site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
  घण्टाघरका ‘पिता’

– अक्षर काका


कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा–नाति
एक–एक गरी
फौजका सब पुराना जर्सी सिद्धिए ।
तर, जतनसाथ बचाइराखेको
फौजी जीवनका दुइटा प्रिय चिह्न
एउटा पुरानो डिजाइनको ठूलो–गोलो जेबघडी
छातीमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शीरमा लाएर
माछा मार्ने निहुँले
बुढेसकालमा लामा
र दिक्दारे दिन बिताउने
एउटा पेन्सिनवाला बूढो लाहुरेझैं
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घण्टाघर !

भूपि शेरचनले ०१० को दशकको उत्तराद्र्धमा कोरेका हुन् यी काव्य–हरफ । त्यतिबेला घण्टाघरसँग रानीपोखरी पनि साथै थिइन् । दिन छिप्पिँदै जाँदा घण्टाघरको तरूण छाया रानीपोखरीको छातीमा तैरन आइपुग्थ्यो । गोधूली नढल्कँदासम्म पौडिरहन्थ्यो, रानीपोखरीमा ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अलि पर धरहरा पनि थियो, जो उभिइरहेथ्यो युगको गजुर बनेर । फरक–फरक समयका यी तीनै विम्ब काठमाडौं शहरको चिनारी बनेर उभिएका थिए कुनैबेला । तर, २०७२ वैशाखको भूकम्पले धरहरा र रानीपोखरीलाई धूलाम्य बनाइदिएपछि ‘एक्लो’ बनेको छ वीरस्तम्भ ।

छातीमा इतिहासको ‘जेबघडी’ झुन्ड्याएर समयको आदिम राग अलापिरहेछ— विक्रम् सम्वत् १९५१ सालदेखि अद्यपर्यन्त । अविचल । निर्निमेष ।

० ० ०

काठमाडौंको काँठमा जन्मिए गणेश सापकोटा । पश्चिम काठमाडौंको बलम्बु गाउँमा । २० को दशकमा काठमाडौं अहिलेजस्तो ‘कंक्रिटको जंगल’ थिएन । टुँडिखेल, खुलामञ्च टड्कारै देखिन्थे, काठमाडौंको पश्चिमोत्तर कुइनेटोबाट । भीमसेन स्तम्भ धरहरा र वीर स्तम्भ घण्टाघर उनको आँखामा आइरहने दृश्य थिए ।

३० को दशकको पूर्वाद्र्धसम्म घण्टाघरको आवाज उपत्यकाव्यापी गुञ्जिन्थ्यो । गणेशका दामलीहरू घण्टाघरको आवाज सुन्दै हुर्किए । भग्न राणाशासनको इतिहास बनेर उभिएको घण्टाघर त्यतिबेला काठमाडौं उपत्यकालाई समय थाहा दिने माध्यम थियो । उपत्यकामा सवारीको कोलाहल र मानव भीड बाक्लिँदै गएपछि घण्टाघरको आवाज पातलिँदै गयो । अन्तिममा सुनिन छाड्यो ।

“बलम्बुमात्रै होइन, भक्तपुर, ललितपुरसम्मका मान्छेहरू घण्टाघरको आवाज सुनेर आफ्नो दैनिकी तय गर्थे,” गणेश आफ्नो बाल्यकालतिर फर्किन्छन् ।

सानैदेखि जिज्ञासु र कौतूकपूर्ण स्वभाव । किताबीभन्दा व्यवहारिक ज्ञानमा भिज्न रुचाउने । ३० कै दशकमा गाउँमा बत्ती पुगेको थियो । बिजुली उनलाई रहस्यको पहेली लाग्यो । रहस्य केलाउँदै जाँदा उनी पत्तै नपाई ‘इलेक्ट्रिसियन’ बने ।

