
– पुण्यसागर मरहट्टा
झम्सिखेल चोकबाट उत्तर तेर्पाएँ तेर्पाएँ कुपण्डोल सोझिएर ओर्लेपछि मूलबाटोले रूप फेर्छ र धाँजाहरू देखिन्छन् । तीमध्ये एउटा धाँजालाई अबिजालोको घारीले डोहो¥याउँदै लैजान्छ र ल्वाङकाजीको छिँडीमा लगेर ठोकाउँछ । त्यो छिँडीको देब्रे कुनोमा एउटा सानो कोठा छ । त्यही हो ‘नाथे’को घर । ‘नाथे’ उसको नाम होइन, नाम त शिवनाथ पराजुली हो । शुरुशुरुमा नाथे भन्दा झनक्क रिस उठे पनि अचेल उसलाई यो काढिएको नामउपर कुनै गुनासो छैन ।
काजीको पनि नाम त डम्बरसिंह विष्ट हो तर गाउँछिमेकमा बूढाका कन्नापछाडि नाम काढेर ल्वाङकाजी भन्थे । करिब ६ फुटे काजी सुरिला थिए, टाउको याँ मानको थियो । त्यसैले कुन उटुंग्याले पहिलोबाजी ल्वाङजस्तो भनिदियो कुन्नि ? गाउँछिमेकमै ल्वाङकाजी हुन पुगे विचरा । पुण्यात्मा हुन् ती । तिनैले सैंतीसको जनमत संग्रहताका नाथेलाई रसुवाको गढीमुन्तिरबाट ल्याएका हुन् शहर । जागिरको सिलसिलामा रसुवा पुगेका काजीले नाथेका परिवारको तन्नम हविगत देखेर दया गरेका हुन् । कक्षा ५ मा पढ्दै गरेको नाथेलाई कक्षाभित्रै खै देखेछन् काजीले, हेडमास्टरसँग खै गरेर गोधुलीको समय कौलास्दै नाथेका बाका पिँढी पुगेका हुन् बूढा । नाथेलाई धमिलो–धमिलो सम्झना छ, “हस्, राम्रो लाउने, मीठो खुवाउने र पढ्न पठाउने व्यवस्था बक्सिन्छ भने शिवे हजुरको भयो । आफूुलाई खोले फाँडो होस्, छोरोको भरिएको भाँडो होस् काजीसाब ।”
उसका बा घनानाथले यत्ति भनेका थिए, फुरौली आमा रोएकी थिइन् । दाइ ९ मा पढ्थ्यो, ‘हुन्न’ भनेन । दुइटै भाइ अबोध नै थिए । दिदी बिहे गरेर शिरान्थोक गइसकेकी थिई, बहिनीको न्वारन सकिएको भर्खर चार दिन भएको थियो । अहिले आएर नाथेले सम्झिन्छ— विचरा बा, जम्मा चार घर जजमान थिए, ती पनि ०५२ सालपछि ती घर शहर सरे, अब बाको आतेपाते एक घरमा झरे । कताको सप्ताह, कताको बिहे बटुलो ? ठुल्दाइ नौमुलेमा मारियो, दुई भाइमध्ये साइँलो ऊबेलै वेपत्ता भो, कहाँ गयो, केही थाहा भएन । मर्यो कि मारियो कि जोगी भयो कि ? कान्छो भने बासँगै थियो । गाउँकै नेताले ०६४ तिर कसो—कसो गरी हुलहालमा शक्तिखोरभित्र हुल्दिए, गोडा तीनेक महिनापछि अयोग्यमा दरियो केटा, केही रकम पनि हात लाग्यो, त्यही रकमले अहिले कतार गा’को छ ।
नाथेको कथा अलि बेग्लै छ । विष्ट बाबै पुण्यात्मा, आमै उस्तै दयालु । अघोरै माया गर्ने । शायद त्यति मीठो बोलीवचन हुन्छ भन्ने थाहा पाएर नै आमैका बाबा–आमाले मिठ्ठु नाम राखिदिएझैं लाग्ने । आफ्नै छोरालाई जस्तै माया गर्ने गर्थिन् आमैले । केटाकेटी उमेर, कहिलेकाहीँ बिज्याइ पनि गरेको हो नाथेले, काजीसापको गाली खाला भन्ने पीरले धेरैपल्ट ओड ढाकिदिएकी छिन् आमैले । उनै न हुन् गाह्रो–साह्रोमा सहयोग गर्ने— मिठ्ठु मुवाँ ।
