site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पहिलो धक्का

– स्वामी आनन्द अरुण


नेपालमा मैले सरकारी इन्जिनियरका रूपमा काम गरेको अनुभव थियो, जसले गर्दा मेरो जीवन सुविधापूर्ण भइरहेको थियो । पुना आश्रम विस्तार भइरहेको थियो र तीव्र गतिले निर्माण कार्य भइरहेको थियो । आश्रममा यही निर्माणसम्बन्धी काम पाउनेमा म आश्वस्त थिएँ तर छिट्टै मेरो आशामाथि तुषारापात भयो । मलाई निर्माण र डिजाइनसम्बन्धी कुनै काम दिइएन । अनुभवको काम नपाएकोमा म ज्यादै खिन्न पनि भएँ ।

मलाई आश्रमको निर्माणस्थलमा नभएर आधा किलोमिटर टाढाको रेस्टुराँ र स्वास्थ्य केन्द्र भएको ७४ कोरेगाउँ पार्कको भवनमा काम गर्न पठाइयो । त्यहाँ रेस्टुराँमा मैले भारतीय भोजन बनाउनुपथ्र्यो । त्यहाँ दिनमा सयौं व्यक्तिहरूले भोजन गर्थे । मसँग पाककलाको अनुभव थिएन । विदेशी खाना बनाउनेहरू भए पनि मैले मसला करी बनाउनुपथ्र्यो । दिनभरि तातोमा बस्नुपर्ने भएकाले मनपर्दो काम नभए पनि भगवान् (ओशो)को सान्निध्यमा आश्रममा काम गर्न पाउँदा हर्षको सीमा थिएन । जस्तोसुकै समस्या पनि उहाँको सान्निध्यमा सुल्झिने विश्वास मलाई थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वास्तवमा भान्छाको काम अति कठिन कार्य हो । आश्रममा भान्छा र सफाइ विभाग अति सक्रिय र चुनौतीपूर्ण थिए । त्यहाँको खानाको विविधताको सुविधालाई पूरा गर्न पूरै दिन त्यहाँ काम चल्थ्यो । भात र दाल फ्राई बनाउन कठिन थिएन । म अहिले पनि आफ्नै खानाले न्यास्रो लाग्दा विदेशमा आफैं दाल फ्राई र तरकारी बनाउने गर्छु । त्यो भान्सामा हलुवा पनि सजिलै बन्थ्यो । अलिक गाह्रोचाहिं रोटी र डोसा बनाउन थियो । सोहन माँको नेतृत्वमा गुजराती माँहरूले रोटी बनाउँथे । डोसा र प्यानकेक बनाउन चाहिँ वास्तमवै सहनशीलता र मेहनत चाहिन्थ्यो ।

नयाँ परिकार बनाउने चुनौती छँदै थियो, अति तातो कोठामा बसेर काम गर्नु अर्को समस्या थियो । मेरो भान्साको काम बिहान ७ बजेदेखि उपराह्न १ बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म थियो । सफाइ गर्दागर्दै राति ११ त बजिहाल्थ्यो । भगवान् बिहान ८ बजे प्रवचन दिनुहुन्थ्यो तर म त्यस बेला दालफ्राई बनाउन व्यस्त हुन्थें ।

समयमा सबै कुरा गरिसक्नुपर्ने कडा व्यवस्थापन नियम थियो । त्यहाँको व्यवस्थापन युरोपियन, त्यसमा पनि अधिकतर जर्मनको हातमा थियो । उनीहरू समयका पक्का हुन्थे । भान्साको समयतालिकामा १ मिनेट पनि घटबढ हुँदैनथ्यो । हामी नेपालीलाई समय सीमाको खासै बोध हुँदैन । कहिलेकाहीँ एक मिनेट ढिलो आउँदा ६ः५९ मा किन नआएको भनेर कडा चेतावनी दिन्थे । कहिलेकाहीँ विवाद पनि पथ्र्यो ।

