
— कुमार शर्मा
ध.च. गोतामेको ‘घामका पाइलाहरू’बारे धेरैको मुखबाट सुनेको थिएँ । पढेको भने थिइनँ । लेखक सुबिन भट्टराई हरेकजसो अन्तर्वार्तामा भन्छन् कि उनलाई नेपाली साहित्यमा मन पर्ने कृतिमध्ये ‘घामका पाइलाहरू’ पनि एक हो । अन्ततः यसपालि काठमाडौं जाँदा मैले अरू पुस्तकसँगै यो पुस्तक पनि किनें । कुनै पनि पुस्तक पढ्न कहिल्यै ढिला हुँदैन, जबसम्म त्यो पुस्तक पढिन्छ— इट्स नेभर टु लेट टु रिड अ बुक ।
हामीले पढ्ने प्रायः उपन्यासमा देख्छौं— एउटा मुख्य पात्र हुन्छ, जसको वरिपरि समग्र कथा बुनिन्छ । र, मुख्य पात्रसँग अन्य सबै पात्र कुनै न कुनै तरिकाबाट जोडिएका हुन्छन् । अन्य जति नै पात्र भए पनि उपन्यासको ढुकढुकी भने मुख्य पात्र नै हुन्छ । ‘घामका पाइलाहरू’मा मुख्य पात्र कुनै सजीव चरित्र नभएर एक निर्जीव वस्तु हो— चन्द्र शमशेर पालाको तराई क्षेत्रमा भर्खरै निर्मित एक रेलसेवा । हुन त युवा केटो पवन उपन्यासको मुख्य पात्र हो भनेर बहस पनि हुन सक्ला तर ‘घामका पाइलाहरू’ जति पवन र उसको परिवारको कथा हो, त्यत्ति नै उक्त क्षेत्रको, उक्त समयको कथा हो, जसको आधुनिक सभ्यता रेलसँगसँगै अगाडि बढ्छ ।
न पूर्ण रूपमा गाउँ, न पूर्ण रूपमा शहर । गाउँ र शहरको मझधारमा अवस्थित एक बस्ती । हजुरबुवा, बुवा र नातिको तीन पुस्ता, तिनको अन्तरसम्बन्ध । एक उच्च ओहोदाका बंगालबाट झिकाइएका रेल अधिकारी र उनको रेल सपना । यी घामका पाइलाहरू हुन् । बस्तीको माझबाट हरेक दिन गुड्ने रेल भने ती पाइलाहरूको डोब हो । उपन्यासका हरेक पात्रको जीवन प्रत्यक्ष या परोक्ष रूपमा अन्ततः रेलसँगै गएर गाँसिएको छ । कुनै एक बस्तीको आधुनिक सभ्यताको विकासमा त्यहाँ बसोबास गर्ने मानिसहरूको मात्रै भूमिका हुँदैन । विकासको अवधारणासँगसँगै मानव सभ्यता पनि अगाडि बढ्छ । यी दुईबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । ‘घामका पाइलाहरू’मा रेलको उपस्थिति केही यस्तै छ । रेल पृष्ठभूमिमा जस्तो देखिए पनि वास्तवमा यो ‘फोरफ्रन्ट’मै छ । र, पात्रहरूलाई एक–आपसमा जोड्ने काम पनि रेलले नै गरेको छ ।
कहिलेकाहीँ साना, झट्ट पढ्दा याद नहुने कुराहरूले पनि गहिरो अर्थ राख्छन् । तर, अलि ध्यान दिएर केलायो भने त्यसको महत्व छर्लंग हुन्छ । कथावाचनमा कुन कालमा कथा भनियो, शायद यसको त्यति ठूलो अर्थ र प्रभाव हुँदैन । चाहे भूत वा वर्तमान, जुन कालमा कथा भने पनि त्यसले पठनमा तात्विक फरक पार्दैन । तर ‘घामका पाइलाहरू’ पढ्दै गर्दा वर्तमान कालमा गरिएको कथा वाचनले अर्थ राख्छ । गोतामेले कथा भनिरहँदा यस्तो लाग्छ— त्यो कथा यतै कतै वर्तमानमै घटित भइरहेको छ, न कि कुनै पूर्वकालमा । पात्रहरूप्रति एक किसिमको आत्मीयता र अपनत्व महसुस हुन्छ ।
‘घामका पाइलाहरू’मा जति पात्रहरू छन्, उनीहरूका आफ्नै भाषा छन् । तिनका मुखबाट निस्किने लवज बेग्लाबेग्लै छन्, जसले ती पात्र र उनीहरूका संवादलाई जीवन्त बनाउँछन् । बेलायतबाट पढेर आएका, बंगालबाट झिकाइएका कडा स्वभावका रेलवेका एक उच्चपदस्थ सरकारी कर्मचारीले रेल सञ्चालनमा ढिलासुस्ती हुँदा बोल्ने भाषा सम्भवतः मीठो हुँदैन । त्यस्तो बेलामा मुखबाट गाली नै निस्किन्छ । तसर्थ रेल अधिकारी अमलेन्दु भट्टाचार्यको मुखबाट बेलामौकामा निस्किरहने ‘सन अफ ए बिच’ उनको व्यक्तित्व र परिस्थिति सुहाउँदो छ । मलाई धैरै समयसम्म लाग्थ्यो— ‘सन अफ ए बिच’ जस्तो गाली पश्चिमा समाजको आधुनिक जिब्रोले मात्र बोल्ने गर्छ, या उनीहरूलाई मात्र सुहाउँछ । तर, गोतामेले करिब ४० वर्षअघि नै त्यस्ता शब्दको प्रयोग आफ्नो उपन्यासमा गरिसकेका रहेछन् । यो कुनै आश्चर्यभन्दा कम होइन ।
पानवाला गणेशीको मुखबाट पनि अक्सर गाली, व्यंग्य र ठट्टा निस्किरहन्छ । तर, गणेशीको मुखबाट निस्किने लवजले तराईको आञ्चलिकता र उसको पृष्ठभूमिको सुन्दर प्रतिनिधित्व गर्छ । गणेशी प्रिय पात्र हुनुमा उसको चरित्र, उपन्यासमा उसको भूमिका भन्दा पनि उसले प्रयोग गर्ने भाषा बढी अहम् छ । कुनै एउटा प्रसंगमा रेल अधिकारी अमलेन्दु (लोकोबाबु)ले सहयोग गरे कि गरेनन् भन्ने आशयको प्रश्न गर्नुप¥यो भने ‘लोकोबाबुले सहयोग गर्नुभयो कि नाइ ?’ भनेर गणेशी प्रश्न गर्दैन । गणेशीको ठाडो प्रश्न हुन्छ, “त्यो बूढो स्यालले केही गरेन, होइन ?”
पण्डित दुर्गानाथ, अमलेन्दु भट्टाचार्य या पवनजस्ता केन्द्रीय पात्रहरूको माझ (जसको वरिपरि उपन्यासको कथा अगाडि बढ्छ) गणेशीले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ । यसमा लेखकले पनि अलिकति सहयोग गरिदिएका छन् । लेखकको माध्यमबाट गणेशीले आफूअनुकूल भाषा पाएको छ । र, यसकारण ऊ ज्युँदो छ । पात्र र उसको पृष्ठभूमिअनुसार आञ्चलिक भाषाको प्रयोग सम्भवतः ‘घामका पाइलाहरू’को सबैभन्दा सुन्दर र सबल पाटो हो ।
उपन्यासको मेरुदण्ड भने तीन पुस्ता यानेकि पण्डित दुर्गानाथ बाजे, उनका छोरा पीताम्बर र नाति केटो पवनबीचको अन्तरसम्बन्ध हो । जहाँ पण्डित बाजे र उनका छोराबीच ‘लभ–हेट’ किसिमको सम्बन्ध छ, त्यहीँ बाजे र नातिबीचको सम्बन्धलाई लेखकले यति सुन्दर रूपले उतारेका छन् कि लाग्छ— पुस्ताबीचको अन्तर केवल ‘मिथ’ हो । असलमा सम्बन्धबीच पुस्ता आउँदैन । यदि पुस्ताबीच घर्षण छ भने त्यसको कारक समय र परिस्थिति हो, आफ्नै ‘फ्रस्टेसन’ हो, न कि पुस्ताबीचको समयान्तर ।
संक्षेपमा, ‘घामका पाइलाहरू’ गाउँ र शहरको दोसाँधमा उभिएको एउटा बस्तीको ‘कमिङ अफ एज’को कथा हो, उसको निरन्तर शहर बन्नेतर्फको यात्रा हो ।
रेलसेवालाई केन्द्रमा राखेर मानवीय सम्बन्धका विभिन्न तह केलाउँदै एउटा प्राचीन बस्तीको कथा भन्ने क्रममा लेखकले प्रयोग गरेका ‘टुल्स’ भने एकदम आधुनिक छन् । पात्र, तिनले बोल्ने भाषादेखि लिएर कथावाचनको शैली पनि उत्तिकै नवीन छ । ‘घामका पाइलाहरू’ करिब ४० वर्षअघि लेखियो तर यो कृतिका डोबहरू भने अझै भेटिन्छन् ।