site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राणाविरोधी आन्दोलनमा थापाथली दरबारबाटै पर्चा निस्कन्थ्यो
SkywellSkywell

बम्बईमा बसेर अर्थशास्त्र विषयमा एमए गरेपछि उनी वि.सं. २००५ सालमा कलकत्ता  फर्किए । उनका पिताजी तथा मुमा स्वास्थ्य उपचारका लागि काठमाडौंबाट कलकत्ता पुगेका थिए । त्यसैले पनि उनी कलकत्ता नै गए । कलकत्ता बसाईकै क्रममा उनको भेट राजनीतिज्ञ सूवर्ण शमशेर र महावीर शमशेरसँग भयो । 

बम्बईमा रहँदा भारतको स्वतन्त्रता आन्दोलन उत्कर्षमा थियो । दैनिक ‘इन्कलाब जिन्दाबाद’को नारा गुञ्जिरहन्थ्यो । सधै सुनिरहेको यो नाराबाट उनी अत्यधिक प्रभावित भए । त्यसैले नेपालको प्रगतिकालागि केही गर्नुपर्छ भन्ने सोच उनमा बढेर गयो । 

तर ‘यसकालागि जहानिया शासनको अन्त्य आवश्यक रहेको र नेपालमा प्रजातन्त्रको आन्दोलन बलिरहेको’ तथ्य उनले सूवर्ण शमशेरबाट थाहा पाए । काँग्रेस नेता सूवर्णले उनलाई यस विषयमा ‘कन्भिन्स’ गरे । भारतीय स्वतन्त्रता आन्दोलनलाई नजिकैबाट देखेका उनले आफूलाई त्यही मार्गमा अगाडि बढाए । अनि, तत्कालिन काँग्रेसको सदस्यता लिए । 

KFC Island Ad
NIC Asia

\"\"

नेपाल सरकारका प्रथम अर्थ सचिव तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणा (९२) सँग थापाथलीस्थित उनकै निवासमा पुराना कुरा उधिन्दा आफूले वि.सं. २००७ सालको क्रान्तिमा सहयोग गरेको प्रसंग सुनाउँदै थिए । उनले सम्झिए २००५ सालको त्यो समय र सन्दर्भ, “मैले कांग्रेसको सदस्यता लिएपछि मैले मेरो बुबालाई ‘कन्भिन्स’ गरेँ । उहाँ पनि काँग्रेस सदस्य बन्नुभयो । मेरा काकाहरुलाई पनि कन्भिन्स गरेँ । उहाँहरु पनि काँग्रेस पार्टीको सदस्य हुनुभयो । यसरी एउटा कठिन मार्गमा हामी होमियौं । यसरी हेर्ने हो भने, यो तत्कालिन परिवेशमा देशद्रोह नै थियो होला ! यद्यपि, हामी प्रजातन्त्रका लागि केही गर्ने मानसिकतामा पुगिसकेका थियौ. । वास्तवमा यो अवस्था आउनुमा बम्बईमा सुनिएको ‘इन्कलाब जिन्दाबाद’को नाराले पनि ठूलो भूमिका खेलेको थियो ।”

Royal Enfield Island Ad

\"\"

यसरी हिमालय शमशेरलगायत उनका परिवारका केही सदस्यहरु काँग्रेसको सदस्य भएपछि अब के गर्ने ? भन्ने कुरो उठ्यो । उनीहरुले नेपालमै रहेर राणा विरोधी आन्दोलनलाई सघाउ पुर्‍याउने बाटो अपनाए । त्यस पछि कलकत्ताबाटै नेपाली टाइपराइटर, साइक्लोस्टाइल डुप्लिकेटिङ्ग मेसिन, त्यसका लागि आवश्यक कागज र मसी, सबै खरीद गरियो । र, हिमालय शमशेरहरुले ती सबै सामानहरु अनेक गरेर नेपाल भित्र्याए । उनीहरुलाई राणा विरोधी पर्चा बनाएर बाँड्ने जिम्मेवारी दिइएको थियो । यसका अतिरिक्त राणा शासकका विरुद्ध आम नागरिहरुलाई आफ्नो पक्षमा पार्ने काममा पनि लाग्नु थियो । यो कठिन कार्य लिएर हिमालय शमशेर काठमाडौं भित्रिए । र,सुरु गरे आफ्नो जिम्माको काम । 

थापाथली स्थित हिमालय शमशेरका पिताजीको दरबारको एउटा कोठामा सारा सामान राखिएको थियो । हिमालय शमशेर हातले पर्चा लेख्थे । उनकी मुमा नेपालीमा टाइप गर्थिन् । एक पेज टाइप गर्न पनि पाँच सात घण्टा लाग्दथ्यो । किनभने टाइप गर्न आउँदैनथ्यो । अक्षर खोजीखोजी  टाइप गर्नु पर्दथ्यो । र त्यसको साइक्लोस्टाइल कपी निकालेर तयार पर्चा बाहिर आन्दोलनकारीका बीचमा पठाईन्थ्यो । 

त्यसो त राणा शासनको समयका गुप्तचरहरु एकदमै कडा थिए । तर पनि थापाथली दरबारबाटै पर्चा बाहिरिएको कसैले सुइको पनि पाउन सकेनन् । यसरी डुप्लीकेटीङ्ग मेसीनमा हालेर साइक्लोस्टाइलको प्रिन्ट निकाल्दा धेरै कागज खेर जान्थ्यो । त्यो खेर गएको कागज अरु कसैको हात लागे कुरो बिग्रिन सक्थ्यो । त्यसैले बिग्रिएका कागजहरु र काम नलाग्ने सामान सबै दरबारकै बाथरुममा जलाइन्थ्यो । खरानी फ्लस गरेर बगाइन्थ्यो । 

ढोका थुनेर काम गर्दा पनि धुवा रोकिने कुरा थिएन । धुवाँ बाथरुमबाट बाहिर निस्किन्थ्यो नै । त्यसैले धुँवाको चर्चा एकपटक सिंहदरबारसम्मै पुग्यो । राणा भन्छन्, “एकपटक मेरो बुबालाई प्राइममिनिस्टरले सोध्नु भएछ,  ‘तिम्रो घरबाट दिउँसो दिउँसो धुवाँ निस्किन्छ, किन हँ ?’ भनेर । पिताजीले त्यसै टार्नुभएछ । तर कसैले त्यहाँबाट पर्चा पम्पलेट छापेर जनताका माझ पठाइन्छ भनेर शंका गर्न सकेनन् ।”

\"\"

पर्चाकै शंकामा एकपटक तोरण शमशेर, सुन्दराज चालिसेहरु पक्राउ परेका थिए, तर कुरो खुलेन । 

सजिलो थिएन यो काम । राज्यद्रोहको मुद्दा लाग्न सक्थ्यो । तर हिमालय शमशेरहरुले प्रजातान्त्रिक आन्दोलनको पक्षमा काम गरिनै रहे । यदि कुनै काम विशेषले सूवर्ण शमशेरसंग कलकत्ता सम्पर्क गर्नुपर्ने अवस्था आयो भने भारतीय दूताबास पुगेर ‘राजन’लाई फोन लगाइ दिनुस् भन्थे । अनि दूताबासका अधिकारीले सूवर्ण शमशेरलाई फोन लगाई दिन्थे र कुराकानी हुन्थ्यो । सूवर्ण शमशेरको छद्म नाम वा राजनीतिक नाम ‘राजन’ भएको उनी सुनाउँदै थिए । 

