site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
औसत विद्यार्थी

आवरणमा कमजोर तर इच्छाशक्ति र प्रतिभाले धनी (अन्डरडग)को विजय बलिउडको रुचिकर प्रवृत्ति हो । सबैतिरबाट हेपिएको पात्रले आफ्नो मेहनत र लगनशीलताका कारण कुनै पनि मुकाम प्राप्त गर्ने कथा बलिउडमात्रै नभएर हलिउडदेखि संसारभरिका फिल्म उद्योगका बिकाउ विषय हुन् । यही मूल कथ्यमा आधारित रहेर हजारौं फिल्म बनेका छन् । करण जोहरको फ्रेन्चाइज ‘स्टुडेन्ट अफ दि इयर–२’ पनि त्यस्तै ‘अन्डरडग’को कथा हो, जसले अनेक माथापच्चीका बीच अन्त्यमा विजय हासिल गर्छ । यसलाई निर्देशक पुनिल मल्होत्राले त्यही ‘अन्डरडग डक्ट्रिन’का साथ अघि बढाएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतीक्षित फिल्म ‘स्टुडेन्ट अफ दि इयर–२’मा पहिलो शृंखलाको स्वाद देख्न त पाइन्छ नै, धेरै ठाउँमा मन्सुर खानको चर्चित फिल्म ‘जो जिता वही सिकन्दर’ (१९९२)को झल्को पनि आउँछ । यसो भनौं— यो फिल्म ‘जो जिता वही सिकन्दर’को आधुनिक भर्सन हो ।

यो फिल्मको कथा रोहन (टाइगर श्रफ)जस्ता मध्यमवर्गीय विद्यार्थीको हो, जसले साधारण र गरिब कलेजबाट देहेरादुनको सेन्ट टेरेसाजस्तो भव्य कलेजमा स्पोर्ट्स कोटाबाट भर्ना पाउँछ । भर्ना लिनुमा उसको अन्तनिर्हित उद्देश्य भने बच्चाबेलाकी प्रेमिका मृदुला उर्फ मिया (तारा सुतारिया)सँगको साथ पाउनु हो । खासमा उसले मृदुलाको डान्सर ट्रफी जित्ने सपना पूरा भएर उसलाई विदेश गएको हेर्न चाहन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भर्ना लिएपछि रोहन कलेजको हिरो मानव (आदित्य सिल) र उसकी चम्फु बहिनी श्रेया (अनन्या पाण्डे)सँग आमनेसामने हुन्छ । यी दाइ–बहिनी कलेज ट्रस्टीका सन्तान हुनुका साथै अत्यन्तै धनी हुन्छन् । डान्स कम्पिटिसन जित्न मानवले रोहनबाट गर्लफ्रेन्ड मियालाई खोस्दैन मात्रै, उसलाई कलेजबाटै निष्कासन गराइदिन्छ । केही समयपछि रोहन ‘अन्डरडग’को रूपमा आफ्नो कलेजको प्रतिनिधित्व गर्दै सेन्ट टेरेसा र मानवको टिमविरुद्ध खडा हुन्छ । यसपटकको स्पर्धा हुन्छ— कबड्डीको ‘स्टुडेन्ट अफ दि इयर’ ट्रफी हासिल गर्दै आफ्नो गुमेको गौरव फिर्ता ल्याउने ।

निर्देशक पुनिल मल्होत्राले पहिलो संस्करणजस्तै कलेज र पात्रको आवरण र वेशभूषालाई भव्य रूपमा प्रस्तुत गरेका छन् । तर, उनले ‘अन्डरडग’वाला भावभंगिमा उतार्न सकेका छैनन् । धनी र गरिब विद्यार्थीबीचको अन्तरले खासै प्रभाव देखाउँदैन । फिल्म तीन–चार पात्रको वरिपरि घुम्छ । अरू पात्रलाई निर्देशकले पूरै उपेक्षित गरिदिएका छन् । फिल्मको मजबुत पक्ष डान्स र एक्सन हुन् । अभिनय अझै कसिलो भएको भए राम्रो हुन्थ्यो । मध्यान्तरपछिको कथा अत्यन्तै सुस्त छ । क्लाइम्याक्सबारे पहिलै अन्दाज लगाउन सकिन्छ । मध्यान्तरअघिको समय फिल्मको सेटिङ र टोन स्थापित गर्नमै सकिएको छ । मध्यान्तरपछि बल्ल ड्रामा, एक्सन र मनोरञ्जन थुपारिएको छ ।

अभिनयको मामिलामा टाइगर श्रफले अन्यन्तै मेहनत गरेका छन् । पर्दामा त्यो मेहनत देखिन्छ । आफ्नो चरित्रअनुसार उनले एक्सनसँगै भावना र नृत्यलाई सुन्दर ढंगले निभाएका छन् । सीधा भन्नुपर्दा— यो फिल्म टाइगर श्रफको काँधमा टिकेको छ । चाहे कबड्डीको मैदानमा उत्रिँदा होस्, चाहे नाच्दा— उनको शारीरिक बनावटले मोहित पार्छ ।

तारा सुतारियाको चरित्र ठीक ढंगले जमेको छैन । पर्दामा उनको उपस्थिति प्रभावशाली त लाग्छ तर अभिनयको हिसाबले औसत लाग्छिन् । तर, अनन्या पाण्डे आफ्नो उपस्थिति जमाउन सफल भएकी छन् । उनको प्रस्तुति बिस्तारै दर्शकको मनमा गड्छ र त्यसले गहिरो छाप छाड्छ । अनन्या पुराना कलाकार चंकी पाण्डेकी छोरी हुन् । उनको दाजु बनेर खेलेका आदित्य सिलले पनि आफ्नो भूमिकामा न्याय गरेका छन् ।

‘स्टुडेन्ट अफ दि इयर’ आलिया भट्ट, बरुण धवन र सिद्धार्थ मल्होत्राको त्रिपक्षीय केमेस्ट्रीले गर्दा प्रभावशाली थियो । तर, नयाँ संस्करणमा रोमान्सको पक्ष कमजोर छ । गुल पनाग, समीर सोनीजस्ता राम्रा कलाकारलाई उपयोगै गर्न सकिएको छैन । भनौं— उनीहरूको कला खेर गएको छ ।

संगीतको सवालमा विशाल–शेखरले ‘ए जवानी, हे दिवानी’ गीत रिमेक गरेका छन् । यसले भारतीय रेडियोहरूमा आफ्नो प्रभाव देखाइरहेको छ । बाँकी संगीत पक्ष औसत छ । सम्पादन पक्ष अझै कसिलो हुनुपथ्र्यो । फिल्मको कथाअनुसार यसको समय छोट्याउन सकिने प्रशस्त ठाउँ छन् । फिल्मले टुक्रा–टुक्रामा मात्रै मनोरञ्जन दिन्छ ।

समग्रमा ‘स्टुडेन्ट अफ दि इयर–२’ले खास प्रेम नदर्साए पनि मित्रतालाई प्रशस्तै ठाउँ दिएको छ । कलेजको ड्रामा र स–साना घटनाले केही हदसम्म दर्शकलाई बाँधिराख्छन् । ‘अन्डरडग’को पक्षमा मुठ्ठी कस्न दर्शक प्रेरित हुन्छन् । नयाँ पुस्ताका युवाका लागि यो राम्रो खुराक हो । 

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्