site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्रबाट नाटकतिर सुरक्षा, मेटिएला अभिनयको भोक ?

काठमाडौं । कालो टप्स, रातो सुरुवाल अनि पिठ्युँमा आकाशे रङको ब्याग बोकेकी सुरक्षा (पन्त) सोमबार मण्डला थिएटरमा थिइन् । अक्सर चलचित्रका सुटिङ सेट र सिनेमा हलमा भेटिने सुरक्षा आजभोलि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मण्डला थिएटरमै हुन्छिन् । कारण नाटक ‘क्लेशा’को वर्कशपमा छिन् उनी । दुई महिना भयो उनी यो नाटकको वर्कशपमा बसेको । 
प्रायः कलाकारहरु नाटकबाट चलचित्रमा जान्छन् । सुरक्षा भने चलचित्रबाट नाटकमा देखिँदैछिन् । 

किन ? 

“मेरो भित्री मनमा लागिरहेको थियो– कुनै एउटा नाटक गरौं । तर कसैलाई भनेको थिइनँ । मेरो मनमा मैले खेल्ने नाटकको निर्देशक पनि महिला नै होस् भन्ने चाहना थियो,” कल्पनाको कुरा सुनाइन्् सुरक्षाले, “कस्तो अचम्म ! त्यही बेला मलाई फोन आयो विजया कार्कीको । उहाँले मलाई नाटक गर्ने हो ? यस्तोयस्तो क्यारेक्टर छ भन्नु भयो । मनको कुरा कसरी थाहा भयो यो मान्छेलाई भन्ने जस्तो लाग्यो । तर म नाटकभन्दा पनि उहाँ (विजया)को बोल्ने स्टाइलबाट इम्प्रेस भएर हुन्छ भनेको थिएँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थिएटरकै कति कलाकार खाली थिए । कति नयाँ थिए, काम गर्न तयार । तर, विजयाको नजरमा सुरक्षा नै किन परिन् ? 

विजयाले सुरक्षाको फोटो देखेकी थिइन् । थिएटरकै कसैले उनलाई भन्यो, सुरक्षा थिएटरको आर्टिस्ट नभए पनि चलचित्रमा पनि फरक तरिकाले काम गर्ने कलाकार हो । उसलाई भन्दा कस्तो होला ? विजयाले ‘क्लेशा’मा खोजेको क्यारेक्टर पनि सुरक्षाको जस्तै थियो । फोन गरिन्, भेट भयो । 

विजयाले सोचेकी थिइन्– सुरक्षा त अग्ली होलिन् । तर सुरक्षा थिइनन् । विजयाले सोचिन्– सुरक्षा ठिक छिन् । धेरै अग्लो पनि किन चाहियो ?  

‘क्लेशा’का लागि फाइनल भइन् सुरक्षा । लुप्त चाहना पूरा हुने भयो सुरक्षाको । 

चलचित्रमा नाटकका कलाकारले क्यारेक्टर निर्माणमा देखाएको तदारुकता र त्यसमा गरेको मिहिन अभिनय अनि कडा अनुशासनले सुरक्षालाई सधैँ लोभ्याउँथ्यो । ‘धनपति’का खगेन्द्र लामिछाने, ‘गोपी’मा विपिन कार्कीसँग स्क्रिन सेयर गर्दा र उनीहरुको काम पर्दामा हेर्दा सुरक्षालाई सधैं एउटै प्रश्नले हानिरहन्थ्यो किन मैले नाटकमा काम गरिन ? 

त्यो प्रश्नले दिमागमा लामो समय राज गरिरहेको थियो । ‘क्लेशा’ मञ्चन त सुरु भएको छैन, तर त्यसको वर्कशपमा बस्दा उनले थाहा पाइसकिन् र भन्न थालिन्, “ख्यालठट्टा गर्नु छ । तीन घण्टा समय दिएर अरु समय कुनै ठाउँमा जाउँला वा केही गरौंला भन्ने सोच्ने हो भने कुनै पनि सिनेमाको कलाकार थिएटरमा नआए हुन्छ । त्यो भनेको थिएटरको बेइज्जत हो । आफूले पनि केही सिकिँदैन ।”

उनलाई लाग्दैछ अहिले, सिक्न धेरै कुरा बाँकी रहेछ । हुन त एउटा नाटकको वर्कशपमा बस्दैमा धेरै कुरा सिकियो र सिकिन्छ भन्ने पनि उनमा दम्भ छैन । तर, सुरक्षाले धेरै कुरा सिक्दैछिन् । मेडिटेसन, फिजिकल ट्रेनिङ, फिजिकल वर्कशप पाइन् उनले ‘क्लेशा’मा । कसरी डाइलग डेलिभरी गर्ने भनेर यही वर्कशपमा सिक्दैछिन् उनी । आधा दर्जनभन्दा धेरै चलचित्रमा काम गरिसकेपनि उनले त्योभन्दा धेरै एउटै नाटकको वर्कशपबाट पाइसकिन् । 

चलचित्र रिलिज पूर्व त्यसको ठूलो युनिटले हल्लीखल्ली गर्छ । देश दौडाहा, सञ्चारमाध्यममा अन्तर्वार्ता, रियालिटी शोमार्फत् पब्लिसिटी, फ्यान फलोइङ, प्रतिक्रिया । तर नाटकमा न यो सबै हुन्छ न लाखौंमा पारिश्रमिकको चर्चा हुन्छ । यो बानी परेकालाई नाटकको सानो लक्ष्मणरेखामा खुम्चिन गाह्रो हुँदैन ? 

प्रश्न खस्न नपाउँदै सुरक्षाको जवाफ आइहाल्यो– यो सबका लागि मैले नाटक गरेकै होइन । फेम, नेमभन्दा पनि मैले आफूलाई सार्प गर्न खोजिरहेको हो । त्यो कसरी सम्भव हुन्छ, म खोज्दैछु । म त झन् सन्तुष्ट छु । कलाकारले विलासी जीवनबाट केही समय टाढिन पनि सक्नुपर्ने रहेछ । बल्ल कलाकारले बुझ्ने रहेछ के गर्नुपर्छ भनेर । 

उनले नेपाली कलाकारको समस्या पनि पहिचान गरिसकिन् । उनको विचारमा विलासी जीवनका लागि आफ्नो ग्राफभन्दा पनि पपुलर हुन खोजिरहेका रहेछौं हामी । 

पैसाबिनाको मेहनत कति समयका लागि ? 

त्यसैका लागि त यो बाटो तयार गरिहेको हो । पहिला आफूमा कुशल शिल्प हुनुपर्छ । त्यसपछि पैसालाई हामीले खोज्ने होइन, पैसाले हामीलाई खोज्छ । 

पैसा सुदूर भविष्यको कुरा भयो । अहिले उनलाई छोटो समयमा एक्टिङ सिक्नु छ । एक्टिङमा आफूलाई पलिस गर्न मनपर्यो र उनी मण्डला छिरिन् । 

अर्को पनि कारण छ, जसले सुरक्षालाई नाटकको बाटो हिँडायो । नाटकका कलाकारको चलचित्रमा चार्म छ । त्यसैले उनलाई नाटक पनि बुझ्नु थियो । “नाटकको भित्री कथा के छ ? उनीहरुले के त्यस्तो भिन्न गर्छन् जो हामी सिनेमाका कलाकारले गर्न सकेका छैनौं ? मलाई बुझ्नु थियो,” उनी भन्छिन्, “अभिनयमा सिक्नुको लोभ थियो । निखारिन मन थियो ।”

त्यो क्लेशाले दिँदैछ उनलाई । चलचित्रमा निर्देशकले क्यारेक्टर प्रायः आफैँ खोजिदिन्छ । नाटकमा कलाकारले आफैँले खोज्नु पर्छ । ‘क्लेशा’ले उनलाई सिकायो चलचित्रमा क्यारेक्टरमा हामीले मेहनत गर्न पुगेकै रहेनछ । 

उनी भन्छिन्, “मलाई चलचित्र र नाटकको पुल भएर काम गर्ने रहर छ । चलचित्र र नाटकमा पनि ।”

‘क्लेशा’ रामायणको रि–टेलिङ हो । राम, सीता र रावणको सम्बन्ध र संघर्षलाई नाटकमा उतारिँदैछ । पात्र, स्थान र परिस्थितिलाई अहिलेको समयसँग जोडेर नाटक निर्माण गरिएको निर्देशक विजया कार्की बताउँछिन् । “आजभन्दा ४० वर्ष अगाडिको नेपालको पूर्वी तराईको कथा हो,” उनी भन्छिन् । 

क्लेशा संस्कृत शब्द हो । यात्रामा दुःखको पाँच कारक तत्व (इगो, एवर्जन, एट््याच्मेन्ट, फियर र इग्नोरन्स) यसले बताउँछ । 

विजयाले नाटकको प्रोमो पनि बनाएकी छिन् । अक्सर नाटकमा प्रोमो बनाएर प्रचार गरिँदैन । तर विजयाले बनाइन् । 

सुरक्षासँगै कुशल पाण्डे, प्रतीक मरहट्टा, सुदीप खतिवडा, रुजु शर्मालगायत मुख्य भूमिकामा छन् ।  जेठ १७ देखि असार ८ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ । शनिबार १ र साढे ५ बजे पनि हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १६:५०
प्रतिक्रिया दिनुहोस्