
– विकास मरासिनी
सिनेमा । एउटा सामान्य शब्द । यही सामान्य शब्द धेरै मानिसका लागि संसार हो । मानिसले सिनेमालाई तनाव व्यवस्थापनको एउटा माध्यमका रूपमा लिन थालेका छन् । सिनेमामा मानिसको रुचि गहिरिँदै गएपछि संसारभर लाखौं कथा पर्दामा उतारिए । आज म केही यस्ता फिल्मकर्मीको कुरा गर्दै छु, जसले सिनेमा कलालाई छुट्टै तरिकाले परिभाषित गरे । जसको कलाप्रति सारा संसार नतमस्तक छ । जसको कलालाई नाप्न हामीसित कुनै तुला छैन । जसको कलाकारिताको चर्चा संसारभर गरिन्छ—
१) ज्याक निकोल्सन
ज्याक निकोल्सन अमेरिकी फिल्मकर्मी हुन् । उनकोे खास नाम जोन जोसेफ निकोल्सन हो । सन् १९३७ अप्रिल २२ मा न्युजर्सीमा जन्मेका ज्याक सानैबाट प्रतिभावान थिए । हाइस्कुलमा ड्रामा पढेका उनी फिल्म जगतमा छिर्न चाहन्थे । नभन्दै २१ वर्षको उमेरमा सानो बजेटको क्राइम ड्रामा ‘द क्राई बेबी किलर’मा डेब्यु गरेर फिल्म जगतमा प्रवेश गरे । ६० को दशकमा ज्याक सानो बजेटका हरर फिल्ममा बेसी देखा परे । भनेजस्तो नभए पनि आफ्नो कामबाट उनी पछि हटेनन् ।
यसै क्रममा सन् १९६९ मा फिल्म ‘इजी राइडर’बाट उनले ठूलो छलाङ मारे । यो फिल्मबाट उनी एकेडेमी अवार्ड (ओस्कार)मा मनोनीत भए । ७० दशकको ‘फाइभ इजी पिसेज’बाट उनी झन् निखारिँदै गए । ‘द गडफादर’मा अभिनय गर्ने अवसर आए पनि उनले त्यसमा रुचि देखाएनन् । निर्देशक रोमन पोलान्सीको मास्टरपिस फिल्म ‘चाइना टाउन’ (१९७४) बाट ज्याक खुबै छाए । सन् १९७५ मा रोमनकै फिल्म ‘वान फ्ल्यु ओभर द कुक्कुज नेस्ट’बाट ज्याकले पहिलो ओस्कार जिते । त्यो पनि बेस्ट एक्टरको ।
सन् १९८० मा निर्देशक स्टेन्ली कुब्रिकको साइकोलाजिकल थ्रिलर, हरर ‘द साइनिङ’को रोलका लागि पनि उनी निकै प्रख्यात छन् । यो फिल्मको भूमिकालाई उनको फिल्मी करिअरकै उत्कृष्ट मानिन्छ । स्टेफेन किङ आफ्नो कथामा ज्याकलाई राख्न चाहँदैनथे तर कुब्रिक भने ‘इजी राइडर’ फिल्मबाट प्रभावित भई उनलाई छानेका थिए । ज्याकले ‘हेयर इज जोनी’ भन्ने डाइलग शुटिङकै बेला आफैं बनाएका थिए, जुन पटकथामा थिएन । सन् १९८३ मै ‘टम्र्स इन्डियरमेन्ट’ले उनलाई दोस्रो ओस्कार जितायो, सहायक अभिनेताको रूपमा ।
सन् १९८९ मा निर्मित टिम बर्टनको ‘ब्याटम्यान’मा उनी बहुलठ्ठी हत्यारा र जोकरको रूपमा रूपमा देखिएका छन् । जोकरको रोलका लागि पनि उनी उत्तिकै चर्चित छन् ।
उनले ९० को दशकमा निर्मित ‘अ फ्यु गुड मेन’ (१९९२) र ‘एज गुड एज इट गेट्स’ (१९९७) बाट फेरि आफूूलाई माथि पु¥याए । ‘एज गुड एज इट गेट्स’बाट उनले तेस्रो ओस्कार जिते । यो फिल्ममा उनी असभ्य लेखकको रूपमा देखिएका छन् ।
सन् २००० पछि उनले ‘एंगर म्यानेजमेन्ट’, ‘समथिङ गट्टा गिभ’, ‘बकेट लिस्ट’ र ओस्कार जितेको क्राइम ड्रामा ‘द डिपार्टेड’जस्ता फिल्ममा खेलेका छन् । सन् २०१० को ‘हाउ डु यु नो’पछि उनले कुनै फिल्म पनि खेलेका छैनन् । तर ‘अब फिल्म खेल्न छाडें’ भनेर पनि भनेका छैनन् ।