तत्कालीन राजा त्रिभुवन भारत जाने खवर हिमालय शमशेर र उनी आवद्ध व्यक्तिहरुलाई थाहा थिएन । तर, कुनै ठोस र ठूलै कदम चालिँदै छ भन्ने विषयमा भने जानकारी थियो । जब त्रिभुवन भारतीय राजदूताबास पुगे र भारत तर्फ गए, त्यस पछि सिंहदरबारको चोकमा भेला हुनेगरी भाइ भारदार, साहु महाजन, सन्त महन्थका नाममा इस्तिहार जारी गरियो । करिब पाँच सयको भीड थियो, सिंहदरबारको चोकमा । त्यो भीडमा श्री ३ प्राइममिनिष्टरले राजा त्रिभुवन भारततर्फ गएको बताएर अब के गर्ने ? भन्ने प्रश्न उठाए । त्यहाँ रहेका दुई चार जनाले ‘यसरी देशको नाम बदनाम गर्ने राजालाई गद्दीच्युत गर्नु पर्छ’ भन्ने कुरोमा जोड दिए । त्यसपछि लौ त भनेर त्रिभुवनलाई गद्दीच्युत गर्ने र बालक ज्ञानेन्द्रलाई राजा बनाउने कुराको निर्णय त्यहीँबाट गरियो ।

\"\"

त्यो भीडमा हिमालय शमशेर र उनका परिवारका सदस्यहरु पनि थिए । त्यहाँ सादा कागजको व्यवस्था गरियो । श्री ३ को निर्णयको समर्थनमा उपस्थितहरुलाई दस्तखत गराउन थालियो । तर, हिमालय शमशेर र नेपाली काँग्रेसको आन्दोलनमा आवद्ध उनका परिवारका सदस्यहरुले यो निर्णयमा सही गरेनन । 

हिमालय सम्झन्छन् त्यो क्षण, ‘‘हाम्रो जमात अर्थात म, मेरो बुबा लक्ष्मण शमशेर, वसन्त शमशेर, ढुण्डिराज शमशेरहरुले त्यो कागजमा सही गरेनौं । यसरी हामीले सही नगर्दा उनीहरु चकित परे । तहल्कै मच्चियो । तर परिवर्तित परिस्थिति भएकोले उनीहरुले हामी उपर कारवाही गर्न भने सकेनन् ।’’  

अन्ततः प्रजातान्त्रिक आन्दोलन सफल भयो । मुलुकमा प्रजातन्त्रको घोषणाका साथै राणा र काँग्रेसको संयुक्त सरकार बन्ने निर्णय भयो । मोहन शमशेर प्रधानमन्त्री बन्ने भए । तर हिमालय शमशेरहरुले एउटा कुरोमा अत्तो थापे । उनीहरुले मोहन शमशेरमाथि सबै भाइ भारदारहरुको श्रद्धा नभएको भन्दै मोहन शमशेर प्रधानमन्त्री भएपनि मन्त्रीमण्डलमा भाइ भारदारहरुको प्रतिनिधित्व गर्ने विषय भने चुनावी प्रकृयाबाट हुनुपर्ने दवाव दिए । प्रधानमन्त्रीले मनोनयन गरेर मात्र हुँदैन भन्ने कुरोलाई अगाडि बढाए । यसका लागि हिमालय शमशेर र उनका सहयोगीहरुले रोलवाला, ए, बी र सी सबै क्लासका गरेर करिब १ सय २० जना राणाजीहरुको दस्तखत गराए । त्यो दस्तखत गरिएको कागज राजा त्रिभुवनका समक्ष पुर्‍याइयो । 

त्यसैको परिणाम थियो, निर्वाचन प्रकृयाबाट नृपजङ्ग राणा र यज्ञबहादुर बस्नेतको मन्त्री पदमा नियुक्ति । मोहन शमशेरले बबर शमशेर, सिंह शमशेर र चुडाराज शमशेरलाई सरकारमा मनोनयन गरे ।

हिमालय शमशेर भन्छन्, ‘नृपजंङ्ग राणा र यज्ञबहादुर बस्नेत निर्वाचन प्रकृयाबाट तत्कालिन मन्त्रीमण्डलमा समावेस भए । यी दुबै हाम्रो विरोध र दवावका कारण निर्वाचन प्रकृयाबाट सरकारमा सामेल भएका थिए । यो कुरो इतिहासमा कतै उल्लेख भएको छ भन्ने मलाई लाग्दैन । इतिहासमा कुनै बेला पक्कै पनि लेखिएला । यो सन्दर्भ मेरो किताबमा पनि लेखेको छु ।

