देश बलियो हुनु र सरकार बलियो देखिनु, के एउटै कुरा हो ? सडक, सामाजिक सञ्जाल र समाजमा अहिले चलेका तर्कले केही यस्तै प्रश्नलाई जन्माएको छ । देश बलियो निरन्तरको प्रयत्नबाट हुने रहेछ । यो बलियो कति, कसरी र कहाँसम्म पुग्दा मानिन्छ भन्ने सायद सीमा भेटिँदैन । के भूअवस्थितिले पनि मुलुक बलियो बन्नु, नबन्नुको हद निर्धारण गर्छ ? बलियो भन्नुको अन्तर्य सत्ता के, कस्तो हो ? बलियो बन्दै अघि बढ्नु र कमजोर पर्दै खस्कँदै गर्नुको विभेद नै देश बलियो वा कमजोर भएको पहिचान गर्ने सूत्र होला । यस्ता प्रश्नले बलियोको शक्ति र सीमा खोज्ने रहेछ ।
देश के भएपछि बलियो मानिन्छ र के नभए वा नहँुदै गर्दा कमजोर भनिन्छ ? सायद, यो प्रश्नको उत्तर अहिलेको भौतिक र विज्ञानको असीमित विकास चरणमा ठ्याक्कै भन्न सकिने देखिँदैन । भौतिक वा प्राविधिक संयन्त्र संरचनाको एकपछि अर्को उपलब्धिले शक्ति प्राप्ति वा बलको सीमा पनि बढाइदिएजस्तो लाग्छ । एउटा मुलुकको बल वा शक्तिसीमा अर्को कुनै देशका लागि केही पनि होइन र अर्को मुलुकको शक्ति कसैका लागि अकल्पनीय र असीमित लाग्नसक्छ । के भए बलियो, नभए कमजोर ? अर्थात् बलियो हुनु, भन्नु त्यो के, कति हो ? यसका पनि आफ्नै सन्दर्भ सीमा छन् ।
उदाहरणमा लिऊँ, अमेरिका, चीन, भारत । यी मुलुक अझै बलशाली हुने स्पर्धामा छन् । एकले अर्कोलाई उछिन्ने दौडमा रमाएका छन् । तर, पनि यिनलाई आफ्नो सबलताले पूर्णता पाएको अनुभूति छैन । सायद, त्यसो हुँदैन पनि । भारत संसदीय चुनावमा छ र उसको एउटा नारा सबल, सक्षम भारत भन्ने नै हो । भोलि चीनले आजको पहिलो शक्ति अमेरिकालाई उछिन्यो भने पनि उसले शक्तिको पूर्णता पाएको अनुभूति गर्नेछैन । फेरि उछिन्ने के, केमा हो ? यिनै देशको उछिनपाछिन हाम्रा लागि टाढा वा असीमित लाग्छ र हो पनि ।
अहिले कुनै पनि देशको बल वा शक्ति जे भन्नौ त्यो सामरिक आर्थिक प्रगतिमा बढी केन्द्रित छ तर यतिमै सीमित छैन । प्रविधि त्यो हतियारमा पनि र उछिन्ने स्पर्धा छ । मानव जीवनलाई मात्रै होइन समस्त प्राणीजगत र प्रकृतिसमेतलाई वशीभूत पार्ने वैज्ञानिक प्रयत्न छ ।
यतिमात्रै पनि किन ? यो स्पर्धा प्रयत्न धर्ती छोडेर आकाश र अन्तरिक्षमा ‘सेल्टर’ बनाउने जमर्को जोडतोडले उन्मुख छ । अनि रह्यो त बलशाली हुनुको सीमा ? तैपनि बासिन्दाहरु भन्छन् – देश कमजोर भयो वा बलियो हँुदैछ, हुनेछ । यसका आफ्नै सन्दर्भ सीमा रहेछन् ।
यस भनाइले खोल्ने तात्पर्य– देश बलियो हुन्छ, हुँदैजान्छ वा कमजोर हुन्छ र पर्दैजान्छ भन्ने नै हो । यही कारण नेपाली समाज, सञ्जाल र सडकमा तर्क हुनथालेको छ – देश बलियो हुँदैछैन, देश कमजोर भयो झन् झन् । सरकार बलियो छ संविधान नै उलटपुलट पार्नसक्ने । नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाइदिनसक्ने । देशको सबै शक्तिसत्ता ‘क्याप्चर’ गरेर खिच्नसक्ने ‘धम्मरधुस’ सरकार छ । अनि देश दुर्बल किन, कसरी ? कतै यो आरोपमात्रै वा राजनीति र आस्थाको कारण निःसृत लाञ्छनामात्रै हो कि ? सरकारी पक्ष त भन्छ पनि यसै । यिनमा को साँचो ?
