
– सुमन सौरभ
असारे सङ्क्रान्तिको यो बिहान म अन्तै कतै हुनुपथ्र्यो तर परिबन्धले गर्दा पुलिस चौकीको चिसो, अँध्यारो र साँघुरो कोठामा कुक्रुक्किएर त्यो अलच्छिन समयलाई धिक्कार्दै थिएँ । जुन समय म ढिलैगरी बाहिर निस्किएको भए हुन्थ्यो । उसले त ‘खाना खाएर, अलि ढिलो गरेर जानू’ भनेकै हो, मैले मानिनँ । ४ बजेको अँध्यारैमा निस्किएँ र एम्बुसमा परें ।
मलाई सर्वसाधारणले खोर भन्ने गरेको यो पुलिस चौकीको ओस गन्हाउने कोठामा हुल्दा भित्र अरू दुईजना पहिले नै मुन्टिसकेका रहेछन् ।
खोरभित्र पसेर ती दुबैजनासँग लज्जा र ग्लानिका साथ ‘म निरपराध छु’ भन्ने आशयमा पालैपालो आँखा जुधाएँ र दायाँपट्टिको कुनामा अडेस लागेर टुक्रुक्क बसें ।
ती दुईजना कैदीमध्ये एकले कुनामा पिच्च थुक्यो । छ्या ! त्यसैगरी थुक्दाथुक्दा कुनामा थुकको टुकुचा नै बगाइसकेको रहेछ ।
“कति थुकेको यार घीनै लाग्ने गरी, रातभरि पनि यत्तिकै,” अर्को कैदीले नथुक्न धम्कीयुक्त अनुनय ग¥यो । उसले फेरि पिच्च थुक्यो र भन्यो, “आफैं आइरन्छ, के गर्नू ? थुक निलें भने त मर्छुजस्तो लाग्छ, कहाँ थुकूँ त यहाँ नथुकेर ?”
रातभरि नसुतेको मेरो कोप्चे आँखामा जलनयुक्त पीडा थियो, हातेघडीमा भने बिहानको ८ बजिसकेको थियो । क्वाच्याक्–क्वाच्याक् आवाज आउने गरी आँखा मोलें, चिम्लिएर सोच्न थालें—आफ्नो पत्रिका तथा पुस्तक पसल खोल्नुपर्ने, आज त्यत्तिकै भयो । बिग्रेर थन्किएको फोटोकपी मेसिन बनाउने मान्छे ९ बजे आउँछु भनेको थियो, त्यत्तिकै फर्किने भयो । पसलको घरबेटीलाई भाडा बुझाउने दिन आज । भाडा लिन आउनेछ, पसल बन्द देखेर के सोच्ला ? फोन गर्ला, मोबाइल त ‘भित्र फोन गर्न पाइँदैन, छुटेर जाने बेला दिउँला’ भनेर दर्ता किताबमा नाम लेखाउँदै लियो त्यहाँ बस्ने पुलिसले । छुट्ने बेला कुन हालतमा दिने हो, दिने नै पो हो कि होइन ।
सोच्दासोच्दै दिमाग रनन्न भर्यो, त्यही मोबाइलमै त उसको फोन आएको थियो हिजो राति ८ बजे, “ओ मान्छे, स्यालकै सिङ भयौ त, कता बेपत्ता ?”
“कतै बेपत्ता छैन, यतै छु,” म धुम्मिएको आकाश हेरेर मुस्कुराएको थिएँ ।
“बेपत्ता छैनौ भने आउने होइन त ? आऊ न,” उसको आवाजमा महको स्वाद थियो । भीरमाहुरीको ।
“तिम्रो बूढो गयो फेरि ?”
“उसको त काम परिरहन्छ, आऊजाऊ चलिरहन्छ नि । एक हप्तापछि हिजोमात्रै आएको थियो, केही दिन बस्छु भन्थ्यो । खै, कताबाट फोन आयो, अर्को हप्ता आउँछु भनेर अचानक हिँड्यो । दुई घण्टा भइसक्यो ।”
“म पनि त्यहाँ आउनु, अनि ऊ म त फर्किएँ भनेर आइपुग्यो भने नि ?” मलाई शंका निवारण गर्नु थियो ।
“आउँदैन । ढुक्क भए हुन्छ । म बाहिरतिर हुन्छु कि भनेर सधैं फोन गरेरै आउँछ । ल धेरै गनगन नगर, खुरुक्क आइहाल, आज बस्ने गरी ।”
महिना बिराएर आइरहन्थ्यो यस्तो रात बिताउने निम्तो शमिलाबाट । कलेजकी जमानाकी साथी थिई । कलेजबाट छुट्टिएको पाँच वर्षपछि एकदिन फेरि भेट भएको थियो र सम्बन्ध ‘निम्तोमा रात बिताउने’ सम्म पुगेको थियो । बिहा गरें भन्थी तर खिचापोखरीको चोकभित्रको भाडाको घरमा एक्लै बस्थी । श्रीमान् चिनाउने जाँगर कहिल्यै देखाइन । आलिशान लाग्थ्यो उसको बेडरुम, त्यहाँ उसको मात्र एकल फोटो थियो जताततै, श्रीमानको थिएन ।
बेलाबेलामा सोधेको थिएँ उसलाई, “के गर्छ तिम्रो लोग्ने ? किन तिमीलाई एक्लै छोडेर कहिले कता कहिले कता गैरहन्छ ?”
