
काठमाडौं । कविकेशरी चित्तधर हृदयले नेपालभाषा साहित्यको उन्नयनका लागि पुर्याएको योगदानको स्मरण गर्दै ११३औं जन्मजयन्ती मनाइएको छ । सो अवसरमा साहित्यकारहरूले कालीमाटीस्थित चित्तधर हृदयको पूर्ण कदको सालिकमा फूलगुच्छासहित श्रद्धाञ्जलि अर्पण गरे ।
नेपालभाषा र साहित्यको विकासका लागि उल्लेखनीय योगदान गरेका कविकेशरी हृदयले जीवनपर्यन्त साहित्य सिर्जनामा आफूलाई समर्पण गरेका थिए । उनका आत्मवृतान्त, महाकाव्य, काव्य, कथा, निबन्ध, प्रबन्ध, संस्मरण र भाषाव्याकरण सम्बन्धी थुप्रै कृतिहरु प्रकाशित छन् ।
यसैबीच नेपालभाषा परिषद्ले कविकेशरीको स्मृतिमा स्थापित चित्तधर पुरस्कार यस वर्ष नागार्जुन पब्लिकेशनलाई, भाषायुवा उपाधि डा. तेजरत्न कंसाकारलाई र पूर्णहीरा पुरस्कार शान्तराज शाक्यलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार र उपाधि आगामी असार ७ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने जानकारी परिषद्का सचिव धु्रव मधिकर्मीले दिएका छन् ।