
विराटनगर । नेपाल तथा भारतका स्रष्टाबीच विचारको आदानप्रदान एवम् साहित्यिक कृतिहरूको पहुँचलाई सहज तुल्याउनु पर्ने निस्कर्षका साथ नेपाल–भारत साहित्य सङ्गोष्ठी–२०७६ सम्पन्न भयो । विराटनगरमा शुक्रबार कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानद्वारा आयोजित सो सङ्गोष्ठीमा प्रमुख अतिथि महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरमा निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको साहित्य सम्मेलन गरिने बताए ।
कार्यक्रममा नेपाल भारत साहित्यिक अन्तरसम्बन्ध विषयमा साहित्यकार दधिराज सुबेदीले, सिर्जनशील लेखनको अनुवाद विषयमा कवि मनु मन्जिल तथा साहित्यिक पत्रकारिताका साझा समस्या विषयमा गङ्गा सुबेदीले कार्यपत्र प्रस्तुत गरे ।
कवि राधिका गुरागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार डा. गोपाल भण्डारी, नेपाल भारत मैत्री संघ विराटनगरका अध्यक्ष सुरेशकुमार शर्मा, लक्ष्मी पोखरेल र गोकुल अधिकारीले बोलेका थिए ।
कार्यक्रममा कवि बिवश पोखरेल, खगेन्द्र गिरी कोपिला, पूजा बहार, लक्ष्मण नेबटिया, गीता निरौला भण्डारी, रमाप्रसाद रिजाल लगायतका कविले कविता वाचन गरे । भारतबाट आमन्त्रित साहित्यकार तथा साहित्यिक पत्रकारहरू कुवर वीरसिंह मार्तण्ड, अशोक भाटी, डा. हेमलता, राजखेलिया, सुशील शैली, करमवीर तिग्डानिया र योगेश समदर्सीले पनि आफ्ना धारणा राख्दै कवितासमेत वाचन गरे ।