“मप्रति चासो हुनुपर्छ तिमीलाई, ऊप्रति होइन,” प्रत्येक पटक ऊ यस्तै केही भन्थी । लोग्नेको सन्दर्भमा ऊ कुरा लुकाउँथी कि अप्ठ्यारो मान्थी— उही जानोस् । मलाई भने खुल्दुली लागिरहन्थ्यो । मेरो खुल्दुली उसको बेडरुम, उसकै ओच्छ्यान, उसकै तन्ना र उसकै शरीरको निर्बाध उपभोगभन्दा महत्वपूर्ण भने पक्कै थिएन । त्यही कारण थियो, म उसको लचकदार ओच्छ्यानमा नमडारिएको २४ घण्टामा कुनै घण्टा थिएन ।
हिजो पनि उसको फोन आएपछि मभित्रको पुरुष अचानक रापियो । भीमसेनस्थानको पसल बन्द गरेर कालीमाटी पुल हुँदै बाफल जान लागेको मान्छे, उल्टो बाटो काष्ठमण्डपतिर लागें र रुमानी रातको कल्पना गर्दै एक क्वार्टर लोकल ऐला बजाएँ, निस्तै । ऐलामा शमिलाका अघिल्ला समयका मादक यादहरू पनि घोलिएको थियो । अनि म आफूभित्रको हल्का मात्तिएको मान्छेलाई साथ लिएर खिचापोखरीतिर लागें ।
उसले ढोकैमा ल्याभेन्डरको बास्नाले लिपिएको शरीरले अंकमाल गरी र चिरपरिचित लिपिस्टिकको स्वादले स्वागत गरी, “वेलकम ।”
अनि शुरु भयो हाम्रो गुप्त तिब्बती तान्त्रिक योगाभ्यास । निरन्तरको सिंगिङ बाउलको सुमधुर धूनमा ।
रातको २ बजेसम्म म उसमा मिसिइरहें, ऊ ममा निसास्सिइरही । म उम्लिइरहें, ऊ छड्किइरही । ऊ ममा लहराइरही, म उसमा फर्फराइरहें । ऊ पोखिइरही, म पग्लिइरहें । कहिले दुबै एक भयौं, कहिले त एक पनि भएनौं, बस् शून्य भयौं ।
यौवनको उन्मादमा शृंगारिक कुण्डलिनीको सातौं चक्र जाग्दासम्ममा रातको २ बजिसकेको थियो र शरीरको कुनै अंग बाँकी थिएन, जसमा रमरम–रमरमको रमाइलो पीडाको अनुभूति नहोस् ।
त्यसपछि ऊ मस्तसँग निदाई । मचाहिँ कसैगरी निदाउनु हुन्न भन्ने दृढतामा थिएँ । थकाइ र निद्रा एकसाथ लाग्नु र सुत्नचाहिँ नचाहनुको उधुमको छट्पटी थियो ममा । साथमा रहेको अन्तिम चुरोट सल्काएँ र आधाआधीमै निभाएँ । उसको लोग्ने आउला भन्ने डरले कताकता सताइरह्यो । साँच्ची, समय बित्दै जाँदा डरले बेस्सरी नै सताउन थाल्यो ।
ढोकासँगै बायाँपट्टिको अक्वारियमको मधुरो बत्तीले नाइट बल्बको काम गरेको थियो । आक्वारियमका थरीथरीका स–साना माछाहरू पनि यतिबेला शिथिल थिए, ऊ र मजस्तै ।
चकमन्नतामा कतै खित्रिक्क हुनेबित्तिकै मुटु ढुक्क गथ्र्यो, कतै उसको लोग्ने आइपुग्यो कि ? अघिसम्म बिर्सेको उसको लोग्नेको आगमनको कल्पना र त्यसबाट उत्पन्न हुन सक्ने अथाह परिणामको अनुमानले कतिखेर त्यहाँबाट निस्किऊँ जस्तो हतारो लाग्दै थियो । यो अवस्थामा जम्काभेट भए त जे पनि हुनसक्थ्यो मेरो र उसको लोग्नेको बीचमा । उसको लोग्ने र उसको बीचमा । सबैको बदनामी त बोनसमा आउँथ्यो नै ।
बदनामी सम्झेपछि उसलाई निदाउनै छाडिदिएर म उठें, नुहाएँ र कपडा लगाएँँ । ऊ पनि ब्युँझिछ, सोधी, “जान लागेको ? कति बज्यो र ? एकछिन सुत । बिहान खानै खाएर अलि ढिलोढिलो गए पनि हुन्छ ।”
“होइन । ४ बज्यो, अब जानु राम्रो । तिम्रा छिमेकी ब्युँझिनुअघि नै यहाँबाट निस्किए राम्रो । यहाँका दायाँबायाँ घरका मान्छेहरूले किन देख्नु म गएको ? उनीहरूले किन बुभ्mनु म अपरिचित मान्छेले लोग्ने बाहिर गएको स्वास्नीकहाँ रात बिताएकोे कुरा ? म त गैहाल्छु, तिमीलाई स्पष्टीकरण दिँदैमा हैरान हुन्छ ।”
ऊ पनि उठी, “ह्या, कति डराएको ? पर्ख एकछिन, चिया त खाएर जाऊ ।” ऊ भान्सातिर लागी ।
म कोठामै हल्लिएर चिया पर्खन थालें र चुरोट सल्काएँ— अघि नै आधा छँदै निभाएर बाँकी रहेको ठुटो चुरोट !
