महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीबाट पूर्व–पश्चिम राजमार्गमा निस्कँदा दिउँसोको चार बजिसकेको थियो । तुवाँलोभित्र हराएको निम्छरो घामले दिन ढल्किसकेको जनाउ दिइरहेको थियो ।
‘काठमाडौँ जाने गाडी पाइएलान् र ?’ गोपाल लामा (कार्की दाइ)ले ‘अबेला भयो आज यतै बसौँ’ मात्रै भन्न सकेनन् ।
‘दाइ, काठमाडौँ जाने हो ? दुइटा सिट छ !’ बलिया हात पाखुरा भएको टिकट काउन्टरको जस्तो लाग्ने मान्छेले हातै तान्यो ।
काठमाडौँ जान टिकट काउन्टर नजिकै उभिएका रहेछन् जनकपुरका रामचन्द्र मण्डल । ‘साथी भेटियो, ढुक्क भयो मन !
सुरुमा त उनले बोल्नै आनाकानी गरे ।
तर, काठमाडौँ जाने बाटो कटाउने साथी हुन्छ ठानेछन् सायद, बोल्न थालिहाले । धनुषाबाट कांग्रेसको महासमितिमा चुनाव लडेका रहेछन् । तर, १५ भोटमात्रै आएछ ।
“आफू लबी सिस्टमको विरोधी, गुटबिना कहाँ राजनीति सम्भव हुनु !” फिस्स हाँसे । कार्यकर्ता पाल्नदेखि मसाल बाल्नसमेत आफ्नो पैसा खर्च गरेर गोजी टक्टक्याउँदा पनि उनी धुलाम्य हुने गरी पछारिए ।
त्यसपछि निराश हुँदै क्रियाशील सदस्यमात्रै बगलीमा राखेर घरजग्गा व्यवयासमा हामफालेका रहेछन् उनी ।
आधा घन्टामा आउँछ भनेको गाडी झन्डै साढे छ बजेमात्रै आयो । गाडीको सिटमा बस्दा–नबस्दै उनले कुरा उप्काए, “बुझ्नुभो, नेता र तिनका कार्यकर्ताले देश बिगारे ! सुखी जीवनयापन र विकासको आश गरिरहेका तराईका दुःखी गरिबलाई प्रान्त दिन्छौँ भनेर निराश बनाइरहेका छन् ।”
उनी तर्क गर्दै थिए, ‘यहाँ जनतालाई हैन, नेतालाई मात्र चाहिएको छ प्रदेश, तराईमा दशैवटा प्रदेश बनाए पनि यहाँका मुसहरलगायत सिमान्त समुदायका मान्छे मुख्यमन्त्री बन्छन् र ? तिनै यादव, महतो, झा त बन्ने हुन् नि, त्यो पनि दलका नेतामात्रै । कार्यकर्तालाई पनि भाग पुग्दैन, जनताले कहाँ के पाउनु ?’
मेरो पेसा थाहा पाउनेबित्तिकै उनी कड्किए, “तपाईं पत्रकारहरूले सीमित नेताको कुरा सुनेर धारणा बनाउने ? जनताका राय सुझाव सुनेर पत्रपत्रिकामा लेख्नुपर्दैन ?” अवाक् बनाए मलाई ।
उनले ठोकुवा नै गरे, ‘तराईलाई जति प्रदेश बनाए पनि मधेसको होइन, नेताको मात्रै विकास हुन्छ । यहाँको समस्याले निकास पाउँदैन ।
० ० ०
बर्दिबासस्थित मुसहर बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्ती उभ्याउँदैछ । फाउन्डेसनले मुसहर समुदायका ५६ घरपरिवारलाई ५० घर निर्माण गरिदिन लागेको हो । पुस्तौँपुस्तादेखि गरिबीको चपेटामा परेका मुसहर समुदायले शिशिरयामको शीतमा ओत पाउनु खुसीको कुरा हो । त्यसैले त्यहाँका विपन्न मुसहर समुदायको अनुहारमा सात सूर्य उदाएको प्रतीत हुन्छ !
तथापि, बस्ती शिलान्यासका क्रममा संयोगवश पुगेका हास्यकलाकार जितु नेपालले समारोहमै मुख फोरे, “तपाईंहरूको घर त धुर्मुसजीले बनाइदिँदै हुनहुन्छ । घर बनाइसकेपछि सधैँ उहाँको दम्पत्तिले सरसफाइ गरेर बसिरहनुहुन्न । आफ्नो घर आँगन सफा राख्ने दायित्व तपाईंहरूकै हो ।’
उनले त्यसो भन्नुका केही कारण छन्–
पुख्र्यौली थातथलो सम्याएर बस्ती बनाउन लागिएपछि अहिले त्यहाँका मुसहर समुदाय बाटो तल्लोपट्टि रहेको खाली जग्गामा स्थानान्तरित भएका छन् । यसअघि बसोबास गरेकै शैलीमा लहरै परालको अस्थायी घर बनाएर सरेका छन् उनीहरू ।
बस्तीभित्र पस्दापस्दै एउटा विद्रुप दृष्यमा आँखा पुग्यो–
सवत सदा बस्ती नै अगाडि रहेको जनता स्कुलमा कक्षा दुईमा पढ्छन् । पुसको चिसो सिरेटोमा धोती ओढेर काठको मुढामाथि बसिरहेका उनलाई देख्नासाथ म आश्चर्यमा परेँ । बस्तीका केही बालबालिकाको आङमा एक धरो लुगा थिएन । उनको शरीरमा कमसेकम धोती त थियो । त्यसैले मैले आश्चर्य नमान्नु पर्ने हो ।
म यसकारण चकित परेँ कि, उनी तीन दिनदेखि अनुहारभरी घाउघटिरा आएर बिरामी परेका रहेछन्, सायद दादुरा थियो ।
उनलाई देख्नासाथ सोधेँ, “के भयो बाबु ?” चिसोले लुगलुग काँपिरहेका उनले मेरो जवाफ फर्काएनन्, आखाँबाट आँसु बगाएमात्रै !
छेवैमा अभिभावकजस्ती लाग्ने प्रौढ महिला उभिएकी थिइन्, मैले उनलाई सोधेँ, ‘बाबुलाई अस्पताल किन नलैजानु भएको ?’
छेउमा उभिने उनकी माइजू फुलो सदा रहिछन् । कुरा सुन्नासाथ उनले मेरो सात्तो लिइन्, “देख्नुहुन्न उसलाई देउता उत्रिएको छ । हाम्रो समुदायमा देउता आएपछि जिउ अनुहारमा यसैगरी खटिरा आउँछ !”
“दादुरा हो कि देउता आएको हो, डक्टरले पो भन्छन् त ?,” मेरो प्रश्न भुइँमा झर्न नपाउँदै उनले ठाडै झपारिन्, “अस्पताल लाने रोग हुनुपर्यो नि !
यसलाई सात दिनसम्म यसैगरी राख्नुपर्छ । नुन, तेल, माछा, मासु क्यै खान दिनुहुँदैन । सात दिनपछि आँगन लिपपोत गर्नुपर्छ र त्यहाँ राखेर यसलाई पूजा गरेपछि यो रोग आफैँ निको हुन्छ, तपाईंहरूलाई यो बारेमा थाहा हुँदैन ।”
उता बालक बोल्नै नसक्ने हालतमा थिए । जाडोले जिउ लुगलुग काँपिरहेको थियो ।
मसँगै थिए स्थानीय पत्रकार विक्रम रौनियार । उनले भने, “यस्तै रोगको कारण यसै ठाउँमा दुई जना बालबालिकाको ज्यान गइसक्यो, जति भने पनि नमानेपछि कसको के लाग्छ र !”
विक्रमको कुरा सुनेर मेरो मुटु चिसो भयो तर फुलो सदाको अनुहार कुनै बदलाव पाइनँ ।
मनमनै सोचेँ– घर त धुर्मुसले बनाइदिँदैछन्, चेतनाको दियालो कसले बाँडिदेला यिनीहरूलाई ?
० ० ०
तराईमा ‘विकासे’ संघ/संस्था थुप्रै पुगेका छन् । शिक्षा, स्वास्थ्य, सरसफाइका अतिरिक्त दहैज (दाइजो) प्रथाको विरुद्ध पनि तिनले काम गरिरहेका छन् । त्यसो त संघसंस्थाले महोत्तरीलगायत जिल्लामा विवाहयोग्य उमेरका पुरुषहरूलाई हस्ताक्षर गराएरै ‘दहैज लिँदैनौं’ भनेर कवुलसमेत गराएका छन् ।
तर, छोरीचेलीलाई मागेजति दाइजो दिनुपर्दा उठिबास भएको परिवार निकै छन् । त्यस्तै भनेजति दाइजो दिन नसक्दा छोरीचेली जिउँदै जलाइएका घटना पनि प्रशस्तै छन् । लाग्छ, तराईको शीतलहर त्यहाँका आमा, भाउजू, बुहारीहरूको अश्रुमाला हो ।
मुसहर बस्तीकै सुर्जी सदा भन्छिन्, “समूह के–के जाती आएर के गर्नु, दाइजो दिन नसके बिहे नै हुँदैन । भइहाले पनि कुटपिट गर्छन् । कतिबेला ज्यान जान्छ, टुंगै हुँदैन !”
‘वेहुला पक्षले दराज, पलङमात्र होइन जग्गा जमिन र मोटर गाडीहरू समेत माग्छन् । त्यसैले घरजग्गा बेचेर पनि छोरीको विवाह गर्नुपर्ने बाध्यता छ,’ उनी दुःखेसो पोख्छिन् ।
० ० ०
बर्दिबास रोडमै एकजना झा थरका स्थानीय बुज्रुक भेटिए । उनी भन्दै थिए, ‘मुसहर बस्तीमा विकास पुर्याएर के गर्नु ! धारा जोड्यो, धारै भाँच्छन् । स्कुल खोलिदियो, विद्यार्थी नै पठाउँदैनन् । अरु त अरु पैसा कमाउन दिनभरि बाटो बढार्न जान्छन् तर, आफ्नो घरचाहिँ फोहोरै राख्छन् ।’
जातीयताको मुद्दा चर्किंदै जाँदा मधेसी समुदायभित्रै तल्लो–माथ्लो जातको कुरा चर्को रहेछ । सन्दर्भवश तिनै झा थरका व्यक्तिले कुरा उठाए– यहाँको एउटा समुदाय छ, जो जन्मजातै ठगी गर्छन् ।
दिनहीन अवस्थाबाट गुज्रिरहेको उक्त सिमान्त समुदायलाई उनले गम्भीर आक्षेप लगाए ।
संविधान, प्रदेशको सीमा बदल्दैमा मान्छेको स्वभाव कहाँ बदलिँदो रहेछ र ! निःशब्द भएँ म ।