०३७ साल जेठ २८ गते हुनुपर्छ एकाबिहानै मिठ्ठु मुवाँले कार्यविनायक लगेर भीखदान गरिदिइन । गुरु ठाकुरले कपाल मुडिदिए । व्रतबन्धको रीत पूरा गर्न मिठ्ठु मुवाँका सहोदर भाइ झरुवारासीका गिरबहादुर थापाले मामाको भूमिका खेलिदिए, देशान्तर घुमाए, दही–पेडा खुवाए र चोखो बाहुन बनाउन मद्दत गरे । सतुंगलका बजगाईं बाजेले गायत्री मन्त्र सुनाउने भनेर खोई के–के भुर्भुर गरे, खास्टोले छोपेर । ‘यही हो, अरूलाई सुनाए बहुलाउँछस्’ पनि भनेकै थिए । पछि मुडुलो टाउको लिएर स्कुल जाँदा साथीहरूले टुप्पी तानेर भन् कि भन् भन्दा नि सुनाएन विचरोले ।
किरण शमशेरको क्याम्पाको दक्षिणमा उसको सरकारी स्कुल टीका विद्याश्रम, त्यसैको पूर्व–दक्षिण कुनामा सानुमैया महारानीको निजी स्कुल । नाथेले मैयाको स्कुल त्यहाँबाट अन्यत्र नसरुन्जेल मैयालाई हिँडाएर र पछि बसस्टपबाट बस चढाएर, ओरालेर निकै सेवा गरेको थियो । मैयाले बोडिङ पढिबक्स्यो, प्लस टु सकिबक्सयो, ‘जेन्डर स्टडिज’ पढिबक्स्यो, यूएनमा जागिर खाइबक्स्यो । वैकल्पिक ऊर्जा विशेषज्ञ क्रिस्टोफर भान डर लुडविगसँग पीरति गाँसिबक्स्यो र काजीसाबको अनुमतिबेगर पहिल्यै गइबक्स्यो । भनौं न, गरिबको भाषामा भन्दा पोइलै गइबक्स्यो । काजीसाब त्यही तोडले मुटुमा हानेको पहिलो झट्काले पिण्डग्राही भइबक्स्यो ।
यो माओवादीले दाङ हानेको दिनको कुरा हो । उता दाङको ब्यारेक छिन्नभिन्न, यता काजीसाब । नाथेलाई पितृशोक परिगो, किरिया बस्ने कर्तव्य पनि उसैमाथि आइगो । घरमा पालेको बाहुन केटो छोडेर किरिया गर्न अर्को बाहुन खोज्न मुनासिब पनि त थिएन । बूढाको अस्तुलाई पचली लाने कि आर्यघाट भन्ने क्षणिक किचलो चले पनि मुवाँको इच्छामुताबिक आर्यघाट नै लगियो । त्यतै दाहसंस्कार गरेपछि पशुपतिकै किरियापुत्री घरमा कोरा बा¥यो नाथेले । यता काजीसापका भतिजाहरू सेनामा भएकाले मंसिरको ठिही छल्न पराल र ऊनीको कम्बल किरियापुत्रीका लागि व्यवस्था हुन सक्यो । विदेशीसँग गएकीले मैया महारानीको पशुपति किरियाघर सवारी हुन बन्देज भयो, ज्वाइँ राजाको पनि । मिठ्ठु मुवाँको गोडा चिसोले सुन्निए पनि १३ दिनको काजकिरिया सबै नाथे र मुवाँ मिलेर उतारे । यो सालभरि नाथेले बरखी बा¥यो । माछा मासु खाएन । सेतो लुगा लगायो । उनमासिक, मासिक सबै रीतपूर्वक गर्यो । भनौं न— छोरोको भूमिका निभायो । यो एक वर्ष उहीबेलाको वर्तमन गरेको ६ महिनाभन्दा कठिन भने उसलाई लागेन । त्यतिखेर ११ वर्षे ठिटो, भर्खर शहर आएको, मीठो मसिनोको लोभ थियो । अहिले ३२ वर्षे पठ्ठो अब त उसै पनि ‘नाथे यसो गरिदे’— ‘हवस्’, ‘उसो भनिदे’— ‘हवस्’मा अब आदि भइसकेको थियो ।
