजर अपरिचित हुलियामा ठोक्कियो । उनले शंकालु आँखा दायाँ–बायाँ घुमाउन पनि भ्याएकी थिइनन् । ती व्यक्ति उनको सामुन्ने खडा भए । खल्तीबाट परिचयपत्र निकाले र आफू अनुसन्धान अधिकारी भएको चिनापर्ची थमाए ।
६ महिनासम्म आफूलाई अनेक मृत्युबाट उम्काएकी थिइन् । गुप्तचरका टाठा आँखालाई पत्रकारको वेशमै छक्याएकी थिइन् । प्रहरी हिरासतभित्रका कयौं त्रासदीलाई अक्षरमा उतारिसकेकी संगीताको मथिंगलमा यातनाको त्रासद विम्बले डेरा जमायो । एक मनले भाग्ने अठोट गरिन् । तर, रगत निल्न तम्तयार बन्दुक सामुन्नेमा खडा भएपछि उनको नौनाडी गल्यो ।
“पत्रकार हुँ, ज्यानै त नलेलान् नि !” निश्चय गरेर उनले पक्राउ दिइन् । सुरक्षा अधिकारीले ट्याक्सीमा बस्न अनुरोध गरे । नाइँनास्ती नगरी उनी ट्याक्सीमा बसिन् । ट्याक्सीको अगाडि सिटमा त उनलाई बोलाउने आफ्नै सहकर्मी पो रहेछन् ।
“गिरफ्तार गराउने आफ्नै सहकर्मी !” उनको मन अमिल्लियो । दृष्टि धमिल्लियो ।
खै कतिबेला टेकुबाट गुडेको ट्याक्सी त्रिपुरेश्वर आइपुग्यो । त्रिपुरेश्वरबाट उकालो चढेर सुन्धारा पुग्यो । सुन्धाराबाट ट्याक्सी अगाडि बढ्दै गर्दा उनको आँखामा मृत्युका अनेक तस्बिर कुँदिए । मनभित्र सम्भावित यातनाको कल्पनाको जुलुस उठ्यो । कानमा भय र आतंकको जोर शंख बजिरह्यो ।
ट्याक्सी रत्नपार्कबाट पुरानोबसपार्क हुँदै पर्यटनबोर्डको घुम्ती मोडिएर सीधै पूर्व लाग्यो । राष्ट्रिय सभागृह काटेर महेन्द्र पुलिस क्लबको गेटमा पुगेर रोकियो ।
“भित्र लगेपछि जिउँदै फर्कन नपाइने त होला !” मनभित्र मृत्युको चिसो स्याँठ चल्यो ।
“सल ले !” एकजना प्रहरी अधिकारीले घाँटीमा लगाएको सल थुते र आँखामा टिमिक्क कसिदिए । टाउको फुट्लाजसरी दुख्यो ।
संसार निमेषभरमै अन्धकार भयो । आँखामा एकछिनसम्म मृत्युको चित्र सलबलाइरहेका थिए । पट्टीले छोपेको उज्यालोभित्र क्रान्तिको फिलिंगो पो नाच्न थाल्यो । परिवर्तनको रुमानी सपनाले ठिहिर्याएको मनलाई त्राण दियो । मनभित्र मृत्युपत्रमा हस्ताक्षर गरिसकेकाले मनलाई अझै दह्रोसँग अँठ्याइन् ।
महेन्द्र पुलिस क्लब पुर्याइने एक्ली थिइनन् उनी । उज्यालो देख्न बर्जित तुल्याइए पनि कानहरू चनाखा थिए । चारै सुरबाट केरकारका आवाज विथोल्न आइपुग्थे । उनलाई पनि कुर्सीमा बसालियो र बयान लिन थालियो ।