ढोकाको आक्वारियमसँगै छेउमा पुरानो किताबको र्याक थियो, त्योसँगै जुत्ताको र्याक । सोचें— क्या अडबाङ्गे सन्तुलन– जुत्ता र किताबको र्याक सँगसँगै ।
‘फुल फर्निस्ड फ्ल्याट’ भाडामा लिएको हो, किताबसहितको पुरानो र्याक पनि मुल्लाउद्दिन इस्लामी भन्ने, हाल दुबईमा बस्ने फ्ल्याट मालिककै हो भन्थी ।
आफ्नो त पसल नै पत्रिका र किताबको । फुर्सद भयो कि पढिबस्ने बानी थियो । काम लाग्ने, केही खुराक दिने किताब छ कि भनेर र्याक खोतल्न थालें ।
र्याकमा आँखा डुलाउँदै जाँदा लोम्ब्रोसोको किताब देखियो— क्रिमिनल म्यान । छोएँमात्र, निकालिनँ । पढिसकेको थिएँ । अनुहार हेरेर पनि अपराधी चिन्न सकिन्छ भन्थ्यो । म ढुक्क थिएँ, मेरो अनुहारबारे उसलाई अवश्य पनि केही भन्नु थिएन ।
एकछिनपछि आँखा टक्क किरोको किताबमा अड्यो— न्युमेरोलोजी । रोमाञ्चित भएँ । वर्षौदेखि चर्चा सुनेर पनि हात नपरेको, दिमागले अमूल्य ठहराएको किताब थियो हातमा । ऊसँग माग्छु भन्ने सोचें, फेरि मागेपछि फिर्ता गर्नुपर्ने हुन्छ भन्ने पनि सोचें । कहिले पढिसक्नु र कहिले फिर्ता गर्ने वाचा गर्नू ? खुसुक्क ज्याकेटपछाडि ढाडमा घुसारें र मुस्काएँ । उसको उन्मत्त यौवन नै चोर्ने मान्छे, किताब चोरेर के हुन्छ ?
उसले ल्याएको चिया पिएँ र बिहान नहुँदै उसलाई ‘गुडमर्निङ’को यान्त्रिक ‘किस’ पनि दिएँ । हिजोको भन्दा खल्लो थियो उसको ओठ, उसलाई पनि त्यस्तै लाग्यो होला ।
चनाखो भएर बाहिर निस्किँदा रातभरि मलाई कुरिरहेको थियो मेरो पुरानो बाइक, धुलाम्य अनुहारमा । वरपरका घरका सुतिरहेका मान्छेहरूलाई ‘डिस्टर्ब’ नहोस् र त्यो अनपेक्षित ‘डिस्टर्ब’ले मेरो रंगीन रातको गोप्यता सार्वजनिक नहोस् भनेर बाइक चोकबाट घचेड्दै खिचापोखरीको मूलबाटोसम्म पुर्याएँ ।
त्यहाँदेखि सुनसान सडक गुञ्जिने गरी बाइक कुदाउँदै सोचें—बाफल आफ्नो घरसम्म पुगेर दुई घण्टा सुत्छु र ७ बजेतिर मात्र पसल खोल्न जान्छु ।
उफ् ! न्युरोड पीपलबोटमा अनपेक्षित पुलिस र पुलिसको भ्यानसहितको ट्राफिक जाँच थियो । ट्राफिकले बाइक रोक्ने इशारा गर्यो । रोकें । लाइसेन्स देखाउन भन्यो, देखाएँं । ब्लुबुक देखाउन भन्यो, देखाएँ ।
एउटा पुलिसले फनफनी बाइक घुमेर हेर्यो र सोध्यो, “कहाँबाट आउनुभयो यति बिहानै ? कता जान लाग्नुभयो ?”
“खिचापोखरीबाट आएको, भीमसेनस्थान जान लागेको ।”
“यति बिहानै ? ४ बजे ? किन ? घर खिचापोखरी कि भीमसेनस्थान ? के काम गर्नुहुन्छ ?” ऊ सोधेको सोध्यै थियो ।
“साथीकहाँबाट आएको, भीमसेनस्थान पसल हो, घर बाफल हो,” भनें ।
“यतिबेला ट्राफिकको साथै पुलिसको केको भीड हो ? शहरमा केही घटना त भएन ?” सोधें ।
उसले बाइक निरीक्षण गरिसकेर मेरो शरीर पनि छामछाम–छुमछुम गर्न थाल्यो ।
“हो, हिजो राति भिनेगरको इन्काउटर भयो ठमेलमा । सुनेको छ नि भिनेगरको बारेमा ?”
“ए हो र ? अलिअलि सुनेको छु । उसको स्थायी घर त मुग्लिन हो । मुग्लिन, मलेखु, ठमेल, बालाजुमा समूह बनाएर गुण्डागर्दी गथ्र्यो भन्ने सुनेको हो ।”
“हो, त्यही भिनेगरको इन्काउन्टर भयोे । कुनैबेला विद्यार्थी नेता थियो । पछिल्लो समय हप्ता उठाउने, बालुवा रोडाको अवैध काम गर्ने, धाकधम्कीमा सडक पुलको ठेक्कापट्टा आफ्नो नाममा पार्ने, नाइट क्लबहरूमा पैसा उठाउने र नपाए आगजनी गर्ने गरेको पनि उजुरी थियो । पाकिस्तानमा बसेको दाउद इब्राहिम र इराकको अलबगदादीबाट सञ्चालित आइसिसको पनि सम्पर्कमा छ भन्ने खबर थियो । इन्काउन्टरपछि उसका केही चेलाचपेटाहरू अशान्ति मच्चाउन सक्छन् भनेर केही ठाउँमा सुरक्षा व्यवस्था अलि कडा छ अहिले ।”
उसले थप जानकारी दिँदादिँदै मेरो ढाडपछाडि पाइन्टमा घुसारेर ज्याकेटले छोपेको कलेजी रंगको हार्डकभर किताब निकाल्यो ।
“यो के हो ?”
“किताब हो । किरोको न्युमेरोलोजी ।”
“कसको के रे ?”
“किरो भन्ने मान्छेको किताब हो, पढ्न लिएर हिँडेको । मान्छेको भाग्य १, २, ३, ४ जस्तो नम्बरसँग सम्बन्धित छ भन्ने व्याख्या हुनुपर्छ यसमा ।”
मैले किताब फररर्र पल्टाएर देखाइदिएँ । पुराना पहेंलिएका पानाहरूको बीचमा एउटा बुलेटिनजस्तो पत्रिका पनि रहेछ । मलाई के थाहा !
“योचाहिँ के हो ? आईएसआईएस लेखिएको छ त ।”
हेरें, बुलेटिनजस्तो १० पेजजतिको थियो । अंग्रेजीमा ISIS लेखिएको थियो, बाँकी अक्षरहरू नबुझिने भाषामा थिए, उर्दू वा फारसी वा अरबी ?
अनिष्टको आभासले मेरुदण्डको अथाह कुनाबाट एउटा कम्पन छुट्यो र अनुहार अमिलियो । मैले केही भन्नुअघि नै पुलिस सन्कियो, “ISIS आतंककारीको बुलेटिन कहाँ पाइस् ? के लेखिएको छ, पढेर सुना । तँ को होस् खुलस्त भन् ! भिनेनरको बारेमा अरु के–के थाहा छ ?” ऊ ‘तपाईं’बाट ‘तँ’मा ओर्लेर प्रश्नमाथि प्रश्न गर्न थाल्यो ।
म अकमकिएँ । के भनूँ ? मेरो किताब होइन भनूँ ? कहाँबाट ल्याएको भनूँ ? कसले दिएको भनूँ ? अर्काकी स्वास्नीसँग रात बिताएको, उसैकहाँबाट खुसुक्क चोरेको त झन् कसरी भनूँ ? धत्तेरी !
जुक्ति निकालें, “त्यो इजिप्सियन देवीे आइसिसको बारेमा हुनुपर्छ । उनी ओसिरिस भन्ने देवताकी श्रीमती र होरस भन्नेकी आमा थिइन् ।”
“बाठो हुन्छस् ?” उसले मलाई हका¥यो र हाकिमलाई आफ्नो काम देखाउन ठूलो आवाजमा कराउँदै ऊ भएतिर दौडियो, “सर, यसको किताबभित्र आइसिस लेखेको यस्तो बुलेटिन भेटियो ।”
उसले सर भनेको पुलिस किताबसहित म भएतिर आयो, मलाई मोटरसाइकलबाट ओराल्यो र जनसेवा पुलिसचौकीतिर घिच्याउँदै ल्यायो । पछिपछि अर्को पुलिस मेरो बाइक लिएर आउँदै थियो ।
अनिद्राले पिरो भएको आँखा चिम्लेर आफू खोरमा पस्नुको सिलसिलेवार घटना सम्झिँदै गर्दा झ्याप्पै निदाएर झन्डै लडिनछु । ढुन्मुनिएर हातले भुइँमा टेकें र सम्हालिएँ ।
मेरो निरीहतामा एउटा कैदी खितखित् हाँस्यो । मसँग सहनुको विकल्प थिएन, सहजताका साथ सहें र सोधें, “हाँस्ने स्थितिमा हुनुहुन्छ ? बिर्सनुभयो— तपाईं पनि त कैदमा नै हुनुहुन्छ ! कसरी आइपुग्नुभयो ?”
“रक्सी चोरेर,” उसले कतिखेर कसले सोध्ला र फ्याट्ट जवाफ दिउँला भनेरै कुरेर बसेको झैं निर्धक्कसँग भन्यो ।
अघिदेखि घीन लाग्ने गरी पिच्चपिच्च थुकिरहेको कैदीले उसलाई हेर्यो र बोल्यो, “तपाईं रक्सी चोरीमा ? थाहा छ ? मलाई त चोरीभन्दा रक्सी ज्यादा खराब लाग्छ । पक्राउ परेर चौकीमै आउने गरी कसरी रक्सी चोर्या त ? भन्न मिल्छ ?”
रक्सी चोरेको कबोल गर्ने स्वघोषित चोर भन्न थाल्यो, “वसन्तपुर झोछेंको रेस्टुरेन्टमा काम गर्छु, बार टेन्डर हुँ । ड्युटी समयभरि बारमा झोलमझोल ग¥यो, ग्राहकको मागअनुसार थरीथरीका रक्सीमा थरीथरीका झोल मिसायो, दियो । कहिले मौका मिले कसैले नदेख्ने गरी आफैं पनि स्वाट्ट पार्यो । तीन–चार महिनादेखि बारको रक्सी चोर्ने र बाहिर बेच्ने काम पनि सिकें । एउटी महिला बारम्बार बारमा आइरहन्थी । तामाङ हुँ भन्थी तर नाक छेडिएको भए पनि बुच्चै छोडिएको थियो । सानो फ्रेमको पावरवाला चश्मा लगाउँथी । राम्रै टिप्स दिन्थी । म दिदी...दिदी... भन्ने गर्थें । ऊ ब्लुलेबलको पारखी थिई । उसैलाई चोरेको रक्सी हाफ मोलजतिमा दिन्थें । शुरुमा गाह्रो लाग्थ्यो, पछि रक्सी रेस्टुरेन्टबाट बाहिर निकाल्न सजिलो हुँदै गयो । इन्भेन्टरीमा सधैं बढी खर्च देखाउँथें, अरू हिसाब मिलाउने जिम्मा मेरो हाकिमको थियो । घर जाने बेलामा कहिले आफ्नो ब्यागमा कहिले कपडाभित्र लुकाउँथें । ढोकामा सबै स्टाफको सेक्युरिटी चेक हुन्थ्यो तर मेरो सेक्युरिटीसँग ‘सेटिङ’ थियो । उसले पनि केही पैसा पाउँथ्यो । नियमित चोरीबाट मेरो आत्मबल बढेको थियो ।”
“पक्राउ कसरी परेको त ?”
