site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माउसुलीको माया र संरक्षण राजनीति 

घरको छतमा टाँसिएर बस्ने माउसुलीको आफ्नै कथा छ । एक जना बुज्रुग आफन्तले मलाई त्यसको लामो कथा सुनाउनु भएको थियो । त्यो कथा म यहाँ सकेसम्म इमानदार भएर राख्ने प्रयास गर्दैछु । त्यो माउसुली सँगै एउटै छतमुनि बस्ने मानिसहरूलनई अथाह प्रेम गर्छ । उसले कति माया गर्छ भनेर कल्पनै गर्न सकिन्न । त्यो अथाह मायाका बीच उसको मनमा सबैभन्दा ठूलो डर पनि हुँदो रहेछ : यो छत कुनै दिन खसेर यी मानिसहरू मर्नेछन् । हो, यही डर र मायाको कारणले ऊ छतमा छाटिएर बस्छ र आफ्नो कामप्रति गौरव गर्छ । मैले छत नथामे बिचरा मानिसहरू यो घरमा कसरी बस्लान् भन्ने चिन्ताले माउसुली आफू बसेको छत छोडेर कतै जाँदैन । उसका हातगोडा गलुन् वा पसिना निस्कोस् ऊ त्यो छतलाई थामेर बसिरहन्छ । वास्तवमा उसको पूरै जीवन नै यही अभ्यासमा बित्छ ।

माउसुलीको यो मोह मलाई दुई अर्थमा अत्यन्त रोचक लागेको छ । पहिलो, उसको अत्यधिक प्रेमले कुनै फल नदिए पनि उसको धैर्यले उसलाई छतमा उल्टो पारेर टिपिक्क टाँसिराख्छ । कुनै मूल्य नभएको मोहमा परेर इतिहासमा मानिसले धेरै गुमाएका अनेक उदाहरण छन् । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको विषयलाई लिएर आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ता पार्टी मुख्यालयमा जम्मा भए । तर, जे जसरी निर्णय भयो त्यसलाई पार्टीले स्वीकार गर्नु नै पर्यो । समग्र पार्टीले जोगाउन सक्नेभन्दा माथिको कुरा भनेर पार्टीले स्वीकार्नु पर्यो । माउसुलीको मोह मिथ्या हो भनी बुझ्नेले कसैले चाहेर वा नचाहेर कसैलाई जोगाउन सक्तैन भन्ने समयको सन्देशलाई सहजै चिन्न सक्छ । मानिसले तर्कसंगत विचारलाई स्थान दिँदैन भने उसको सागर केही समय त रोकिन्छ तर बाँध चाहि त्यति बलियो बन्दैन । त्यो बाँध फुट्छ एक दिन ।

अत्याधिक प्रेमले मात्र कसैलाई सत्तामा टिकाउने भए सत्ता संघर्षमा मानिसले जीवन नै गुमाएका कथा इतिहासमा हुने थिएनन् होला । रोममा पश्चिम मुख्यालयका जनरल जुलिएस सिजर थिए भने पूर्वी मुख्यालयको नेतृत्व पोम्पीले सम्हालेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सिजरका सहयोगी थिए मार्क एन्थोनी भने ब्रुट्स पोम्पीका अत्यन्त प्रिय पात्र थिए । सम्पूर्ण रोमको सम्राट को हुने भन्ने संघर्षमा कसैको प्रेमले कसैलाई जोगाउन सकेन । ब्रुटसको असिम प्रेम हुँदाहुँदै पनि सिजर र एन्थोनीको समूहले पोम्पीलाई मार्यो । त्यस्तै जति न शक्ति संचित गरिराखेको भए पनि सिजरको हत्या ब्रुट्स र उनको समूहले गर्यो । हो, एन्थोनीले आफ्ना प्रिय जनरलको हत्याको बदला लिन एउटै भाषणले रोममा आगो लगाएको सेक्सपियरले उल्लेख गरेका छन् । तर, कुनै पनि माउसुलीको मोहले कसैलाई जोगाउन भने नसकेको साक्षी इतिहास । हामीले इतिहासको यो अनुभवलाई वर्तमानमा उपेक्षा गर्न मिल्दैन । 

गलत पात्र र प्रवृत्ति लिएर हिँड्ने मानिसले केही समयका लागि सुख र प्रशंसा त अवश्य पनि पाउँछ । किनभने, शक्तिको वरपर हिँड्नेहरूको एउटा ठूलो झुन्ड सधैँ तैनाथ हुन्छ । त्यसलाई डायमण्ड शमशेरले आफ्नो प्रसिद्ध उपन्यास ‘सेतो बाघ’मा भोला प्रवृत्तिको रूपमा चित्रण गरेका छन् । हो, यो सबैभन्दा चलाख र गतिशील तत्त्वले राजनीतिको मियो सम्हाल्ने वर्ग पहिचान गर्छ र त्यसलाई एउटा भुलभुलैयामा पार्छ । जसले जे सुन्न चाहेको त्यही सुनाएर आफ्नो स्वार्थ सिद्धि गर्ने दाउमा हिँडेको हुन्छ । भोला भनेको पात्रभन्दा माथिको प्रवृत्ति हो । त्यसलाई बुझ्न नसकेर जंगबहादुरको वंशमा ठूलो क्षति भएको उपन्यासमा देखाइएको छ । वास्तवमा भोला सत्ताभ्यासीमा माउसुलीको करूणा र मोहको बीजारोपण गरेर सत्ता र शक्तिको दलालीमा व्यस्त रहन्छ । आफ्ना लागि पर्याप्त लाभ आर्जन गर्छ । स्वाथै पूरा गर्ने क्रममा देश र समाजको दिशाबोध, गन्तव्य पहिचान आदि सबैलाई तिलाञ्जली दिएर सत्ताको दलालीमा यी पात्र व्यस्त रहन्छन् ।

Global Ime bank

हाम्रो समयको यस प्रवृत्तिका सबैभन्दा ठूलो उदाहरण तत्कालीन राजा ज्ञानेन्द्र हुन् । उनको माउसुली मोहले गर्दा दरबारको अप्रियता कुन कुराले बढाइरहेको थियो भन्ने बुझ्न सकेनन् । खासमा विभिन्न स्थलमा विभिन्न प्रकारले उनका छोराले जनतालाई सताइरहेका थिए । राजा वीरेन्द्रको वंशनाशपछि राजपरिषद् स्थायी समितिको निर्णयानुसार त्यस समयको संविधान र कानुनको तर्क विधानले राजगद्दीको उत्तराधिकारी बन्न पुगेका ज्ञानेन्द्र शाहको विश्वास जनविवेकमाथि भएको भए उनले आफ्नो छोरामप्रति माउसुलीको मोह देखाउने थिएनन् । तर, परिस्थिति उल्टो भयो । ज्ञानेन्द्रले सबैतिर अप्रिय छोरालाई राजगद्दीको उत्तराधिकारी अर्थात् युवराजधिराज घोषणा गरे, दसैंको टीकाको दिनमा । हुन सक्छ, उनले त्यो व्यस्त समयलाई आफ्नो पक्षमा प्रयोग गर्न चाहेका थिए । तर, जनताले उनको माउसुलीको मोहलाई आफ्नो खातामा राम्ररी सिलसिला मिलाएर राखेका थिए । परिणामतः गणतन्त्रको मार्ग जनविवेकले पहिल्यायो । अहिले ज्ञानेन्द्रसँग न त गद्दी छ न त छोरा नै सँगै छन् । उनले समयमा नै माउसुलीको मोह त्याग गर्न सकेका भए परिस्थिति अर्कै पनि हुन सक्थ्यो ।

माउसुलीको मोहको दोस्रो रोचक पाटो उसको आत्मरति नै हो । सत्ताको सुख सबैभन्दा तेज तर अवास्तविक हुन्छ । सत्तामा हुने मानिसलाई आफू नै न्याय र ज्ञानको स्रोत हुँ भन्ने घमण्ड चढ्न गयो भने तर्कको मार्गबाट उसको आत्मा भड्किन्छ र वितर्कमात्र होइन उसले कुतर्क गर्न थाल्छ । हामीले यस्ता सन्कीबाट कुनै कुराको आशा गर्नु व्यर्थ हुन्छ । भन्न त सबैभन्दा बढी प्रजातन्त्रको कुरा राजा महेन्द्रले गर्थे । उनले पञ्चायतलाई यो देशको माटो सुहाउने राज्य व्यवस्थाको रूपमा व्याख्या गरेका थिए र प्रजातन्त्रप्रतिको उनको चिन्ता सबैभन्दा उग्र देखिन्थ्यो । उनले पञ्चायती प्रजातन्त्रको दर्शनको आधारमा राष्ट्रको आर्थिक विकासको सपना देखेका थिए । तर, मानिसले बिस्तारै तर्क गरे र उनका वाचा र प्रतिज्ञालाई न्यायको तराजुमा जोखे । बाटाघाटा, पुलपुलेसा र विभिन्न उद्योगलाई सरकारी तबरबाट संस्थागत गर्ने महेन्द्रको राजनीतिक चिन्तनमा जनता भन्ने राज्यको महत्त्वपूर्ण तत्त्वलाई पूर्णरूपमा अर्थहीन, शक्तिहीन ठानेर राजाले शासन गरेको थाहा भएको क्षण जनतामा विद्रोहको चेत जन्मियो । महेन्द्रले विकास र प्रजातन्त्रको आत्मरतिको जगमा पञ्चायत खडा गरेका थिए । जनताले उनको कागजको हातीलाई फु गरेर २०४६ सालमा उँडाइदिए ।

यो सूचना र प्रविधिको युग हो । कसले कसको बारेमा के जानकारी, सूचना वा तथ्यांक राखेको हुन्छ भनेर कसैले ठोकुवा गर्न सक्दैन । यस्तो युगमा कुन दिन कसको बारेमा कुन सूचना सार्वजनिक हुन्छ भन्ने अनुमान पनि गर्न सकिँदैन । सामाजिक सञ्जालको युगमा कुनै व्यक्तिका बारेमा सार्वजनिक धारणा बन्न र भत्किन समय नै लाग्दैन । यस्तो तरल समयमा सार्वजनिक जीवनमा स्वतन्त्र रूपमा शक्ति अभ्यास गर्ने कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले संरक्षणमा लिन सक्तैन र लिनु पनि हुँदैन । तर, पनि केही नेतालाई आफ्ना साथीहरूको संरक्षण गर्न किन मन लाग्छ होला ? यो प्रश्नको उत्तर खोज्न हामी हाम्रो समयभन्दा केही पछाडि फर्कनुपर्ने हुन्छ ।

नेपाली समाजको सामन्ती चरित्र रूपान्तरण भइसकेको छैन । सामन्ती समाजको सबैभन्दा ठूलो विशेषता यसमा हरेक समूह र गुटको आआफ्नै संरक्षक हुन्छ । शाही सत्ताको समयमा नै आफूलाई राजाको बराबरीमा लगेको मानेर रमाउने नेताहरूले आफूलाई राजाको प्रतिस्थापन नै मान्न थालिसकेका थिए । बिस्तारै त्यस्ता सहायक शक्ति केन्द्रको आसपास परिक्रमा गर्ने राजनीतिक दलाल वर्गको विकास भइरहेको थियो । त्यो राजनीतिक शक्तिको दलाली गर्ने वर्गले आफ्ना संरक्षक सामन्तको राजनीतिक प्रभावका आधारमा आफूलाई आर्थिकरूपमा खडा गर्ने यत्न गथ्र्याे । यसरी राजनीतिक पार्टीका मुख्यालयहरूमा सामन्तवादले आफूलाई प्रतिस्थापन गर्न पुग्यो र संरक्षण राजनीतिको सुरू हुन पुग्यो ।

स्वरूपमा त हामीले शाही सत्ताको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्यौँ तर सारमा हेर्ने हो भने सामन्तवादलाई हामीले समाजको प्रमुख मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकार गरेका छौँ । यही समान्तवाद वर्तमान समाजको माउसुली हो र त्यसको मोहले सधैँ उसका नजिकमा रहनेलाई संरक्षणमा राखिरहन्छ । गणतन्त्रको सबैभन्दा सुन्दरतम पक्ष चुनाव हो । हुनत सामन्तवादको सबैभन्दा जटिल अभ्यास दलहरूले आफ्नो दलको नेतृत्व चयनमा गर्नेगरेका छन् । नेपाली कांग्रेसको महासमितिको निर्णयको विवाद यसकै एउटा उदाहरण हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मको ‘समझदारी’ पनि यसैको अभ्यास हो । सामन्तहरूको हैकम कामय रहेको समाजमा उनीहरूको माउसुली मोह कायम हुन्छ र उनीहरूले आफ्नो संरक्षणको कारण कसैको राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने ठान्छन् । तर, जनताले पनि सामन्ती अभ्यासलाई सूक्ष्म अवलोकन गरिरहेका हुन्छन् । प्रमुख प्रश्न उनीहरूले तिरस्कार कसरी गर्छन् भन्नेमात्रै हो । जनविवेकलाई गलहत्याइएको समयमा जनताले चुनावबाट पाखा लगाउन पनि सक्छन्, सडकबाट विद्रोह पनि गर्न सक्छन् । त्यसका लागि वैकल्पिक नेतृत्वको विकास कसरी हुन्छ त्यो भने हेर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय