आइतबार बिहानै
मोबाइल बज्यो
मेरो दाहिने हात सिरक भित्रैबाट बिस्तारै निकालेर सिरानीतिर रहेको मोबाइल समात्न पुग्छ ।
जाडोले सिरकबाट टाउको बाहिर निकाल्ने आँट आउँदैन तर पनि घण्टी बजिरहेपछि मोवाइल तानेर सिरकभित्रै हेर्ने प्रयास गरेँ ।
कलिङ ..., आस्था राउत
सिरक भित्रैबाट फोन रिसिभ गरें
हेलो....
हेलो.... भन्दा नै उनले स्वरबाट मेसो पाइछन्
स्वर त भास्एिको छ त, बिरामी हो ?
‘हल्को ज्वरो आको छ’ मैले उनलाई जवाफ दिएँ ।
‘ल गेट वेल सुन, चाँडै ठिक हुनुुस्,’ आस्थाको भनाई थियो ।
मैले जवाफमा औपचारिकताको शब्द बोलें– ‘थ्याँक्यू’
‘के छ खबर तपाइँको ?,’ मैले नै उनलाई हालखबर सोध्दै प्रश्न गरेँ ।
जवाफमा उनले हत्तपत्त भनिन्,‘एउटा खबरबारे स्पष्ट हुन मैले तपाईँलाई फोन गरेको, थप केही थाहा पाउनुभयो ?’
‘के हो र ?,’मैले भनेँ ।
‘म त हिजो साँझबाट सुतेको सञ्चारबाट बाहिर छु,’ मैले भनेँ ।
‘यमबुद्धको खबर के हो ?’आस्थाको प्रश्न थियो । तर पनि यतिन्जेलसम्म कुरा हुँदा भएको के हो भन्ने बारेमा अझै म अनविज्ञ नै थिएँ ।
मैले आश्चर्य मान्दै फेरि प्रश्न गरेँ–‘के भयो र ?’
‘उनी बितेको खबर छ त !,’आस्थाको भनाई थियो, ‘आत्महत्या भन्ने कुरा पनि छ के हो ?’
यमबुद्धको निधनका बारेमा मेरो जानकारीमा आएको त्यो नै पहिलो खबर थियो ।
आस्थाले फोन राखिन् ।
मैले घडी हेरें । साढे ९ बजेको थियो ।
यमले आत्महत्या नै गरे या स्वभाविक मृत्यु थियो ? मनमा खुल्दुली भइरह्यो ।
बुझ्नैपर्यो । मोबाइलमा ट्वीटर लग इन गरें ।
ट्वीटरमा यमको मृत्यु भाइरल भइसकेको थियो । उनको मृत्युलाई लिएर बहस तीव्र रुपमा भइरहेको रहेछ ।
बहसअनुसार उनको मृत्यु होइन, आत्महत्या थियो ।ट्वीटरमा मृत्यु भन्दा पनि आत्महत्याका विषयमा बहस थियो । कसैले आत्महत्यालाई मानशिक रोगको उपज भनिरहेका थिए भने केहीले साहसी व्यक्तिको रोजाई अर्थात आँट ।
अब बहस मानशिक रोग कि साहस ? भन्नेतर्फ उन्मुख भएको थियो । आँट भन्नेलाई ‘लौन न त तिमी पनि आँट गर’ भनिरहेका थिए । कोही आफूलाई डाक्टरसरह उभ्याइरहेका थिए भने कोही त्यसको खण्डनमा व्यस्त थिए । सामाजिक सञ्जाल दुई ध्रुवमा विभाजित थियो ।
मैले सोचे, मृत्यु साश्वत सत्य हो । आत्महत्या परिस्थितिको उपज ।
सामाजिक सञ्जालहरुमा कहिले काहीँ चाहिने भन्दा पनि नचाहिने विषयमा अनावश्यक बहस हुन्छ । चाहिनेमा न्यून,नचाहिनेमा ज्यादा । कहिले काहीँ लाग्छ अरुलाई गाली गर्न र मनको तुष पोख्न नै ट्वीटरको सुत्रपात भएको हो ।
धेरैका आफ्नो फेसबुक पेजमा आत्महत्या हैन संघर्ष रोजौं पोष्ट गरिएको थियो । त्यस्ता पोष्टमा पनि उस्तै कमेन्ट थिए । कोही कायर भन्ने कोही बिचार भन्ने कोही चाँही साहस भन्ने अनी कोही स्वर्गमा बास होस् भन्ने ।
मृत्यु होस या आत्महत्या । मृत्यु शब्द सुन्दा पनि डराउने मान्छेले किन आत्महत्या नै गर्छ ? यो खोजको विषय होला । यसको जिम्मा मनोचिकित्सक तथा मनोविद्लाई नै छाडिदिउँ । तरसामाजिक सञ्जालमा झुण्डिने फुर्सदिलाहरुले यसलाई अनावश्यक बहसको विषय बनाइरहेका छन् । मृतकको परिवारमा परेको चोटलाई बिर्सेर बहस भइरहेको छ ।
तीन दशक नपुगेको छोराले आत्महत्या गरेको छ । मृतकको परिवार शोकमा छ । उनकी श्रीमतीको सिउँदो पुछिएको छ । बालबच्चा भए टुहुरा भए होलान् । छोरो वा श्रीमानको मृत्युले कस्तो आभास भइरहेको छ भन्ने सम्मका प्रश्न गर्ने रुखा पत्रकारहरुले सोध्ने प्रश्नको जवाफ दिने पीडितमा स्वर छैन । तर, सामाजिक सञ्जालमा भर्जिन विषय सम्झेर बहस हुन्छ, भइरहेको छ । न कुनै संवेदना छ न कुनै कोमल मन । हो मृत्युवरण भइसक्या अब मृत्युलाई फर्काउन सकिँदैन । जिवित तुल्याउन सकिँदैन । संवेदनाको एक शब्द खर्चिन त सकिन्छ । यदि त्यो पनि सकिँदैन भने कम्तिमा मौन त बस्न सकिन्छ नि । तर आलो घाउमा विना कारण नुनचुक चाँही दल्न पाइँदैन ।
यस्ता बहसले विषयको चुरो कुरो खोज्ने उत्प्रेरणा पनि दिन्छ होला व्यक्तिलाई । बहस र गहन छलफलले निष्कर्षमा पनि पुर्याउँछ होला, व्यक्तिको ज्ञान पनि अभिबृद्धि होला । तर हरेक कुराको समय हुन्छ । घाटमा गएर डिजे बोलाए डिस्को नाच्यो भने सुहाउँदैन । त्यसका लागि डिजे क्लव नै उत्तम हुन्छ । एकातिर मान्छे जलाइरहेको धुवाँ, अर्कोतिर अनन्तकालीन बिछोड्को पीडाले निष्किएको चित्कार र ओसिला बनेका आँखा अगाडि कोही खुसीको चित्कारसँगै हाँस्न सक्छ ?