“हिजो तुरुन्तै रक्सी चाहियो भनेर त्यो दिदीले फोन गरेकी थिई । फर्किने बेला ६ बजेपछि ल्याइदिउँला, खुसीबूँ चोकतिर निस्केर बस्नू भनेको थिएँ । सधैं त्यतै दिने गरेको थिएँ, उसको घर त्यतैतिर कतै छ भन्थी । अनि ड्युटी सकिएपछि पिडौलामा टेपले रक्सीको बोतल बाँधेर, बाहिर पाइन्टले छोपेर निस्किदै थिएँ अफिसबाट, सेक्युरिटीले समात्यो । रेस्टुरेन्टको मजदुर युनियनमा पनि सचिव भएकोले मेरो सबै स्टाफसँग राम्रो घुलमिल थियो तर मालिकसँग राम्रो थिएन । स्टाफहरूको सरोकारका कुराहरूमा उसको र मेरो झगडा परिरहन्थ्यो । युनियनको सामु ऊ कमजोर थियो र त्यसको सबै दोष उसले ममाथि थोपरेको थियो । मलाई थाहा थियो, ऊ कुनै बलियो बहानामा मलाई रेस्टुरेन्टबाट निकाल्न चाहन्थ्यो । अहिले लाग्छ, उसलाई ममाथि पहिल्यै रक्सी चोर्ने गरेको शंका हुनुपर्छ । त्यसैले मलाई फसाउनै होला, चोर्ने मौका दिइरहन्थ्यो । हिजो सेक्युरिटीको नियमित फ्रिस्किङपछि पनि अर्को आकस्मिक फ्रिस्किङको व्यवस्था राख्नु र सेक्युरिटीको हाकिमलाई नै त्यसको जिम्मा दिनु मलाई नै फसाउने योजनाअन्तर्गत थियो ।”
“अनि ?”
“अनि के ! मेरो पिडौलामा टेपले बाँधेर पाइन्टले छोपिएको ब्लुलेबल फेला पर्यो । फ्रिस्किङ नसकिँदै मालिक आयो, ठाउँको ठाउँ सेक्युरिटीको हाकिमलाई चोरीको रिपोर्ट लेख्न लगायो र व्यवस्थापनको तर्फबाट आरोपपत्र नत्थी गरेर पुलिसको जिम्मा लगायो । चोरीलाई राजनीतिक रङ दिएर म बँच्न सक्छु भनेर सबुतको लागि रक्सीको बोतलसमेत चौकीमा पठाइदियो । बोतलमा नमेटिने मार्करले ‘चोरीको रक्सी’ पनि लेखिएको थियो । त्यो दिदीलाई दिनु थियो, यो चौकीमा पुलिसदाइको टेबुलमा आइपुग्यो । रक्सी पुर्याउने टाइम लिएको थिएँ, कति पटक फोन गरी होली । फोन त पुलिसले राखेको छ, हात परेपछि हेर्नुपर्ला ।”
उसले आफ्नो पौरखको बयान टुंग्यायो र थुक्नेलाई सोध्यो, “तपाईं केमा परेको नि ?”
“म पनि चोरीमै परेको हो... सामान चोर्न गएको, अरू थोकतिरै अल्मलिएँ र पक्राउ परें ।”
म पनि उनीहरूको कुरामा मिसिएँ, “तपाईं त अनुहार हेर्दा चोरजस्तो देखिनुहुन्न ।”
“हो र ? कस्तो ऐना हेर्न मन लाग्यो ।”
रक्सी चोरेको सकार्ने रन्कियो, “भन्न खोज्या के ? मेरोचाहिँ अनुहार नै चोरजस्तै छ ?”
“खोरमा परिसक्नुभएको छ, मैले के भन्नू ?”
“बार टेन्डरमात्रै होइन म, ट्रेड युनियनको नेता पनि हुँ ।”
“त्यसले त झन् हो कि भन्ने शंका बढाउँछ,” थुक्ने कैदी थुक सर्किने गरी हाँस्यो ।
रक्सी चोरले झम्टिने मुडमा हेरेपछि म हच्किएँ र सकेसम्म सरल बनें, “मैले भनेको होइन । लोम्ब्रोसो भन्ने एकजना थिए, अपराधशास्त्री । उनी भन्थे— चोर हो कि होइन भन्ने कुरा मान्छेको अनुहार हेर्दै थाहा हुन्छ । मैले पढेको । मेरो किताब र पत्रिका पसल छ ।”
“तपाईं पनि चोरीमा परेको ?” थुकिबस्ने कैदीले मलाई सोध्यो ।
सबै किसिमको जवाफ सोचें र छोटो जवाफ दिएँ, “हो, किरोको न्युमेरोलोजी भन्ने किताब चोरेको थिएँ, त्यसैमा फसें ।”
“किरोको ? कुन किरोको ?”
“किरो भन्ने लेखक हो । मान्छेको जन्ममितिअनुसार उसको अलग–अलग नम्बर हुन्छ र त्यही नम्बरअनुसारको अलग–अलग भाग्य हुन्छ भन्ने पढेको थिएँ । मेरो बारेमा के भन्दो रहेछ भन्ने जान्ने रहर थियो, पढ्नै नपाई समातिएँ । शायद मेरो नम्बरको मान्छेले किताब चोर्नु हुन्नथ्यो होला ।”
“बकवास,” रक्सीचोरले यत्ति भन्यो ।
थुक्ने कैदीले आफ्नो धारणा राख्यो, “जन्मअनुसारको नम्बर र नम्बरअनुसारको भाग्य, यो कुराचाहिँ त्यत्ति विश्वास लागेन । बरू अघिको त्यो को रे ? चोरको अनुहार नै चोर जस्तो हुन्छ भन्ने चाहिँ होजस्तै लाग्यो ।”
“आपूm पनि चोरीमा परेको भनेको होइन ?”
“हो त । आफ्नै गल्तीले परें नि । औडाहा छ मभित्र, मेरो कुरै सुन्दैनन् कसैले । त्यो घरमा मेरो कारण कसैको ज्यान जोगिएको छ, या कोही मरिसकेको पनि हुन सक्छ । सबै भनिसकें, कोही पत्याउँदै पत्याउँदैन यार ।”
“के भयो ? हामी छौं नि सुन्ने,” म उसको नजिक गएँ ।
उसले भन्न थाल्यो—
“हिजो डेराबाट फलामे डन्डी, छिनो र एउटा घन बोकेर बिरालोको चालमा एउटा घरभित्र चोरी गर्न छिरें । ढोका बन्द थिएन, यस्सो धकेल्दैमा खुल्यो । भित्र पस्दा पनि कोही भएजस्तो लागेन । चनाखो भएर खुल्लै भएको कोठा निरीक्षण गरें, खतराको लिभिङ रुम रहेछ तर उठाउनलायक सामान देखिनँ । सुस्तरी अघि बढेको, डाइनिङ रुममा पुगेछु । खतराको डाइनिङ टेबलमा छोपेर राखिएका बासनादार खानाहरू थिए । वाइन ग्लासमा ठड्याएर बाल्न तयार पारेको जस्तो मैनबत्ती पनि राखिएको थियो । कुनै क्यान्डल लाइट डिनर आयोजनाको तयारीजस्तो थियो । टेबलमा नखोलिएको वाइन र आधा सकिएको ब्लुलेबलको बोतल थियो । टेबलमा रहेको ब्लुलेबलले उधुमको निमन्त्रणा दियो । नाममात्रै सुनेको ब्लुलेबल आफ्नैअघि ‘आइज न आइज’ भनेर बोलाउँदै थियो । कोही नभएको घर न हो भनेर समातिने डर हराइसकेको थियो । ब्लुलेबलको अगाडि पुगें, बिर्को खोलेर सुँघें र एक घुट्को मुखमा हालेर स्वाद लिएँ । अरू रक्सीभन्दा खास्सै फरक त लागेन तर नामै काफी थियो । बोतलबाटै ठाडो घाँटी लगाउन थालें । मजा आयो । एउटा भाँडोको ढक्कन खोलेर हेरेको, हररर्र बास्ना आउने चिकेन रहेछ । क्वाप्प मुखमा हालें । ब्लुलेबल चुस्काउँदै अर्को भाँडाको ढक्कन खोलें, खसीको कवाब रहेछ । त्यो पनि मुखमा हालें । दशैं सकिएको कत्तिपछि बल्ल मेरो दशैं शुरु भएको थियो । एकचोटि भाँडाको ढक्कन बन्द गर्ने क्रममा मैनबत्ती सजाइएको वाइन ग्लासमा कुहिनो लाग्यो र भुइँमा खस्यो । त्यसको छ्यान्द्राङ आवाजमा कुन्नि कता थियो बक्सर कुकुर, हुक्–हुक् गर्दै आयो । मान्छेभन्दा कुकुरको डर हुन्छ चोर्न जाँदा, आत्तिएर हातभरि चिकेन उठाएर बक्सरलाई हानें । ऊ झम्टिन आउनुको सट्टा मासु खान थाल्यो । मासु सकिएपछि फेरि अगाडि बढ्न खोज्यो, बुझिसकेको थिएँ उसको कमजोरी, अर्को भाँडो खोलेर पोर्क फालिदिएँ । म उसलाई निरन्तर थरीथरीका खाना फालिरहें । उसले कुनै खायो, कुनै खाएन । कुकुरले नयाँ मालिकजस्तै स्वीकारेको थियो मलाई, म बोतलले नै रक्सीको चुस्की लिँदै बसें । एकछिनमा घरक्क ढोका खुल्यो र बाहिरबाट एउटी केटी ढोकाको संघारसम्म आई । म सट्ट किचनको पर्दापछाडि लुकें । केटी मोबाइलमा गनगन गर्दै थिई । कसैले रक्सी ल्याइदिन्छु भनेको रहेछ, त्यही पर्खिन बाहिर गएकी रहिछ ।”
रक्सी चोरले सोध्यो, “कस्ती थिई केटी ? कुन ब्रान्डको रक्सी रहेछ ?”
“सेतो टी–सर्ट र पिंक पाइन्ट लगाएकी थिई । रक्सीको ब्रान्ड त के थाहा । अनि केही बेरमा एउटा बाइक बाहिर रोकिएको आवाज आयो । केटी ढोकामै उभिएकी थिई । बाहिर बाइकको आवाज चालू नै थियो । केटा ढोकासम्म मात्र आयो, अनुहार देखिनँ । हतारमा भएको बुझिन्थ्यो र भन्दै थियो, ‘आउँछु भनेकोले मात्र आएको तर बस्दिनँ । मेरोविरुद्ध षड्यन्त्र भएको छ । मेरा पछाडि मान्छेहरू लगाइएको छ । पत्याऊ, मेरो ज्यान खतरामा छ । तिमी पनि सर्भिलेन्समा हुन सक्छ्यौ, सावधानी अपनाऊ ।’ उसको आवाज आत्तिएको थियो ।”
‘किन ? के भयो ? कोबाट खतरा ? कसले तिम्रो ज्यान लिन लाग्यो ? बस न, खाना बनाएकी छु,’ केटी भन्दै थिई । केटा हतारमा हिँड्यो । बाइकको आवाज टाढा पुगेपछि केटी भित्र पसी र फेरि फोन लगाई । शायद अघि भर्खर उसलाई फोन गर्ने व्यक्तिलाई, “उसले केही गन्ध पाएजस्तो छ, बसेन । हिँड्यो । होइन, कसैको बाइकमा पछाडि बसेर आएको थियो, अब गयो त मैले के गर्ने ? नाइ, शुट त मैले कसरी गर्ने ? त्यो त तिमी पुलिसहरूको काम हो नि । मलाई शुट गर्नुपर्छ भनिएकै थिएन, कसरी तयारी गर्नू ? पोइजनिङ भनिएको थियो नि... ओके ।’
ऊ फोन राखेर भान्सातिर आई र आत्तिई । मैले कुकुरलाई फालेको खाना छरिएको थियो भुइँभरि । एकपटक चिच्याई कुकुरको नाम लिएर, कुन्नि के पो थियो नाम । कुकुर मरेछ । खाना खाएर ।
चलाख रहिछ आइमाई र डेन्जर पनि, मैले पर्दाबाट बाहिर निस्किँदा ऊ रिभल्वर तन्काएर मलाई ताकिरहेकी थिई । अनुहार नचिनिने गरी मुखमा हल्का कालो स्कार्फ बाँधेकी थिई । उसले आदेश दिई, ‘हात माथि राख् । यो तेरो काम ? कुकुर मारिस् ? के गर्न आइस् ? को होस् ?’
म थुचुक्क बसें र हात जोडेर जस्ताको तस्तै बेलीविस्तार लगाएँ । उसले मोबाइलबाट पुलिस बोलाई र जिम्मा लगाई । कुन खानामा थाहा छैन, तर कुनै न कुनै खानामा विष थियो र त कुकुर मर्यो । बाहिर बाइकमा आएको जुन केटासँग कुरा गरेकी थिई, त्यो केटालाई त्यही खाना खुवाएर मार्न चाहन्थी । कुनैकुनै खाना त मैले पनि खाएको थिएँ । कुकुरजस्तै म पनि मर्छु कि ? तर, यतिबेर भयो जिउँदै छु, अब मर्दिनँ होला । जिब्रो बाक्लोबाक्लो छ जस्तो लाग्छ । खाना सम्झिसम्झी दिगमिग लाग्छ र थुक आएको आयै छ ।”
उसले फेरि मुख बिगारेर थुक जम्मा गर्यो र पिच्च थुक्यो ।
एक्कासि चौकीको पुलिसको जवानले फलामे डन्डीको ढोकामा लौरो हान्यो र करायो, “को हो साला खाते ! तेरी आमाको माइती हो यो ? कति हल्ला गरिरा ? चुपचाप बस् है, भेट्लास् नि फेरि आङको जुम्रा मर्नेगरी ।”
हामी चुप लाग्यौं । बक्सरमारा चोरले सानो आवाजमा मलाई सोध्यो, “यो पुलिसको अनुहार पुलिसजस्तो छ कि चोरजस्तो ?”
“तपाईंलाई के जस्तो लाग्छ ?” मैले पनि साउती गरें ।
“मलाई त पुलिस होइन, चोरजस्तै लाग्यो,” ऊ साउतीमै खित्खितायो ।
‘लोम्ब्रोसो इफेक्ट’ सम्झेर तीनैजना रोक्नै नसक्ने गरी खित्खितायौं ।
उसले फेरि भन्यो, “मुखिन्जेल भन्नु हुँदैन र पो, वास्तवमा मलाई सबै पुलिस चोरजस्तै लाग्छन् ।”
“अई, को हो त्यो ? हल्ला रोक्दैनस् ?” जवानले फलामे डन्डीबाट भित्र चिहायो । फेरि तीनैजना सम्हालियौं ।
रक्सीचोर जुरुक्क उठ्यो र खुशामदको पारामा जवानलाई सोध्यो, “सर, हिजो इन्स्पेक्टरसाबले प्रमाण यता छँदै छ, भोलि बयान लिन्छु, अनि के गर्ने गरूँला भन्नुभएको थियो । भोलि भनेको आजै हो, कतिखेर आउनुहुन्छ ?”
“प्रमाण ? कस्तो प्रमाण ?”
“ब्लुलेबल रक्सीको बोतल थियो, कालो मार्करले लेखेको । त्यै चोरेको अभियोगमा त थुनेको ।”
“ए, तैंले चोरेको रक्सी हो त्यो ? त्यो त हिजै राति साबहरूले बुत्याइसक्नुभयो ।”
“प्रमाणै नष्ट?” बक्सरमारा जिल्लियो ।
“नकरा... इन्स्पेक्टरसाब कति बेला आउनुहुन्छ त मेरो बयान लिन ?”
“११ बजेतिर आउनुहुन्छ होला ।”
मैले भनें, “ल बधाई छ, चोरीको त प्रमाणै हराइसकेछ, छुटिहाल्नुहुन्छ नि ।”
“बोतल त बाँकी होला नि ? अब मालिकको कस्तो दबाब छ, त्यसले पो निर्धारण गर्छ । यतिबेलासम्म ट्रेड युनियनका एउटै मान्छे आएका छैनन् छुटाउन, साला तिनीहरूलाई परेको बेला के–के पो गरिएन !”