क्रान्तिप्रति आस्था राखे पनि क्रान्तिबारे वृत्तान्त थाहा थिएन । जनयुद्धका सारथिका ठेगाना सोधिन्थ्यो । सम्भावित आक्रमणको खुलासा गर्न भनिन्थ्यो । उपत्यकाको सेल्टर भन्न लगाइन्थ्यो । अकिञ्चन कलम बोकेर हिँड्ने कलमजीवीलाई त्यतिबिघ्न कसरी थाहा हुन्थ्यो ! डेढ घण्टाको अवधिमा तीन टोली बदलिए । फरक–फरक आयामबाट र सकुन्जेल केरकार गरे । केही सुराक नमिलेपछि यातनाका ‘कोर्रा’ बर्साउन थाले ।
यातना शुरू गर्नुपूर्व उनको आँखाको पट्टी बदलियो । सल फेरेर आँखामा कालोपट्टी बाँधिदिए । अघि सलका छिद्रबाट उज्यालोको अंश देखिएको प्रतीत हुन्थ्यो । अहिले संसार पूरै अन्धारकारमा डुबुल्की मार्न थाल्यो ।
थप्पडबाट शुरू भएको यातना सिम्किनोमा पुगेको थियो । क्लब परिसर यातनागृहमा बदलिइसकेको थियो । यातनाका खरखजाना पनि प्रशस्तै थिए । सिमालीको सिम्किनो, काँडेदार घँगारु, कटबाँसका लाट्ठी, पोलिथिन पाइप र फलामे रड— केमात्र थिएनन् यातनाका सरसामान ! ती सबै शरीरमा पालैपालो बर्सिन्थे । किशोर शरीर विदीर्ण तुल्याउँथे ।
‘ऐया... मरें..!’ को चीत्कार, क्रन्दनको मुस्लो उठ्थ्यो । तर, बेपरवाह थिए– ‘शान्तिसेवक’ ।
राँटो नरहने गरी बुट–लाठी भेटिन् संगीताले । यातनाले शरीर पाटझैं थिल्थिलियो । अनुहार डम्म फुल्यो । कान टमक्क बिर्को लागेझैं भयो । शरीरबाट मासु खस्न थालेझैं असह्य पीडा भयो । रगतपसिनाको आहालमा चोपलियो– १९ वर्षे कोमल–काया ।
ज्यानले यातना थेग्न छाडेपछि उनी मनमनै कामना गर्थिन्, “बरु एउटा गोली दागे पनि त हुन्थ्यो । निमेषभरमै मुटु छेड्थ्यो, यस्तो असह्य पीडा त बेहोर्नु पर्दैनथ्यो !”
तर, त्यति सजिलै मृत्यु भोग्न कहाँ पाइन्थ्यो ! राज्यले छुट्ट्याएको यातना नभोगी मर्न पाइन्छ र सजिलरी !
मर्लान्त शरीरले १० घण्टा अविच्छिन्न यातना बेहोर्यो । टाढा–टाढा भालेको डाँक सुनियो । कुकुरहरू जोडले भुक्न थाले । संकटकालको आतंक छिचोल्दै सवारी गुड्न थाले । ‘ऐयाऽऽ आत्थुऽऽऽ’ को स्वर पातलिँदै गयो ।
संगीताले लामो उच्छ्वास छाडिन्— आँखाले हेर्न नपाए पनि शरीरले त उज्यालो देख्न पायो !
० ० ०
महेन्द्र पुलिस क्लब पुर्याउँदा जीवनको आश त निख्रिएको थियो नै, मृत्युको अत्यासले पनि पिरोलेको थियो । निर्मोही, एकलास ठाउँमा मृत्युको गुञ्जनबाहेक केही थिएन । मृत्युको नीरवता पन्छाउने तागत पनि उनीसँग थिएन । ‘चिहान’को ‘आगत’ बनेको थियो– यातनागृह ।
क्रूर र मानवीयताको रंग नमिसिएको यातनापछिको कोलाहल पन्छाउँदै एउटा परिचित आवाज उनको कानमा आएर ठोकियो, “संगीता बहिनी ! तिमी पनि पक्राउ पर्यौ ?”
यातनाले थिल्थिल्याएको शरीरलाई त्राण दिने आवाज थियो त्यो । र, त्यो आवाज थियो– कृष्ण सेन इच्छुकको ।
यातनाकक्षमा त्यसपूर्व पनि इच्छुकको नाम सुनेकी थिइन् । प्रहरी अधिकारीले उनको नाम उच्चारण गरेका थिए । तर, यसपटक टड्कारो भयो । कृष्ण सेनको वाक्यस्पर्श बडो न्यानो अनुभूति भयो । चहर्याइरहेको घाउले मल्हम पायो । बेसहारा मुटुले वत्सल पायो । मन प्रफुल्ल बनाउँदै उनले जवाफ दिइन्, “म पनि पक्राउ परें ।”
आँखामा पट्टी बाँधिएका कृष्ण सेनले शायद चिच्याहट सुनेर संगीतालाई पहिचान गरे होलान् ।
“कसरी पक्राउ पर्यौ त ?” सेनले दोस्रोपटक सोधेका थिए उनलाई ।
“... सरले बताइदिनुभएछ !” उनले संक्षेपमै भनिन् ।
धेरैबेर अडिन पाएन त्यो वार्तालाप । रहिरहन पाएन सामीप्यता । केहीबेरमा इच्छुकमाथि चर्को यातना शुरू भयो । बेलाबखत करूण आवाज कानमा ठोक्किन आइपुग्थ्यो । मुटुलाई छियाछिया तुल्याउँथ्यो । हलको कुनाबाट यातनाको पीडा सहन नसकेर इच्छुकले वान्ता गर्न थालेको सुनियो । केही समय व्यतीत भएको हुँदो हो । एकजना अधिकारीको कर्कश आवाज सुनियो, “तैंले केही पनि खोलिनस्, अब मर्न हिँड् !”
त्यसपछि नेपथ्यमा केही सर्याकसुरूक आवाज सुनियो । इच्छुक पक्राउ परेको यो दोस्रोपल्ट थियो । पहिलोपल्ट पक्राउ पर्दा पत्रकार महासंघ आन्दोलित भयो । सरकारले बाध्य भएर रिहा गरेको थियो । र, जेलबाट छुटेको केही समयमै पुनः पक्राउ परेका थिए, इच्छुक ।
उनको मनले निश्चय गरेको थियो— मारी नै त हाल्दैनन्, मार्न भनेर केरकार गराउन लगेका होला !
तर, होइन रहेछ ।
रोगले गाँजेको शरीरमा यातना पनि थपिएपछि उनी मर्लान्त परेका थिए । र, उपचारका लागि लगेका रहेछन् ।
एक घण्टापछि फर्काएर त्यहीँ ल्याइयो । प्रहरी अधिकारीहरू भन्थे, “भर्खर अस्पताल पुर्याएर ल्याएको । अब जो आए पनि कुट्न नदिनू ! बाँचे पो बक्ला !”
जेठ ७ गतेको मध्यरात पुरुष बन्दीलाई अन्यत्रै सरूवा सारियो । संगीता र इच्छुकमात्रै त्यहाँ रहेछन् । इच्छुकसँग कुनै संवाद भएन । त्यस्तै बिहानको २ बजेको हुँदो हो । संगीतालाई पनि त्यहाँबाट उठाइयो । निःस्तब्ध रातमा गाडी चढाइयो । उनी बलि चढाउन तम्तयार पाठापाठीझैं निरीहतापूर्वक डोहोरिइन् ।
इच्छुकलाई हिरासतमा एक्लै छाडेर उनलाई निस्कन मन त थिएन । जीवनको आदर्श पत्रकार यातनाको उत्कर्षमा पुर्याइँदा उनी चुपचाप सुनिरहन अभिशप्त भइन् । बिदाइका बखत ‘जान्छु’ पनि भन्न पाइनन् । न इच्छुकले गलेका हात नै हल्लाउन पाए ।
त्यसको ६ दिनसम्म इच्छुकको मर्लान्त ज्यानले यातना झेल्यो । छैटौं दिनका दिन शरीर हारमान्नु भयो । मृत्युले घेरा हालिहाल्यो । दुनियाँले ‘जनआस्था’ साप्ताहिक पढेर इच्छुक मरेको खबर थाहा पायो ।
‘बलात्कार गरेर मार्छौं !’