उनले फिल्म जगतमा मात्र ६० वर्ष बिताइसकेका छन् । ८२ वर्षका ज्याकले ६२ वटा फिल्म खेलिसकेका छन् । ६० को दशकदेखि २०२० को दशकसम्म प्रत्येक दशकमा ओस्कारमा मनोनीत हुने दुुई कलाकारमध्ये एक ज्याक पनि हुन् । अर्का कलाकार माइकल केइन हुन् । ज्याकले तीनवटा ओस्कार जितेका छन् । तीन ओस्कार जित्ने तीन पुरुषमा पनि उनी पर्छन् । उनी ओस्कारमा आठ पटक सर्वोत्कृष्ट अभिनेता र चार पटक सहायक अभिनेतामा मनोनीत भएका छन् । आजसम्मकै सबैभन्दा धेरै ओस्कारमा मनोनीत हुने अभिनेता उनी नै हुन् । यति मात्र होइन, उनले ६ वटा ‘गोल्डेन ग्लोब’ अवार्ड पनि पाएका छन् । सन् २००१ मा ‘केनेडी सेन्टर अनर’द्वारा र १९९६ मा ‘हलिउड वाक अफ फेम’द्वारा पनि उनी सम्मानित भइसकेका छन् ।
टिभी शोमा खासै देखिन नखोज्ने ज्याकको यो स्वभाव सन् १९७१ देखिको हो । तर, आजकल भने उनी पत्रकारसँग खुलेर बोल्छन् । उनी रेस्लिङ र बास्केटबलका फ्यान हुन् । अझ बास्केटबलको त डाइहार्ड फ्यान हुन् । न्युयोर्क याङ्किज उनलाई मन पर्ने टिम हो ।
ज्याकले आफू मर्लोन ब्रान्डो र रोबर्ट डी निरोको मेथोड एक्टिङबाट निकै प्रभावित भएको बताउँछन् । मर्लोनका उनका छिमेकी पनि थिए । मर्लोनको मृत्युपछि ज्याकले उनको लिगेसी बचाउन उनको घर किनेका थिए ।
ज्याकले फिल्म खेलेर जीवनभर ४ करोड डलर कमाएका छन् । उनको बहुप्रतिभाशाली कामबाट प्रभावित भएर ‘रोलिङ स्टोन’ म्यागजिनले उनलाई ‘द ग्रेट सेड्युसर’को उपमा दिएको छ ।
२) ड्यानियल डे लेविस
ड्यानियल डे लेविस बेलायती कलाकार हुन् । उनी बेलायतीमात्र नभई आइरिस नागरिक पनि हुन् । उनको खास नाम ड्यानियल माइकल ब्लेक डे लेविस हो । उनी सन् १९५७ अप्रिल २९ मा लन्डनमा जन्मेका हुन् । उनका बुवा कवि र आमा कलाकार थिए । १४ वर्षको उमेर (सन् १९७१)मा ‘सन्डे ब्लडी सन्डे’मा सानो भूमिका गरेर उनी फिल्म जगतमा प्रवेश गरेका हुन् ।
थिएटर स्कुलमा पढेका ड्यानियलको रुचि फिल्मतिरै थियो । ८० को दशकमा उनले ‘गान्धी’ र ‘द बन्टी’मा सानो भूमिका खेलेका थिए तर खासै प्रभाव पार्न सकेनन् । तर, सन् १९८५ को ‘माई ब्युटिफुल लन्ड्रेट’बाट भने उनले सबैको ध्यान ताने । त्यससँगै ‘अ रुम विथ अ भ्यु’ले पनि उनलाई चिनाउन सहयोग ग¥यो ।
सन् १९८७ मा ‘द अनबियरेबल लाइट्नेस अफ बिङ’मा खेल्न उनले चेक भाषा सिकेका थिए । उक्त फिल्मको शुटिङका दौरान उनी ८ महिनासम्म खटिरहे । सन् १९८९ को फिल्म ‘माई लेफ्ट फुटः स्टोरी अफ द क्रिस्टी ब्राउन’बाट उनले ठूलो सफलता पाए । प्रस्तुत फिल्मबाट उनले पहिलो पटक ओस्कार जिते । ‘लेफ्ट फुट’ साँचो कथामा आधारित फिल्म हो । उनी प्यारालाइसिस रोगी क्रिस्टी ब्राउनको भूूमिकामा देखिएका छन् । दायाँ खुट्टा बायाँ देखियोस् भनेर शुटिङ ऐनाअगाडि गरिएको थियो । फिल्म शुटिङका बेला ह्विलचियरबाट खसेर उनले करङका दुइटा हड्डीसमेत भाँचेका थिए ।
फिल्मको शुटिङका बेला उनी जतिबेलै पनि ह्विचियरमा देखिन्थे । क्रिस्टी ब्राउनको अभिनयमा उनी यति भुलेका थिए कि पछिसम्म पनि उनले बेलाबेलामा त्यस्तै हर्कत देखाउँथे । सन् १९९३ को फिल्म ‘इन द नेम अफ फादर’ पनि निकै चल्यो । यो फिल्मका लागि उनले १३ किलो बजन घटाएका थिए । प्रस्तुति जीवन्त बनाउन उनी तीन दिनसम्म जागै बसेका थिए । यो फिल्मबाट उनी ओस्कार अवार्डका लागि मनोनीत भएका थिए ।
सन् १९९४ मा निर्मित ‘पल्प फिक्सन’मा भिन्सेन्ट भेगाको भूमिका ड्यानियललाई दिने भनिएको थियो तर अन्त्यमा जोन ट्राभोल्टालाई दिइयो ।
सन् १९९७ को फिल्म ‘द बक्सर’पछि उनले पाँच वर्षको अन्तरालमा एउटामात्र फिल्म खेल्न थाले । ‘द बक्सर’का लागि उनले १८ महिना तालिम लिएका थिए । यसबाट के पुष्टि हुन्छ भने उनी फिल्मका लागि जे पनि गर्न तयार हुन्छन् ।
सन् २००२ मा मार्टिन स्कोर्सिजको फिल्म ‘ग्यांग्स अफ न्युयोर्क’मा उनले बिल— द बुच्चरको भूमिका गरेका छन् । यो फिल्मबाट उनी ओस्कारमा मनोनीत पनि भएका थिए । कथा पुरानो भएकाले उनले तातो कोट लगाउन मानेका थिएनन्, जसका कारण उनलाई निमोनियाले समातेको थियो । शुटिङका बेला आफूलाई रिसाहाको रूपमा प्रस्तुत गर्न उनले एमिनेमका गीत सुन्थे ।
सन् २००७ मा पल थोमस एन्डरसनको फिल्म ‘देयर विल बी ब्लड’ बाट उनले सर्वोत्कृष्ट अभिनेताको दोस्रो ओस्कार जिते । यो फिल्ममा उनको अभिनय–भूत देख्न सकिन्छ ।
यसैगरी सन् २०१२ मा स्टिभन स्पिलबर्गको ‘लिंकन’मा उनी अब्राहम लिंकनको भूमिकामा देखिएका छन् । सोही फिल्मका लागि उनले लिंकनसम्बन्धी सयभन्दा बढी पुस्तक अध्ययन गरेका थिए । यो फिल्मका लागि उनले एक वर्षसम्म आफूलाई तयार पारेका थिए । लिंकनजस्तै देखिन उनी लामो समयसम्म मेकअप म्यानसँग रहे ।
सन् २०१७ मा उनको अन्तिम चलचित्रको रूपमा ‘फ्यान्टम थ्रेड’ रिलिज भयो । सोही फिल्मबाट उनी फेरि ओस्कारमा सर्वोत्कृष्ट अभिनेताको रूपमा मनोनीत भए ।
अहिले फिल्म जगतबाट अवकाश लिइसकेका ड्यानियलले आफ्नो जीवनकालमा जम्मा २१ वटा फिल्ममा मात्र अभिनय गरेका छन् । जस्तो पायो त्यस्तो फिल्म उनले खेलेनन् । छानेरमात्र खेले । सर्वोत्कृष्ट अभिनेताको रूपमा तीनवटा ओस्कार जित्ने उनी पहिलो पुरुष कलाकार हुन् । तीनवटा ओस्कार जित्ने तीन पुरुष कलाकारमध्ये उनी पनि एक हुन् । उनी ६ पटक ओस्कारका लागि मनोनीत भएका छन् । सन् २०१२ मा ‘टाइम म्यागजिन’ले उनलाई ‘वल्र्ड्स ग्रेटेस्ट एक्टर’को उपाधि दिएको थियो । यसैगरी सन् २०१४ मा नाटकमा गरेको उल्लेखनीय कामलाई मध्यनजर गर्दै उनलाई बकिङ्घम प्यालेसमा ‘नाइटहुड’ले सम्मानित गरिएको थियो । ‘मेथोड एक्टिङ’ले उनलाई मर्लोन ब्रान्डो र ज्याक निकोल्सनको बराबरीमा राख्छ । फिल्म खेलेर उनले ५ करोड डलर कमाएका छन् । अन्र्तवार्तामा उनको खासै रुचि छैन । सार्वजनिक रूपमा पनि खासै देखिँदैनन् । उनी आफ्नै घरमा बसिरहन्छन् ।