त्यस्तो कडा नियममा बसेरे मैले कहिल्यै काम गरेको थिइनँ । मलाई सबै काम बेलैमा सक्न गाह्रो हुन्थ्यो । त्यसैले अबेरसम्म बसेर काम सक्नुपथ्र्यो । बासको समस्या पनि थियो । आश्रमका कार्यकर्तालाई सोमजी स्टेटमा डोरमेटोरीमा बस्ने व्यवस्था मिलाइएको थियो । एक्लै आफ्नै निजी वातावरणमा सुत्ने बानी परेको म त्यो भीडभाडले भरिएको हलमा सुत्न सकिनँ । मैले प्रत्येक रात सुतेको ६ रुपैयाँ तिर्नुपथ्र्यो । मैले आफ्नो समस्या बताएँ । मलाई अरू चार महिला सुत्ने अर्को कोठामा पठाइयो । म खुशी भएर त्यो कोठामा पुगेको थिएँ तर मेरो खुशी धेरै समयसम्म टिकेन । कोठामा चार कुनामा चारजना हिप्पी सुतेका रहेछन् । त्यहाँ कुनै झ्याल पनि थिएन । कोठामा बीचमा ढोका खुला राखेर मैले सुत्नुप¥यो । त्यसमा पनि उनीहरूको सफा बस्ने बानी थिएन । कोठा फोहर गर्थे अनि रातभरि गफ गर्थे । जीवनमा मैले पहिलोचोटि त्यस्ता जंगली स्त्रीहरूको बीचमा एउटै कोठामा बस्नुप¥यो ।

आश्रमको वातावरण खुला थियो । भगवान्ले संन्यासीहरूलाई सम्बन्धमा बस्न अनुमति दिनुभएको थियो । ती चार हिप्पीको प्रेमजीवन सक्रिय थियो । उनीहरूका प्रेमी त्यहीँ आउँथे र कुनै मतलब नराखी प्रेमालाप गर्थे । प्रेमालापका बेला उनीहरू अनेक आवाज निकाल्थे । सोमजीको बत्ती ११ बजे पूरै बन्द हुन्थ्यो, शौचालयमा बाहेक । मेरो कोठामा मात्रै सबैतिर प्रेम गरिरहेका जोडीहरूका अनेक आवाज र अनौठो वातावरण । त्यस्तोमा म एक नेपालीलाई सुत्न के सजिलो हुन्थ्यो र ! म त्यसबाट बच्न भगवान्को किताब लिएर ट्वाइलेटमा जान्थें र पढेर बस्थें । जब करिब २ घण्टापछि वातावरण शान्त हुन्थ्यो, अनि म सुत्न फर्किन्थें । दिनको कठिन काम अनि झ्याल नभएको कोठामा सुत्नुपर्ने, त्यसमा पनि समयमा सुत्न नपाइने । सबैभन्दा सस्तो बस्ने व्यवस्था भएकाले नयाँ बस्ने ठाउँ खोज्न पनि आर्थिक क्षमताले दिएन ।

त्यो भेन्टिलेसन नै नभएको कोठामा अब बस्न असम्भव भएकाले मैले आफ्नो सामान प्याक गरें । त्यहाँबाट निस्कने तयारीमा थिएँ, महेशले देखेछन् । उनी डोरमेटोरीका इन्चार्ज थिए । मैले उनलाई धेरैपटक अलिक बस्न मिल्ने ठाउँ मिलाइदिन अनुरोध गरिसकेको थिएँ । उनले नसुनेझैं गरेका थिए । जब म सामान लिएर निस्कने तरखरमा थिएँ, उनी नरम भए र बरन्डामा सुत्ने ठाउँ दिए । त्यो खुला ठाउँ थियो । त्यहाँबाट खुला आकाश, हरियाली देखिन्थ्यो । मलाई स्वर्ग पुगेको अनुभव भयो ।

त्यो बरन्डाका लागि शुल्क तिर्नु पर्दैनथ्यो । मलाई भगवान्ले पुनामा लामो समय बस्ने अनुमति दिनुहुनेछैन भन्ने लागेर म १० दिनको प्रवासका लागि मात्र आएको थिएँ । त्यसैले मसँग लामो समय बस्ने आर्थिक क्षमता पनि थिएन । मैले बसेको ६ रुपैयाँ तिर्दै आएको थिएँ । आश्रममा प्रवेशको १० रुपैयाँ तिर्नुपथ्र्यो । एक महिनाको कामपछि काम राम्रो गरेको ठानिएमा आश्रम प्रवेश शुल्क मिनाहा हुन सक्थ्यो ।

विडम्बना के थियो भने म सयौं मानिसका लागि आश्रममा भोजन बनाइरहेको थिएँ तर म आफैं भने त्यहाँ खान पाउँदिनथें । त्यहाँ मैले भोजन किनेर खानुपथ्र्यो, जुन मेरो क्षमताबाहिर थियो । मैले रेल स्टेसन वा कतै सस्तो खाना खानुपथ्र्यो । रिक्सावालाहरूले खाने २ रुपैयाँ थालीको खानाले मेरो दिन चलिरहेको थियो । स्टेसनको २ रुपैयाँको सस्तो खानाका लागि रिक्सामा पुग्न ४ रुपैयाँ लाग्थ्यो तर म १५ पैसा तिरेर बसमा नजिकको बिसौनीसम्म पुग्थें र त्यहाँबाट हिँडेर स्टेसन पुग्थें । पछि हिँडेरै रेल स्टेसन पुग्ने बाध्यता पनि भयो ।

पैसा सकिँदै गएकाले म आश्रम प्रवेश शुल्क तिर्न नसक्ने अवस्थामा पुगें र निःशुल्क भोजन पासका लागि आग्रह गरें । ६ महिनासम्म आश्रममा काम गरेपछि काम सन्तोषजनक भएमा कोअर्डिनेटरको सिफारिसमा निःशुल्क खानाको पास पाइन्थ्यो । भोजनको समय सकिएपछि बाँकी रहेको भोजन खान भने अनुमति दिइयो । अब खानाको समस्या आंशिक रूपले समाधान भयो तर सबैले खाइसकेपछि मात्र खान पाइने भएकाले जे बाँकी रह्यो, त्यही पाइन्थ्यो । कहिलेकाहीँ तरकारीमात्र बाँकी हुन्थ्यो भने कहिलेकाहीँ दालमात्र । भोकको बेला सबै मीठो लाग्छ । केही खाना प्याक गरेर अर्को दिनका लागि राखिन्थ्यो भने खानाको मिसमास हामीलाई बाँकी रहन्थ्यो । जे भए पनि मैले खानाका लागि भौतारिन भने नपर्ने भएको थियो ।

मेरा मित्रहरू मलाई अब एक महिनामा अर्को विभागमा पठाइनेछ र मेरा सारा समस्या समाधान हुनेछन् भनी आश्वस्त बनाउँथे । एक महिना बित्यो । म अर्को विभागमा सारिने कुराबाट उत्साहित थिएँ ।

भगवान्बाट एउटा कुरा पक्का थियो— उहाँ हाम्रा अपेक्षा, इच्छा कहिल्यै पूरा गर्नुहुँदैनथ्यो । उहाँले हामीसँग अप्रत्याशित व्यवहार गरेर मनको घेराबाट बाहिर निकाल्ने चेष्टा गर्नुहुन्थ्यो । गुरुको शिष्यमाथिको शल्यक्रिया शायद मैले भान्सामा काम गर्दा सकिएको थिएन । आउने समय मेरो शिक्षणका अझ गहन दिन सावित भए । 

(स्वामी आनन्द अरुणको संस्मरण पुस्तक ‘ओशोः अचम्म जो मैले देखें’ बुक–हिलले बजारमा ल्याएको छ ।)
 

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  ०९:४८
प्रतिक्रिया दिनुहोस्