उनी आफ्नो दृष्टिबिन्दुमा सधैं दृढ रहेको दाबी गर्छन् । आफूलाई जिम्मा लगाइएको कामलाई पूर्णता दिनु उनको कर्तव्य हुन्थ्यो । त्यसैले शाखाअधिकृत हुँदाको अवस्था होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएको स्थिति, उनले कामलाई नै महत्व दिए । कामप्रतिको अति लगनशीलताले नै उनलाई विवादको घेरामा पनि पुर्यायो ।
कृषि मन्त्रालयको सचिवसमेत रहेका सूर्यनाथ उपाध्याय (७५)ले पाँच वर्षे अवधि पुगेपछि अनिवार्य अवकाश पाए । त्यसपछि उनले दुई वर्ष कानून सम्बन्धी काम गरे ।
सही र सार्थक काम गर्न चाहने उपाध्यायलाई अख्तियारमा नियुक्त गरिने चर्चा चल्दै थियो । उनी अख्तियारमा जाने मनस्थितिमा थिएनन् । आफूले थालेको कानूनी कन्सल्टेन्सीको काममै उनी सक्रिय रहन चाहेका थिए ।
पुराना दिन सम्झिने इच्छा कसलाई हुँँदैन र ! उपाध्याय अपवाद थिएनन् । उनले भने, “मनस्थिति नभए पनि चर्चा चुलिँदै गएपछि मलाई लाग्यो, केही गर्नैपर्छ । यसमा दबाब त आउला । तर माने न दबाब आउने हो, नमान्दा दबाब आउने कुरै हुँदैन । मैले नमानेपछि मलाई जबरजस्ती कसले गराउन सक्छ ? मेरो नेचर पनि कडा नै थियो । त्यसैले पनि मलाई अख्तियार प्रमुखमा पुर्याइएको हो ।”
उनले कसैको दबाब नसहने र आर्थिक शुभलाभका कुरामा चोखो रहने दृढ निश्चय गरे । यही निश्चयले उनलाई अख्तियारको प्रमुखमा सफल बनाएको थियो । उनलाई अख्तियारको स्टियरिङ सुम्पिएका थिए, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले । अनि यही दृढताले उनलाई त्यो पदमा छ वर्षसम्म काम गर्न सहज तुल्याएको थियो ।
राजा ज्ञानेन्द्रको समयमा भने उनलाई केही तनाव भयो । शाही शासकहरुको इच्छा धेरै राजनीतिक नेतालाई थुनोस् भन्ने थियो । त्यसो त यस विषयमा उपाध्यायलाई कसैले स्पष्ट त भनेनन्, तर त्यस्तो ‘हिन्ट्स’ भने उनको कानसम्म पुग्यो । खरा स्वभावका उनले यस्ता कुरा टेरेनन् । फलतः शाही सरकारले भ्रष्टाचारीहरुको दोहोलो काढ्ने भन्दै एउटा शक्तिशाली निकाय गठन गर्ने चेष्टा गर्यो ‘शाही आयोग’ ।
त्यो आयोगले उपाध्यायमाथि पनि दबाब दियो । उनले आफूले दबाब नसहने बरु राजीनामा दिने आशय व्यक्त गरिदिए । त्यसपछि उनीसँग राजीनामा भने मागिएन ।
केही समयपछि शाही सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्यो । त्यसले तत्कालीन राजनीतिज्ञहरुको सम्पत्ति छानबिन गर्न थाल्यो । आयोगले अमुक व्यक्तिहरुको सम्पत्ति शंकास्पद छ, त्यसको छानबिन हुनुपर्छ भनेर प्रतिवेदन पठायो । त्यो प्रतिवेदन सरकारले अख्तियारमा पठायो र त्यसको कार्यान्वयन गर्न अख्तियारलाई अह्रायो । अख्तियारले कार्यान्वयन गर्नैपर्ने अवस्था सिर्जना भयो । त्यसमा धेरैको नाम थियो । उपाध्याय त्यो प्रसंग सम्झन्छन्, “त्यस प्रतिवेदनमा लेखिएका नामहरुमाथि छानबिन गर्नैपर्ने थियो । मैले कांग्रेस–कम्युनिस्ट भनेर छोड्ने कुरो पनि थिएन र पक्रन पनि सहज थिएन । त्यसैले मैले अख्तियारका साथीहरुलाई प्रतिवेदनअनुसार अनुसन्धान गरौं भनेँ ।”
उपाध्यायलाई जसले अख्तियारमा लग्यो, उसैमाथि छानबिन गरायो भन्ने आरोप पनि लाग्दै आएको छ । उनी यसलाई दुःखदायी कुरा मान्छन् । भन्छन्, “मलाई दुःख लागेको छ । त्यसोे नभएको भए हुन्थ्यो । सरकारले सोध भनेपछि सोध्नु त पर्यो नै ।”
उनका अनुसार त्यसबेला सारा ठूला पत्रिकाले लाउडाको कुरा समाचारमा व्यापक उठाइरहेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसादलाई कसैले छोडेका थिएनन् । हरेक दिन त्यस विषयको समाचारले पत्रिकाहरुमा प्राथमिकता पाउँथ्यो । त्योे अवस्थामा गिरिजाप्रसादलाई सोध्दै नसोधी छोड्न सकिँदैनथ्यो । उनले यसलाई आफ्नोे पदीय दायित्व माने ।
उनी भन्छन्, “हो । गिरिजाप्रसाद कोइरालालाई सामान्य प्रश्न सोधिएको हो । उहाँलाई तपाईंको निर्णयको आडमा अरुले भ्रष्टाचार गरे । तपाईं सचेत हुनुस् है भन्नेसम्म भएको हो । र, यो निर्णय हामी पाँच जना (आयुक्तहरु) नै बसेर गरेका थियौं । अर्को कुरो, त्यस प्रतिवेदनमा कम्युनिस्टहरुकोे नामै थोरै थियो । अनि मैले के गर्ने त !”
शाही शासनकालमा उनलाई असाध्यै गाह्रो भयो । हरेक दिन तनाव भयो । यसै कारण पनि अख्तियार छोड्नु केही दिनअगाडि उनलाई हृदयाघात पनि भयो । तर जब उनले अख्तियार छोडे, आफू मुक्त भएको अनुभूत गरे ।
०००
उपाध्याय वीरगन्जमा जन्मिए । जन्मिएपछि उनको टिप्पन बनेको थियो । त्यो हरायो । फेला परेन । त्यसैले उनको चिना बनेन । त्यसपछि उनको उमेर सर्टिफिकेटअनुसार भयो । उनका बाबुले स्कुल भर्ना गर्दा उमेर एक–दुई वर्ष घटाइदिए । चिनाटिपनले रोक्ने कुरो भएन । यसले उनलाई कुनै अप्ठेरो भएन । किनभने उनी उमेरभन्दा अगाडि नै सचिवबाट रिटायर्ड भए ।
उनका हजुरबुवा लमजुङबाट वीरगन्ज पुगेका थिए । हजुरबुवाले उनको बुवालाई पनि लिएर गएका थिए । यसरी वीरगन्ज पुगेका बाबु–छोरा दुवै पण्डित्यार्इं गर्न थाले । उनको बाबुको सानै उमेरमा बिहे भएको थियो । उनकी आमा पनि वीरगन्जमै थिइन् । त्यही सूर्यनाथ र उनका भाइ–बहिनीहरुको जन्म भयो । बाबुले वीरगन्जमै घर बनाए । तर पनि लमजुङसँगको सम्पर्क टुटेको थिएन ।
उपाध्याय अचेल वीरगन्ज पुग्दा त्यहाँको माटोको सुगन्धमा भुल्छन् । वीरगन्जका साथीभाइसित गफिन्छन् । दसैंअगाडि पनि उनी एकदिन वीरगन्ज पुगे र साथीहरुसित रमाए ।
उनले बीरगन्जको माइस्थान मिडिल स्कुलबाट ७ कक्षा उत्तीर्ण गरे । त्रिजुद्ध हाइस्कुलबाट एसएलसी गरे । अनि ठाकुरराम क्याम्पसबाट बीए पास गरे । वीरगन्ज एउटा पुरानो सहर भएको उनी बताउँछन् । त्यहाँको बजार एकलाइनमात्रै थियो । पहिले घन्टाघरदेखि छपकैयासम्म थियो बजार । बस्ती पातलो थियो । वीरगन्जबाट अमलेखगन्जसम्म पुग्ने रेलमा यात्रा गरेको सम्झन्छन् उनी । त्यो बेला परवानीपुर, जीतपुर, आधाभार (पथलैयाको पुरानो नाम) हुँदै अमलेखगन्ज पुगिन्थ्यो ।
उनले त्रिजुद्ध हाइस्कुलमै सञ्चालन भएको कलेजमा आईए र बीए पढे । अहिलेको ठाकुरराम क्याम्पसको भवन थिएन । पहिले राति पढाइ हुन्थ्यो आइए र बीएको । बिहान स्कुलका हेडमास्टर कृष्णबहादुर मानन्धर बेलुकी कलेजका प्रिन्सिपल हुन्थे ।
उपाध्यायका अनुसार वीरगन्जमा भन्सार पहिलेदेखि नै थियो । त्यसैबेला पनि केही उद्योग स्थापित भइसकेका थिए । त्यसैले पनि वीरगन्ज व्यापारिक सहरका रुपमा विकसित हुँदै गएको थियो ।
उनी भन्छन्, “बोर्डरमा भन्सार भएकोले ब्ल्याक मार्केटिङ वीरगन्जमा त्यो बेला पनि हुन्थ्यो । त्यसैले पनि व्यापारीहरु बढ्दै गएका थिए । भन्सार छलेर सामान ल्याएर बेच्न सुरु भइसकेको थियो । त्यसो त वीरगन्जमा कृषि पेशामा लागेका मानिस पनि थिए । सयौं बिघा जमिन हुने जमिनदारहरु पनि नभएका होइनन् । तर व्यापार मौलाउँदो थियो विरगन्जमा ।”
०००
वीरगन्जबाट बीए पास गर्दासम्म पनि उपाध्याय र उनका सहपाठीहरुले ऐच्छिक नेपाली लिएर पढ्नुपर्यो । अधिकांशः हिन्दी विषयका पुस्तक नै पढाइन्थ्यो कलेजमा पनि ।
उनी सम्झन्छन्, “हामीले विद्रोह गरेरै ऐच्छिक रुपमा भए पनि नेपाली पढने वातावरण बनाएका हौं । हैन भने त अंग्रेजी विषयबाहेक अरु सबै हिन्दीमा पढ्नुपर्थ्यो । हामी त घरमा नेपाली, बाहिर भोजपुरी र स्कुल–कलेजमा हिन्दी बोलेर हुर्किएका हौं ।”
ऐच्छिक संस्कृत पनि पढेका उपाध्यायले स्कूल पढ्दा नै रिजाल थरका एक सहपाठीसँग मित लगाए । उनका मित काठमाडौं पनि आए । अहिले उनी अमेरिका छन् । बेलाबखत मितमितको आउजाउ चलिरहन्छ ।
अचेल मित लगाउने प्रचलन हराउँदै गएको छ । जबकि उनको घरमा पूजापाठ गरेर देउतालाई साक्षी राखेर मित लगाइएको थियो । उनी भन्छन्, ‘यो हाम्री आमाहरुको रहर थियोे । हामीले मित लगायौं । मितेरी वाचा पनि पूरा गरेका छौं । तर अचेल यो प्रचलन सायद हराउँदै गएको छ ।’ एउटा पुरानो चलन छ, मितको नाम लिनुँहुँदैन भनिन्छ । उपाध्यायले मितको नाम लिएनन् ।
०००
उनले २१ सालमा बीए पास गरे । अब उनको वीरगन्जमा काम थिएन । शिक्षक भएर बस्न सकिन्थ्यो । तर उनलाई त्यो रहर भएन । उनी आफ्ना मितसँग काठमाडौं उक्लिए । काठमाडौं आएपछि उनले बीएल (कानुन) पढ्न थाले बेलुकीको क्लासमा । दिउँसो सानोतिनो जागिर समाए ।
उनका काका कहिलेकाहीँ बीरगन्ज आउँथे । बीएलको जाँच दिएपछि उनले काका सम्झिए । त्यसपछि काकासँग भेट्न र आफ्नो पुर्ख्याैली गाउँ हेर्न भनेरै उनी लमजुङ पुगे । त्यो बेला पालुङटारसम्म प्लेन जान्थ्यो । त्यहाँबाट हिँडेर लमजुङ पुगेको उनलाई अहिले पनि ताजै लाग्छ । यसरी उनी काकाको नाम सोध्दै पुगे । केही समय बसे पनि ।
त्यसैबेला त्यहाँ स्कूल खोल्न लागिएको रहेछ । कसैले भनेछन्, पण्डितको भतिजो बीए पास गरेर आएको छ भनेर । त्यसबेला उनले अंग्रेजी ग्रामरका केही टेक्स्ट बुकहरु लेखिसकेको थिए । सायद त्यताका विद्यार्थीले पढेका पनि थिए ।
त्यसैले उनलाई हेडमास्टर हुने प्रस्ताव आयो । उनले काकालाई सोधे र हुन्छ भने । उनी भन्छन्, “भर्खर २२ वर्ष पुगेको मलाई रमाइलो लाग्यो । म त्यहीँ हेडमास्टर भएर बसेँ र पढाएँ । यसरी दुई वर्षै पो बसिएछ । त्यसैबेला मैले रामशरण महतलाई पनि शिक्षकका रुपमा त्यहाँ लगेको थिएँ । उनी बीएको जाँच दिएर त्यसै बसेका थिए । एकजनाले उनीसित परिचय गराइदिएपछि उनलाई पनि लिएर लमजुङ गएँ ।”
त्यो समयमा स्कूल स्थापना गर्दा टौवाको मुनि पढाइ हुने गरेको उनी सम्झिँदै थिए । टौवाको मचानमाथि पराल राखिएको हुन्थ्यो । त्यही मचानमुनि पढाइ हुन्थ्यो ।
हेडमास्टर भएर दुई वर्ष बिताएपछि उनलाई लाग्यो, अब अरु कुनै काम थाल्नुपर्छ । यसबीचमा उनको कानूनको नतिजा आइसकेको थियो । उनी वकालत गर्नै भनेर काठमाडौं आए । वकिलको लाइसेन्स लिए । केही समय वकालत पनि गरे । तर यसमा पनि उनको मन रमेन । उनी भन्छन्, “एक वर्ष वकालत गरेपछि त्यो काम गर्न मन लागेन । खै किन लागेन लागेन । मैले जागिर खाने मन बनाएँ र लोकसेवाको जाँच दिएँ ।”
०००
उनी शाखा अधिकृतमा पास भए । कानून मन्त्रालयमा उनको नियुक्ति भयो । त्यसपछि जिन्दगी एउटा लिकमा गुडेको उनलाई लाग्छ । जीवनले लाइन पक्डियोे । उनी आफूलाई जिम्मा दिएको काममा व्यस्त भए । उनको बाबुको रहर थियो छोरो न्यायाधीश भइदिए हुन्थ्यो भन्ने । तर उनलाई न्यायाधीश हुने रहर भएन ।
उनी कानुन मन्त्रालयको अन्तर्राष्ट्रिय शाखामा कार्यरत थिए । कुनै पनि काम गर्दा दत्तचित्त भएर लाग्ने मानिस थिए उनी । त्यसैले उनले सधैं कामलाई नै महत्व दिए । त्यसैले शाखा अधिकृत हुँदा पनि उनले आफूलाई तोकिएको काम सिध्याउनमै ध्यान दिए । त्यसका लागि कहिलेकाहीँ कडा पनि भए । उनी भन्छन्, “सायद त्यसैले पनि मलाई कडा वा खरो भनेका होलान् । तर त्यो मेरो कामप्रतिको डेडिकेसन हो ।”
सचिव–सहसचिवहरु उनीप्रति सकारात्मक थिए । यो काम गर्ने केटो हो भन्ने थियो । उपाध्यायलाई भने विदेशमा गएर एक पटक पढ्न पाए हुन्थ्यो भन्ने थियो । त्यसैले पनि उनले काम गर्दा काममा मात्रै ध्यान दिए । उनको कर्मशीलताले नै उनलाई पहिलो पटक २१ दिने तालिमका लागि बैंकक पुर्याएको थियो । त्यसैबेला उनले पहिलो पटक जेट चढेका थिए । विदेश देखेका थिए ।
उनले काठमाडौंको त्यो समय सम्झिए । भन्छन्, “काठमाडौंमा डेरा लिएर बसेको थिएँ । कुल ४ सय रुपैयाँ तलब थियो । ४० रुपैयाँ सञ्चयकोष काटेपछि ३ सय ६० हात पथ्र्यो । त्यति पैसाले खर्च पुर्याउनुपर्थ्यो । घरपरिवार यतै थिए । धान्न कठिन थियो । त्यसैले सहजताका लागि मैले ट्युसन पढाउन थालेँ । कहिले लोकसेवा आयोगका नोट्सहरु लेखेँ । त्यसका अतिरिक्त नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद पनि गर्न थालेँ । यसरी मेरो आर्जन बढ्दै गयो ।”
उनी अन्तर्राष्ट्रिय शाखामा भएकोले पनि कतिपय अवस्थामा विदेश गइरहनुपर्थ्यो । सम्झौता गरिँदा कानूनको राय खोजिन्थ्यो । मन्त्रालयको अन्तर्राष्ट्रिय शाखाले राय दिनुपर्थ्यो ।
शाखा अधिकृत भएको ५ वर्षपछि उनी जाँच दिएर उपसचिव भए । त्यसको ५ वर्षपछि सहसचिव । सहसचिव भएपछि उनको सरुवा जलस्रोत मन्त्रालयअन्तर्गतको जल तथा शक्ति आयोगमा भयो । त्यहा पनि कानून नै हेर्नेगरी दरबन्दी थपिएको थियो । त्यहाँ उनले ९ वर्ष बिताए ।
एउटा प्रसंग यसरी सम्झे उनले, “म ०४० सालमा सहसचिव भएको थिएँ । ९ वर्षसम्म मेरो बढुवा भएको थिएन । ०४९ सालमा म कामले विदेश गएको थिएँ । यहाँ भने ठूलो परिवर्तन भयो । त्यसबेला धेरै कर्मचारीलाई अवकाश दिइयो, ३० वर्षको कार्य समय भन्दै । त्यसैबेला म अचानक कामु सचिव बनाइएँ जलस्रोत मन्त्रालयको । म न्याय सेवाको मानिस प्रशासनतर्फ सारिएर कायममुकायम सचिव बनाइएको थियो ।”
पछि उनी कन्फर्म सचिव भए । तीन वर्षपछि उनको सरुवा वातावारण मन्त्रालयमा भयो । त्यहाँ केही समय बसे । केही समय उद्योग वाणिज्य मन्त्रालय पनि पुगे । रिटायर्ड हुने बेलामा उनी कृषि मन्त्रालयमा सचिव थिए, जहाँ उनले २२ महिना बिताएका थिए ।
उनी भन्छन्, “जागिर मेरा लागि फाप नै रह्यो । समयमा नै उपसचिव भएँ केही अबेला भए पनि सचिव भएँ । ०४७ सालमा राजाले संविधान बनाउने आयोगकको सचिव पनि बनाइदिए । मेरो करियरका लागि उक्त जिम्मेवारी सधैं राम्रो नै रह्यो ।”
लामो समय विभिन्न मन्त्रालयमा जिम्मेवारीमा बसे पनि उनको कुनै पनि मन्त्रीहरु विवाद भएन । उनको कुरो पनि बाझिएन । उनले मन्त्रीहरुलाई सम्झाएरै काम गरे । उनी भन्छन्, “मन्त्रीको धारणा के हुन्छ भने मैले काम पनि गर्न पाउँ तर आक्षेप पनि नआओस । मलाई विवादमा नतानियोस् । मैले पनि गर्नुनपर्ने कामलाई कहिल्यै महत्व दिइनँ ।”
तस्बिरः साैरभ रानाभाट