पुलिस क्लबबाट निकाल्दै गर्दा प्रहरी अधिकारीले उनलाई भनेका थिए, “तैंले केही कुरा खोलिनस्, न पत्रिका कहाँ छापिन्छ भन्छेस् ! तँलाई बलात्कार गरेर जंगलमा फाल्दिन्छौं ।”
तर, रत्तिभर डराइनन् उनी । पत्रकारिताले ज्यान जोगाउन नसके पनि अस्मिता जोगाउला भन्ने उनलाई लागेको थियो ।
“हतियार बोकेर युद्धमा होमिएको होइन, समाचार न लेखेको हुँ । पत्रकारलाई बलात्कार नै गरेर मार्ने हिम्मत गर्लान् र ?” मनले आफैंसँग प्रतिप्रश्न गथ्र्यो ।
पसिना र रगतले लछप्पै भिजेको सलले आत्मविश्वास दह्रोसँग कसिन् र गाडीमा बसिन् । गुडेको १० मिनेटमात्रै भएको थियो, गाडी रोकियो । उनले अन्दाज गरिन्— तीनकुने चौकी ल्याए होलान् ।
नभन्दै तीनकुने नै रहेछ । हिरासतमा दुई–तीनजना अरू पनि बन्दी थिए । ठूलो आड पाएको प्रतीत भयो ।
तीनकुनेका प्रहरीले भौतिक यातना त दिएनन् तर मनोवैज्ञानिक त्रास प्रशस्तै पैदा गरे । कहिले मुख्यालबाट आएको भन्दै अनेकानेक फर्म भराउँथे । कहिले सेनाहरू आएर तर्साउनुसम्म तर्साउँथे । ‘पोल नखोले मारिदिन्छौं’ भन्थे ।
“आतंककारीलाई सघाउने गरी समाचार किन लेख्छेस् ? तँलाई ‘कान्तिपुर’मा जागिर लगाइदिन्छु,” सिंह थरका डीएसपीले महेन्द्र पुलिस क्लबमै प्रलोभन देखाएका थिए ।
हिरासत र यातनाले क्रान्तिप्रतिको मोहलाई अझ उचाइमा पुर्याएको थियो । मूर्तिवत् मौन बसेपछि लात्तीले भुक्क हान्दै रिस फेरेका थिए ।
तीनकुने चौकीको त्रासको ओतमुनि उनी एक महिना बसिन् । यातनाका नीलडामले शरीर सध्धे थिएन । शरीरका नसा गाँठिएका थिए । ठाउँ–ठाउँमा रक्तप्रवाह थुनिएर शरीर झम्झमाउँथ्यो । दुख्नुसम्म दुख्थ्यो । भतभती पोल्थ्यो । प्रहरीले लुकाएर मल्हम दिन थाले । भूमिगत शैलीमा कनिष्ठ पदका प्रहरीले सेक्नका लागि तातोपानी उपलब्ध गराउँथे । १५ दिनमा शरीरका देखिने घाउ निको भए ।
जीवनको दुर्दशा यत्तिमै कहाँ खाटा बस्छ र ? उनले आफूलाई अर्को विदारक यातना सहन तयारी गरेजस्तो पो भयो । तीनकुने चौकीमै हिरासतमा रहँदा कसैले सुइँको दिएछ, “संगीता खड्का महादेवस्थानकै हुन् !”
त्यसपछि शुरू भयो नारकीय यातना र बर्बर ताडना ! तीनकुने चौकीबाट उनलाई थानकोट ब्यारेक पुर्याइयो । पन्ध्रौं दिनसम्म उनको भागमा यातना परेन । सोह्रौं दिनबाट यातनाको भारी वर्षा हुन थाल्यो ।
शाही सेनाले भररात यातना दिन्थ्यो । यातना दिँदादिँदा सेनाका जवान थाक्थे । बिहान भएपछि जिउमा चिसोपानी खन्याएर सिस्नोको आँडोले डाम्थे । ‘ऐयाऽऽऽ आत्थुऽऽऽ’को कुनै परवाह थिएन ।
चिसोपानी र सिस्नोको आँठोसँग जुध्दाजुध्दा उनी मर्लान्त हुन्थिन् । शरीर हिलोमा बिसाउँथिन् । हलेदो दलेजस्तो हुन्थ्यो शरीर । तर, पनि शाही सेनामा दया टुसाउँदैनथ्यो । यातनाले शरीर थिल्थिलिए पनि उनले ‘अस्मिता’माथि हात लगाउन दिएकी थिइनन् ।
शाही सेनाको ब्यारेकमा पुगेपछि उनको मनले हरेस खान थाल्यो । शाही सेनाको हिरासतमा पुगेका छापामार बलात्कृत भएका समाचार उनी आफैंले लेखेकी थिइन् । आफू पनि समाचारको शीर्षक बन्नुपर्ला भन्ने भयले फणा उठइरहन्थ्यो ।
“बलात्कार सबैभन्दा दारूण यातना हो । ब्यारेकमा पुगेपछि अस्तिमा जोगाउन सक्दिनँ जस्तो लाग्यो । आत्महत्याको तयारीसमेत गरें,” त्यतिबेलाको क्षण सम्झिन्छिन् उनी ।
शौचालयमा सलको पासो लगाएर झुन्डिने तयारीसमेत गरेकी थिइन्, संगीताले । तर, अनेकौं मृत्युलाई धकेल्दै आएकी संगीतालाई जीवनको जीजिविषाले जित्यो । त्योभन्दा बढ्दा माओवादी नेतृ देवी खड्काको आत्मविश्वासले जिउन प्रेरित गर्यो ।
हिरासतमा रहँदा प्रियजनको सम्झनाले आहत बनाउँथ्यो । आफन्तको न्यस्रोले मर्माहत तुल्याउँथ्यो । कुनै प्रहरी सहयोगी निस्किन्थे । घरपरिवारलाई सम्पर्कसमेत गराइदिन्थे । भूमिगत तवरले चिठीपत्र पठाइदिन्थे । तर, ब्यारेकमा त्यस्तो सुविधा कहाँ ! माओवादीको शंका लागेर ब्यारेकमा ल्याएकाहरूलाई कसैले सहयोग गरे सीधै कोर्टमार्सलमा पर्थे ।
“एकपटक एकजना सेनाका जवानले बन्दीलाई सहयोग पुर्याएछन् । ४० किलोको ढुंगा बोकेर ८ घण्टा चौरमा ओहोरदोहोर गर्न लगाए,” उनी स्मरण गर्छिन् ।
यातनाले अतिव गलेका बेला एकदिन सेनाका जवान आएर सोधे, “बहिनी, भोक लागेको छ ?”
उनले ‘छ’ पनि भन्न सकिनन् । सेनाका जवानले आफैं बुझे । हातमा बिस्कुट थमाए ।
शौचालय जाने बेलामा सेनाले पट्टी खोलिदिन्थ्यो । शौचबाट फर्किएसकेपछि पुनः अन्धकार जीवन व्यतीत गर्नुपथ्र्यो । तिनै जवानले पट्टी खुकुलो बनाइदिए । उनले शौचालय गएर बिस्कुट खान थालिन् । यातनाले गलेकाले मुखमा थुकको छिटा थिएन । कुन तरलको सहायताले बिस्कुट निल्नू !
“ती जवान १५ मिनेटसम्म बाहिरै कुरेर बसे,” कृतज्ञ देखिन्छिन्, संगीता ।
माओवादीसम्बन्धी जानकारी पाउन नसकेपछि सेना हारमान्नु भयो । संगीतालाई पुनः तीनकुने चौकीमै पठायो । हिरासत बसाइ बडो अमानवीय थियो । बन्दी जीवन मानवीय मूल्यभन्दा कोशौं टाढा । मन लागेका बेला परिवारका सदस्यलाई भेटघाट गर्न दिन्थ्यो । नत्र उच्चाटको जिन्दगी बिताउनुपथ्र्यो ।
तीनकुने चौकीको हिरासतमै छँदा उनको भेट पत्रकार कुसुम भट्टराईसँग भयो । उनी बेग्लै कसुरमा जेल परेका रहेछन् । भट्टराई दुई–तीन दिनमा हिरासतमुक्त भए । त्यसको केही दिनपछि संगीताको बारेमा ‘कान्तिपुर’मा ठूलो आलेख छापियो । पत्रिकामा समाचार बनेपछि सहज होला भन्ने थियो । अनुमानले मार खायो । त्यही दिन हिरासत सारेर बौद्ध चौकी पुर्याइयो ।
बौद्ध चौकी नर्कजस्तै थियो । मानव मलमूत्रको नालीमै राखिएको थियो उनलाई । साँघुरो थुनुवा कक्ष । चोरी, डकैतीदेखि राजबन्दीसम्म एउटै कोठामा कोचिएका । भेडीगोठ हो कि, थुनुवा कक्ष— छुट्टयाउनै गाह्रो ।
२४ दिन बिताउन २४ वर्षभन्दा कठिन भयो । बाह्य शरीरलाई अनेक संक्रमणले घेरा हाल्यो । शरीरले बहन गर्न छाडेपछि उनी अनामनगर चौकी पुर्याइइन् । त्यहाँ एक महिना बिताइन् । यसरी सय दिन अमानुषिक यातना बेहोरेपछि संगीता हनुमानढोका जेल चलान भइन् । अर्को सात महिना बन्दी जीवन बिताएपछि हिरासत र जेलनेलको कोटा चुक्ता भयो संगीताको ।
जीवनले मृत्युलाई जित्यो ।
डोकोमा रेडियो
०५९ चैत ६ गते संगीता मृत्युको पञ्जाबाट फिर्ता आइन्, अधमरो ज्यान लिएर । युद्धले विश्राम लिएको थियो तर अन्त्यको छाँट थिएन । पटक–पटक मृत्युलाई पैतालाले दबाएर आएकाले मरणको भय त थिएन । नाफामा आर्जेको जीवनलाई पत्रकारितामै होम्ने इच्छा भयो ।
युद्धविरामको अवधिमा चार–पाँचजना सहकर्मी जेलबाट रिहा भएर सम्पर्कमा आए । केही ‘जनादेश’ निकाल्न भारत हानिए । संगीतालगायत केही काभ्रेपलाञ्चोक लागे । काभ्रे जानुपूर्व उनले रिपोर्टिङकै काम होला भन्ठानेकी थिइन् । तर, होइन रहेछ । उनले भूमिगत एफएम रेडियो चलाउनुपर्ने भयो ।
तिनताक माओवादीले देशका पाँच ठाउँबाट एफएम रेडियो चलाएको थियो । उनको जिम्मेवारी विशेष कमान्डअन्तर्गत पर्यो ।
माओवादी युद्ध उत्कर्षमा पुग्दै थियो । संगीताको समूह पनि काभ्रेको कामीडाँडबाट उकालो चढेर थामडाँडा लेक पुग्यो ।
०६० भदौ ३० गते पहिलो प्रसारणको दिन थियो । तर, रेडियो सञ्चालन हुनुपूर्व नै हल्ला डँडेलोझैं सल्कियो । शाही सेनाले प्रतिक्रिया दिइहाल्यो, “हामी फ्रिक्वेन्सी आकाशमै निस्तेज पारिदिन्छौं ।”
