
– जेबी दर्लामी
ग्रिष्मको एउटा उदास साँझ । म मलेसियाको अनाम रेस्टुराँमा हुँदो हुँ । मलेसिया र मेरो मनको अवस्था उस्तै थियो– धुम्मिएको ।
मलेसियाको मौसमको खासै भर छैन, बदलिइरहन्छ । त्यस्तै छ मेरो मनको हाल पनि– कतिबेला धुम्मिन्छ, कतिबेला छ्यांग उघ्रिन्छ, कतिबेला बतासझैं हतास हुन्छ— पत्तै हुन्न ।
सेक्युरिटीको जागिर । घरको अभाव पन्छाउन मलेसिया हानिएको अल्लारे ठिटो । अर्घाखाँची हुँदा पैसा अभावले टोक्थ्यो । मलेसिया पुगेपछि घरपरिवार, इष्टमित्रको सम्झनाले चिमोट्न थाल्यो । पैसाको अनुहारभन्दा उनीहरूको अनुहार पो मूल्यवान् लाग्न थाल्यो । सबैभन्दा मूल्यवान् थियो– म को हुँ भन्ने प्रश्न !
बाबु–आमाको सपनाको सारथि । अर्धांगिनीको जीवन ओताउने चौतारी । दुई लालाबालाको बाबु । यी सबै परिचय ओझेलमा राखेर मैले मलेसियाको उडान भरेको थिएँ । केवल धन कमाउन । वैभवको जिन्दगी बाँच्न । आधा पेट खाएर बाँचिरहेको जिन्दगी उकास्न । मलेसियाको भूमिमा टेकेपछि मेरो सम्पूर्ण परिचय ओझेल पर्यो । र, प्रकाशवान् भइरह्यो– कामदारको परिचय । वास्तवमा म यही उराठ् र मनको वैराग बिसाउन रेस्टुराँको कुनै रित्तो सिट ओगट्न पुगेको हुँदो हुँ ।
मलेसियाको भूमिमा नेपालीले पाइला राखेको सन् २००३ देखिमात्रै होइन । १९ औं शताब्दीको मध्यदेखि नै नेपालीहरू मलेसिया जान थालेका रहेछन्– रबर प्रशोधन कम्पनीमा काम गर्न । दोस्रो विश्वयुद्धताका मलायाको वीरताका किस्सा नसुनेको होइन । उनीहरूको वीरगाथाले दिमाग रन्थनिन्थ्यो । तर, वीरताको जगमा टेकेर खडा भएका नेपाली बस्ती, गाउँहरू भने मलेसिया टेकेपछि नै देख्ने, जान्ने अवसर पाएँ ।
वीरताको चिनारी चौकिदारीमा समेटिँदा दुःख पनि लाग्यो कताकता । यही दिक्दारी पन्छाउन नेपाली अखबार (साप्ताहिक पत्रिका)मा आँखा डुलाउँदै थिएँ । अन्तर्वार्तामा पुगेर आँखा टक्क अडियो ।
अन्तर्वार्ता विशेष होइन तर त्यसमा प्रयुक्त भाषाले पहिचान खोजिरहेको थियो । भाषाले न नेपालीपन छाड्न सकेको थियो न मलाया लवज समात्न सकेको थियो ।
नेपाली भूमि छाडेकै दिनदेखि खुब नियास्रिएको थिएँ । स्वदेशमा हुँदा काव्य, कथामा कलम दौडाउँथें । भाषा–संस्कृतिप्रति गहिरो लगाव होइन । पहिचानप्रति अचाक्ली प्रेम पनि होइन । छिपछिपे र सतही ज्ञान थियो । मलेसियाको भूमिमा पाइला राखेपछि मेरो अवचेतनमा पहिचानले बास गरिसकेछ । अन्तर्वार्ताले ध्यान खिच्यो ।
‘नुरी’ले गर्भधारण गर्यो ।
० ० ०
‘नुरी’ मलेसियाको ‘सीमान्त’ पात्र हो तर सबाल्टर्न होइन । ऊसँग प्रशस्त धन–सम्पत्ति छ । यायावरीका लागि ऊ कसैको अपार्टमेन्ट, सुपरमार्केट, कलकारखानाको रखवारी, चौकिदारी गरिरहेकी छैन । प्रतिष्ठित वित्तीय संस्थामा काम गर्छे । हरेक सप्ताहन्त कुनै मनोरम ठाउँमा बित्छ । ऊमात्रै होइन, उसका साथी–सहेली गरिबीको पहेलीभित्र छैनन् । यत्ति हुँदाहुँदै पनि ऊ खुशी छैन ।
किन ?
उसको अनुहारमा पहिचानको उराठलाग्दो खडेरी छ । परित्यक्त भाषाको तृष्णाले बडो छटपिटएकी छे, ऊ । अन्तर्वार्ता पूरा पढ्ने धैर्य रहेन मेरो । मलेसिया उड्न ठिक्क पर्दा नेपालमा पहिचानको आन्दोलन उत्कर्षमा पुगेको थियो । राज्यको मूलप्रवाहबाट छुटेका दलित, महिला, अपांगता भएका नागरिक, मधेसी–मुस्लिम र सीमान्तकृत आ–आफ्नो पहिचान खोज्दै सडकमा भुंग्रो खडा गरिरहेका थिए । तर, ऊ भिन्न किसिमको पहिचानको संकटबाट गुज्रिइरहेकी थिई । उसको मनोदशा, अन्तर्दशा बेग्लै थियो । र, त्यस किसिमको संकटसँग पहिलोपल्ट चिनजान हुँदै थियो, मेरो ।
हिन्दू बाबु र मुस्लिम आमाकी छोरी थिई नुरी । तर, उसको धर्म कुन हो ? उसले बोल्ने भाषा कुन हो ? ऊसँग कुनै मूर्त उत्तर थिएन । अन्तर्वार्ता भन्थ्यो– न ऊ मुसलमान भई न अब हिन्दू नै रही । विरोधाभाष जिन्दगीको परिभाषा बनेको थियो ।
अन्तर्वार्ताका पानाबाट उम्किएर कोठामा आइपुग्दा नुरी गहिरोसँग मस्तिष्कमा बसिसकेकी थिई । उसको पहिचानको संकट मस्तिष्कमा पिङ खेल्न थालिसकेको थियो । सीमान्त किन नहोस्, मैले बाँचिरहेको समयको शक्तिशाली पात्र थिई नुरी ।
नुरी त सांस्कृतिक संक्रमणको सहउत्पादन पो प्रतीत भयो ।
० ० ०
नुरीलाई कापीका पानामा ताते गराउँदा मसँग सरिता थिई । नुरीका कति वाक्यांश उसैले फुटाइदिएकी थिई । नुरी हरफमा हिँड्न नसक्दा डोर्याउने प्रयत्न पनि गर्थी । दुई छोराकी आमा त छँदै थिई । नुरीका रूपमा अर्को सन्तान जन्मन लाग्दा असाध्यै खुशी थिई ऊ ।
दुई वर्ष बसेर सन् २००९ मा मलेसियाबाट फर्किंदा मेरो कमाइ भन्नु नुरीको अधकल्चो पाण्डुलिपिमात्र थियो । भविष्यको कमाइ हो भनेर नुरीलाई खुब जतनले सुम्सुम्याएकी थिई, सरिताले ।
नेपाल फर्किएपछि नुरी पाण्डुलिपिबाट अघि बढ्न सकिन । न पुनर्लेखन र स्वसम्पादन नै हुन सक्यो । ऊ केवल अमूर्त कथा बनेर दराजमा थन्किरही ।
सन् २०१२ को उत्तराद्र्धतिर अभावले मलाई पुनः मलेसियाको बाटो देखाइदियो । मलेसियाको भूमिमै कमाएको नुरीको अपूरो कथा बोकेर गएको थिएँ । परिस्कृत र खँदिलो तुल्याउने मौका मिल्यो । १८ घण्टे चौकीदारीको थकानलाई थाप्लामा बोकेर मलेसियाका माकुरोजाले सडक चहार्थें । पुस्तौंअघि मलेसिया पुगेका नेपाली भेट्थें । तिनका स्वजन पछ्याउँथे ।
“हामीलाई त नेपालै जान मन छ, जति पुस्ता व्यतीत गरे पनि अर्काको भूमि कहिल्यै आफ्नो नहुँदो रहेछ,” ती व्यथित हुँदै आफ्ना व्यथा पस्कन्थे ।
नुरीको कथा पूर्ण भइसकेको थियो । नेपाल आउने दिन पनि छोट्टिँदै थियो । दुई महिनामात्रै बाँकी हुँदो हो, नेपालबाट फोन गयो । “तुरुन्त नेपाल आउनुपर्ने भयो !” फोन कोही आफन्तले गरेको थियो ।
सरिता निकै बिरामी थिई । जन्डिसले थल्याएछ उसलाई । छरछिमेकका सुनाउँथे, “सरिता शुरूमा पहेंली देखिएकी थिई । पछि रोगन बदलिएर नीलो हुँदै गई । बोल्न पनि निकै गाह्रो हुन थालेको छ उसलाई ।”
रोगले गालेर बँचेखुचेको पैसामा आगो झोसिदिनुजस्तो हुन्थ्यो । विगलित हुन्थ्यो मन ।
अन्ततः त्यही रोगले सरिताको प्राण निमोठ्यो ।
नेपाल फर्किएको लामो समय पार्थक्यले थला बसाल्यो । सरिताको सम्झना उकुच पल्टिएको घाउ बनेर चहर्याइरह्यो । पश्चातापले मन दर्फर्याइरह्यो ।
० ० ०
सरिताको वियोग (अ)प्राकृतिक थियो । सपनाहरूलाई खण्डहर तुल्याइदियो । र, नुरीलाई अधूरो कहानीको कित्तामा पुर्याइदियो । सरिताको ऐंठनले सताइरहुन्जेल नुरीलाई सन्दुकमा थन्क्याएँ । मलेसियामै रहँदा अर्को पाण्डुलिपि पूरा गरेको थिएँ । तिब्बत हुँदै मंगोलिया पुगेको एक युवकको कथा । त्यसैलाई उपन्यासको आकार दिएँ ।
‘यात्री’मात्रै जीवनको यात्रा थिएन । यात्रीभन्दा अघि नुरी आएकी थिई । ऊ बेलाबखत सन्दुकका चरबाट म भएतिर आँखा लगाउँथी र भन्थी, “प्रिय लेखक ! के म पनि सरिताकै मृत्यु मरूँ ?”
भरंग हुन्थ्यो मन ! म पनि कहाँ चाहन्थें र– दशा बिग्रिएर नुरी पाण्डुलिपिमै सीमित होस् । फेरि नुरी १० वर्षको उपासना पनि त हो ।
‘यात्री’ जन्मिएको एक वर्षपछि साहित्यगर्भको दोस्रो सन्तानका रूपमा ‘नुरी’ तपाईंको हातमा छ ।
(अक्षर काकासँगको कुराकानीमा आधारित)
(सांग्रिला बुक्सले प्रकाशन गरेको दर्लामीकृत ‘नुरी’ शनिबार विमोचन हुँदै छ ।)
तस्बिरः सौरभ रानाभाट