काठमाडौं । मुलुकका चारवटा सुरक्षा निकायमध्ये महत्वपूर्ण निकाय हो, राष्ट्रिय अनुसन्धान विभाग अर्थात् गुप्तचर । सम्भावित ठूला घटना, राष्ट्रिय अखण्डता लगायतका विषयमा भइरहेका गोप्य क्रियाकलापको निगरानी राख्ने र त्यसबारेको सूचना राज्यलाई दिने काम हो गुप्तचरको । तर, मुलुकमा भएका कतिपय ठूला घटनाबारे भने राष्ट्रिय अनुसन्धान विभागले समयमै भरपर्दो सूचना संकलन गर्न नसक्दा अप्रिय घटना भएका छन् ।
यसअघि गृह मन्त्रालय र हाल प्रधानमन्त्री मातहत रहेको गुप्तचर विभागको कामप्रति अन्य सुरक्षा निकाय र स्वयं गृहकै अधिकारी असन्तृष्ट देखिएका छन् । राष्ट्रिय अनुसन्धान विभाग नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को निगरानी गर्न असफल भएको छ ।
त्यसैको परिणाम हो, ललितपुरको नख्खुमा हालै भएको विस्फोट र आइतबारमात्रै उपत्यकामा भएको बमकाण्ड र विस्फोट । फागुन १० गते ‘विप्लव समूह’ले नख्खुमा बम विस्फोट गराउँदा सिंहप्रताप गुरुङको ज्यान गयो । १० गते नै कमलपोखरीस्थित आँगन स्विट्समा विप्लव समूहले बम राखेको थियो ।
त्यसपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने कुराको कुनै पूर्वसूचना गुप्तचर संयन्त्रले थाहा पाउनै सकेन । सुरक्षासम्बन्धी पछिल्ला बैकठहरुमा गुप्तचर विभागको भूमिका र जिम्मेवारीमाथि प्रश्न उठाउन थालिएको छ । एनसेल गेटमा बम राख्नुअघि विप्लव समूहको बैठक नै बसेको बताइएको छ । त्यही बैठकले एनसेलमाथि धावा बोल्ने निर्णय गरेको थियो । तर गुप्तचर विभागले त्यो सूचना प्राप्त गर्न सकेन, परिणाम नख्खुमा एकजनाको ज्यान जानेगरी विस्फोट भयो ।
३० फागुनमा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि प्रहरीको आफ्नै सूचनामा ४ सय बढी नेता–कार्यकर्ता पक्राउ परिरहेका छन् । गुप्तचर संयन्त्र भने नेपाल प्रहरीबाट सूचना लिएर प्रधानमन्त्री र गृहमन्त्रीलाई ‘ब्रिफिङ नोट’ बुझाउँदै आएको एक प्रहरी अधिकारीले बताए ।
राष्ट्रिय अनुसन्धान विभागको प्रमुख गणेश अधिकारी छन् । तर, उनको कामबाट गृहमन्त्री सन्तृष्ट हुन नसकेको स्रोत बताउँछ । उपत्यकामा भएको विस्फोटको घटनाले सुरक्षा निकायहरू सुरक्षाको प्रत्याभूति गराउने मामिलामा संवेदनशील नभएको भन्ने देखाएको विज्ञको आरोप छ ।
गृहका एक अधिकारीले भने, “उपत्यकाभित्रै घटना हुन्छ, त्यसको जानकारी गुप्तचरलाई हुँदैन भने त्यस्तो निकायको के काम ? सरकार शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा चनाखो हुनुपर्छ । तर त्यसो भएको देखिँदैन ।”
टीकापुरदेखि सुकेधारासम्मको सुइँको पाएन
भदौ २०७२ बाट भएको थरुहट आन्दोलनदेखि सुकेधारा, घट्टेकुलो विस्फोटसम्म आइपुग्दा सुरक्षाकर्मी सहित कैयौंको ज्यान गएको छ, सुनियोजित घटनाबाट । २०७२ साल भदौ ७ गते कैलाली र कञ्चनपुरसहित बेग्लै थरुहट र थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १ वर्षे नाबालक, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जनाको ज्यान गयो । टीकापुर घटनामा गुप्तचर विभागले सूचना समयमै दिन सकेको भए विभत्स नरसंहार रोक्न सकिन्थ्यो भन्छन् सुरक्षा अधिकारी ।
टीकापुर काण्डअघि सोही क्षेत्रका केही घरमा भाला, खुकुरी, हँसियालगायत घरेलु हतियार लगेर जाने र प्रहरीमाथि आक्रमण गर्ने योजना पहिल्यै बनेको थियो । तर, गुप्तचरले त्यो सूचना संकलन गर्न सकेन । माओवादी जनयुद्धपछि प्रहरीका उच्च अधिकारी टीकापुर काण्डमै मारिएका थिए । त्यसअघि जनयुद्धको क्रममा २०५८ असारमा दाङमा एसएसपी परमेश्वर सिंह सिजापती, २०५९ माघमा ललितपुरमा सशत्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठ र २०६० कात्तिकमा मकवानपुरमा नेपाली सेनाका प्राविधिक सहायक रथी सागरबहादुर पाण्डेको मृत्यु भएको थियो । कुनै समय राम्रो छवि बनाएको राष्ट्रिय अनुसन्धान विभाग पछिल्लो समय राजनीतिक दलको भर्तीकेन्द्र हुँदा सूचना संकलनमा कमजोर हुँदै गएको विश्लेषकको निष्कर्ष छ ।
त्यसो त नेपाली सेनाको डीएमआई, नेपाल प्रहरीको सीआईबी, सशत्र प्रहरी बलको आफ्नै छुट्टाछुटै इन्टेलिजेन्स पनि छन् । तर जासुसीको लागि नै भनेर बनेको सुरक्षा अंग भनेको राष्ट्रिय अनुसन्धान विभाग नै हो । गुप्तचरको काम नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित विपरीत कुनै काम हुन लागेमा, राष्ट्रिय सुरक्षामा आन्तरिक होस् या बाह्य सुरक्षा चुनौतीको गोप्य रिपोर्ट राज्यलाई दिनु हो ।
योबाहेक आपराधिक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विविध क्षेत्रहरुसँग सम्बन्धित सूचना संकलन गर्दै राज्यलाई गोप्य रिपोर्टहरु दिनु हो ।
सूचना प्रणाली बलियो बनाउनुपर्छः पूर्व गृहमन्त्री रावल
गृहमन्त्रीसमेत भइसकेका सत्तारुढ दल नेकपाका नेता भीम रावल राज्य संयन्त्रको प्रणाली र सूचना प्रणालीलाई अझ सबल बनाउनुपर्ने अवस्था देखिएको बताउँछन् । नेता रावलले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘हामीले मुलुकको सुरक्षा प्रणाली, संविधानको कार्यान्वयन तथा शान्तिसुरक्षाको सुदृढीकरण गर्दै शान्ति सुरक्षाको हिसाबले देशलाई ढुक्क राख्ने अवस्था हुनुपर्दछ ।’’ उनले आइतबारको घटनाले यो अवस्था नदेखिएको जनाउँदै घटना दुःखदायी भएको बताए ।
यस्ता समस्या आउन नदिनका लागि राजनीतिक पहल पनि सँगसँगै अगाडि बढाउनुपर्ने चर्चा गर्दै उनले कसरी अघि बढ्ने भनेर पार्टीभित्र र अन्तरपार्टीगत हिसाबले पनि छलफल गर्नु जरुरी रहेकोमा जोड दिए । राज्यको सूचना प्रणालीलाई पनि अझ सबल बनाउनुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । आवश्यक सूचना लिएर राज्य संयन्त्र सबल रुपमा अघि बढ्नुपर्ने भन्दै उनले सुरक्षा निकायको सरुवा तथा पदोन्नतिमा विभिन्न खाले विवाद आएको र प्रणालीगत ढंगले नचलेका कुराले समेत समस्या आएको बताए ।
प्रहरीको बर्दीले मात्र छेक्दैनः पूर्वएआईजी भण्डारी
नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी गुप्तचर विभागको व्यावसायिकता बढाउनुपर्ने बताउँछन् । उनले भने, ‘‘गुप्तचर मात्रै भनेर हुँदैन । साधनस्रोत दिनुपर्छ, लगानी गर्नुपर्छ । पदमात्रै दिने, भित्रभित्रै खोक्रो बनाएपछि के अर्थ हुन्छ ?’’ उनले प्रणाली र प्रविधिले निगरानी गर्नुपर्नेमा जोड दिए ।
प्रहरीको बर्दीले मात्रै सबै कुरा छेक्न नसक्ने भण्डारीको बुझाइ छ । विप्लव समूहमाथिको प्रतिबन्ध नै गलत भएको दाबी गर्दै भण्डारीले राजनीतिक रुपमा समस्याको समाधान खोजिनुपर्ने बताए ।