“भर्खर–भर्खर बत्ती आएको थियो । बत्ती बनाउने र तार टाँग्ने मान्छे पनि खासै पाइँदैनथे । पाइए पनि ती शहरतिरै गुँड खोज्थे । गाउँ जाँदैनथे । घर बत्ती त बल्यो । बेलाबेला बिग्रिएर उस्तै यातना दिन्थ्यो । मर्मत–सम्भार गर्दा कयौंपटक बिजुलीको झट्का पनि लागेको छ,” उनी कैशोर्यकाल सम्झन्छन् ।

परिवारको आयातन बढ्यो । घरको आयस्थाले धान्न छाड्यो । ०३७ सालतिर हुनुपर्छ— गणेशलाई कसैले सुनाइदियो, “त्रिचन्द्र कलेजमा जागिर खुलेको छ, दरखास्त दे !”

उनले आवेदन दिन आनाकानी गरेनन् । जागिरले गणेशलाई नै पर्खिइरहेझैं भयो । पियनमा नियुक्ति पाइहाले । त्यतिबेलासम्म उनको मथिंगगलमा घण्टाघरका चारै दिशातर्फ फर्किएका घडी ‘रहस्य’ थिए । त्रिचन्द्रकै जागिरे भएपछि घण्टाघरको सान्निध्य मिल्यो । आवाज समयको संगीत ।

जागिर खाएको एक वर्ष पनि भएको थिएन । ०३८ सालमा घण्टाघरलाई ‘भ्रामरी’ले छोप्यो । सिंगै घण्टाघर आगोको कोलाजमा परिणत भयो । घण्टाघरको धड्कन बनेको घडीको ‘टिकटिक..’ आगलागीले घायल बन्यो ।

आगोको लप्काले राणाकालीन निशानी डढ्ने भय बढेपछि त्यसबेला घण्टाघरका चारै दिशाका घडी फुटाएर पानीको फोहोरा खन्याइएको थियो । र, समयको विम्ब निल्न खोज्नेलाई निस्तेज तुल्याइएको थियो ।

झन्डै एक वर्ष घण्टाघरले डँडेलो लागेको ठूटोजस्तै जीवन व्यतीत गर्‍यो— भग्न र कुरूप । ०३९ मा गणेशलगायत त्रिचन्द्रका कर्मचारीहरूले टालोले घण्टाघरको शीर ढाके । आगोले खाएको घण्टाघरको अनुहार कम्तीमा आँखामा परिरहेन । ०४४ सालसम्म घण्टाघरको रक्षा टालोले गरिरह्यो ।

०४४ मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा तेस्रो सार्क शिखर सम्मेलन आयोजना हुँदै थियो । सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दियो, “त्रिचन्द्रको हाताभित्र रहेको घण्टाघर जसरी पनि चलाउनू !” सार्क शिखर चल्दा घण्टाघरको घडी पनि चल्नुपर्‍यो नि !

वीरकालीन घण्टाघरको खियाले खाएको घिर्नी घुमाउने र थला बसेको पेन्डुलम चलाउने क्षमता कसको हुन्थ्यो ! तीन शहर भौतारिँदा पनि त्रिविले घण्टाघर चलाउन सक्ने मान्छे फेला पारेन ।

तिनताक पियनबाट बढुवा भएर ल्याब सहायक बनेका थिए गणेश । इलेक्ट्रियसियनमा उनको लगाव छँदै थियो । बरु पियन हुँदै ल्याब टेक्निसियनमा चित्त बुझाउनुपर्दा खुम्चिएको भान भइरहेथ्यो ।

त्रिविका पदाधिकारीले उनलाई सोधे, “गणेश तिमीले घण्टाघरको घडी घुमाउन सक्छौ त ?”

घण्टाघरको आवाज सुन्न नपाएर न्यास्रिएका गणेशले नाइँ किन भन्थे ! कुनै पनि काम सक्दिनँ भन्न जानेका पनि थिएनन् । सहजै उत्तर दिए, “सक्छु !”

त्यतिबेलासम्म उनले घण्टाघर देखेका थिए । घडी कसरी चल्छ, थाहा थिएन । ‘मान्छेकै सिर्जना त हो नि !’ भन्ने आँट लिएर मक्किइसकेको घण्टाघरको पुरानो ढोका उघार्दै भित्र पसे । डेढ फिट चौडा फलामे घुम्ती भर्‍याङका सिँढी उक्लँदै घण्टाघरको उपल्लो तलामा पुगे । त्यसपछि दुइटा काठे भर्‍याङ चढेर बुइँगलमा टेके । काठमाडौं दह नियाल्दै फोक्सो भरिने गरी सास लिए । पाँच क्विन्टल तौलको घण्टामा प्रत्येक घण्टा ह्याम्बर बज्रने स्वचालित तौरतरिकाले उनको सात्तो उडाएको छँदै थियो । थला बसेका घडीका उपकरण देख्दा होसहवासै गुम्ला भन्ने भय बढ्यो । ढलोटका दाँतीबाहेक घडी घुमाउने अवयव केही थिएनन् । चारैतिर फलामका डोरी झुन्डिएका थिए । पूर्वतिरका दुई सुरमा फलामे लट्ठामा अजंगका चक्का तुर्लुंग थिए ।

काठे दराज खोलेर हेरे । घडीको पेन्डुलम चीर निद्रामा लीन थियो ।

कसरी चलाउने ? मस्तिष्कमा प्रश्न ठिंग उभियो । असिनपसिन हुँदै उनी समस्याको पहिचानतिर लागे ।

सार्क शिखरको तिथि नजिकिँदै थियो तर घडी घुम्ने छाँट थिएन । ठूलो आँटले ‘सक्छु’ भनेकाले हिम्मत हारेनन् । १३ दिनसम्म दिनरात एक बनाएर घण्टाघरमै बास बसेपछि घडी नचल्नुको कारण पहिल्याएरै छाडे ।

आधा दर्जन ढलोटका दाँती खियाले जाम भएका रहेछन् । दायाँ–बाँया हल्लने पेन्डुलमले नै घडीलाई चलायमान बनाउँथ्यो । पेन्डुलम गतिमान नहुँदा दाँती घुमेका थिएनन् । दाँती नचल्दा घिर्नी निचेष्ट बनेका थिए । घिर्नी चालमान नहुँदा भारी तौल भएका फलामे चक्का घण्टाघरको सुरको पुछारमा पुगेका थिए । सन्तुलन मिलाउने पंखा उल्टो दिशातिर मुख फर्काएर बसिरहेका थिए । र, विशालकाय घण्टाहरूले ६ वर्षदेखि कुनै आवाज दिएका थिएनन् ।

झन्डै दुई हप्ता लाग्यो– रोगको ‘निदान’ गर्न ।

“पुरानो हाते घडीलाई झैं दम दिइरहनुपर्ने रहेछ, त्यतिबेलै पत्ता लगाएको हुँ मैले,” मरीमरी हाँस्छन् उनी ।

दिनभरि जसो लगाएर घडीलाई दम दिई फलामका चक्काहरूलाई पूर्ववत् ठाउँमा ल्याए । घण्टाघरका चारै दिशाका घडीहरू समवेत श्वरमा समयको गतिमा वेगवान भए । घडी त चल्यो तर उनको मुटुमा दमाहा बज्न छाडेन ।

“सार्क शिखर सम्मेलनभरि आँखा झिमिक्क गर्न सकिनँ,” कष्टकर दिन सम्झिए गणेशले ।

‘किन ?’ भन्ने प्रश्न सुन्न नपाउँदै उनी पोखिन्छन्, “घडी चल्न छाड्ला र राष्ट्रको बेइज्जत होला भनेर !”

० ० ०

त्यसपछि उनले घण्टाघरको घडीलाई थला बस्न दिएका छैनन् । बेलाबखत वीरकालीन ढलोटका पीत–चक्कामा कस–मयल थुप्रिन्छन् । काठमाडौंको परिचय बनेको धूलोका कण आएर फलामे अवयवमा डेरा जमाउँछन् र घडीलाई निस्प्राण तुल्याउन खोज्छन् । भर्खर पैदा भएको शिशुलाई झैं स्याहार गर्छन् गणेश । यस्तो लाग्छ– घण्टाघरको घडी पेन्डुलमको बलमा होइन, गणेशको तागतमा चल्छ ।

“खै किन हो कुन्नि ! घण्टाघरको आवाज मलाई आफ्नै मुटुको धड्कनजस्तो लाग्छ,” खण्डहर रानीपोखरीतिर आँखा पुर्‍याएर गणेश उदास भए, “त्यही मुटुबाट धमनी हुँदै बगेको रानीपोखरी सुक्यो ।”

घण्डाघरको सुइँलाई समयको गतिसँगै दौडाउने जिम्मा लगाउनुअघि त्रिवि पदाधिकारीहरूले तीनवटा आश्वासनका पन्तुरा थमाएका थिए । एउटा वरिष्ठ सहायक पद दिने, खरिदारबाट नासु (नायब सुब्बा)मा पदोन्नति गर्ने र बिदाका दिनमा काम गरेको अतिरिक्त पारिश्रमिक दिने ।

त्रिवि पदाधिकारीले वाचा १५ दिनमै पूरा गरे । वरिष्ठ सहायक पदको दरबन्दी आयो । कार्यान्वयन गर्ने बेलामा पदाधिकारी सरुवा भएर अन्यत्र गइगए । क्याम्पसमा आएको दरबन्दी अलपत्र पर्‍यो । ल्याब सहायकबाट बढुवा भएर घण्टाघरको सारथि बनेका गणेश खरिदारबाट बढुवा भएर नासु बन्न पाएनन् ।

सन्तोषी गणेशले त्रिविलाई कहिल्यै प्रश्न गरेनन्, “वाचा किन कार्यान्वयन गर्दैनौ ?”

इतिहासलाई वर्तमानको गतिमा चलायमान बनाउने गणेश ढुक्क देखिन्छन्, “घण्टाघरको सुइँ घुमाएर समयको जनाउ दिन पाएको छु । योभन्दा ठूलो भाग्य कहाँ खोज्न कहाँ जाऊँ ?”

विसं. ११९० को महाभूकम्पमा घण्टाघरले तीन बल्ड्याङ खायो । धूलोपीठो भयो गजुर । चारै दिशाका घडी झर्‍यामझुरुम भए । तर, घडीका पाटपुर्जा एकाधबाहेक कुनै टुटफुट भएनन् ।

“उतिबेला कस्ता सामग्री बन्दा रहेछन्, दीर्घजीवी । तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेर बेलायत घुम्न गएका बेला त्यहाँको घडी देखेर प्रभावित भई भित्र्याएको बुझिन्छ । राणाहरूको काम–नकामको चर्चा आफ्नो ठाउँमा छ । जे होस्, वीर शमशेरले हामीलाई समय देखाएर गए,” कृतज्ञ देखिन्छन्, गणेश ।

इतिहासकारहरूको मत छ– वीर शमशेर लन्डनको ‘बिग बेन’बाट प्रभावित भएका हुन् । विसं. १९४२ मंसिर ९ देखि १९५७ फागुन २३ सम्म प्रधानमन्त्री बनेका वीर शमशेरले घण्टाघर ‘उपहार’ दिए । लामो समयसम्म काठमाडौं घण्टाघरकै आवाज सुनेर निद्राबाट ब्युँतियो ।

“कुनैबेला घण्टाघरकै घडी हेरेर सेनाले टुँडीखेलमा १२ बजे तोप पड्काउँथ्यो !” गणेश ती दिन सम्झन्छन् ।

० ० ०

काठमाडौं शहर यतिबेला अमुक रंगकारको बैजनी छटाभित्र छ । घण्टाघरको सम्मुखमा ज्याकरान्डा मुस्कुराइरहेका छन् । तथापि घण्टाघर खुलेर हाँस्न सकेको छैन । छातीमा समयको गति त चलेको छ तर ऊ आफैं अधोगतितिर अभिमुख छ । हुन सक्छ, इतिहासको ओज उसलाई बोझ बनिरहेछ ।

सवा सय वर्ष बिताइसकेको घण्टाघर अहिले अनाथप्रायः छ । त्रिचन्द्र बहुमुखी क्याम्पसको हातामा भएकाले रेखदेख र स्याहार–सम्भार उसको दायित्व त बनेको छ तर कर्तव्य ठानेको छैन ।

“वर्षको दुई–चार हजार मर्मतमा खर्च हुन्छ । त्यत्ति पनि निकासा गर्न गाह्रो छ । घडीको हेरचाह त म गर्छु, घण्टाघरको हेरचाह कसले गर्ने हो ? मैले अहिलेसम्म भेउ पाएको छैन !” गणेशको दुःखेसो एउटै छ ।

शीर–पाउ विष्टाका पत्रले ढाकेका छन् । छिँडी, चोटा–कोठा गुँडहरूको कोलाज छ । मझेरीभरि पखेटा नउम्रिएका नूतन बचेराहरूको आर्तनाद सुन्न सकिन्छ । भर्‍याङ–झ्यालमा प्राणविहीन मलेवाको बिस्कुन लागेको छ । यसरी साक्षात् इतिहासकाे परिचय बदलिएर ‘गन्ज’ बन्न अभिशप्त छ– घण्टाघर ।

० ० ०

गणेश घण्टाघरको उत्तराधिकारीबाट निवृत्त हुन पाँच वर्ष बाँकी छ । लाग्छ– घण्टाघरको घडीको आयु पनि अब पाँचै वर्ष बाँकी छ ।

गणेशलाई पहिलो नाम उनका बाबु–आमाले दिए । दोस्रो जन्मदाता घण्टाघर नै भइगयो । अहिले उनको परिचय घण्टाघरसँगै जोडिएर आउँछ । ३२ वर्ष घण्टाघरलाई स्याहारेका गणेश बाँचुन्जेल घण्टाघरलाई स्याहारिरहन चाहन्छन् ।

बेलाबखत घडी बिग्रिन्छ । एक दिनअघि दम दिएर सारसौंदो छाडेको घण्टाघर भोलिपल्ट घाइते पशुझैं हल न चल भइराखेको हुन्छ । शरीरको मुटु–कलेजो चुँडिएको आभास हुन्छ ।

वीरकालीन घडीका पार्टपुर्जा पाइँदैनन् भन्दा हुन्छ । धन्न ढलोटका दाँतीले धर्म छाडेका छैनन् । तर, फलामका पुर्जाले दिनु दुःख दिन्छन् । उनी बिरामी शिशु च्यापेर अस्पताल कुदेझैं बालाजु औद्योगिक क्षेत्र पुग्छन्, नापो दिएर फर्कन्छन् ।

कुनै–कुनै पुर्जा बिग्रिँदा घडी होइन, उनको मुटुको धमनी टालिएझैं हुन्छ । लाग्छ— गणेश घण्टाघरका पिता हुन् । औंला समाएर हिँड्न सिकाउने र समयसँगै दौड्न सिकाउने पिता । त्यस्ता पिता, जसले औंला समाउन छाडेको दिनदेखि घण्टाघर हिँड्न छाड्छ, दौड्न छाड्छ ।

अहिले ६० वर्षमा हिँडिरहेका छन् गणेश । उमेर घर्किंदै जाँदा हातगोडा बस्लान् भन्ने भय छँदै छ । त्योभन्दा बढ्ता पीर छ– मपछि घण्टाघरलाई कसले सम्हाल्ला ?

“शायद यो संग्रहालयमा थन्किन्छ !” त्यसपछि उनको मुखबाट कुनै शब्द निस्किँदैनन् ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०६:३०
प्रतिक्रिया दिनुहोस्