उसलाई जस्तै मलाई मेरो चिन्ता थियो, कतिखेर बयान दिने, के बयान दिने, कति खेर छुट्ने ?
मैले जवानलाई भनें, “पत्रिका छैन आजको ? बोर भयो, बयान लिँदासम्म पढ्न पाए हुन्थ्यो ।
“यहाँभित्र पढ्न मिल्दैन । के समाचार चहियो भन्, मैले पढिसकें चार–पाँच वटा पत्रिका बिहानै ।”
“त्यसो भए मन लागेजति सुनाउनुस् ।”
“सबै पत्रिकामा भिनेगरको मात्रै समाचार छ । समाचार एक— भिनेगरको इन्काउन्टरले बबाल छ,” उसले बिस्तारै भन्यो, “समाचार दुई— भिनेगरको कुन्नि कति करोड पो हो गोप्य सम्पत्ति छ रे ! त्यसमा कुन्नि को–को नयाँ, को–को पुराना मन्त्रीहरूको पनि भाग छ रे । नाम त थाहा छ, नभनेको मात्रै हो । जस–जसको भए पनि तिमीहरूलाई किन चाहियो ? समाचार तीन— भिनेगरको काठमाडौंमा दुई ठाउँमा रखैल थियो रे ! इन्काउन्टर हुनुअघि साँझसम्म खिचापोखरीमा एउटी पाण्डे थरकी रखैल कहाँ थियो रे, त्यसपछि तामाङ थरकी रखैललाई भेट्न बाइकमा खुसीबूँ पुगेको थियो रे ! खुसीबूँमा घरभित्र नपसिकनै बाहिरबाटै कालधारा हुँदै ठमेल छिरेको थियो रे ! इन्काउन्टरको योजनाको सुइँको पाएको थियो भन्ने छ । अनि ठमेल चोकमा तीनतिरबाट घेरिएर ६ बुलेट लागेर चेट भयो रे ! अरु केही ?”
ऊ के–के के–के बयान गर्दै थियो तर ‘पाण्डे थरकी खिचापोखरीकी रखैल’भन्ने सुनेपछि कानमा शंख फुकेझैं तनावपूर्ण टुँ...आवाज आइरह्यो ।
दिमाग टनकटनक गर्यो— मैले भिनेगरकी रखैलसँग रात बिताएँ ? शमिलाको बेडरूम भिनेगरको थियो ? किताब भिनेगरको थियो ? किताबभित्रको त्यो अलच्छिन बुकलेट पनि भिनेगरको थियो ? शमिलाले थाहा पाई इन्काउन्टर भएको ? फ्ल्याटमालिक इस्लामी दुबईमा के गर्छ ?
“त्यो तामाङ केटी चस्मा लगाउँथी ? नाक छेडेर बुच्चै छोडिएको थियो ?” रक्सीचोर सोध्दै थियो ।
“भिनेगर बाइकमा खुसीबूँमा भेट्न जाँदा उसले सेतो टी–सर्ट र पिंक पाइन्ट लगाएकी थिई ? उसको कुकुर मरेको थियो ?” बक्सरमारा चोर सोध्दै थियो ।
जवानको सरल उत्तर थियो, “मलाई के थाहा ? जति पत्रिकामा लेखेको छ, त्यति नै भन्दै छु ।”
म पुलिसको चंगुलमा आफ्नो गर्धन कस्सिँदै गएको महसुस गर्दै थिएँ । स्पष्ट थियो— हामी तीनैजना भिनेगरको वरिपरि घुमिरहेका थियौं । अझ भनूँ, मरेको भिनेगर हामी तीनैजनाको वरिपरि घुमिरहेको थियो । मन भन्दै थियो— म खाना खाएरै निस्किएको भए हुन्थ्यो ।
अन्योलमा थिएँ, यो अवस्थाको लागि को बढी जिम्मेवार थियो ? त्यो समय वा त्यो म ? अरू पनि शायद आ–आफ्नो बारेमा यस्तै सोच्दै थिए ।
समाचारपछि हामी अघिभन्दा अतिरिक्त तनावमा थियौं । हामीसँग आफ्नो भाग्य पर्खिनुको विकल्प थिएन । हाम्रो भाग्यचाहिँ कानुनको हातमा थियो, कानुन पुलिसको हातमा । पुलिस भने घुमिफिरी उसकै व्यक्तिगत मुडको हातमा थियो र उसको मुड घुमिफिरी हाम्रै भाग्यको हातमा थियो । दुर्योग पीडित भाग्य !
फलामे डन्डी उतापट्टिबाट कुनै पुलिसको रवाफिलो आवाज आयो, “पालैपालो बोला हिजोका कैदीहरूलाई ।”
तीनैजना जुरूक्क उठ्यौं । मैले मनमनै प्रार्थना गरें, “हे भगवान् ! भिनेगरको सन्दर्भ कतै नजोडियोस् । रात कहाँ बिताएँ भन्ने पनि कुरै नउठोस् । सीधासीधा किताब र बुलेटिनको बारेमा सोधियोस् र मेरो कुरा उसले सजिलै पत्याइदेओस् ।”
पालैपालो भनिएकोमा पहिले मलाई नै बोलाइयो ।
टाढाबाटै देखें— बयान लिने पुलिस कागज र कलम लिएर मेचमा बसेको थियो । अघि कुरा गरेको, चुस्स सेतो दाह्री भएको लोम्ब्रोसोको अनुहार त सम्झें तर आफ्नै अनुहार हेर्न चौकीमा ऐना थिएन ।
(मानवशास्त्रका स्नातकोत्तर सौरभका पाँच लघुकथा संग्रह प्रकाशित छन् ।)
schumansourav@yahoo.com