रेडियो टोलीको उत्साहमा एकाएक चिसो पानी खनियो । महिना दिनअघिदेखि नै सामग्री तयार थिए । झन्डै ९ घण्टा उकालो चढेर, डोकामा उपकरण राखेर उनीहरू थामडाँडा पुगी उपकरण अन गरे । सेनाले भनेजस्तो भएन । ध्वनि तरंग आकाशमा फिँजारियो । लगत्तै सेनाको हेलिकप्टर पनि आकाशमा देखा पर्यो । तथापि रेडियोको एन्टेना पत्ता लगाउन सकेन । एफएम प्रसारण भएको स्थल पत्ता लगाउन नसकेपछि बमबारी पनि गरेन ।
भूमिगत रेडियो स्टेसनकै आकाशमा हेलिकप्टर मडारिन थालेपछि उनीहरूले एन्टेना स्याउलाले छोपे । सम्भावित आक्रमण टारे । ‘रेडियो जनगणतन्त्र– ९५.१’ काभ्रेसहित ३० जिल्लाको आकाशमा तरंगित भइरह्यो ।
भूमिगत रेडियो एकै ठाउँबाट प्रसारण हुँदैनथ्यो । हप्तैपिच्छे डाँडो फेर्थे । स्टेसन स्याउलाले घेर्थे । हप्तामा एकपटक प्रसारण हुन्थ्यो । शिशिरमा हिउँका ढिक्का कुल्चँदै, वर्षामा जुकाका डाढी फ्याँक्दै दिनभरि उकालो चढ्थे । दुई घण्टा रेडियो प्रसारण गरेर ओरालो झर्थे । र, सर्वसाधारणको घर–कटेरामा सेल्टर लिन्थे ।
थामडाँडा दुर्गमको परिचय बोकेर बाँचेको छ अद्यपि । त्यतिबेला त सरकारी दृष्टिबाट निकै पर थियो । तर, माओवादीको रेडियोको टिम त्यहीँ छ भन्ने चाल पाएपछि शाही सेनाको गस्ती टोली हप्ता नबिराई आउन थाल्यो ।
अघिल्लो संकटकालमा एकपटक मुस्किलले पुगेको सेना दोस्रो संकटकालमा उपस्थिति ह्वात्तै बढायो । काभ्रे जिल्ला सिन्धुली, मनवानपुरको त्रिवेणी भएकाले जताका सेना जतिबेला पनि गस्तीका लागि पुग्न सक्थे । तरवारको धारमै भयो जीवन ।
निर्बाध चलिरहेको रेडियो ०६१ फागुन ७ गते अचानक बन्द भयो । ‘रेडियो जनगणतन्त्र’को पर्खाइमा रहेका स्रोता र पार्टीका नेता–कार्यकर्ताले फोन गर्न थालिहाले । शाही सेनाले ध्वनि तरंग निस्तेज तुल्याइदिएछ । प्राविधिकहरूले त्यस दिन त ९५.१ मेगाहर्जलाई ९६.१ मा बदलेर रेडियो चलाए तर सेनाले त्यसलाई पनि भोलिपल्टै निस्तेज तुल्याइदियो ।
१७ महिना साथै हिँडेको ‘रेडियो जनगणतन्त्र’ अन्ततः बन्द भयो । युद्धमोर्चामा कमान्डर मारिएझैं पीडाबोध भइरह्यो ।
०६२ वैशाखदेखि उनी गण्डक क्षेत्रमा खटिइन् । जनमुक्ति सेनाका ठुल्ठूला पल्टनको साथ लागेर उनी दूरदराजका बस्ती पुग्थिन् । युद्धले पिल्स्याएका भुइँमान्छेहरूका कथा टिपेर ‘जनादेश’लाई सामग्री तयार पार्थिन् ।
त्यसको एक वर्षपछि मुलुकमा शान्तिपूर्ण आन्दोलन चर्कियो । मुलुक गणतन्त्रमा प्रवृष्ट भयो । माओवादीमा आस्था राखेर पत्रकारिता गरेकैले हिरासत, जेलनेल र अनेकौं हन्डर–ठक्कर खाएकी संगीता अहिले पत्रकार महासंघको सदस्य, सचिव हुँदै प्रेस काउन्सिलको सदस्य बनेकी छिन् ।
“पत्रकारिताको मोर्चा फेरिएको छ, संघर्ष फेरिएको छैन,” उनी अन्तिममा सुनाउँछिन् ।
(सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल सदस्य रहेकी संगीता खड्काको संस्मरणात्मक कृति ‘युद्धका ती दिन’ प्रकाशित छ । पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।)