site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बारा-पर्सामा आएको हुन्डरी के हो ? विज्ञ अझै अन्योलमा

काठमाडौं । हावा, हुरी र हुन्डरीको जोखिममा पहाड छँदैथ्यो । चक्रवात् शैलीको भूमरीले वर्षेनी पहाडका घर छानोविहीन बनाउँथ्यो ।

यसपाली मध्यतराईको बारा र पर्सा त्यो चपेटामा परेका छन् । आइतबार साँझ चलेको असिना–पानीसहितको भूमरीले बारा र पर्सामा २९ जनाको ज्यान लियो । झन्डै १ हजार घर भूमरीको मुख्य निशानामा परे । ५ सय घाइते अझै अस्पतालको शय्यामा छन् ।

तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले त्यो कुन प्रकारको आँधी थियो भनेर अहिलेसम्म यकिन गर्न सकेको छैन ।

“नेपालमा त्यसप्रकारको आँधी यसअघि देखिएको थिएन,” मौसमविद् विभूती पोखरेल भन्छिन्, “मिडियामा आएको समाचार हेर्दा त्यो टोर्नेडो (भूमरी) हुनसक्छ । यद्यपि त्यस प्रकारको आँधी पनि यसअघि नेपालमा आएको छैन ।”

चक्रवात होइन
चैत–वैशाख (प्रि–मनसुन)को समयमा मौसममा बदली भइरहन्छ । र, मेघगर्जनसहित असिना–पानी पर्छ, हुरी–बतास चल्न थाल्छ ।

सामान्यतः  बंगालको खाडी र अरेबियन सागरबाट आएको तातो वायु र पश्चिमबाट आएको चिसो वायु एक–आपसमा ठोक्किँदा आँधी–भूमरीको आकार लिने र विनासलिला मच्चाउने मौसमविद्को दाबी छ । यसर्थ आइतबारको आँधीको कारण यहीमात्रै मान्न नहुने तर्क पोखरेलको छ । 

“बारा–पर्साको आँधी सानो स्केलको भएकाले यही नै हो भनेर यकिन गर्न गाह्रो छ । त्यस प्रकृतिको आँधी यसअघि नदेखिएकोले विस्तृत अध्ययन गरेरमात्रै निक्र्यौल गर्नु उपयुक्त हुन्छ,” मौसमविद् राजु प्रधानाङ्ग थप्छन् । उनका अनुसार आइतबारको आँधीलाई ‘चक्रवात्’ भन्न मिल्दैन । ‘चक्रवात्’ विशेषतः बंगालको खाडी, अरेबियन सागरलगायत सामुद्रिक तटवर्ती क्षेत्रमा उत्पन्न हुन्छ । भारत हुँदै नेपाल प्रवृष्ट हुन्छ । र, यो ठूलो आकारको हुन्छ ।

‘‘अरेबियन सागरबाट जुन गतिमा बहन्छ, त्यही गतिमा नेपाल भित्रने हो भने त्यसले निम्त्याउने क्षति  अकल्पनीय हुन्छ । तर, नेपाल आइपुग्दा यसको शक्ति क्षीण भइसकेको हुन्छ । र, सामान्य आँधीको रूपमा मात्रै वायुमण्डलमा फैलन्छ,’’ उनले भने ।

टोर्नेडो पनि होइन 
आइतबारको आँधीलाई ‘टोर्नेडो’ प्रकृतिको भूमरीका रूपमा समेत कतिपय मौसमविद्ले अर्थ्याएका छन् । प्रधानाङ्गका अनुसार ‘टोर्नेडो’ आँधी बादलको माथिल्लो सतहमा उत्पन्न हुन्छ र ट्युव आकारमा भूमरी बन्दै तीव्र वेगसहित जमिनतिर फैलन्छ । विशेषतः अमेरिकामा यस प्रकृतिको आँधी जान्छ । भयानक विनास निम्त्याउँछ । ‘टोर्नेडो’ आँधी चलिरहने हुनाले अमेरिकी सरकारले केही क्षेत्रलाई ‘टोर्नेडो’ प्रभावित क्षेत्रसमेत नामाकरण गरेको छ ।

“टोर्नेडो आँधी अहिलेसम्म नेपालमा गएको छैन । जाने सम्भावना पनि आँकलन गर्न सकिँदैन,” प्रधानाङ्गले भने । खासगरी प्रि–मनसुनको समयमा स्थानीय वायु सक्रिय हुने मौसमविद्को भनाइ छ ।

विशेषतः अरेबियन सागरबाट आएको तातो वायु, पश्चिमबाट आएको चिसो वायु र स्थानीय वायुसमेत आपसमा रगडिँदा मेघ गर्जनसहित असिना खनिने र हुरीबतास चल्ने गर्दछ । सामान्यतः स्थानीय वायु अपराह्नपछि सक्रिय हुन्छ । बारा–पर्साको आँधी पनि यस्तै प्रकृतिको भएको मौसमविद् अनुमान गर्छन् ।

आँधीको तीन दिनपछि अनुसन्धान 
नयाँ प्रकृतिको, सानो स्केलको भूमरी चलेकाले आँधीको नामाकरण गर्न गाह्रो भएको पोखरेलको भनाइ छ । उनका अनुसार बुधबार (आज) जल तथा मौसम विज्ञान विभागको टोली बारामा अध्ययन–अनुसन्धानका लागि निस्किएको छ । विनासको प्रकृति र आँधीको फैलावट हेरेरमात्रै नामाकरण गरिने उनले जनाइन् ।

मौसमविद् प्रधानाङ्गका अनुसार नेपालमा यस प्रकारको आँधीको पूर्वानुमान गर्न सकिने यन्त्र–उप्रकरण–प्रणालीको विकास भइसकेको छैन । पश्चिमी वायु र अरेबियन सागरबाट आएको आँधीको पूर्वानुमान गर्न सकिए पनि स्थानीय वायुको उतारचढाव अनुमान गर्न सक्ने प्रविधि नेपाल भित्रिइसकेको छैन ।

यसैले पनि आइतबारको आँधीको पूर्वानुमान हुन नसकेको उनको भनाइ छ । यस्तो आँधीको पूर्वानुमान गर्न राडारको आवश्यकता पर्दछ । सुर्खेतमा मात्रै यस्तो राडार छ ।

विश्व बैंकको सहयोगमा २६ करोड लागतमा यो राडार बनिरहेको छ । र, परीक्षणको रूपमा यसले काम गरिरहेको छ । नेपाल सरकारलाई हस्तान्तरण गरिएको छैन । नेपाल सरकारलाई हस्तान्तरण नगरिएकाले त्यसको लाभ उठाउन सकिएको छैन एकातिर भने अर्कोतिर उक्त मौसमी राडारले २ सय किलोमिटर वरिपरिको मात्रै मौसमको पूर्वानुमान गर्ने क्षमता राख्छ ।

बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रूपमा सुर्खेत र दैलेखको सिमाना रातानाङलामा राडार जडान गरिएकोे हो । रातानाङला समुद्री सतहबाट २ हजार २४४ मिटर उचाइमा छ । जल तथा मौसम विज्ञान विभागकोे मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयले बताएअनुसार राडारले २ सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखिमबारे पूर्वानुमान गर्नेछ ।

“सुर्खेतको राडार भए पनि त्यसले बाराको आँधीको पूर्वानुमान गर्न सक्दैनथ्यो,” प्रधानाङ्गको भनाइ छ । अतः यस्तो आँधी, हुरी, बतास, असिना तथा मुसलधारे वर्षाका लागि प्रत्येक २ सय किलोमिटरको फरकमा यस्ता राडार राख्न सकिएमात्रै जोखिम कम गर्न सकिने प्रधानाङ्ग बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro