काठमाडौं । उपत्यकाका नाटक घर तथा थिएटर मलमा अहिले पुराना नाटककारका प्रशिद्ध नाटकहरू चलिरहेका छन् । नाटककार गोविन्दबहादुर मल्ल गोठालेको नाटक ‘भोको घर’ पुनः मञ्चित र चर्चित भयो । साहित्यकार तथा प्राज्ञ सरुभक्तका नाटकहरू ‘इद्ममिथ्थम’ तथा ‘सिरुमारानी’ प्रत्येक नाटकघरले दोहोर्याई, तेहेर्याई प्रदर्शन गर्दै आइरहेका छन् । यसको अर्थ नाटकमा पुरानै लेखकहरू अहिले पनि जमिरहेका छन् ।
उपत्यकामा चलेका चार प्रमुख नाटकघर सर्वनाम, मण्डला, शिल्पी तथा थिएटर मलमा पुराना लेखकका नाटक नै दर्शकले रुचाइरहेका छन् । ‘कोर्ट मार्शल’, ‘बोक्सीको घर’ अथवा गोठालेका नाटकहरू वा समदेखि सरुभक्तसम्मका नाटकहरूको ‘रोटेसन’ चलिरहेको छ ।
संसारभर नै नाटककारको कमी छ । यस्तै लाग्छ वरिष्ठ रंगकर्मी तथा सर्वनामका संस्थापक अशेष मल्ललाई । नाटक अरु विधाभन्दा फरक रहेको धारणा राख्ने मल्ल भन्छन्, “मञ्चीय प्रविधिको ज्ञान, चरित्रका भाव देखाउन सक्ने क्षमता सबै लेखकसँग नहुन सक्छ ।”
विदेशी लेखकका नाटकलाई नेपालीकरण गरेर बनाइएको ‘एकलव्यको अन्तिम चेत’ तथा गोठालेको ‘भोको घर’ भर्खर प्रदर्शन गरेको थिएटर मलका युवा रंगकर्मी तथा संस्थापक केदार श्रेष्ठ भन्छन्, “पुराना नाटकहरू अहिले हेर्दा पनि समकालीन लाग्छ ।” पुराना नाटक अझै शक्तिशाली भएर त्यसको निरन्तरता कायम रहेको उनी बताउँछन् ।
मण्डला नाटकघरका रंगकर्मी तथा कला निर्देशक सोमनाथ खनाल भन्छन्, “रंग क्षेत्रलाई नयाँ नाटकको अभाव छ । हामीले सरुभक्तका ‘सिरुमारानी’ तथा ‘इदममिथ्थम’ नाटक केही पहिलेमात्र प्रर्दशन गर्यौं ।” आख्यानकार कुमार नगरकोटीको कथालाई नाटकीकरण गरेर पनि प्रदर्शन गरेको उनले बताए ।
रंगकर्मी नै नाटककार पनि
प्रायः नाटकघरले आफैंले लेखेर तथा निर्देशन गरेर नाटक प्रदर्शन गर्दै आइरहेका छन् । सर्वनामले झण्डै पाँचवटा नयाँ नाटक आफैँले लेखेर प्रदर्शन गर्यो । त्यस्तै मण्डलाले पनि यस वर्षमात्रै ६ वटा नयाँ नाटक लेखेर प्रदर्शन गरेको खनाल बताउँछन् ।
थिएटर मलका रंगकर्मी श्रेष्ठ भन्छन्, “नेपाली साहित्यका नयाँ लेखकहरूले सीमित नाटकमात्र लेखिदिए । त्यही भएर रंगकर्मीहरूले बाध्य भएर स्वयं नाटक लेखन र मञ्चन सुरु गरे ।”
यद्यपि वरिष्ठ रंगकर्मी मल्ल भने प्रशिक्षित रंगकर्मीले रंगमञ्चसँग सम्बन्धित आवश्यक तत्व तथा प्राविधिक पक्षलाई बुझेर नाटक लेख्ने तथा प्रदर्शन गर्ने बताए । सर्वनाममा तीन महिने तालिमका क्रममा आफ्ना विद्यार्थीहरूलाई अभिनय, प्रदर्शन र प्रस्तुतिका साथै नाटक लेखनसम्बन्धी ज्ञान पनि दिइने उनले जानकारी दिए ।
प्रशिक्षण शिविरमा नयाँ नाटकलाई प्रोत्साहन दिने मल्ल भन्छन्, “मञ्चीय टेक्निकलाई आत्मसात गरेर होला, नयाँहरूले ल्याएका नाटक एकदमै प्रभावकारी हुने गरेको छ ।”
रंगकर्मी तथा कला निर्देशक केदार श्रेष्ठ भन्छन्, “नेपाली साहित्यमा आख्यानको अनुपातमा १० प्रतिशत पनि नाटक लेखिएको छैन । श्रेष्ठलाई नयनराज पाण्डे, बुद्धिसागर तथा युग पाठकहरूले पनि नाटक लेखिदिए हुन्थ्यो जस्तो लाग्छ ।
मण्डलाका कला निर्देशक खनालको बुझाइमा नयाँ नाटक लेखिने क्रम जारी रहे पनि रंग क्षेत्रलाई नाटकको अभावै छ ।
सर्वनामका मल्ल आख्यानजस्तो नाटकको कमर्सियल भ्यालु नभएकाले लेखक यता आकर्षित नभएको अनुमान गर्छन् । “उपन्यासजस्तो नाटकको किताब चल्दैन । नाटक लेख्न समय पनि धेरै चाहिने साथै नाटक लेख्नलाई सीप, चारित्रिक भावहरू देखाउने क्षमताले पनि लेखकहरू नाटक लेख्दैनन्,” मल्ल भन्छन् ।
नाटकमा विविधता
नाट्यकर्मी स्वयंले नाटक लेखेर मञ्चन गर्नुलाई राम्रो ठान्छन् मल्ल । यसले नाटकमा विविधता थपिएको उनको तर्क छ । सर्वनाममा अहिले थारु भाषाको नाटक ‘भुरभुरा रहर’ चलिरहेको छ । उता, थिएटर मलले राम केसीको ‘अवान्तर’, मण्डलाले सुलक्षण भारतीको ‘मिल्क टी’ तथा सर्वनामले ‘जुनकिरी’ जस्ता विषय, शैली र भाषाका विविधतालाई रंगमञ्चमा उतारेका छन् ।