बारा । वीरगञ्ज–कलैया मुख्य सडकबाट ३ किलोमिटर दक्षिणमा पर्छ– नहर छेउको गाछी टोल । फुसको छानो र बाँसले बारेका चिटिक्कका घरहरू । आँधीअघि यो बस्तीको शान–शौकत बेग्लै थियो । विपन्नताको गर्तमै सही, आफ्नो पौरख र इमानमा बाँचेका थिए उनीहरू ।
तर आइतबार राति सबा सात बजे उनीहरूको थाप्लामा महाविपत्ति बज्रियो । मेघ गर्जनसहित आएको भूमरीले गाउँका घरहरू धूलाम्यमात्रै बनाएन । गावैँको सपनाको सर्वनास भयो । डेढ सय घरधुरी रहेको यो बस्ती आँधीपछिको सामुद्रिक किनारजस्तै असरल्ल छ । बस्तीबीचको बगानमा सग्ला आँपका बोट देख्न मुिस्कल छ । अधिकांशका मुन्टो भाँचिएका छन् ।
बाटोछेउका ३ वटा बाँसका भीमकाय झ्याङ् डोजर लगाएर उखेलेझैँ बस्तीलाई निशाना लगाएर पल्टिएका छन् ।
बुधबार राति आँधीको चारदिन बितिसकेको छ । तर, दुईजना छोरी गुमाएको यो बस्तीको शोकमा चुर्लुम्म डुबेको छ । सिंगै बस्ती मलामी गएजस्तै चनखमन्द छ । आँधीपछिको सन्नाटामा छ, गाउँ ।
बाह्रखरी टोली नहर छेउको साँघुरो पुल तरेर उत्तर सोझिँदा केही मुस्लिम अगुवा गाछी टोलको भग्न घरहरू हेर्दै चुकचुकाउँदै थिए । बस्तीमा चाइनीज त्रिपाल टाँगिएको थियो । शरीरमा एकसरो लुगासमेत नलगाएका केटाकेटी घरको भग्नावशेषमा टुकी बालेर केही खोतली रहेका थिए । शायद, उनीहरूका खेलौना र पढ्ने किताब पनि आँधीको आहारा बनेका हुँदा हुन् ।
“कति कामले आउनु भयो ?” एकजना मुस्लिम अगुवाले हामीलाई सोधिहाले ।
“काठमाडौंबाट आएका पत्रकार हौँ,” हामीले जवाफ दियौँ ।
ती मुस्लिम अगुवा केहीबेर अडिएर भने, “बस्ती पुरिनेगरी राहत आइसक्यो तर यहाँका पीडितले पाएका छैनन् । तपाईंहरूले सत्यतथ्य लेखदिनुपर्यो !”
फेटा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने यो मुस्लिम बस्ती मुख्य प्रभावित गाउँ हो । वडा नम्बर ६ कै अर्को दलित बस्ती पनि ज्यादा प्रभावित छ । तर, राहत दामासाहीका दरले नबाँडिएको पीडितहरूको गुनासो थियो ।
“राहतमा पनि मुखियाकै राज चल्छ हजुर, हामी गरिबलाई कसले हेर्छ ?,” स्थानीय साबिर हुसेन देवानले गुनासो पोखे ।
एउटा त्रिपालमा सिंगो परिवार
गाउँपालिका अध्यक्ष अमरिलाल यादवले मंगलबार बेलुकीसम्म आँधीबाट घर भत्किएका सबैका आँगनमा त्रिपाल पुर्याउने बताएका थिए, बाह्रखरीसँग । स्थानीयका अनुसार सबैका घरघर पुग्ने त्रिपाल पनि निकासा भएको छ । तर, गाछी टोलमा गाउँपालिकाले दिएको त्रिपाल कतै देखिएन । गाउँपालिकासम्म पहुँच हुनेले पाएका रहेछन् । कतिका आफन्त सीमापारी भारततिर भएकाले उनीहरूले पनि जुगाड गरिदिएका रहेछन् । त्यसबाहेक चीन सरकारले उपलब्ध गराएको ९–१० वटा त्रिपाल बस्तीमा टाँगिएको छ ।
“यही त्रिपालभित्र सिङ्गो परिवार अटाउनु परेको छ,” स्थानीय मञ्जुर आलम बताउँछन् ।
“बस्तीमा संयुक्त परिवारको संख्या अधिक छ । एउटै घरमा झन्डै दश–बाह्रजनाको परिवार छ । यो प्रचण्ड धूपमा एउटा त्रिपालमुनि यत्तिका मानिस कसरी अटाउनु ?,” स्थानीयको प्रश्न छ ।
४९ सेकेन्डको महाप्रलय
०७२ वैशाख १२ र २९ गतेको भूकम्पले पहाड सखाप बनायो ।
गत आइतबारको आँधीले बारा र पर्सामा त्यो भन्दा ठूलो वितन्डा मच्चायो ।
“जम्मा ४९ सेकेन्ड आएको हो । हामीले त पृथ्वी नै उल्टोपाल्टो हुन लागेको ठान्यौँ,” स्थानीय देवान त्यसदिन सम्झन्छन् ।
अघिल्ला चैतमा हुरी आउँथ्यो । तर, केही समयमै थामिन्थ्यो । आइतबार दिउँसैदेखि कालो बादल मडारिएको थियो । साँझपख असिनासहित पानी पर्यो । असिना–पानी पर्दा हल्का हावा चलिरहेको थियो ।
पानीसमेत परेकाले गाछी टोलबासी घरभित्र पसे । धेरैका अँगेनामा भात पाकी सकेको थियो । अचानक बाघ गज्रिएजस्तो हावाको हुँकार सुनियो । के हुन आँट्यो भनेर स्थानीय घरबाहिर निस्कन पनि भ्याएका थिएनन् हुरीले बस्तीलाई बेरिहाल्यो ।
१७ वर्षीया सवनम खातुन र १० वर्षीया खातुन बाहिर निस्कन भ्याएनन् । वर्षौंदेखि ओत दिइरहेको घरले किचेर उनीहरूको घटनास्थलमै ज्यान गयो ।
“हाम्रोजस्तो बाँसले बेरेका घरको के कुरा भयो र, पक्की घरका समेत छाना उडेका छन्,” देवान इट्टाले बनेको घरलाई औँलाले देखाउँछन् ।
विनासको प्रकृति हेर्दा आँधी सानो स्केलमा गएको छ । भूमरीको आरम्भ यही गाछी टोलबाट भएको मान्न सकिन्छ । किनभने त्यहाँभन्दामुनि आँधीले कुनै क्षति पुर्याएको छैन ।
बारा–पर्साको भूमरीका बारे जल तथा मौसम विज्ञान विभागसमेत अन्योलमा छ । अध्ययन टोली बुधबारमात्रै बारा आइपुगेकाले अध्ययन–अनुसन्धान हुनै बाँकी छ ।
तर आँधीको प्रकृत हेर्दा टोरनेडोको अनुमान गर्न सकिन्छ । किनभने यसको लम्बाइ–चौडाइ लामो छैन । “छिमेकको टोललाई समेत असर गरेका छैन । आकाशबाट भुमरी आएजस्तो रुखपात बेरेर ल्याएको थियो,” देवान त्यस दिनको दृष्या वर्णन गर्छन् ।
खाद्यान्न होइन ओत आवश्यक
असिना–आँधीले ठुल्ठूला रूख समेत जरैदेखि पल्टाए पनि खेतमा थन्क्याउने बेला भइसकेको गहुँलाई कुनै असर पुर्याएका छैन । सङ्घ–संस्था र स्थानीय सरकारले चामल, दाल बाँडिरहेकाले गाँसको अभाव नरहेको देवान बताउँछन् ।
वर्षा नजिकिइसकेकाले तत्काल ओतको आवश्यकता रहेको उनी बताउँछन् ।
“सरकारले घर बनाइदिने भन्ने सुनेका छौँ । वर्षा लाग्न आँटिसक्यो, बनाइदिइहाले हुन्थ्यो । खानेकुरा त आइरहेको छ,” उनले थपे ।
त्यसबाहेक बस्तीको आवश्यकता हो– भाँडावर्तन । आँधीले घर भत्काएकाले भाँडावर्तन होइन, एक गेडो अनाज पनि निकाल्न पाएनन् उनीहरूले ।
यसर्थ खानेकुरा भए पनि केमा पकाउने अन्योलमा छन् उनीहरू ।
“अन्नसँगै भाँडाकुँडा, साबुन राहतमा ल्याइदिए, पीडितको उद्धार हुन्थ्यो,” देवान थप्छन् ।
अर्को बस्तीमा शौचालय पनि छैन । शौचालय नहुँदा बस्तीमा दुर्गन्ध फैलिएको र व्याधीको खतरा बढेको स्थानीय बताउँछन् ।
राहत वितरणमा मनपरि
गाउँ–गाउँमा सरकार हुँदा पनि राहत वितरण व्यवस्थित बन्न नसकेको गुनासो गाछीबासीले गरेका छन् । उनीहरूका अनुसार बस्तीका अधिकांश घाइते नेशनल मेडिकल कलेज भर्ना भएका छन् । घरका सद्दे मानिस उनीहरूकै कुरुवा बस्नु परेको छ ।
यसरी कुरुवा बस्न जाँदा राहत सामग्री नपाएको र गाउँपालिका अध्यक्ष र वडाका जनप्रतिनिधिले आफ्ना मान्छेलाई दोहोर्याइ–तेहेर्याइ दिएको गुनासो स्थानीयबासीको छ ।
उनीहरूले धुरी गनेर सबैका भागमा पर्ने गरी राहत वितरण गर्न सरोकारवाला निकायलाई ध्यानकर्षणसमेत गराए ।