मैया महारानीले त नाथेभन्दा ३ क्लास पछि शुरु गरेकी हुन् तर उनलाई पढेमात्र पुग्थ्यो, त्यो पनि जग बलियो थियो । नाथेलाइ सबै घरधन्दा सकिवरी पढ्नुसमेत पथ्र्यो । स्कुलका सर–म्याम हान्ने साँढेजस्ता थिए । सिकाउने कम, सुम्ल्याउने बेसी । उसैमाथि काजीसाबको घरधन्दा गाह्रै हो । वस्तुभाउ त थिएनन् तर बडेमानको टिप्कारी गरेको घर । झिंगटीको छानो, छिँडी, मटान, छोटा, बुइँगल, करिब २ रोपनी घरबारी । अनि उसको दैनिकी— बिहानै उठेर इनारको पानीले ‘गंगे च यमुने चैव गोदावरी सरस्वती’ गरेर बाहुन नुहाइ नुहायो, पूजापाठ गर्यो, कोठा चोट बढार्यो, घरका सबैलाई चिया पकायो, मैयाको टिफिन तयार गरिदियो, भुजा तयार गर्यो, खुवायो, खायो । अनि बल्ल स्कुल गयो, मैया महारानीलाई पु¥याएर । स्कुलबाट फर्केर एक झमट यी सबैको सरसफाइ, रेखदेख, पकाउने, तुल्याउने गर्दैमा उसको दिन बितिजान्थ्यो । न गतिलो गरी पाठ गर्न भ्याउँथ्यो, न गतिलो गरी पढाएको कुरो घरमा दोहोर्याउन । मैयाले प्लस टु सक्दा नाथेले ५ वर्ष झाम्टे (एक्जाम्टेड) बनेर एसएलसी उम्कायो ।
किशोरवय र यौवनका शुरुका दिन नाथेलाई कठिन भएकै हो । स्कुलको पछिल्तिर हाराँचाको हरियो पर्दावाला खाजा पसल थियो । केही साथीहरू त्यहाँ गएर ममचा, भुटुन, चना, चिउरा आदि खान्थे । नाथेलाई सकस हुन्थ्यो, दुई कुराले । एक— उसको बाहुनत्वले हरियो पर्दाभित्र छिर्न मिल्दैनथ्यो, दुई— उसको बगलीमा चुन्दाम हुँदैनथ्यो । एकदिन दशैंमा पाएको दक्षिणाले हिम्मत जुटाएर हाराँचाको पसलबाट मजाले छ्यापी हालेर बनाएको आलु र चिउरा खाएर घर गएको पनि हो नाथे । काजीसाबले बकैनोले पर्खाल लडाउन लाग्यो भनेर रुख छिमल्ने चाँजो मिलाउँदै रहेछन् । नाथेलाई ‘ला, होरी ह्यानेर हान्’ भनेर बञ्चरो दिँदा ह्वास्स छ्यापीको गन्ध पाएछन् । बम बम भए रिसाएर तर केही भनेनन् ।
“मिठ्ठु ! ए मिठ्ठु ! नाथेले जात बुझाएर आएछ, फर्काउन पर्ने भो । माथि झम्सिखेलका दाहाल बाहुनका छोरालाई बोलाएर ल्याऊ त झट्ट,” भने । बकाइनो ढालेको एक घण्टापछि साना दाहाल आए, गौदान गराए । गौदान गरीवरी पुनः बाहुन बन्यो नाथे ।
नाथे तर जब पाटन संयुक्त क्याम्पस पढ्ने भयो, तब दिनै जसो गौदान गर्नुपर्ने जसो गरी बिटुलो हुन थाल्यो र काजीसाबले मेख मारिदिए । र, भने, “हेर मिठ्ठु, यो काठा जन्मँदै शुद्ध, यसलाई न यता छुन हुने, न उता खान हुने गरेर यसको जीवन हामीले दलेरै सक्ने भयौं । मान्छे हो, रहर लागेका कुरा उमेरमै गरोस् । हाम्रा अघि पिरोपानी धोकेर नआवोस्, राँगोको ममचा नखावोस्, भैगयो । यता यसका रहरले झम्सिखेलका दाहाल पुरेत मोटाउने काम बन्द गरौं । जिउँदै गाई दान गर्दा हौं त गोडा तीसेक गाई दान गर्नु पर्ने भैसक्यो ।”
मुवाँले पनि कुरो मुनासिब ठानिन् । “विचरो, बाउआमा, दाजुभाइ, दिदीबहिनी केही नभनी बसेको छ, कमारोझैं दलिएको छ । यसलाई हामीले नगरेको माया कसले गर्छ त ? हुन्दिबक्स्योस् ।”
यसरी गौदानमा पूर्णविराम लाग्यो । तर, नाथेले धर्म छाडेन । खसी, बोका, हुँदै भए घडीचरोसम्म खायो होला । ममचा र बिजुली सर्वत मुखैमा हालेन । लसुन, प्याज, गोलभेडा भने बारेरै सकेन नाथेले । काजीसाब र मुवाँ यसमा खासै बिरसिएनन् पनि । काल जमाना, दिन पनि त आधुनिकतातिर प्रवेश गर्दै थियो । विक्रमको १६–१७ हुन्थ्यो भने पो काजीका घरमा कांग्रेस पस्यो भन्दा हुन् जोरीपारीले पनि ।
विक्रम सम्वत् २०६१ को दशैं टीकाको दिन काजीसाब, मिठ्ठु मुवाँको हात टीका थापेर घर टीका थाप्न गएको नाथेले बाको चाला निको मानेन । एकोहोरो पर–पर हेरेर बाबियोको डोरी बाटिरहेका थिए बा त्यो साँझ पिँडीमा बसेर । ‘बा ढोग गरें’ भन्दा ‘हँऽऽ अँऽऽ’ मात्र गरे । अन्तै हेरेर टीको लाइदिए । यताबाट लगेको कोसेली गुँदपाक पनि पन्छाए । नाथेको कुतूहलता भाउजूले मेटाइदिइन्, “द्वितीयाका दिन चौकीका हल्सापको टोली यता दशैं मान्न आए, त्यही राति कामरेडहरू । किलोमा बाँधेको ३० किलोको खसी खाएर गए पुलिसले, बाँकी रहेको खुट्टी, टाउको कामरेडहरूले । पुलिससँग पनि, कामरेडसँग पनि बेखुस बाजेले तिमी दुईथरी साँढेको जुधाइले मजस्तो बाच्छोको मिचाइ भयो भनिदिनुभो । उसको नजरमा सुराकी, त्यसको नजरमा नेतामा दरिएर एकथरीले हाजिरी जमानीको पुर्जी काटे, अर्काथरीले पिँढीको थाममा बाँधेर घंगारुको लौरोले सुम्ल्याए । ७३ वर्ष पुगेका बाजे त्यसपछि यस्तो मोरो जिन्दगी भन्दै डोरी बाट्दै गर्नुहुन्छ ।”
नाथेले केही भनेन । भन्नै सकेन । बाउ–छोरा अँगालो मारेर निःशब्द रोइरहे । त्यही साल माघ १९ गते यता श्री ५ ले सत्ता हातमा लिए, उता बाले बरको हाँगोमा आफैंले बाटेको बाबियोको डोरीले पासो लाएछन् । फोनसोन सबै राजाले रेटिदिएका हुनाले नाथेले बाउको लाशमा पुल्ठो झोस्नसमेत पाएन । खबर सुनाउनसमेत तीन दिनपछि कान्छो अत्तालिँदै आइपुग्यो । कर्म दिने बाउ बितेको तीन वर्षमा जन्म दिने बाउले त्यो कठिन बाटो रोजे । नाथे फेरि सेतो लुगे बकुल्लो भयो । वर्षैभरि चोखोनितो ग¥यो ।
यता, जीवन त कहिले घाम कहिले छाया चलेकै थियो । पढ्नुपर्छ भन्ने घनानाथ बाको चेतका आगे सदैव नतमस्तक नाथेले राजनीतिशास्त्र र मेजर नेपाली लिएर बीए सक्यो । मैया महारानीको सुझाव लिएर पुल्चोक दमकलसँगै स्टेसनरी पसल थाप्यो । पत्रपत्रिका, कापी कलम, मोबाइलका सिम आदि बेचेर नाथेले आफ्नो छानोको सपनामा उकेरा हाल्दै थियो । त्यसैछेक ०६३ सालतिर हुनुपर्छ— ज्वाइँसाबको प्रोजेक्ट सकियो । भिसा थप्न पनि खोजेका हुन् क्यारे, मिलेन । त्यतिखेर शाम्भवी पनि ३ कक्षा पढ्ने भइसकेकी थिइन् । ‘नाथे मामा’ भन्थिन् । नाथेले आफ्नै भाञ्जाभाञ्जी बरु सजिलै चिन्दैनथ्यो, शाम्भवी भाञ्जी भनेपछि हिरिक्कै हुन्थ्यो । मैया त्यसरी पहिल्यै गएकी चित्त नबुझे पनि शायद यिनी नातिनी देखेपछि काजीसाब पनि खुशी त हुन्थे होलान्, देख्नै पाएनन् । ०६४ भदौ १३ मा मैयाको परिवार थाई रूपमै बसाइ सरेर गयो हल्यान्ड । अब घरमा मात्र होइन, एकाघरका परिवारमा पनि मुवाँ र नाथेमात्र बाँकी रहे, उता रसुवाका नगन्दा ।
जीवन घोटिनु हो, खिइनु हो तर केही यस्ता हुन्छन्, जो इस्पातले बनेका हुन्छन् । नाथे शायद यही कोटिमा पथ्र्यो । काजीसाप छँदै एकबाजी नाथेको बिहेको कुरो चल्यो । मन खाएकी घरमा लुगा धोइदिन आउने धोबीघाटकी श्यामकुमारीकी छोरी शर्मिला थिई । कुरो उप्कायो कि काजीसाब रिसाउँछन् भनेर बोलेन । ‘अहिले बिहे गर्दिनँ बुवा’ भनेर टार्यो । उता धुन्चेतिरबाट पनि केटीको कुरो आएको हो, हेर्न गयो पनि । मन पारेन, गाउँले पाराकी भई, अरु खोज्दै रह भन्ने सन्देश दिएर फिर्यो । पछि काजीसाब पनि गए, आफ्नै बा पनि गए, शर्मिला पनि गई । नाथे काठ पसेको मुलाजस्तो छिप्पियो । अब बूढो कुमारलाई कसले दिने छोरी ? फेरि अनाहकमा क्षेत्री समाजको पाल्तु बुहारी हुन को जाने ? नाथेले बिहे गर्ने सपनामा भोटे ताल्चा ठोकिदियो र आनन्द मान्यो । नत्र त्यसैले कुटुकुटु खाइरहने भयो नि त ।
धेरै पछि उसैको स्टेसनरीमा चिरिबाबु दाइले सोधे पनि, “ए गुरु ! बिहे किन नगरेको नि ?”
मुखैमा झुन्डिएको जवाफ दियो, “तपाईंका नेता सुशील कोइरालालाई सोध्नुस् न !”
चिरिबाबु दाइ हाँसेमात्र । दाइसँगै अर्को कोही त्यतैतिरका स्थानीयले छुस्स दिन भ्याइहाले, “थप नसोध । देश खाने बाहुनसँग तिमी ज्यापुले के सकौला ?”
नाथे केही बोलेन । नाथेलाई देश खान कसैले सिकाइदिएन । अरू त अरू, नाथेलाई भुक्के चप्पल लगाएर काठमान्डू पसेर अकुते (अकुत सम्पति) कमाउने कला पनि कसैले सिकाइदिएन । ऊ त्यसैमा, नाथेवादमै रमायो । काजीसाबको ३० हजारको लगानी, मैया महारानीको सद्भाव र थोरबहुत मार्केटिङले उसको मिठ्ठु स्टेसनरी गम्केकै थियो, चम्केकै थियो । एकदिन नेपाल खाल्डोको कुनै एक कुड्का घडेरीमा छानो हाल्ने उद्देश्यका साथ नाथे लम्केकै थियो ।
उता हल्यान्डमा भएका मैया महारानी अनि शाम्भवी भाञ्जी र मुवाँको सम्पर्कसेतु नाथे नै थियो । ०७२ वैशाख १२ को भुइँचालोको दिन मुवाँ अलिकति मासको दाल, आलुतामाको रस, टिम्मुर पिसेर मिसेको पोलेको टमाटरको अचार ज्युनार गरेर कोठामै पल्टेकी थिइन् । घर ग्वाल्र्याम ग्वाल्र्याम हल्लायो । छिँडीमा यसो सुस्ताएर उठेको मात्रै थियो नाथे पनि । पसल खोल्न जान उसको १९९७ को हिरोहोन्डा स्प्लेन्डर पुछपाछ गरेर तयार राखेको थियो । निर्घात हल्लाएपछि नाथे अत्तालिँदै चोटामा पुग्यो, मुवाँलाई बुई बोकेर एकै फल्र्याङमा चोकमा झा¥यो र भन्यो, “मुवाँ, नआत्तिबक्स्योस्, म छु नि हजुरको नाथे ।”
“छस् बाबै छस्, किन आत्तिन्थें ! तैं त होस् नि मेरो बुढेसकालको लठ्ठी,” भनिन् मुवाँले र कपाल मुसारीदिइन् ।
यो बाजी भने अन्य लाखौंपल्ट नदेखिएको नाथेको आँशु देखिन् मुवाँले, शायद मातृवात्सल्य मुखर पाउँदा खुशीले रोएको होला नाथे । त्यो ताका नाथेको भाइबरमा ३११८ पल्ट हल्यान्डबाट मैया महारानीले फोन गरेकी रहिछ । कतिपल्ट त मुवाँलाई उदेक लागेर इशाराले ‘सुतिसकिस्यो भन्दे’ पनि भनेकी हुन् मुवाँले । यता महाविपत्ति छ, नाथे विचरो अनेक गरेर व्यवस्था मिलाउँदै छ, उता मैया ‘यसो गर, उसो भन्’ मात्र भन्ने । मुवाँले एकबाजी मुखै फोरिदिइन् भाइबरमा, “तँलाई जन्माउँदा भोगेको कष्ट बिर्सने हो भने त तँ के मेरी सन्तान ? बरु नाथे नै मेरो सन्तान ।”
आमाछोरी फोनैमा रोए । पछि नाथेले सम्झायो, “मुवाँले त्यस्तो मर्जी हुन हुन्थेन । चित्त दुख्छ मैयाको । हप्ता बिराएर फोन गरिसेकै छ । कतिका सन्तान त्यति त गर्दैनन् । अरू त अरू, मैले रसुवामा मेरी आमा के गर्दी होलिन् ? सोधखोज गरेको छु र ?”
मुवाँ मानिनन् । ‘नकरा बाहुन’ भनिन् र कुरो फेरिन् ।
नाथे मामाकी भाञ्जी हाइस्कुल सकेर नेपाल आइन् भोलेन्टेयरिङ गर्न । उता हल्यान्डको एन्स्कडेमा मामुसँग र यता मिठ्ठु मुवाँ अनि नाथे मामासँग भाइबरमा बोलेका भरमा उनको नेपाली बाटोमा प्रयोग गर्नसमेत कटमेरो थियो । मामाको पसलमा बसेर चलनचल्तीको भाषा सिकिन् शाम्भवीले । ‘ठिस’, ‘दाम्मी’, ‘सुड्डो’जस्ता सडके शब्द नबुझे पनि लटरपटर बोलीले दुई महिना अछाम बसेर छाऊ पढी आइन् । डोट्याल भाषा सिक्ने हिम्मत पनि गरिनन् । भाञ्जी हुन्जेल मुवाँको र नाथेको फर्याकफुरुक उनी फर्केपछि लल्याकलुलुक भयो । ‘दशैं मानेर जाऊ नानु’ भनेकी समेत हुन् मुवाँले । ‘फ्रम सेप्टेम्बर, युनिभर्सिटी स्टार्ट हुन्छ, दशैं मिल्डैन, सो स्याड मुवाँ’ भनेर गई भाञ्जी ।
गएको महिना २३ गते नाथेले आत्तिएर मैयाको भाइबरमा फोन लगायो । फोन उठेन । भाञ्जीको फोनमा लाग्यो, भाञ्जीले उठाई । रुन्चे स्वरमा नाथेले भन्यो, “भाञ्जी, मुवाँ त बित्नु भो ।”
भाञ्जीले बुझिनन् । भन्यो, “जानु भो ।”
भाञ्जीले फेरि बुझिनन्, ‘कहाँ गयो ?’ भनिन् ।
“हैन भाञ्जी, खस्नु भो क्या !”
“ओह नो ! कहाँबाट खस्नु भो ?”
हेर वित्यास !
“हैन नानु, स्वर्गे हुनुभो ।”
नानुले स्वर्गद्वारी जानुभो बुझिछ क्यार, ‘एक्लै कि टिम छ ?’ भनिन् ।
हलाक भएर नाथेले भन्यो, “मुवाँ मर्नु भो ।”
बल्ल बुझिन् नानुले र मामुलाई बोलाउँछु भनिन् । मैया कुरो न कन्थो रुनमात्र थालिन् । नाथेले सम्झायो, “हजुर सकेसम्म चाँडो गरेर आइस्योस्, यता मैले के गर्नुपर्छ, म गर्छु । मुवाँलाइ राखूँ कि काजकिरिया शुरु गरूँ त ?”
घरसल्लाह समेत गरिभ्यायो । मैयाले आउन ढिलो हुने जानकारी दिएकाले नाथेले नै दागबत्ती दियो, कोरा बार्यो, सबै रीत पुर्यायो । उनमासिकको पाँच दिनअघि सानुमैया विष्ट लुडविग आइन् । नाथेसँग छाँद हालेर निकैबेर रोइन् । भोलिपल्ट बिहानै पैतृक सिरिखुरी राफसाफ गर्न नाथेलाई लिएर लगनखेल माल अड्डा गइन् र लुरुलुरु आफ्नो पैत्रिक सम्पूर्ण सम्पत्ति स्व. दिनानाथ पराजुलीको नाति, स्व. घनानाथ पराजुलीको छोरा, वर्ष ४७ को शिवनाथ पराजुलीलाई राजीखुशीले बकसपत्र गरिदिइन् । त्यसको दुई दिनका दिन आफ्नो गुँडतिर पखेटा लगाइन् ।
जोरीपारी उही त हुन्, मुवाँलाई बिख ख्वायो भन्ने पनि निस्के । देश खाने बाहुनले एक्ली बूढीको सम्पत्ति खायो पनि भने । मैया र उसको अवैध सम्बन्ध थियो होला र त सबै सम्पत्ति दिई पनि भने । न उसको त्यस्तो केही अभिष्ट, न देश खान सक्ने हुती । अपुतालीले किचिएर मर्ने डरले डम्बरसिंह मिठ्ठु स्मृति प्रतिष्ठान खडा गर्यो । सबै सम्पत्ति प्रतिष्ठानमा दान गरिदियो र आफू लेलेमा ३ आना २ दाम जग्गामा सानो कटेरो जोडेर बस्यो । रमाइलो त के भने उतै धुन्चेतिरको अच्युत मुडवरी भन्ने रै’छन् निर्घात टाठा काठा । ती पहिले प्रतिष्ठानमा घुसे, अनेक जालझेल गरेर सबै सिरीखुरी आफ्नो नाममा सारिसकेछन् । र, कुन सड्को बेचिदिएछन् सबै । पहिले–पहिले कन्नापछाडि अचुते भन्थे, अहिले इज्जतका साथ अकुत (व्यग्रै कमाएका छन् छन पनि) सर भनिन्छ उनलाई । नाथेले चाहिँ पसल हेर्न रोल्पातिरको एक टाठो मगर केटो राखेको छ । बेला–बेलामा ठूलाठूला नेताका सम्पत्तिका अखबारी समाचार पढ्छ र मनमनै भन्छ, “बाहुनमा पनि चार वर्ण छतीस जात छन् । टाठा बाहुन पढ्न आए, घरबेटीकी छोरी उडाए, नेता बनेर सम्पत्ति जोडे । अन्यले धुत्र्याइँ गरे, अर्काको सम्पत्ति लट्टीपट्टी पारे । मजस्ता लाटा बाहुनले नुनको सोझो गरे, लगनशील भए, दलिए, दिएको पनि सम्हाल्न सकेनन् र अन्त्यमा दलित भए । हरबखत ठूलाले गरेको चोट खेप्नु पर्ने नाथे बने ।”
तैपनि, नाथे हरबखत आङ तन्काउँछ र भन्छ, “म दलिएँ हुँला तर डगिनँ । जोरीपारीले जेसुकै भनून्, गरिब मर्छु, बेइमान मर्दिनँ । नाथे भान्छे बाहुन रहूँला, देशै खाने लोभी बाहुन किमार्थ बन्दिनँ ।”
(मे ४, २०१९)