site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला पन्तः समकालीन जुरेलीको कथा

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हाम्रो समकालीन समाजकी विरोधाभासयुक्त विम्ब हुन् । व्यक्तिगतरूपमा सानाठूला घटना समाजमा हुनु अचम्म होइन । हत्या, बलात्कारजस्ता फौजदारी प्रकृतिका घटना कुनै पनि समाजमा हुनसक्छ ।

त्यसैले समाजले ती घटनाको वर्गीकरण, विश्लेषण र न्याय सम्पादनका लागि ऐनको कल््पना गरेको हुन्छ । तर, राज्य नै यस्ता घटनाको पक्ष वा विपक्षमा उभिनु भने स्वीकार्य हुन सक्तैन । साउन १०, २०७५ का दिन १३ वर्षकी बालिका निर्मला पन्तमाथि सभ्य समाजको कल्पनाभन्दा बाहिरको निन्दनीय प्रहार कसले गरेको हो भन्ने पहिलो प्रश्न हालसम्म पनि अनुत्तरित रहेको छ । यस पृष्ठभूमिमा निर्मला पन्त र उनीसँग जोडिएको न्यायको खोजीको विषयलाई अब कसरी हेर्नुपर्छ भन्ने चर्चा यस लेखमा गर्ने जमर्को गरिएको छ । एक दिनअगाडिसम्म राज्य सत्तासँग कुनै प्रकारको प्रत्यक्ष सम्बन्ध नभएको व्यक्ति पनि भोलिपल्ट राज्यको चिन्ताको केन्द्रीय विषय बन्न पुग्छ र राज्यका संयन्त्रले कुन हदसम्म दमनकारी भूमिका खेल्छ भन्ने निर्मला पन्तमार्फत प्रकट भएको छ । निर्मला पन्त एउटा दमनको आवाज भएकी छिन् र उनको हत्याको विषय समाजमा न्यायको खोजीमा शक्तिले गर्ने दमनको प्रतिनिधि घटना बन्न पुगेको छ ।

निर्मला पन्तको बलात्कारपछिको हत्याको प्रसंगसँग मिल्दो एउटा घटना ग्रिक पूराकथामा पाइन्छ । एथेन्सका राजा पान्डिएन र रानी जेउजिप्पीकी जेठी छोरी प्रक्नीको विवाह थ्रेसका राजा टरिएससँग भएको थियो । उनकी कान्छी छोरी एथेन्सीकी राजकुमारी फिलमिलाको कथा रोमन कवि ओभिडको ‘मेटामर्फाेसिस’ नामक काव्यमा सविस्तार वर्णन गरिएको छ । दिदी प्रक्नीले भेट्ने चाहना गरेपछि फिलमिलालाई थ्रेसमा बोलाइएको थियो । एथेन्सका राजलाई आफ्नी राजकुमारीलाई त्यता पठाउन मन लागेको थिएन । उनलाई केही अनीष्टको पूर्वााभास भएको थियो । कवि ओडिभले राजाको डरको बारेमा पनि काव्यमा चर्चा गरेका छन् । तर, जेठी छोरीको बहिनीलाई भेट्ने चाहनालाई टार्न उनले सकेनन् । फिलमिलालाई थ्रेस जाने अनुमति दिइयो । त्यस देशको जंगलको एकान्तमा टरिएसले आफूलाई नियन्त्रण गर्न सकेन । काम वासनालाई नियन्त्रणमा राख्न नसकेर फिलमिलाप्रति मोहित राजा टरिएसले उनलाई बलात्कार गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

घटना भइसकेपछि राजा टरिएसले फिलमिलालाई ‘‘जे भयो भयो, अब यस घटनाका बारेमा कसैलाई नभन्नू’’ भनेर सम्झाए । आफ्नो इच्छाविरूद्धमा आफूमाथि भएको यो घटनाका बारेमा आफू चुप लागेर नबस्ने फिलमिलाले बताएपछि राजाको क्रोधको सीमा रहेन । उनले फिलमिलाको जिब्रो थुतेर काटिदिए । अनि राजा ढुक्क भए । कामेच्छा तृप्त पनि भयो र इज्जत पनि जस्ताको तस्तै रह्यो । तर, जिब्रो काटिएकी राजकुमारीले एउटा पर्दामा आफूमाथि भएको अन्यायको कथा बुट्टाहरूमार्फत बुनिन् र दिदीलाई गोप्य रूपमा पठाइन् । बहिनीमाथि भएको यो बज्रपातले दिदी प्रक्नीलाई मर्माहत तुल्यायो । उनले यस्तो पाशविक प्रकृतिको अन्यायको बदला त्यस्तै ढंगबाट लिने विचार गरिन् । टरिएसबाट जन्मेको आफ्नो छोरा इटिजको मासुको परिकार बनाएर राजालाई भोजन गराइन् । भोजनको अन्त्यमा उनले आफ्नो छोराको टाउको राजालाई दर्शन गराइन् । राजाले आफ्नो छोराको मासुको भोजन गरेको थाहा पाएपछि अत्यन्त क्रोधित बने । उनले ती दिदीबहिनीलाई  बञ्चरो लिएर लखेटे । 

लामो समयसम्म लखेटेपछि राजाले दिदीबहिनीलाई दौलियाभन्ने ठाउँमा उनले झन्डै भेटेका थिए । भाग्न नसकेर प्रक्नी र फिलमिलाले भगवानको स्तुति गर्न पुगे । गति र सुरक्षाका लागि उनीहरूले चरामा रूपान्तरित हुने कामना भगवानसामु व्यक्त गरे । भगवानले प्रक्नीलाई गौथली, फिलमिलालाई जुरेली र टरिएसलाई फाप्रे चरामा परिवर्तन गरिदिए । त्यसैले गौथली र जुरेलीको भगिनीत्वलाई पश्चिमी मिथकले अहिलेसम्म पनि मान्छ । त्यस्तै पश्चिमी समाजमा अहिले पनि फाप्रे चराले निरन्तर रूपमा जुरेलीलाई लखेट्छ भन्ने मान्यता छ । 

Global Ime bank

दुई हजार वर्षअगाडि रोमन कवि ओभिडले प्रस्तुत गरेको मिथकले समकालीन नेपाली समाजको बारेमा पनि बोल्छ । हुनत निश्चित प्रवृत्तिहरू फरक स्वरूपमा मात्र देखा पर्छन् तर तिनको सार तत्त्व उही नै कायम रहन्छ । दुई हजार वर्षअगाडि लेखिएको भए पनि यो मिथकले इंगित गरेको समय लेखिएको समयभन्दा एक हजार वर्षभन्दा अगाडि वा त्यसभन्दा पनि अगाडिको हुन सक्छ । यसरी हेर्दा यस मिथकका घटना तीन हजार वर्ष पुराना हुन् पनि भन्न सकिन्छ । तर, समयको अन्तरालले घटनाको सार तत्त्वमा खासै फरक नपार्दाे रहेछ । यस अर्थमा मिथकहरूले देखाउने फरक समयका प्रवृत्ति समय कालक्रममा पटकपटक कुनै न कुनै स्वरूपमा दोहोरिरहने गर्छ । भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्त नै आधुनिक समयकी फिलमिला हुन्, उनी हाम्रो समयकी जुरेली हुन् भन्न सकिन्छ । 

हरेक युगमा हिंसा थोपर्ने र पीडितमाथि शक्तिको दमनात्मक प्रयोग गरेर चुप लगाउने प्रयास भएको हुन्छ । हामीले राज्यको कल्पना गर्दा जति नै न्यायको दृष्टिबाट गरे पनि सत्ताभ्यासी आफैँ व्यक्तिगत स्वार्थको वशमा परेको अवस्थामा न्यायको कल्पना दिवाःस्वप्नमात्र हुन पुग्छ । सत्ताले निर्मला पन्तको जिब्रो काट्यो । प्रशासनले उनको शरीर धोयो । नेतृत्वले उनलाई तिरस्कार गर्यो र एउटा महत्त्वहीन विम्ब बनाइदियो । हो, उनी कुनै पनि पर्दामा आफ्नो कथा उतार्न सक्दिनन् अब । उनीमाथि भएको अन्यायको प्रमाण समूल नष्ट गर्न राज्यको ऊर्जा संगठितरूपमा खर्च भयो । अदालतमा प्रस्तुत हुँदा पीडित व्यक्तिको अभावमा पनि हामीले घटनाको बारेमा बुझ्न सक्ने प्रमाण नष्ट भएको यस अवस्थामा उनलाई मौजुद कानुनी व्यवस्थाअन्तर्गत न्याय मिल्छ भन्नु भ्रममात्र हो । निर्मला पन्तका लागि न्याय माग्ने आन्दोलनको प्रमुख आशय यस्ता र यस्तै प्रकृतिका घटना फेरि पनि नदोहोरिउन् भन्ने हो । तर, सत्ता र उसका पक्षधरले यस प्रकारको आवाज उठाउनुलाई सरकारलाई अप्ठेरोमा पार्न खोजेर निहुँ झिकेको भनेर बुझ्दा सबैभन्दा खतरनाक प्रवृत्ति सुरू भएको आभास हुन्छ । सरकारलाई न्यायभन्दा अरू कुनै अभीष्टले गाँजेको अनूभूति हुन्छ ।

निर्मला पन्तका टरिएस को हुन् ? प्रशासनको लगाम हातमा बोकेर समाजमा हिंसाको वकालत गर्ने र पीडकलाई संरक्षणको छाता ओडाउने पक्षहरू को को हुन् ? हामीले राम्ररी केलाउनु जरूरी छ । त्यस्तै प्रक्नी र फिलमिला को हुन् ? फिलमिलाको जिब्रो किन टरिएसका लागि समस्या हुन पुग्यो? जिब्रो काटिएकी फिलमिलाले प्राचीन समयमा बोल्न सक्थिन् । किनभने उनीसँग अभिव्यक्तिको अप्रत्यक्ष अन्य तरिका थियो । सौभाग्यवश उनी जीवित थिइन । उनसँग अभिव्यक्तिका लागि भाषाभन्दा अर्काे तरिका पनि थियो । आफ्ना कथा पर्दाका बुट्टामा बुन्न सक्थिन्न् । तर, यहाँ त आधुनिक जुरेलीको रूद्रीघण्टी क्षतविक्षत पारिएको छ । समूलरूपमा प्रमाणहरू नष्ट गरिएका छन्, धोइएका छन् । संकलित प्रमाणले वैधता गुमाएका छन् । जनताको विश्वास न प्रमाण संकलनमा छ न त त्यसको विश्लेषणमा नै । के वर्तमान अवस्थामा टरिएसको अपराध स्थापित हुन सक्छ ? सबैभन्दा गम्भीर प्रश्न यही नै हो । 

एकपछि अर्काे गर्दै संभावित अपराधीहरूको शृंखला तयार हुन्छ । एक दुई प्रहरीलाई निलम्वन गरिन्छ, बर्खास्त गरिन्छ । फौजदारी अपराधीका बारेमा रक्षा मन्त्री वा प्रधानमन्त्री बोल्छन् । गृह मन्त्रालयले खासै चिन्ता व्यक्त गर्दैन । जनता राष्ट्रपतिको मौनबारे प्रश्न उठाउँछन् । अनि प्रहरी महानिरीक्षक आफैँ गएर अपराधीलाई केरकार गर्छन् । मिडिया यसरी केरकार गरिएका व्यक्ति कुखुरा चोर भएको समाचार सार्वजनिक गर्छ । त्यसपछि सुरू हुन्छ प्रशासनको अर्ति उपदेश । प्रहरीलाई हामीले कसरी बुझ्नु पर्छ, ? प्रहरीको काम कुन प्रकृतिको हो जस्ता र अनेकौं विषयमा प्रशासनको प्रवचनबाट जनतालाई नैतिक मर्यादाको शिक्षा दिने नेतृत्वले तिनीहरू मनोज गजुरेल र सीताराम कट्टेलको प्रहसनका पात्रभन्दा बढी हाँसो लाग्ने प्रस्तुति दिइरहेछन् भन्ने हेक्का राख्न सक्तैन । यही कारणले बलत्कारपछिको हत्याको यो मुद्दा नै जनताको दृष्टिमा राज्यले गरेको क्रुर मजाकका रूपमा स्थापित हुन पुगेको देखिएको छ ।

कुनै फौजदारी किसिमको घटना भइसकेपछि त्यसको यथार्थ विवरण तयार गर्नु राज्यको दायित्व हो । निर्मला पन्तको मुद्दामा सरकारले यो दायित्व बहन गर्न सकेको देखिएन । प्रमाण नष्ट भएको अवस्थामा अब जुरेलीको गीत बन्नु असंभव छ वा सो गीत बने पनि त्यसमा कुनै वैधता कायम नहुने स्पष्ट भइसकेको छ । हालको अवस्थामा नेपाल प्रहरीको अनुसन्धानबाट निर्मला पन्तको मुद्दामा न्याय मिल्दैन भन्ने कुरा प्रष्ट भइसकेको छ । तसर्थ, यस मुद्दामा प्रहरीलाई अझै अनुसन्धान गर्न दिनु टरिएसको बञ्चरोमा थप धार लगाउनु हो । यस्तो बञ्चरो जुरेलीका लागि झनै पीडादायी हुन्छ । 

निर्मला पन्तलाई न्याय दिने हो भने प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान हुनुपर्छ । नेपालको मौजुदा ऐन, कानुनले प्रमाण नष्ट गर्नेमाथि के कस्तो प्रकारको कारबाहीको व्यवस्था गरेको छ विचार गरी यस्तो व्यवस्थाको अधिकतम कारबाहीका लागि प्रशासनिक प्रयास भयो भने एक प्रकारको अप्रत्यक्ष न्यायको आशा गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने लगभग पाँच महिनासम्म प्रहरीको नजरबाट बचेर यस मुद्दामा अलप हुनसक्ने टरिएस अत्यन्त शक्तिशाली व्यक्ति हो । अब अपराधी हो भनेर जुनै पनि व्यक्तिलाई प्रस्तुत गर्दा पनि शंका लाग्ने अवस्था भइसकेको हुनाले जसले प्रमाण नष्ट गरेको हो त्यसलाई नै सम्पूर्ण उद्योगका लागि जिम्मेवार बनाउनुपर्ने देखिन्छ । यसको अनुसन्धान न्यायिक समिति वा संसदीय समितिले गर्नुपर्ने अतिआवश्यक भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement