site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
न्यारो–गेज नोस्टाल्जिया !

– राजेश खनाल


तस्बिरमा देखियो, जनकपुर ब्रोड–गेज रेल्वे लिक ओछ्याइएको । छापाहरूमा खबर आयोे– ठूलो ट्रेन गुड्ने भयो अब ।

यसले न्यारो–गेजतिर धकेल्यो । उमेर त्यसैबेलातिरको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

किरणसँग भेट नभएको पनि दशौं वर्ष बित्यो । सम्झिरहेछु साथी किरण कोइरालालाई । ऊ जनकपुरै छ कि राजधानी, थाहा छैन । तर, ऊसँगै धेरै पटक ट्रेनको टीटी कोठामा बसेर जनकपुर–जयनगर–जनकपुरको दौडाहा लगाएको छु । ८—१० वर्षे ठेट्ने उमेरमा ।

किरणका पिताजी नेपाल जनकपुर–जयनगर रेल्वे (एनजेजेआर) सेवामा थिए । जनकपुर–जयनगरको रेलयात्रा यसैले पनि सहज थियो हामीलाई । किरणलाई सबै रेल्वे कर्मचारीले चिन्ने ।

ठेट्नो उमेरमा पनि हामीलाई सिनेमा हेर्नुपर्ने । त्यो पनि जयनगर गएर । जनकपुरको हनुमान टाकिजमा मच्छडले धेरै टोक्थ्यो । त्यसमाथि पोडे दाइको लखेट्याइ ।

खासमा, रेल चढ्न पाउने र रेल्वेका स्टाफले खुवाउने खाजाको लोभमै पनि हामी घरमा कसैलाई भन्दै नभनी जयनगर भाग्थ्यौं । सिनेमा त बहानामात्रै बन्ने हो । जुन रेलमा गयो, त्यसैमा फर्कियो । ६–७ घण्टाको समय चट ।

आज पनि एक हाते न्यारो–गेज रेल्वे लिक आँखैमा टाँसिएको छ । भीडभाडयुक्त जनकपुर स्टेसन । त्यहाँभित्रका पत्रिका पसल । पसलमा झुन्डिएका ‘सरिता’, ‘मुक्ता’, ‘धर्मयुग’, ‘दिनमान’ ।

कोही केट्लीमा चिया बोकेर बेच्दै, कोही बाहिरका चिया पसलमा चिया पिउँदै । देश दुनियाँका बारेमा गफ्फिनु तिनको अधिकार नै भयो । स्टेसनबाहिरको चिया पसलमा बल्दै गरेको पत्थर कोइलाको धूवाँको एक किसिमको कडा गन्ध । त्यो गन्ध पनि अनुभूत गरिरहेको छु, यतिखेर ।

बाल्यकालमा किरणलगायतका साथीसँग कयौंपटक बिनाटिकट यात्रा गरें न्यारो–गेज ट्रेनमा । मेरा पिताजीको सरुवा जनकपुरबाट काठमाडौं भएपछि न्यारोगेज दौडाहा छुट्यो । किरणहरूसँगको साथ छुट्यो ।

तर, ८–१० महिना काठमाडौंको चिस्यानका दिनहरू भोगेपछि सिरहा झरें । त्यसपछिको समय जलेश्वरमा बित्यो । र, तराईमै भएकोले न्यारो–गेजसँगको नाता यथावत् रह्यो । हो, किरण र राममणिहरूसँग अलिकति दूरी बढ्यो । भेटघाट पातलियो । तर, सानो लिकमा सुस्तरी–सुस्तरी अल्छी मान्दै हिँड्ने ट्रेनको यात्रा टुटेन । पहिले किरणसँग टिकट यात्रा कहिल्यै गरिएन । आश्चर्य ! पछि पनि बेलाबेलामा बिनाटिकट यात्रा भयो । जबकि टिकट दर शायद थर्ड क्लासको २ रुपैयाँ थियो कि, जनकपुरबाट जयनगरसम्मका लागि ।

एउटा यात्रा आज पनि सम्झनामा छ । सम्भवतः बिनाटिकट यात्रा नै थियो !

म जलेश्वरमा थिएँ । र पनि, जलेश्वर–भलुवाही (सिरहा) यात्रा भइरहन्थ्यो । सिरहाको भलुवाही मेरो मामाघर । मामाघर प्यारो हुनु स्वाभाविक थियो नै । भलुवाही जाने कुरा कतै उठ्दैमा पनि जाऊँजाऊँ लाग्ने ।

जेठा मामाका जेठा छोरा बैकुण्ठ दाजुसँग गरिएको एउटा रेल यात्रा आज पनि मेरो मानसपटमा ताजा छ । त्यसबेला दाजु जनकपुरमै नापतौल अफिसमा काम गर्थे । एक दिन दाजुसँगै हुँदा भलुवाही जाने कुरो उठ्यो । दाजुले पनि ‘शुक्रबार आइज । सँगै जाऊँ’ भने ।

त्यसपछिको बिहीबार साँझ जनकपुर पुगें । भेट भएपछि दाजुले साँझ हनुमान टाकिजमा ‘फिलिम’ देखाए । फिलिम सकिएपछि होटलमा लगेर मासुभात खुवाए । र, लागियो दाजु डेरामा । सुकलाका लागि ।

दाजुको कोठाका भित्ता रंगिएका थिए । चारैतिर कागजमा स्लोगन लेखेर टाँसिएको थियो । लेखिएको थियो— ‘दुःखी जीवन, बैकुण्ठ ढकाल’ ।

त्यो बेला खै के गरियो, थाहा भएन । आज भने हाँसो उठ्छ । दैनिक मासुभात खाने दाजु कसरी दुःखी हुनुभयो ! तर, उहाँको कोठा दुःखी जीवनका स्लोगनले भरिएको थियो ।

भोलिपल्ट बिहानै रेल्वे स्टेसन पुग्यौं, दाजुभाइ । म विद्यार्थी । दाजु जागिरे । मेरो खल्ती खाली । दाजुको खल्ती हैन, पाइजामाको इँजारघर पैसाले भरिएको । कुर्ता पाइजामा दाजुको पहिरन थियो ।

स्टेसनको रमाइलोमा हरायौं एकछिन । बिहान ६ बजेको रेल थियो । चिया दोकानमा उभिएर चिया पियौं । अनि एउटा डिब्बा (बोगी)मा चढ्यौं ।

झुन्डिएको फलामे लिकको घण्टी रेल्वेका एक कर्मचारीले बेस्मारी ठटाए । घण्टी बज्यो । यात्रुलाई रेल छुट्न लागेको संकेत थियो त्यो । स्टेसनमा दौडादौड शुरु भयो । जो जुन बोगी भेटे, त्यसैमा उक्लिए ।

केही बेरमै टीटीले सिर्रर्रर्रर्र... सिठ्ठी मारे । पछाडिबाट हरियो झन्डा फहराए । उत्तिखेरै इन्जिनले पनि बेस्मारी धूवाँ फ्याँक्दै कर्कस आवाजका साथ सिठ्ठी (हर्न) मा¥यो । सँगै गाडी न्यारो–गेज लिकमा घिस्रिन थाल्यो ।

गाडीले गति लिँदा रेलका ढोका सबै प्याक थिए । कतिपयले झ्यालको डन्डामा साइकल झुन्ड्याएका थिए । उखरमाउलो भीड थियो ! रेलले गति लियो । तर एनजेजेआर न हो, जति नै गति लिए पनि उस्तै ।

‘गुडिरहेको रेलबाट मानिस ओर्लेर ‘पेसाब’ गरेर चढ्न भ्याउँछन्’ भन्ने आहान एनजेजेआरका लागि प्रयोग हुन कहिल्यै बन्द भएन । कहिलेकाहीँ रेल्वे लिकवरपरको गाउँका मानिस दगुर्दै गाडी चढ्छन् पनि नभनिएको होइन । होला पनि । किनभने जनकपुर–जयनगर २९ किलोमिटरको यात्रामा रेलले करिब साढे ३ घण्टाको समय लिन्थ्यो ।

बोगीमा भीड थियो । हामी दाजुभाइ एउटा कुनामा चेप्पिएका थियौं । त्यस्तोमा पनि सकरपला, बतासा र हावा मिठाई बेच्नेहरू आफ्नो कर्ममा लीन थिए । त्यतिकैमा परवाहा स्टेसन आइपुग्यो । रेल रोकियो । हामी दाजुभाइ बाहिर निस्कियौं । केही समय यताउता चहलकदमी ग¥यौं । स्टेसनमा होहल्ला स्वाभाविक थियो । परवाहा स्टेसनमा पनि घण्टी बज्यो । सिठ्ठी लाग्यो । हरियो झन्डा फहराइयो । रेल घिस्रिन थाल्यो । हामी पनि एउटा डिब्बामा छि¥यौं । यसपटक डिब्बा फरक थियो । त्यसमा भेटिएका अनुहार फरक थिए ।

यसपटक पनि सिट पाइएन । पाउने कुरै पनि थिएन । यात्रारत सहयात्रीहरूको कुरा सुनेर हल्लिनु बाहेक अरु उपाय थिएन 

तपाईंलाई भनूँ, एनजेजेआरले अलिकति पनि स्पिड लियो कि हल्लिन्थ्यो । बानी भइसकेको थियो । कसैलाई डर लाग्थेन ।

परवाहा छोडेको केही समयपछि महिनाथपुर स्टेसनमा रेल आइपुग्यो । परवाहा र महिनाथपुरबीचमा वैदेही हाल्ट पनि थियो पछि । दाजुसँगको यो यात्रामा वैदेही हाल्ट भएको सम्झना छैन मलाई ।

खैर, महिनाथपुरमा पनि दाजुले बाहिर ताने । दाजुसँगै म पनि बाहिर निस्किएँ । केहीबेरपछि फेरि अर्को बोगीमा चढें ।

म डिब्बा परिवर्तन गरिरहेको थिएँ । तर किन ? यो प्रश्नतिर ध्यान गएन । जाने कुरो पनि थिएन । मतलबै पनि त थिएन । सिंगै दाजु साथमा थिए । केहीबेरमै रेल खजुरी जक्सनमा रोकियो । यो हाम्रो अन्तिम स्टेसन थियो, यात्राको । त्यसैले ओर्लनु थियो यहीँ । हामी ओर्लियौं ।

रेल योभन्दा अगाडि जयनगरसम्म पुग्नु छ । इन्जिनले कोइला पानीको व्यवस्था गर्नु छ खजुरीमा । त्यसैले गाडी आधा घण्टा स्टेसनमा अड्ने निश्चित छ ।

खजुरी स्टेसन रमाइलो लाग्थ्यो मलाई । यहाँबाट साढे दुई÷तीन घण्टाको पैदल यात्रामा हामी भलुुवाही पुग्थ्यौं । त्यसैले यहाँ आइपुग्दा मलाई भलुवाही पुगेको अनुभूति हुन्थ्यो । अब त आइपुगियो ! मनले त भन्यो तर तनको सकस बाँकी नै थियो ।

खजुरी शिक्षाका लागि राम्रो गाउँ मानिन्थ्यो, त्यसबेला । खजुरी हाइस्कुलका शिक्षकहरू उत्कृष्ट थिए । त्यसैले पनि त्यहाँबाट दिइने शिक्षा उत्कृष्ट थियो । त्यो शैक्षिक उत्कृष्टताको चर्चा नगर्नु गलत हुन्छ ।

कुनैबेला खजुरी हाइस्कुलमा मुरारी अधिकारी हेडमास्टर थिए । उनी तीसको दशकका चर्चित कथाकार पनि हुन् । मिर्चैया हाइस्कुलबाट खजुरी पुगेका अधिकारीले उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकसित गरे, खजुरी हाइस्कुललाई । एकसे एक शिक्षकहरू स्कुलमा ल्याए । विद्यार्थीको शैक्षिकस्तर वृद्धिमा विशेष ध्यान दिए । इतिहास विषयका ज्ञाता डा. विमल शर्मा पनि केही समयअघि आफूले सोही हाइस्कुलमा पढ्ने मौका पाएकोमा गर्व गर्दै थिए । यही स्कुलबाटै मेरा कान्छा मामा कुमुद ढकालले पनि पढेका हुन् ।

आज खजुरी हाइस्कुलबाट शिक्षित हजारौं विद्यार्थी मुलुकका कुनाकुनामा, ठूलाठूला पदमा होलान् । अहिले खजुरीको हाइस्कुल त्यही स्तरमा छ÷छैन, थाहा छैन ।

त्यसबेला खजुरी स्टेसनमा ‘प्याजी पकोडा’को बिक्री व्यापक हुन्थ्यो । खजुरीको प्याजी पकोडा त्यस क्षेत्रमै प्रख्यात थियो । सिंगो प्याजको बीचमा मसला हालेर बनाइने प्याजी पकोडा आज पनि धेरैलाई सम्झना होला । प्याजी र मुरही (भुजा) उदर गर्नेहरूको भीड दोकान–दोकानमा देखिन्थ्यो । हामी दाजुभाइ पनि त्यही प्याजीको भीडमा मिसियौं । प्याजी, मुरही र स्पेसल चिया हाम्रो अगाडि थियो । खाएर टन्न भयौं ।

अबको तीन घण्टा कच्ची सडक र आलीमा दगुर्नु छ । बीचमा पर्ने कमला नदी तर्नु छ । त्यसका लागि पनि टन्न ‘डकार्नै’ थियो ।

रेल्वेको कालो इन्जिनले पनि कोइला खायो । पानी पियो । इन्जिन घरि यता घरि उता घुमाएर ‘डेमो’ दियो । र, अगाडिको बोगीसँग नारिएर भारतीय सीमावर्ती बजार जयनगरतिर गुड्यो ।

रेल गएको केही समयमै स्टेसनको भीडभाड कम भयो । मानिस पातलिए । स्टेसनको एकमुखे काठे गेटबाट टिकट चेकर पनि हराए । त्यसपछि मात्रै हामी दाजुभाइ स्टेसनबाट बाहिरियौं । र, समात्यौं उत्तरपूर्वी दिशा ।

आज ४० वर्षपछि अनुभूत हुन्छ– दाजुले त्यो बेला ट्रेनको टिकट नै लिएका थिएनन् कि ? अथवा टिकट लिएर पनि हराए कि ?

सम्झिँदा अहिले पनि हाँसो उठ्छ । स्टेसनहरूमा बोगी परिवर्तन गर्नु अनि खजुरी स्टेसन परिसरबाट अबेला गरी निस्कनु ! शायद दाजुले टिकट नै लिएका थिएनन् कि ! त्यसबखत हामीजस्तै बिनाटिकट रेल यात्रा गर्ने यात्रु कति थिए होलान् ? टिकट अधिकांशले लिँदैनन् भन्ने चर्चा नै चल्थ्यो जनकपुरमा ।

यदि त्यसैबेला रेल्वे व्यवस्थापनले टिकटमा कडाइ गरेको भए न्यारो–गेजका ठाउँमा ब्रोड–गेज उहिल्यै हुन्थ्यो होला । शायद, दाजुले पनि बिनाटिकट यात्रा गर्ने र गराउने थिएनन् होला । लामो समय न्यारो–गेजमै घिस्रिरहन्थेन होला एनजेजेआर पनि ।

आज छापाहरूमा ठूलो रेल्वे लिक देखेर नै न्यारो–गेजको नोस्टाल्जियाले छोएको हो मलाई । त्यसैले पनि सम्झनामा आयो, दाजुसँगको त्यो यात्रा ।

भन्न थालिएको छ— ब्रोड–गेज रेल्वे लाइनमा अब ठूलो रेलगाडी गुड्नेछ ! स्पिडमा गुड्नेछ ! कोइलावाला इन्जिन त नआउला अब !

तर के, सबै यात्रुले टिकट काटेरै अब पनि ब्रोड–गेज रेलमा यात्रा गर्लान् त ?
 

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  ०९:१८
प्रतिक्रिया दिनुहोस्