
काठमाडौं । साहित्यको क्षेत्रमा क्रियाशील नइ प्रकाशनले यस वर्ष पनि आफ्नो वार्षिक कार्यक्रम सम्पन्न गर्दै स्रष्टाहरूको सम्मान गरेको छ । संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा २० जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गरे ।
कार्यक्रममा दुई लाख रुपैयाँ र ताम्रपत्र सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ साहित्यकारद्वय भारतका १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षीय डा.लक्खीदेवी सुन्दासलाई प्रदान गरियो ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहेका कारण किरात र सुन्दासलाई सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिने नइले जानकारी गराएको छ । त्यस्तै श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ प्रदान गरियो भने चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गरियो ।
नइ प्रकाशनले प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, चित्रकार गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ तथा देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ प्रदान गरेको छ ।
यी सातैैवटा पुरस्कार ताम्रपत्र सहित जनही एकएक लाख रूपैयाँ राशिका रहेका छन् । यसैगरी प्रा.डा.महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’, मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ प्रदान गरियो । त्यस्तै नइले किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको पनि जानकारी गराएको छ ।
नइ प्रकाशनले आआफ्नो अध्ययनमा संलग्न भई विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ बर्ष सम्मका ५ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ बाल पुरस्कार’ प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेहरूमा जेनी मानन्धर, प्रारम्भ अधिकारी, विमल शाही, पालिस्था नापित र निशान पन्थी, हिमानी प्रधान र अपेक्षा शेरचन, स्वकिृति दाहाल रहेका छन् ।
नइका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, प्रा.डा.चूडामणि बन्धु र नइका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोलेका थिए ।