तर, सीमा भए पनि कुनै मुलुकको शक्ति, सम्पन्नता वा बल खुम्चियो कि फैलियो भनी बुझ्न मापनका केही आधार हुन्छन् । तिनै आधारमा उसले वा सबैले आफ्नो आन्तरिक सबलता र बाह्य प्रतिष्ठाको लेखाजोखा गर्ने हो । लेखाजोखा आफ्नो अवस्थिति वा परिस्थितिले निर्धारित हुन्छ । अमेरिका आफूलाईआफ्नै परिधिमा हेर्छ, हामी नेपाली आफ्नै सामथ्र्यमा आफूलाई बुझ्ने कोसिस गर्छाैं । सबैप्रति सबैको दृष्टिकोण लगभग यसरी नै निर्मित हुन्छ । हैसियतअनुसार मूल्यांकन गरिन्छ ।
हामीले हाम्रो देशको सबलता मापन गर्ने उपाय पनि यही, यस्तैले हो । देश झन् कमजोर पर्यो भन्नेहरु किन यसो भनिरहेका छन् ? भनाइ, पूर्वाग्रह हो कि सत्यता पनि छ ? बुझ्न केही मानपनहरुको पहिचान, तुलना र बन्दैगएको अवस्थाको चित्रणबाट सहज होला ।
मानिसको सबलता पनि त रुप, रंग, ढंग, धन, बल, ज्ञान, शैली, दीक्षा, शिक्षा, व्यवहार आदि धेरै विषयवस्तुले मापन गर्न सकिन्छ । मुलुकको शक्ति मापनमा पनि यस्तै ‘कम्पोनेन्ट’ हुन्छन् । झन्डै मानव विकास सूचकांक निकाल्दा भनेजस्तै विधि ।
देश बलियो, सक्षम र सम्भावना हुने, देखिने मुख्यतः जनतामा हो । माटोप्रतिको माया र संस्कृतिप्रतिको अटुट लगाव । यसमा नेपालीपन उम्दा छ, रह्यो । भलै परचक्रीले विभाजित, वैमनस्य उत्पन्न गर्न लगानी गरे । तर, सबलता भूसीमा मात्रमा सीमित छैन । देश बन्न भूगोलमात्र भएर पुग्दैन । त्यहाँ नागरिक बासिन्दा हुनैपर्छ । तिनको भाषा, भेष, संस्कृति अनिवार्य छ जसले राष्ट्रिय पहिचान दिन्छ । अनि यस्तै अंग, प्रत्यंगले नै देशले पनि पूर्णता पाउँछ । राष्ट्र बन्ने प्राकृत आधार तयार भएपछि त्यसलाई सफा, सुन्दर र सभ्य बनाउने जिम्मा लिने सरकारको कल्पना र स्थापना गरिन्छ । सरकार राजनीतिक पद्धति र प्रणालीले निर्दिष्ट गरेको मार्गचित्रले बन्ने, चल्ने र हिँड्ने हुन्छ, हुनुपर्छ । राजनीतिशास्त्रले स्थापित गरेको आधुनिक मान्यता यही हो । सभ्य स्वतन्त्रता राजनीतिको उच्चतम मानव प्राप्ति मानिन्छ ।
प्रश्न, देश कमजोर भयो कसरी ? जसरी जनता कमजोर भए त्यसरी । सबलताका सूचक मानिने आर्थिक, सांस्कृतिक र शैक्षिक पक्ष कमजोर भएका छन् । आर्थिक विपन्नता या परनिर्भरता, सांस्कृतिक पहिचानमाथि प्रहार र शैक्षिक प्रज्ञानताको ओरालो । यो अवस्था अहिले नेपाल, नेपालीको हो । यसैले देश कमजोर पर्दैछ भन्नेहरु भन्छन् । केहीलाई अपवाद मान्दा सीमित संख्याका बुद्धिजीवी पनि मौन छन् या विभक्त । कमजोरीको यो अर्को कारण ।
विभक्तहरु दलीय आबद्धताले गर्दा विचारको पक्षपोषणमा उत्रिन्छन् । व्यवहार चित्त नबुझे पनि मौन बसिदिन्छन् । खासगरी सत्ता पक्षकोमा यस्तो देखिन्छ । बुद्धि बिक्न पनि अवसर चाहियो । अवसर सत्ताको हातमा छ केही दिने नदिने । अवसर लिने वा नगुमाउने जिउँदो लालसाले मानवीय चेतनाको बौद्धिक स्वतन्त्रता, जीवन्तता मारिदिन्छ । बह्मनालतिर सुताइदिन्छ, अचेत, असुधजस्तै । सरकारी बुद्धि बाँच्नेहरुको हबिगत यही हो । सत्ताको नजिक रहन खोज्नेको पनि हालत यस्तै हो । हामी यसरी पनि कमजोर पर्दै, पारिँदै छौँ ।
प्राकृतिक, सांस्कृतिक र राजनीतिक सबलता उर्धगामी छैन, यतिबेला हाम्रो । प्राकृतिक स्रोत दोहनलाई क्षुद्र कुरा मानौ, छोडौँ । देखिने दृश्यमा नेपाल प्रकृतिको सबल भूमि हो । तर, त्यो पनि अब अधोगामी छ । खुम्चिँदै, रित्तिदै र सुक्दै । पग्लिएर सेता हिमाल, टल्किन नसक्ने काला पहाडको आकृतिमा । जलस्रोत जो घट्दैछ । ताप बढ्दै, मौसम उरन्ठेउलो भएको भोगिँदैछ ।
नेपाली संस्कृति विविध छ । जसरी भूसंरचना विविध, त्यसको प्रभाव, पर्याप्रकृति पनि विभिन्न । यसै विविधताले खानपान, रहनसहन, भेषभुषा, भाषा, धर्म आदिमा समेत विविधता । अनुहारको बनोट फरक, छालाको रंग र दैनिक जीवन यापनको ढंग अलग । यही विविधता नेपाली संस्कृति हो । विविधताबीचको एकता नेपाली संस्कृतिबाट स्थापित समन्वय, सहिष्णुता हो । तर, यही सबलतामा प्रहार भयो । जाति बाँडेर, क्षेत्र फोरेर, छाला च्यातेर अर्थात् सांस्कृतिक विविधताको एकता भाँडेर कहिले कम्युनिस्टका नामबाट त कहिले त्यही नाममा माओवादीको फुँदा गाँसेर प्रहार गरे । पर्दा बाहिर (खल) नायक यिनीहरु थिए भित्र सात समुद्र पारिको स्रोत । नेपाल कमजोर पार्ने अभियान, खलियानका खेताला थिए यी । हजारौं नेपाली सपुत मारे । संस्कृति अधमरो पारे । धन्न जोगियो तर धमिरा लगाएका छन्, बेलैमा वाल्मीकि ननिस्के धुलीसात हुने त होला ? यहाँभन्दा कमजोर पार्नुको शेष के रहेको छ र ?
यी त भए छातीमा हात राखेर छाम्नुपर्ने कुरा । तर भनिन्छ, सबै नीतिको नीति राजनीति । देवाधिदेव महादेव भनेजस्तै । जो जनताको भोगाइमा सधैँ आउने गर्छ, प्रतिच्छायाजस्तै । बिर्सुँ भन्दा नि हुँदैन । छोड्दिउँ भन्दा नि छुट्दैन । यसको मार परिरहन्छ । सहुँ भन्दा नि गाह्रो पर्छ सहन । नागरिकको जीवनसँग झुन्डिएको राजनीति । मुलुकको सबलता र भविष्यसँग गासिएको राजनीति । यो गर्नु पर्दैन, आफैँ टाँसिन्छ राजनीतिको प्रभाव परिणाम । नभई नहुने, भएर पनि हुनुपर्नेजस्तो नभएपछि, हुनेरहेछ अहिलेको कुहिएको राजनीति । बढी चिन्ता, यसैले अर्थात् राजनीतिले देश कमजोर पार्यो भन्नेहरुको चिन्ता हो त्यो देखिँदै पनि छ ।
माथि भनियो राजनीति पद्धति, प्रणालीले निर्दिष्ट हुन्छ, हुनुपर्छ । सरकार बलियो छ तर प्रणालीका संरचना सबै कमजोर पारिँदैछ । तिनीहरुमाथि बलियो सरकारको धम्मरधुस बल मिच्याइँ जारी छ । सबैतिर नेपालीकरण होइन, कम्युनिस्टीकरण छ । सरकार एकपक्षीय कम्युनिस्ट । संसद्, संसदीय समिति सबै सरकारी कम्युनिस्टको छायाछवि । न्यायालयमाथि नागरिकका औँला तेर्सिएका छन्, अविश्वास छ । बाघमात्र कराएको होइन, बाख्रै हराएका फैसला भइरहेका छन् । सरकारी स्वार्थबाहेक कसैको सुनुवाइ छैन ।
सामुदायिक विद्यालयको स्तर वृद्धितिर बुद्धि छैन, विदेश जाने पैसा रोक्ने र केही स्तरीय शिक्षा दिने निजी विद्यालयको घाँटी रेट्ने र बन्द गर्ने ‘स्वाँठ’ तर्क तिनै गर्दैछन् जो हिजो तिनैसँग जबर्जस्ती चन्दा रकम लिएर राजनीति गर्थे । शिक्षा, चेतना र विचार स्वतन्त्रतालाई ‘बुर्जुवा’ भन्थे ।
पत्रकारितालाई सरकार सत्यको मुख थुन्ने र असत्यको थुतुनो खोल्ने वा विचार दूषित गरी एकपक्षीय बनाउने जमर्को गर्दैछ । एकपछि अर्को अडंगो थापेर । सञ्चार संस्थाहरुलाई, उद्यमीहरुलाई र स्वतन्त्र विवेक वक्ताहरुलाई थर्काउँदै छ । दुर्बल पार्ने हर कोसिस गरेको स्पष्ट छ । राज्यका माध्यमको दुरुपयोग गरेर तिनलाई लयभंग सरकारी गीतमा थैथै नाच्ने नर्तक साबित गर्दैछ । विश्वसनीयता स्खलित गर्दैछ, समाजको ऐना, लोकतन्त्रको तराजु फोर्दै, फुटाउँदैछ । सडकमा मात्रै के वाह्य र आन्तरिक नीति जतासुकै खाल्डाखुल्डी भ्वाँगैभ्वाँग । आधार मापनमा कहाँ भेटियो त बलियो ? हो, यसैले देश कमजोर भयो भन्नेहरु बढी तथ्य नजिक छन् । बुझिन्छ, अन्ततः देश कमजोर पर्दै होइन, पारिँदै छ । कसले? उत्तर स्पष्ट छ – बलियो सरकारले ।