site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको भाउ पाँच वर्षयताकै उच्च, अमेरिकी अर्थतन्त्र र डलर कमजोर हुनु प्रमुख कारण

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी मुद्रा डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानु लगायत कारण सुनको भाउ उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज बिहीबार तोलाको ६० हजार ७ सय रुपैयाँ पुगेको छ । एकै दिन तोलामा ६ सय रुपैयाँ वृद्धि भएर छापावाल सुनको भाउ पाँच वर्षयताकै उच्च भएको हो । 

“शक्तिशाली राष्ट्र अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्दै जानु, अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै जाँदा अमेरिकीले सुनमा लगानी बढाउँदै लगेका कारण यसको भाउ उच्च हुँदै गएको हो,” महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बिहीबार बाह्रखरीसँग भने, “त्यसमाथि अमेरिका र चीनबीच जारी व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तोलामा एकै दिन ६ सय बढेर ६० हजार ७ सय रुपैयाँ पुगेको बिहीबारको भाउ पाँच वर्षपछिकै सबैभन्दा उच्च भएको महासचिव बज्राचार्यले बताए । अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार विवादमा फस्दै गएका कारण पनि सुनको भाउ उकालो लागेको उनको भनाइ छ । 

“यता छिमेकी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) पनि डलरको दाँजोमा कमजोर हुँदै गएको छ,” उनले भने, “यसबाट सुनको भाउ बढ्न बल पुगेको हो । तर, नेपाली बजारमा डलरको भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ जसको प्रभाव सुनको भाउ बढाउनमा परेको छ ।”

महासचिव बज्राचार्यले सुनको भाउ अझै केही दिन बढ्ने संकेत गरे । नेपालमा विवाहको सिजन (माघ–फागुन) नजिकिएका कारण सुनको भाउ बढ्दै गएको हो भन्ने प्रश्नलाई उनले ठाडै नकारे । “नेपाली बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका हुँदैन,” उनले भने, “तर, भारतीय बजारमा हुने उतारचढाले भने नेपाली बजारमा सुनको भाउ तलमाथि हुने गर्छ किनभने त्यहाँ दिनहुँ हजारौं किलो सुन बिक्री हुने गरेको छ ।”

उनका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

“सुनको भाउ तोलाको ५७ हजार रुपैयाँसम्ममा ओर्लियो भने माग केही बढ्न सक्छ,” महासंघका महासचिव बज्राचार्यले भने, “तर, नेपाली उपभोक्ता अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् । तत्काल भाउ घट्ने छनक भने देखिएको छैन ।”

महासंघका अनुसार हिजो बुधबार छापावाल सुन तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिन स्थिर रहेको भाउ मंगलबारको दाँजोमा २ सयले बढेको थियो । मंगलबार तोलाको ५९ हजार ९ सय थियो । गत आइतबार र सोमबार सुन ५९ हजार ८ सय रुपैयाँ थियो । त्यसअघि भाउ बढेर साढे दुई महिनायताकै उच्च भएर तोलाको ६० हजार ४ सय भएको थियो । त्यसदिन एकैचोटि तोलामा ८ सय रुपैयाँ बढेको थियो । भोलिपल्ट शुक्रबार भने ६० हजार ३ सयमा झरेको थियो । 

अघिल्लो साता शुक्रबारदेखि मंगलबारसम्म छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १ सयले घटेर ५९ हजार ६ सय भएको थियो । त्यस साता सोमबारदेखि आइतबारसम्म तोलाको ५८ हजार ८ सयमा कारोबार भएको थियो भने सोमबार ४ सयले बढेर ५९ हजार २ सय रुपैयाँ पुगेको थियो । मंगलबार यसमा थप २ सयले वृद्धि भई तोलाको ५९ हजार ४ सय पुगेको थियो ।

गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । 
त्यसैगरी तेजाबी सुनको भाउ पनि बिहीबार ६ सयले बढेर तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार तोलाकको ५९ हजार ८ सय थियो । गएको साता बिहीबार ८ सयले बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार १ सयले घटेर ६० हजार कायम भएको थियो । त्यसपछि आइतबार र सोमबार तोलाको ५९ हजार ५ सय तथा मंगलबार ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ७ सय ६५ कायम भएको छ । हिजो बुधबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय ५५ रहेको चाँदी सोमबार ७ सय ६० पुगेको थियो । गत आइतबार १० रुपैयाँले घटेर तोलाको ७ सय ५५ रुपैयाँ कायम भएको चाँदी त्यसअघि लगातार पाँच दिन तोलाको ७ सय ४५ रुपैयाँमा स्थिर रहेको थियो ।  

महासंघका अनुसार पुस २६ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस १९ मा ६० हजार ४ सय, २० मा ६० हजार ३ सय, २२ र २३ मा ५९ हजार ८ सय, २४ मा ५९ हजार ९ सय र पुस २५ मा ६० हजार १ सय रुपैयाँ थियो । 

 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १३:४८
प्रतिक्रिया दिनुहोस्