
काठमाडौं । चलचित्रमा साउन्डको भ्यालू कति हुन्छ ? प्रायः धेरैले भन्छन्, ५० प्रतिशत । अझ साउन्डसँग खेल्ने मेकरहरुले ८० प्रतिशत भन्छन् । भिजुअलमा त्यती धेरै खेल्न नसक्ने हाम्रो जस्तो चलचित्र उद्योगका लागि त यसको प्रतिशत अझ उच्च छ । विडम्बना ! साउन्डमा नेपालकै मेकर भने निकै पछि छन् । न मेकरले साउन्डमा ध्यान दिएका छन् न समीक्षकलाई नै यसबारे त्यती धेरै जानकारी छ ।
विकसित देशमा चलचित्र निर्माणमा लाग्ने कुल खर्चको १५-२० प्रतिशत बजेट साउन्डका लागि खर्चिएको पाइन्छ । तर नेपालमा पाँच प्रतिशत पनि बजेट छुट्टयाइदैन । आवश्यक बजेट नछुट्ट्याउँदा चलचित्रको साउन्ड निर्माणका लागि टिम नै बन्न नसक्ने अवस्था रहेको चलचित्रका साउन्डसम्बन्धि जानकार किशोर आचार्य बताउँछन् ।
नेपालमा प्राथमिकतामा नपर्ने साउन्डलाई हलिउडले भने उच्च महत्व दिने गरेको छ । स्क्रिप्ट राइटिङमै हलिउडमा साउन्ड सोचेर लेखिने गरेको किशोर बताउँछन् । “हलिउडमा स्क्रिप्ट लेख्दा नै साउन्ड कस्तो हुन्छ भनेर साउन्ड डिजाइनरलाई सँगै राखेर लेखिन्छ,” किशोर बाह्रखरीसँग भन्छन्, “बलिउडमा पनि प्रि–प्रोडक्शनबाटै साउन्ड डिजाइनरलाई राखिन्छ तर नेपालमा पोष्ट प्रोडक्शनमा पनि त्यती धेरै महत्व दिएको पाइँदैन ।”
हलिउडमा साउन्डका लागि एउटा चलचित्रका लागि २५–३० जनाको समूहले छ महिना खर्चिन्छ भने बलिउडमा १५-२० जनाको समूहले दुई महिना लगाउँछ । नेपालमा भने एउटा चलचित्रमा दुई जनालाई साउन्डको काम गर्न लगाइन्छ । दुई जनालाई पनि १०–१५ दिनको समय दिइन्छ ।
“हलिउड र बलिउडमा २० प्रतिशतसम्म बजेट साउन्डमा छुट्टयाइन्छ । तर, नेपालमा पाँच प्रतिशत पनि साउन्डमा बजेट छुट्टायाईंदैन । त्यसैले यहाँ साउन्डमा काम गर्ने टिम नै बनाउन सकिँदैन ।”
साउन्डका लागि मेकरले बजेट नै नछुट्याउने भएकाले दक्ष जनशक्तिको पनि अभाव रहेको आचार्य बताउँछन् । सिङ्क साउन्डका लागि ‘इन्टु मिन्टु लण्डनमा’ले जनशक्ति खोजे पनि नपाएपछि डबिङ गरेको थियो ।
“साउन्ड विनाको भिजुअल क्यामेराको लेन्सबाट हेरिएको दृश्य मात्रै हो । त्यसैले चलचित्रमा देखाइरहेको भिजुअलको आत्मा र इमोशनलाई जोड्ने काम साउन्डले गर्छ,” आचार्य चलचित्रमा साउन्डको महत्ववारे स्पष्ट पार्छन् ।
चलचित्रमा डाइलग पनि साउन्डको एउटा प्रकार हो । चलचित्रमा डाइलग किङको रुपमा रहन्छ । डाइलग सिङ्क साउन्ड-लोकेशन साउन्डबाट ल्याइन्छ । यसमा सुटिङमै साउन्डको व्यक्ति गएर कलाकारले डाइलग बोल्दा त्यसलाई पिन माएक्रोफोन लगाएर वा अन्य कुनै माध्यमबाट ल्याउँछ । यसो गरेको खण्डमा स्टुडियोमा डब गर्नुपर्दैन ।
साउन्डको अर्को तह डबिङ हो । यसमा सुटिङमा साउन्डका व्यक्ति हुँदैनन् । छायांकनमा कलाकारले जे बोलेको थियो स्टुडियोमा त्यही दोहोर्याइन्छ ।
“एम्बियन्स साउन्ड साउन्डको अर्को तह हो । यसले कुन ठाउँमा छायांकन भइरहेको हो त्यो ठाउँ, समय एम्बियन्सले छुट्याइदिन्छ । काठमाडौंमा चलचित्र छायांकन भएको हो भने बाक्लो ट्राफिक वा नेवारी जात्राका साउन्ड आउँछ,” आचार्य भन्छन्, “साउन्ड इफेक्ट साउन्डको अर्को लेयर हो । एम्बियन्स साउन्ड जस्तै लाग्ने यसमा कलाकारले ढोका उघारेको, गाडी चलाएको आवाज छ भने त्यसको ओर्जिनल साउन्ड खोजिन्छ ।”
आचार्यका अनुसार चलचित्रमा अर्को साउन्ड पनि हुन्छ जसलाई फोली साउन्ड भनिन्छ । यसमा कलाकारले चिया खाएको, वियर पिएको अथवा हिँडेको छ भने त्यस्तो साउन्ड स्टुडियोमा फोली आर्टिस्टले तयार पार्छ । यसका लागि छुट्टै फोली स्टुडियो आवश्यक पर्छ । तर नेपालमा यस्तो फोली स्टुडियो छैनन् । आचार्य अहिले पाटनस्थित आफ्नो स्टुडियोमा फोली स्टुडियो निर्माण गरिरहेका छन् ।
म्युजिक र ब्याकग्राउन्ड म्युजिक पनि साउन्ड भित्रै पर्छन् । चलचित्र लेखक तथा निर्देशक नवीन सुब्बा नेपालका चलचित्र साउन्डका हिसाबले निकै कमजोर रहेको बताउने आचार्य मेकरमा साउन्डको महत्वबारे बुझ्ने मेकर र समीक्षकको अभाव रहेको बताउँछन् । उनका अनुसार समीक्षकले पनि चलचित्रको समीक्षा गर्दा साउन्डका बारेमा खासै केही लेखेको पाइँदैन ।
“चलचित्रको समीक्षाले नेपालमा खासै अर्थ राख्दैन भनेको पाइन्छ । तर त्यस्तो होइन,” सुब्बा भन्छन्, “यदी समीक्षाले अर्थ नराख्ने हो भने मेकरहरु किन हलमा चलेका चलचित्रको समीक्षा राम्रो आएन भनेर समीक्षाप्रति असन्तुष्टि जनाउँछन् । यसको अर्थ समीक्षाको ठूलो महत्व र अर्थ छ भन्ने हो । त्यसैले अब समीक्षकले पनि नेपाली चलचित्रको साउन्डमा देखिएको कमजोरीबारे लेख्नुपर्छ ।”
सिङक साउन्ड गरिएका नेपाली चलचित्र ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘लालपूर्जा’, ‘सुन्तली’, ‘अमेरिका ब्वाइज’ अादि हुन् । नेपाली चलचित्रको साउन्डमा स्तर वृद्धि गर्ने हो भने स्क्रिप्टबाटै साउन्ड डिजाइनरलाई सहभागी गराउन नसके पनि कम्तिमा प्रि-प्रोडक्सनबाटै साउन्ड डिजाइनरलाई सहभागी गराउनु पर्ने आचार्यको भनाइ छ ।