बारा (फेटा) । गएको आइतबारको आँधीले मर्माहत बनाएको बारा फेटाबासीलाई राहतले समेत आहत तुल्याएको छ । पहुँचवालाहरूले तेहेर्याएर पनि राहत लिने, पहुँच नपुग्ने, अस्पतालमा बिरामी कुरेर बस्ने, घाइते स्याहार्ने परिवार राहतबाट विमुख हुनुपरेको गुनासो बढेको हो ।
बारा, कलैया सानो मनगढवाका पीडित आफ्नो व्यथा सुनाउँदै थिए, “वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग सीधै पहुँच राख्नेले तीनचार पटकसम्म राहत बुझेका छन् । रासन–पानीदेखि भाँडावर्तनले घर भरिसके, पहुँच नहुने, गरिबहरूले एकपटक पनि पाएका छैनन् ।”
उनका अनुसार राहत वितरणमा गाउँपालिका र उपमहानगरले एकरूपता ल्याउन सकेको छैन । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गाउँ, नगर र वडाको समन्वयमा राहत वितरण गर्ने भनिए पनि सङ्घ–संस्थाले मनलागी वितरण गर्दा वास्तविक पीडित सबैले राहत पाउन सकेका छैनन् ।
“आँधीबाट ज्यान गुमाएका परिवार किरिया बसेका छन्, गम्भीर घाइते भएका परिवारका सदस्यको अस्पतालको बास भएको छ । राहतमा घरमा सामान्य क्षति पुगेका, क्षति नै नभएकाहरूको राहतमा लुछाचुँडी छ,” उनी भन्छन् । यस्तै पीडा पोख्छिन्, फेटा गाउँपालिका–१ भलुहीकी मोहनदेवी दास पनि । आँधीबाट ६५ वर्षीय बाबु हरिनारायण दास गुमाएकी उनले पनि आफूहरू जूठो बारेर बसेकाले राहत लिन नपाएका गुनासो गरिन् ।
“हामी अकल्पनीय पीडा छौँ । एकमात्रै भाइ किरिया बस्नु परेको छ । उनकी श्रीमती पनि ढाड भाँचिएर अस्पताल भर्ना भएकी छन् । बिरामी कुर्न जानु कि, राहत थाप्न ?,” उनको प्रश्न छ । उनले गाउँपालिका, स्थानीय प्रशासनले पीडितलाई दामासाहीका दरले वितरण नगर्दा राहतले झनै आहत बनाएको टिप्पणी गरिन् ।
“राहत लिएर गाडी आउँछ । दुई–तीन गाउँ भेला भएर राहत खोसाखोस् गर्छन्, हामी लिन जान सक्दैनौँ, हामीले राहतै पाउँदैनौँ,” उनको दुःखेसो छ ।
वर्षामा कसरी बाँच्ने ?
आँधीबाट बढी प्रभावित, भलुही, भरबलिया, पुरैनियालगायत ठाउँमा नेपाली सेनाले चाइनिज त्रिपाल टाँगिसकेको छ । र, अस्थायी बासको प्रवन्ध मिलाएको छ । सङ्घ–संस्थाको सहयोगमा अस्था शौचकक्ष पनि निर्माण गरिसकेको छ । केही सङ्घ–संस्थाले भाँडावर्तन सहयोग गरेकाले कतिपय पीडितहरूले त्रिपालभित्रै खाना पकाउनसमेत थालिसकेका छन् ।
तर प्रि–मनसुन शुरू भइसकेको र दुई महिनापछि नै झरी शुरू हुने भएकाले बासको समस्या मुख्य रहेको भलुहीका आजाद दास बताउँछन् । “गाँसको प्रबन्ध त सङ्घ–संस्था सरकारले गरिदिएको छ, बासको व्यवस्था कसरी होला भनेर चिन्तित छौँ,” उनले भने ।
“नेपाली सेना लगाएर सरकारले घर बनाइदिने समाचार त सुनेका छौँ वर्षा अगाडि बन्ने हो कि, भूकम्पपीडितको जस्तै हुने हो ? अन्योलमा छौँ,” उनले भने ।
०७२ वैशाखको विपत्तिले भूकम्प प्रतिरोधी संरचनाको महत्त्व दर्शाएर गयो । ०७५ चैतको विपत्तिले आँधी प्रतिरोधी संरचनाको माग गरेको दास बताउँछन् । “तराईका गरिब, विपन्नहरू अधिकांशको फुसको घर छन्, बाँसले बारबेर गरेका । त्यस्ता घरहरू आँधीले एकै निमेषमा उडाउँदो रहेछ । अब बन्ने घरहरू पक्की र आँधीले विनास गर्न नसक्ने हुनुपर्छ, सरकारले यसमा पनि ध्यान पुर्याओस् । सामान्य टहरा उभ्याएर पीडितलाई राख्ने सोच हो भने बनाउनु र नबनाउनुको कुनै अर्थ छैन,” उनी ध्यानाकर्षण गराउँछन् ।