बारा (भलुही, भरबलिया) । “धानको भकारी अगाडि ट्याङ्का थियो । बुबाले दिउँसोमात्रै बैंकबाट ५० हजार रुपैयाँ झिकेर ल्याउनुभएको थियो । पैसा त्यही ट्याङ्कामा थियो । न धानको भकारी रह्यो, न ट्याङ्का नै छ । घरको पर्खाल ढलाएर आँधीले ६५ वर्षीय बाबुको पनि ज्यान लियो,” शुक्रबार बारा, फेटा गाउँपालिका– १ भलुहीका राजेश दास बिलौना गर्दै थिए ।
आँधीको ६ दिन बित्दा पनि उनका आँखा ओभाएका थिएनन् । बाबु हरिनारायण दासलाई सम्झिएर उनी बेलाबखत भक्कान्छिन् । आँधीले तीन पुस्ताको कमाइ थातथलो मात्रै उजाडेन, घरको मूली नै उखेलिदियो ।
“बाबा बाँच्नु भएको भए मन बुझाउने ठाउँ त हुन्थ्यो । बाबा नै नरहेपछि आकाशै आफ्नो थाप्लामा बज्रिएजस्तो हुँदो रहेछ । अरूका लागि त आँधी थामियो । मेरा लागि त भूमरी अझै चलिरहेको भान हुन्छ,” उनी बाबुलाई सम्झिरहन्छन् ।
बुङ्ग्रीको किनारमा चिटिक्कको गाउँ थियो । आँखा अगाडि विशाल बगान । खोलाको किनारमा गावैँलाई पुग्ने ठुल्ठूला बाँसको झ्याङ् । भूमरीले ती सबैको कत्लेआम गरिदियो । एकै मिनेटमा सोत्तर बनाएर बाटो लाग्यो । भयङ्कर दुस्वप्नबाट बाहिर आएजस्तो विह्वल छन्, भलुहीबासी ।
“यस्तो प्रलय जीवनमा कल्पना पनि गर्न सकिँदैन,” आँखै अगाडि तीन जना लास परेको देखेका दास भक्कानिन्छन्, “जे नहुनु थियो, भइ नै सक्यो । अब सरकारले हेरिदिए हुन्थ्यो ।”
मृतक परिवारकी मोहनदेवी दास भन्छिन्, “अहिले मृतक परिवारलाई भेट्न सरकारी अधिकारीहरू लाइन लागेर आएका छन् । भलुही–फेटा गाउँपालिका सडक खण्डको कच्ची बाटोमा धूलो उडाउँदै आउँछन् । तर, रित्तो हात । आश्वासनलेमात्रै आँसु नथामिँदो रहेछ ।”
‘किरिया खर्च पनि पाएनौँ’
शुक्रबार मृतकको घरमा पुग्दा फेटा गाउँपालिकाकी उपाध्यक्ष कमरुन खातुन दास परिवार ओत लागेको त्रिपालमुनि सान्त्वना दिँदै थिइन् । मृतक हरिनारायणकी जेठी छोरी मोहनदेवी उपाध्यक्षसँग गुनासो गर्दैथिइन्, “हामी जूठो बारेर बसेका छौँ । अकल्पनीय पीडामा छौँ । सरकारसँग राहतको हात थाप्न जान पनि पाएका छैनौँ । सरकारले आफैँ बुझेर सहयोग गरे हुन्थ्यो ।”
तर, गाउँपालिका उपाध्यक्षले कुनै उत्तर दिइनन् । बरु वडाध्यक्ष जयप्रकाश दासले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा मृतक परिवारले किरिया खर्च पाउन नसकेको बताउँछन् । “यसअघि दैवि प्रकोप हुँदा सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत तत्कालै दश–पन्ध्र हजार रुपैयाँ उपलब्ध गराउँथ्यो । यसपाला प्रदेश सरकारले प्रति मृतक परिवार तीन लाख दिने घोषणा गरेको छ । तर, किरिया खर्च कसले दिने अन्योल नै छ,” उनले बाह्रखरीसँग भने ।
भूमरीबाट श्रीमती मतिसरदेवी र बुहारी रीनादेवी दास गुमाएका रामसुरत दास (तत्मा)को दुःखेसो पनि उस्तै छ । उनले पनि राजेश दासकै गुनासो सापटी लिए । भन्छन्, “सरकारका प्रतिनिधि त वरिपरि नै छन् । तर, मृतक परिवारले तत्कालै पाउनुपर्ने राहत पाउन सकेका छैनन् ।”
त्यसो त मृतक परिवारले राहतै नपाएका भने होइनन् । भलुही गाउँमै भूमरी चलेको भोलिपल्टैदेखि जीतपुर–सिमरा उद्योग वाणिज्य सङ्घले मेस चलायो । र, दैनिक सय घर परिवारलाई निःशुल्क भोजन गरायो । नेपाली सेनाले घरविहीन ४० परिवारलाई त्रिपाल टाँगेर अस्थायी बासको प्रबन्ध मिलाएको छ । सहयोगी संस्थाले निःशुल्क स्वास्थ्य शिविर चलाएर गाउँमा प्रकोप फैलन दिएका छैनन् । आँधीबाट घाइते भएकाहरूलाई पालपाल पुगेर उपचारको व्यवस्था मिलाएका छन् ।
त्यसबाहेक अन्य विभिन्न सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा राहत वितरण गरिरहेका छन् । प्रभावित सय घर परिवारले मनग्गे राहत पाइरहेको वडाध्यक्ष जयप्रकाशको दाबी छ । मृतक परिवारलाई भाँडावर्तनदेखि आर्थिक सहायता पनि आइरहेकै छ । “सङ्घ–संस्थाले दिएको रकमलेमात्रै किरिया खर्च नपुग्ने भयो । सरकारले किरिया खर्च उपलब्ध गराए जूठोबाट उत्रिन सघाउ पुग्थ्यो,” रामसुरत दास अन्तिममा थप्छन् ।
फाइल तस्बिर