वि.सं. २००७ सालको युगान्तकारी राजनीतिक परिवर्तन पछि हिमालय शमशेर निजामती सेवामा गए । उनले राजनीति छोडे र अर्थ मन्त्रालयको अधिकारीकारुपमा कार्यभार सम्हाले ।

\"\"

०००

हिमालय आफैमा पृथक नाम थियो । आफ्ना पिताजीले यो नाम दिएकोले आफ्नो पहिचान पनि पृथक भएको विश्वास गर्छन्, हिमालय शमशेर ।  उनको बाल्यकाल थापाथलीकै सेरोफेरोमा बित्यो । उनी थापाथली दरबारमै जन्मिए । हुर्किए । उनी श्री ३ प्राइममिनिष्टर देव शमशेरका पनाती हुन् । उनले काठमाडौंमै पढे । उनको पढाई दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट भयो । उनले वि.सं. १९९९ सालमा एसएलसी पास गरे । त्यस पछि त्रिचन्द्र कलेजमा आइए पढ्न भर्ना भए । 

दरबार हाइस्कूलमा पढे पनि उनका पिताजीले दरबारमै पनि ट्युसन पढाउन केही शिक्षकको व्यवस्था गरिदिएका थिए । उनलाई अंग्रेजी रामप्रसाद मानन्धरले, भैरवबहादुर प्रधानले इतिहास र नेत्रबहादुर थापाले जोग्राफीको ट्युसन पढाएका थिए ।  

थापाथली दरबारमै एउटा चौर पनि थियो । त्यही उनी साथीहरुसित फूटबल खेल्थे । फूटबल खेल्न दरबारको चौरमा नयाँसडकका केटाहरु पनि आउने गरेको उनलाई सम्झना छ । वरपर, छरछिमेकका साथीहरु आउने नै भए । खुबै रमाइलो गर्थे उनीहरु । 
उनी दरबार हाइस्कुल पढदाको कुरा सम्झन्छन्, ‘म यहाँबाट दरबार हाइस्कुल पैदल नै जान्थेँ । सजिलो थियो बाटो । बीचबाट भद्रकाली निस्किने बाटो थियो । ब्याण्डघर भनिन्थ्यो त्यसलाई । त्यही बाटो भएर म स्कूल र कलेज जान्थें । अहिले त्यो बाटो सेनाको कब्जामा छ ।’ 

उनको हिँड्ने बानी थियो । हिँड्न अल्छी मान्दैनथे । पहिलेपहिले ठूलो एकादशीका दिनमा कतिपयले हिँडेरै चार नारायणको दर्शन गर्ने गरेको उनी सुनाउँदै थिए ।  एसएलसी पास गरेपछि जब उनले त्रिचन्द्र कलेज ज्वाइन गरे, त्यस पछि कहिले काँही घोडामा चढेर जान थाले कलेज । त्यसबेला  थापाथली दरबार धेरै फराकिलो थियो । उत्तर तिर बबर शमशेरको बबर महल थियो । दक्षिण तर्फको जग्गा हिमालय शमशेरको परिवारको थियो । पछि त्यहीँ बीचबाट सडक निस्कियो । जसलाई अहिले माइतीघर भनेर चिन्छन् । 

काठमाडौंको सुन्दरताको बयान शब्दमा गर्न सकिन्न । धेरै राम्रो स्वच्छ र सुन्दर थियो काठमाडौं । हिमालय शमशेरले धेरै मुलुक घुमे । तर उनले काठमाडौं जस्तो शहर कहीँ देखेनन् । काठमाडौं हरेक दृष्टिले हिराको टुक्रा भएको उनको भनाई छ । 

यही हिराको टुक्रामा उनको जीवन व्यतित हुँदै थियो । शासकीय शान सौकत थियो नै । बिलाशी जीवन शैली थियो । त्यसै बीच उनले इतिहास, संस्कृत र अर्थशास्त्र लिएर आईए पास गरे । त्यसो त उनका पिताजीको चाहना उनले विज्ञान विषय लिएर पढिदिए हुन्थ्यो भन्ने थियो । तर गणितमा कमजोर भएकोले उनले आर्ट्स नै पढे । 

\"\"

