
– विकास मरासिनी
विसं. २०६७ सालको एकदिन । लक्ष्मण श्रेष्ठ नेपालगन्जको कुनै क्याफेमा साथीसँग बसिरहेका थिए । ती साथीले एउटा राष्ट्रिय पत्रिकामा प्रकाशित तस्बिर देखाए, “हेर् त, क्या दामी फोटो !”
लक्ष्मणलाई त्यो फोटोले ‘लभ एट फस्र्ट साइट’जस्तै मोहित पार्यो । त्यो कलात्मक तस्बिरले उनको मनमा ठूलो हलचल ल्यायो । अवचेतन मनमा रहेको कला भोकले उनको मन कोक्याउन थाल्यो ।
आफ्नै होटलमा अकाउन्टेन्टको काम गरिरहेका लक्ष्मणलाई त्यो तस्बिरले राम्ररी सुत्न दिएन । कलाकारले कला चिन्छ, उनले आफूलाई चिने । त्यसपछि उनले आफूभित्रको कलाकारलाई घच्घच्याए । १८ महिनासम्म घोत्लिए । अकाउन्टेनकै कामलाई निरन्तरता दिने कि स्वतन्त्र भएर सुषुप्त मनको कलाकारलाई मैदानमा उतार्ने !
नियमित आम्दानी स्रोतलाई यत्तिकै पन्छाउन सकेनन् । काम गर्दागर्दै रहरमै चित्रकला बनाइरहे । दुई वर्षपछि उनले नेपालगन्जकै सडकमा ‘संसद भर्सेस जनता’ प्रदर्शन गरे । त्यो चित्रकारिता करिअरको पहिलो र ठूलो खुड्किलो थियो । त्यसयता उनले ‘भद्रगोल देशका व्यस्त नागरिक’, ‘म मस्त, देश अस्तव्यस्त’, ‘सचेतमा भ्रुण हत्या’, ‘विकास भर्सेस विनाश’, ‘सरकार ?’, ‘संकटमा प्राकृतिक कुचिकार’, ‘जलाइएकी म’, ‘भ्रष्ट म’, ‘बौलाहा म’, ‘पागल तँ’, ‘मनी’, ‘डेड ब्रसेस’, ‘पिस’, ‘टाइम भर्सेस डेड सरकार’, ‘वाटर’, ‘रिकभरी’, ‘टेका’, ‘दायित्व कसको ?’, ‘नशामा होइन अब’ जस्ता सामाजिक मुद्दा उठाएर चित्रकला प्रदर्शन गरिसकेका छन् ।
आफूमा कलाको भोक बढ्दै गएपछि लक्ष्मण नेपालगन्ज छाडेर कलामै केही गर्न काठमाडौंतिर हानिए । भीमसेनगोलामा डेरा लिए, ललितकला क्याम्पसमा ‘ब्याचलर इन फाइन आर्ट’को पहिलो वर्षमा भर्ना भए ।
जसोतसो उनी दोस्रो वर्षमा पुगेका थिए तर पैसा अभावले कलेजबाट ‘ड्रप–आउट’ भए । कलेजमा पढ्ने केही कलाकारबाट सहयोगको अपेक्षा गरे र हातमा निराशाको मुठो लिएर फर्किए । कसैले उनलाई सहयोग गरेन । घरमा पनि भन्न सक्थे तर परिवारलाई आफ्नो तनाव ‘शेयर’ गर्न चाहेनन् । उनी रातभरि आफ्नै कोठामा अनेक पेन्ट गर्दै बस्थे । कलाको भोकमा रन्थनिएर रंग भर्दाभर्दा शरीरको भोक बिर्सिन्थे । नसुती–नसुती उनले थुप्रै रात बिताएका छन् । भोको पेटमा थुप्रै क्यानभास भरेका छन् ।
“शरीर भोको हुँदा पनि मलाई कलाले चरम आनन्द दिन्थ्यो । अस्तव्यस्त र साँघुरो कोठामा रातभरि चित्र कोर्दा म दंग पर्थें । आफूले रंगाएको कलाले सही बाटो समाउँदा एक्लै उफ्रिन्थें,” काठमाडौंका शुरुवाती दिन सम्झिन्छन् लक्ष्मण, “अनि आफूलाई पूर्ण पाउँथें । कोठाभरि रंग लतपतिएको हुन्थ्यो । त्यो रंग मलाई आफ्नो जीवनको रंग जस्तो लाग्थ्यो ।”
रंगको बारेमा लक्ष्मणको आफ्नै धारणा छ । भन्छन्, “जन्मदेखि मृत्युपर्यन्त सबै मानिस रंगमा रमाउँछन् । सम्भवतः जीवनको एउटा न एउटा रंगले सबैलाई बाँधेको हुन्छ । हामी सबै रंगमै खेलेर रंगमै मर्छौं । मानिसमात्र नभई संसारका सारा जीवजन्तुको आफ्नै रंग हुन्छ ।”
सन् २०१६ मा बंगलादेशमा आयोजित ‘एसियन आर्ट बियानाले’मा उनले भाग लिएका थिए । ५५ राष्ट्रका कलाकारहरूको जमघट थियो । नेपालबाट उनीसहित चार कलाकार गएका थिए । त्यसमा लक्ष्मणको ‘क्विक’ शीर्षकको अमूर्त कला छानिएको थियो, जुन अहिले मुम्बई (भारत)को ‘ग्यालरी सेभेन’मा राखिएको छ । त्यसको दुई वर्षपछि उनी सन् २०१८ मा पनि बंगलादेशको कार्यक्रममा भाग लिन गए । अस्ति भर्खर कोलकाता पुगेर ‘न्यारेटिभ मुभमेन्ट’मा ‘पब्लिक आर्ट’ कार्यक्रममा भाग लिए ।
यी तीनै कार्यक्रम जाँदा ज्ञानको महासागरमा पौडिएजस्तो लाग्यो लक्ष्मणलाई । आफ्नो कलालाई निखार्न यी कार्यक्रमले ठूलो टेको दिएको उनी बताउँछन् ।
लक्ष्मणले होटेल, रेस्टुराँका भित्तादेखि सडकका पर्खालसम्म आफ्ना कला छरेका छन् । अझ बाटोका पर्खालमा त उनले समाजका बेथितिलाई केन्द्रमा राखेर चित्र कोर्छन् । शुरुदेखि नै उनका कला बढी समाजको वास्तविकतामा आधारित रहँदै आएका छन् । कुनै–कुनै कला अमूर्त पनि हुन्छन्, कतिपय आध्यात्मिक पनि ।
आफूले जीवनकालमा जे–जस्तो देख्छन् र भोग्छन्, लक्ष्मण तिनै विषयलाई उठाएर कलामार्फत आफूलाई हलुका बनाउँछन् । ‘डेड (मृत) सरकार’ त्यस्तै एउटा सिर्जना थियो । जनताका तमाम समस्याप्रति सरकार उदासीन रहेको विरोधस्वरूप उनले ‘डेड सरकार’ बनाएका थिए । तर, सरकारका ‘अरिंगाल’ले मोबिल छर्केर मेटाउन खोजे । पछि उनले त्यसलाई सच्याएर ‘ब्लाइन्ड सरकार’ बनाए ।
“कलाकारले कहिल्यै पनि आफ्नो देशको बारेमा गलत सोच्दैन । कलाकारमात्रै होइन, असल नागरिक कसैले पनि त्यस्तो सोच्दैन,” उनी भन्छन्, “ठीक त्यसैगरी सरकारले पनि नागरिकलाई शीरमा राख्नुपर्छ । तर, हाम्रोमा त्यस्तो देखिएन । त्यसैको विरोधस्वरूप ‘डेड सरकार’ चित्र बनाएको थिएँ । सुरक्षा चुनौती आएपछि सच्याएर ‘ब्लाइन्ड सरकार’ बनाएँ ।”
सामाजिक विषयमा वकालत गर्ने कलाकारलाई टिक्न गाह्रो भएको महसुस गर्छन् लक्ष्मण । “कति ठाउँमा चित्र बनाउनै दिइँदैन, कति ठाउँमा बनाइएका चित्र मेटाइन्छ,” निराश हुँदै लक्ष्मण भन्छन्, “खाली पर्खाल र भित्ता सजाउन नपाउनु कलाकारका लागि निकै दुःखलाग्दो कुरा हो । समाजले अझै पनि कलालाई सम्मान गर्न सकेको छैन । जबकि कला जहिल्यै समाजकै लागि हुन्छ । कलाबिना समाज कहिल्यै पूर्ण हुँदैन ।”
लक्ष्मण नेदरल्यान्डका प्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यानगगबाट प्रभावित छन् । नेपालका कलाकारको नाम सोध्दा उनले भने, “मेरै नाम गरेका कलाकार हुनुहुन्छ । भारतको मुम्बई बस्नुहुन्छ । मलाई उहाँ मन पर्नुहुन्छ ।”
लक्ष्मणले सम्मान र पुरस्कारका लागि कहिल्यै चित्र कोरेनन् । मनको तुष मेट्ने र समाजलाई केही सन्देश दिने ‘प्यासन’ले उनलाई कलाकार बनाएको हो ।
काठमाडौंमा शुरुवाती दिनको दुःखले आफू अहिलेको अवस्थामा आइपुगेको बताउँदा लक्ष्मणको अनुहारमा चमक देखिन्थ्यो । “टिक्न साह्रै अप्ठ्यारो परेपछि साथीले बाहिरबाट १ हजार डलर पठाइदिएको थियो, त्यही सामानले पेन्टिङका सामान जोडें,” लक्ष्मण सम्झिन्छन्, “लगनले काम गर्दै गएँ । मार्केट पनि बढ्दै गयो । होटल, रेस्टुराँले भित्तामा पेन्टिङको महत्व बुझेर अफर गर्न थाले । आम्दानी पनि हुन थाल्यो । कलाप्रतिको यो (थोरै भए पनि) सकारात्मक सोचले म खुशी छु ।”
एक वर्षअघि लक्ष्मणले एउटा समूह स्थापना गरे— ‘खोज आर्टिस्ट नेपाल’ । यो समूहमा उनीमुनिका तीन भाइ र एक लेखक छन् । यो समूहमार्फत उनीहरूले विभिन्न सामाजिक मुद्दामा रंग भर्छन् । विभिन्न सामाजिक विषय र बेथितिलाई कलामार्फत आमजनतासामु पुर्याउँछन् । लक्ष्मण भन्छन्, “हामीले रंगमात्र भर्ने काम गर्दैनौं, सामाजिक काम पनि गर्छौं ।”
एउटा कलाकारलाई के चाहिन्छ ? पैसा ? इज्जत ? सम्मान ?
“अरू केही चाहिँदैन, बस् कलालाई सम्मान र इज्जत दिए पुग्छ,” लक्ष्मण थप्छन्, “कुनै कलाकारले पैसाको लागि काम गर्छ भने त्यो साँचो कलाकार होइन । कलाकार त आफू भोको बसेर भए पनि कलाले संसारको मन भर्नुपर्छ । साँचो कलाकार भोको पेटमै पनि अघाएजत्तिकै सन्तुष्ट हुन सक्छ ।”
यति भन्दै गर्दा लक्ष्मणले इटालीका विश्वप्रसिद्ध चित्रकार मिकेलान्जेलोको उदाहरण दिए । “उनलाई पनि त धन, सम्पत्तिको मोह थिएन । उनी खाना खान बिर्सिन्थे, जुत्तासितै सुत्थे । जति धेरै पैसा कमाए पनि उनले सामान्यभन्दा सामान्य जीवन बिताए । सबै कलाकारले उनीबाट केही सिक्नुपर्छ ।”
मिकेलान्जेलोको उदाहरण दिएपछि उनी मुसुक्क हाँसे र थपे, “तर कलामा यसो गर्ने मानिस निकै कम छन् । कलालाई प्रोफेसन मान्नेहरू पनि उत्तिकै छन् । प्रोफेसन र प्यासन फरक कुरा हुन् । प्यासनले पैसा नदिए पनि आनन्द दिन्छ । प्रोफेसनले पैसा दिए पनि आनन्द नदिन सक्छ ।”
शायद, यही ‘मोट्टो’कै कारण हुनुपर्छ— आफू भोकै रहँदा पनि, चित्र नबिक्दा पनि उनले रंग भर्न कहिल्यै छाडेनन् ।