तर उनको पिताजीलाई चित्त बुझेन् । उनका पिताजीले हिमालय शमशेरलाई कमर्श (बाणिज्य शास्त्र) पढ्न बम्बई पठाए । उनी बम्बई पुगे । सिडेन ह्याम कलेजमा कमर्श पढ्न भर्ना हुने प्रयास गरे । तर त्यो नाम चलेको कलेजमा उनको भर्ना हुन सकेन । आर्ट्स्बाट कमर्श फ्याकल्टीमा जान नपाइने भएकोले उनले बीकम पढ्न पाएनन् । युनिभरसिटिको नियम उनको पढाईको बीचमा तगारो बन्यो ।  

कुराकानीकै क्रममा हिमालय शमशेरको मुहारमा चमक आयो । उनी भन्नथाले, “बम्बई पुगीसके पछि फर्कने कुरो भएन । मैले त्यहीँ सेन्ट जेभियर कलेजमा अंग्रेजी भाषा लिएर बीए पढ्न सुरु गरेँ । मलाई भाषा विज्ञानमा रुची थियो । तर त्यहाँ भाषा विज्ञान लिएर पढ्दा थप अर्को भाषा पनि पढ्नु पर्ने भयो । र मैले संस्कृत विषय लिएँं ।”

यसरी अंग्रेजी र संस्कृत लिएर उनले बीए पास गरे । उनले बीएमा गीता पढ्नु पर्दथ्यो । गीताकोे विषयमा जाँच नै पनि दिनु पर्दथ्यो । गीताको दर्शनको अथाह ज्ञान उनलाई बम्बईमै मिल्यो । यसरी उनको जीवनमा बम्बईले ठूलो परिवर्तन ल्याईदियो । जसलाई आफ्नो जीवनको महत्वपूर्ण मोड मान्दछन् हिमालय शमशेर । 

उनी भन्छन्, “गीता दर्शनको धेरै छाप पर्‍यो ममा । यसले मलाई धेरै अभिप्रेरित गर्‍यो । मेरो जीवनको गाइडिङ्ग प्रिन्सिपल नै गीताको दर्शन बन्यो । अर्को कुरो, म शासक वर्गको परिवारमा हुर्किएको, बिलाशी जीवन भोगेको केटो थिएँ । मलाई बम्बईले ‘कमनर’ (सामान्य नागरिक)मा परिणत गरिदियो । र, त्यहीँ नै मैले भारतीय स्वतन्त्रता संग्रामलाई नजिकबाट नियाल्ने मौका पनि पाएँ । त्यहीँ मलाई इन्कलाब जिन्दाबादको नाराले प्रभावित बनायो ।  वास्तवमा बम्बईले मलाई साधारण मात्रै बनाएन, सामाजिक न्यायको आवश्यकताबारेमा पनि बोध गरायो । यो मेरो जीवनको महत्वपूर्ण घुम्ती भन्ने मलाई लाग्छ ।” 

पिताजीको इच्छापूर्तिका लागि बम्बई पुगेका उनको दिनचर्यामा ठूलो परिवर्तन आयो । जुत्ताको तुना, भोटोको तुनासमेत अरुले नै बाँधिदिनु पर्ने परिवारका यी युवाले जीवनका सुक्ष्मभन्दा सुक्ष्म ज्ञान हासिल गर्दैगए । होस्टलमा बसे । किताबको रास हातमा बोकेर कलेज गए । सार्वजनिक सबारी साधनमा चढेर दैनिक यात्रा गरे । फलतः शासकीय र बिलाशी संस्कृतिमा पलेबढेका उनी आम नागरिकका रुपमा परिणत भए । 

त्यसैबेला भारतीय स्वतन्त्रता आन्दोलन तिव्ररुपमा चल्दै थियो । नेहरु, गान्धी तथा कृपलानीले भाषण गर्थे । उनले त्यो भाषण पनि सुने । सडकमा हरेक दिन गुञ्जिने ‘इन्कलाब जिन्दाबाद’का नारा सुने । बेलाबेलामा हुने गरेको दंगालाई पनि नजिकैबाट हेरे । 

बीए पास गरेपछि उनी काठमाडौं आए । बीए पास भएर आएकोले प्राइममिनिष्टरकोमा दाम राखेर दर्शन गर्न जानु पर्दथ्यो । उनी प्राइममिनिष्टरका अगाडि पुगे । पद्म शमशेर प्राइममिनिष्टर थिए । उनले सोधे हिमालयलाई, ‘के पढ्या ?’ उनले भने ‘इँगलीस’ । पद्म शमशेरले भने, ‘काम लाग्दैन् । इकोनोमिक्स पढ् ।’ 

\"\"

उनी बम्बई फर्किए । र, अर्थशास्त्र लिएर एमएमा भर्ना भए । केही वर्ष पछि उनी इकोनोमिक्समा मास्टर्स गरेर कलकत्ता फर्किए । 

०००

उनको जीवनको त्रासदीपूर्ण घटना हो, वि.सं. १९९० सालको महाभूकम्प । त्यसले हिमालय शमशेरलाई धेरै कालसम्म पनि त्रसित तुल्यायो । अलिकति पनि झुण्डिएको बल्बको तार हल्लिएको देख्यो कि उनी सबैलाई छोडेर बाहिर निस्किन्थे । त्यो भुईंचालो आउने दिन उनी र उनका समवयी आफन्त क्यारेमबोर्ड खेलीरहेका थिए । उनी जम्मा ६ वर्षका थिए । क्यारेमबोर्ड खेल्दाखेल्दै उनीहरुलाई असहज भयो । हैन यस्तो किन भइरहेको छ भनेर सोच्दा सोच्दै सर्बत्र हल्लिन थाल्यो । थापाथली दरबारको कौसीमा महिलाहरु अर्थात हिमालय शमशेरका मुमा  र अन्य महिलाहरु निस्केर राम राम भन्न थाले । कोकोहोलो मच्चियो । हिमालय पनि उतै दौडिए । 

त्यही समयमा संगैरहेको खड्ग शमशेरको दरबार गर्लम्मै ढल्यो । धुलोको मुस्लो उठ्यो । ‘मरे बाबा’को त्रासपूर्ण स्वर सुनियो । तर थापाथलीको मूल दरबार भने भत्किएन ।  अर्को पटक पनि भुकम्प आउँछ भनेर थापाथली दरबारको जंगली बँगैचामा उनका पिताजीहरु आएर बसे । उनका पिताजी र ठूलो बुबाले बँगैचामै पाल टाँगेर घर जस्तो बनाए । पछि मात्रै त्यहाँ कच्ची बंगला बन्यो । 

\"\"

हिमालय शमशेर भन्छन्, “मेरो बिहे भएर केटाकेटी भइसक्दा पनि ममा भुइँचालोको त्रास रहिरह्यो । सानो भुइँचालोमा पनि म बाहिर भाग्थेँ । पछि मैले यो अहिले बसीरहेको घर बनाउँदा भूकम्प प्रतिरोधक घर बनाएँ । यो घर सन १९७२ मा बनाएको हुँ ।”

०००
राणा खलकको भएकै कारण हिमालय शमशेर १६ वर्षको उमेरदेखि नै लेफ्टीनेन्ट कर्णेल भएका थिए । तर जब मुलुकमा प्रजातन्त्र आयो, उनी निजामती सेवामा प्रवेश गरे । त्यसबेला सूवर्ण शमशेर अर्थमन्त्री थिए । उनले अर्थ मन्त्रालयमा इकोनोमिक्समा एमए गरेका वा कमर्श लिएर एमकम गरेका युवा मन्त्रालयमा राख्ने निधो गरे । त्यसबेला त्यो योग्यता भएका चार जना मात्रै रहेछन्, नेपालमा । हिमालय शमशेर, प्रशिद्ध नरसिंह र लिलाप्रसाद लोहनीले अर्थशास्त्रमा एमए गरेका थिए भने कृष्णराज राजभण्डारीले एमकम गरेका थिए । यी चारै जना २००७ साल फागुनको अन्तिम तिर अर्थ मन्त्रालयमा बराबरी हैसियतमा काम गर्नेगरि नियुक्त भए । 

तर २००८ सालको असारसम्ममा हिमालय शमशेरको काम गराई अरुकोभन्दा राम्रो भएकोले उनी अर्थ सचिब बनाइए । त्यसबेला उनको उमेर २५ वर्षको थियो । उनी अर्थ मन्त्रालयका प्रथम सचिब थिए । 

यसरी अर्थ सचिवको जिम्मेवारी पाएपछि उनले आफ्नो कार्य क्षमतामा बिस्तार गर्दैै गए । अर्थ सचिव भएको बेलामा मुलुकको आर्थिक पद्दतीलाई लिकमा ल्याउन धेरै कामहरु गरे । जनताको हितमा काम गरे । तर पछि उनलाई लाग्यो मुलुकको समग्र आर्थिक विकासका लागि अझै पनि जान्नु बाँकी नै छ । त्यसैले उनी अर्थ सचिव भएको चार वर्ष पछि थप तालिम र अवलोकन अध्ययनका लागि विदेश गए । उनले धेरै ठाउँ घुमे । हेरे । बुझे । सिके । 

उनी भन्छन्, “म एक वर्ष बाहिर बसेर आउँदा अर्थ सचिव अर्कै भइसकेका थिए । म जगेडामा परेँ ।”

केही समय उनी खाली नै बसे । त्यसै बेला सरदार गुन्जमानले उनलाई राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गर्न लागेको बताए । र, बैंकको गभर्नर पदमा रहेर काम गर्न प्रस्ताव गरे । उनले पनि नाई भनेनन् । 

\"\"

त्यसपछि उनले र उनका सहयोगीहरु   गोविन्दप्रसाद लोहनी, विश्वनाथ उपाध्याय र विष्णुप्रसाद धिताल भएर नेपाल राष्ट्र बैंकको ऐनको मस्यौदा तयार गरे । अन्ततः २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । हिमालय शमशेर पहिलो गभर्नर नियुक्त भए । 

त्यतिबेला गभर्नरको काम चुनौतिपूर्ण नै थियो । तर पनि उनले त्यो चुनौति स्वीकार गर्दै काम गरे । साना साना विषयहरुको अध्ययन गरे । तराईको कुना कुना घुमेर भारु (कम्पनी) रुपैयाको ठाउँमा कसरी नेपाली रुपैयाँलाई स्थापित गर्न सकिन्छ भन्ने विषयमा व्यापक अध्ययन गरे । अन्तमा उनले नेपाली नोटको निस्कासन गरेर त्यसलाई नेपालको कुनाकुनासम्म पु¥याए । त्यस पछि चारैतिर नेपाली रुपैयाँ चल्न थाल्यो । भारतीय मुद्राको कारोबार कम हुँदै गयो । 

हिमालय शमशेर भन्छन्, “यो काम सजिलो पक्कै पनि थिएन । तथापि हामी सफल भयौं । नेपाली नोट प्रचलनमा आइसकेपछि तराईका मानिसहरुले मलाई भने पनि यतिबेला हामीहरुले आफू नेपाली नागरिक भएको अनुभूत गर्दैछौं । हामीले आफ्नो मुद्रा प्रयोग गर्दैछौं  । यो सुनेपछि मलाई अथाह खुसीको अनुभव भयो । त्यो खुशी म आजपनि अनुभव गर्छु ।”

सायद त्यसैले पनि होला, आज पनि हिमालय शमशेरको पहिचान पहिलो अर्थ सचिवकोभन्दा पहिलो गभर्नरका रुपमा नै बढी रहेको छ । 
गभर्नरबाट हटेपछि उनी २४ वर्ष संयुक्त राष्ट्र संघको जागिरमा संलग्न भए । त्यसपछि नेपाल फर्किए । उप्रान्त उनले गोर्खा ब्रुअरीको स्थापना गरे । त्यो पनि छाडे । र, पछि हिमालयन बैंकको स्थापना गरे । आज पनि उनको कर्मशीलतामा कुनै कमि आएको देखिँदैन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro