ढक् ढक् ढक्...
‘ला ! घरबेटी बा आए !’
ढोकाले होइन, मुटुले ठाउँ छोड्लाजस्तो भयो !
‘आज पनि ल्याउनुभएन होइन पैसा ? ऊ तपाईंको बाउ आए, अब के भनेर पठाउने हो, आफैं पठाउनू ?’ श्रीमतीले ओढ्नेले मुख छोपिन् ।
छोरी पनि पिलपिलाउँदो मुख पारेर भन्न थाली, ‘बाहिर को आ’को बाबा ?’
अवाक् भएँ म !
‘महिना मरेको दश दिन भइसक्यो । हप्ता दिनसम्म त ‘सात गते तलब आउँछ, अनि भाडा बुझाउँछु’ भन्दै टारेको थिएँ । अब त भाका सार्ने बहाना पनि सकियो । अफिसले तलब दिएको होइन !’
ओठतालु सुक्यो । भेट्टाए एक अम्खोरा पानी एकै घुट्कोमा सिध्याउँथें । पुसको ठिहीमा पनि असिनपसिन भएँ !
‘कस्तो अफिसमा काम गरेको ? न समयमा पैसा दिन्छ, न फुर्सद पाएको नै कहिले देख्छु । यस्तो जागिर खानुभन्दा त पेटमा पटुकी कस्नु बेस !’
ढक् ढक् ढक् !
यता श्रीमती फलाक्दै थिइन् । उता घरबेटीले हत्केलाले ढोका हान्न छाडेका थिएनन् ।
जे पर्ला पर्ला खोलेँ ढोका ।
‘नमस्ते बा !,’ ढोकाको एउटा फक्ल्याँटो नउघार्दै हात जोडेँ ।
‘केको नमस्कार ? दश दिन भइसक्यो महिना मरेको ! जहिल्यै भोलि–भोलि भनेर ढाँट्या छ, कहिले आउँछ हँ तपाईंको भोलि ? पैसा तिर्न नसके खुरुक्क कोठा खाली गर्दिनु नि !,’ चट्याङको के आवाज आउँछ र ! त्यसरी पड्किए घरबेटी ।
घोसेमुन्टो लगाएर म ढोकामा ठिङ्ग उभिइरहेको थिएँ । एक शब्द बोल्न सकिनँ ।
‘कोठा खोज्न मान्छे आएका आयै छन्, १५ गतेसम्म ट्याम दिन्छु । भाडा नदिए सामान भित्रै राखेर ताल्चा लाइदिन्छु । जहान छरछरीको बिजोग होला, कुरा बुझ्या हो ? कत्ति न सुटपाँएट लगाएर हिँड्छ, भाडा तिर्नचाहिँ यस्तो गाह्रो छ, कहिल्यै ट्याममा भाडा बुझाएको थाहा छैन त !’
भन्नु नभन्नु भनेर गए घरबेटीले !
एक छिन होलोसँग सास फेर्न खोज्दैथेँ, यता श्रीमती बम्कन थाली, ‘तलब नदिए आजै जागिर छाड्दिनु, पैसा–सैसा नदिने अफिसाँ के गर्न झुन्डिराख्नु ?’
‘कुकुर कुदाइ गरेर दौडिएको छ तर भनेको बेला घरबेटीलाई भाडा तिर्नेसम्म पैसा हुँदैन । यहाँ बसेको पाँच वर्ष भयो, घरबेटीको भनाइ नखाई भाडा बुझाएको थाहा छैन । खाना पस्किएको छु, सेलाउला !’
यति भनेर श्रीमती झोला बोकेर छोरीलाई स्कुल पुर्याउन हिँडिन् ।
श्रीमती आउञ्जेलसम्म औँलामात्रै खेलाइरहेको थिएँ, गाँस हाल्न मन लागेन !
त्यत्तिकै जुरुक्क उठेँ ।
‘गाँस छोडेर सुख पाइन्छ भन्या होला, पाईंदैन । मेरो कारणले होर दुःख पाएको ?,’ उनी रोकिएकी थिइनन् ।
जुत्ता लगाउनै लागेको थिएँ, फेरि सुनाउन थालिन्– छोरीको स्कुलको बिल आएको छ । चामल पनि सकिने बेला हुन लाग्यो । दालको गेडो छैन । अघिल्लो मैनाकै पैसा नबुझाएकाले पसलेले उधारो पनि दिएन, के गर्ने हो, आफैँ जान्नू ।’
घरखेत जुवामा हारेझैं निन्याउरो मुख लगाएर अफिस लागेँ ।
० ० ०
कोठा भाडामा बसेर घरबेटीको खप्की खाने ममात्र होइन ।
अफिस पुग्नेवित्तिकै एउटा साथीले सुनायो–
‘घरबेटीले मेरो पनि हुर्मत लिएको छ । ठिक्क भाडा बुझाउने बेला भएको थियो । त्यहीबेला गाउँबाट आमा बिरामी भएको खबर आयो । हतार हतार घर कुदेँ । यता आउँदा घरबेटी ले भाडा नबुझाएको भन्दै कोठामा ताला ठोकिसकेछ !’
अनि के भयो त ?
‘के हुनु नि, आमालाई अस्पताल भर्ना गरेको दुई दिन भएको थियो । दुई दिनसम्म एक्लै कुरुवा बसेँ । तेस्रो दिन भाइलाई हेर् है भनेर आफू कोठामा सुत्न भनेर जान्छु त घरबेटी साँचो बोकेर बसेको छ । आमालाई अस्पतालबाट निकालेपछि पूरै पैसा बुझाउँछु ढोका खोल्दिनूस् भन्दा त्यो त तेरो समस्या हो नि भन्छ । कालले छोड्ला, तर घरबेटीले छोडेन । साँचो हराएछ भन्दै ढाँटेँ, अस्पतालमै गएर सुतेँ त्यो दिन पनि । यमराज भन्दा चर्को छ मेरो घरबेटी यार !,’ रुनमात्र सकेन साथी !
आमा गम्भीर बिरामी हुुनुहुन्छ । अलिकति पैसा चाहियो भनेर विदेश बस्ने साथीसँग पैसा मगाएछ । उपचारबाट बचेको पैसाले भाडा बुझाएछ र समस्या टारेछ उसले !
० ० ०
अर्को साथीको कहानी बेग्लै छ–
महिनाको २५ हजार तलब खान्छ, तर १७–१८ हजार फ्ल्याटकै तिर्छ । चार महिना लगाएर खोज्दाखोज्दै बल्ल सजिलोमा दुईवटा कोठा फेला पारेको थियो ।
‘सुनिस्, राम्रो ठाउँमा कोठा फेला पारेँ । अब दुःख बेहोर्नु पर्दैन । पानी त चौबिसै घन्टा आउँदो रहेछ , सवमिटरमा चढेमुताबिक पैसा बुझाए पुग्छ ! पार्किङको पनि उस्तै सुविधा छ । घरबेटी त देउतैजस्ता छन् !,’ फुरुंग परेको थियो ऊ ।
तर, दुई महिना नहुँदै पिलपिलाउँदो मुख लगाएर आयो, ‘यार् मलाई त एक महिनाभित्र कोठा खाली गर्दिनु भन्या छ । गाउँबाट उसका आफन्त आउँदैछन् रे ! बिहानभरि कोठा खोजेर आएको कहीँ पाइनँ !’
बिरालाले बच्चा सारेजस्तै कोठा सार्दासार्दै हत्तु हैरान भइसकेको थियो ऊ ।
कहिलेकाहीँ भन्थ्यो, ‘काठमाडौंका घरबेटीलाई दुइटा कुरा गर्नबाहेक केही आउँदैन । पहिलो, कहिले महिना मर्छ ? अर्को, महिना मरेको दिन कतिबेला ढोका ढक् ढक् पार्ने ? कोठामा बसेको वर्षौं भइसकेको हुन्छ, तर छक्याएर भाग्ने अपराधीझैं व्यवहार गर्छन् त !’
फलानो ठाउँमा कोठा चाहियो भनेर फेसबुक ट्विटर कहाँ लेखेको थिएन उसले । चारचौरास चहार्दा चहार्दा खोजेजस्तो कोठा भेट्टाउन तीन महिना पर्खनुपर्यो ।
‘बरु छोरी सजिलै देलान्, तर काठमाडौंमा कोठा पाइँदैन त,’ कहिलेकाहीँ ठट्टा गथ्र्यो ऊ ।
कुरैकुरामा एकदिन भन्यो उसले–
‘त्यो पहिलाको घरबेटी को गाउँबाट मान्छे आउने भन्या त हैन रहेछ नि ! म सरेकै भोलिपल्ट पाँच हजार बढी तिरेर अर्को मान्छे बसेछ ! यत्रो हन्डर बेहोर्नुभन्दा त पाँच हजार बढी तिर्थें नि !’ रुन्चे हाँसो हास्यौँ त्यसदिन !
० ० ०
कलेज पढ्ने साथी भन्थ्यो, ‘काठमाडौंमा एक्लै पनि कोठा पाउन गाह्रो छ, दुक्लैलाई त झन् साह्रो छ ।
“कोठामा बस्ने मैमात्र हो भन्यो, ‘ए ! एक्लै रहेछौ, यस्तो मान्छेको त भर हुँदैन, महिना पुगेपछि गुन्टा च्यापेर भाग्न सक्छ भन्छन् । परिवार छौँ भन्यो,
‘एक्लै भए मात्रै कोठा दिने हो, परिवारैलाई त पानी बढी चाहिन्छ, फोहोर उस्तै गर्छन्’ भनेर नाक खुम्च्याउन थाल्छन् ।’ ऊ व्यथा बक्थ्यो ।
उसको पीडा त्यतिमात्र थिएन । भन्थ्यो, ‘कोठामा अचार पिस्न लाग्यो भने पनि ए ! भित्तामा किला ठोकेर सर्वश्वै पार्यो भनेर चिच्याउँदै आइपुग्छन् । फेरि बत्ती उस्तै महँगो ! ५० रुपैयाँको बिजुली बालेको हुन्छ कि हुँदैन, महिनाको तीन सय बुझाउनुपर्छ ! हैरान छु म !
त्यस्तै पाँच वर्षअघिको कुरा हो, एकजना श्रेष्ठ बाजेकहाँ कोठा भाडामा बसेको थिएँ ।
उनी जहिल्यै छोरीलाई हप्काउँथे, ‘के कोठा कोठा चिहाउँदै हिँड्छेस् ? यी पर्वतेको त भर हुँदैन है । जसको घरमा बस्यो, त्यसकै छोरी उडाउँछन् ।’
पाखा–पहाडबाट काठमाडौंमा आएर बस्नेलाई उनी ‘पर्वते’ भन्दा रहेछन् ।
बाउले हप्काएपछि भर्खर ११–१२ पढ्दै गरेकी तिनकी छोरी निन्याउरो मुख लगाउँथी ।
यता कहिलेकाहीँ गाउँबाट बहिनी आउँथी । बहिनी आएकी देख्नासाथ घरबेटीको छोरो जिब्रो पड्काउँदै आउँथ्यो ! घर नफर्कउञ्जेल तलमाथि गरिरहन्थ्यो । बेलाबखत डरलाग्दो पाराले हेथ्र्यो ।
घरबेटीलाई छोरीको, आफूलाई बहिनीको चिन्ता ! केही महिना बसेर छाडिदिएँ त्यो ठाउँ पनि !
० ० ०
यी त केही प्रतिनिधि उदाहरण हुन् । ४० लाख बढी बसोबास गर्ने काठमाडौंमा मुस्किलले १० प्रतिशतको आफ्नो घर छ । बाँकी सबै भाडामा बस्ने हुन् । तर, भाडा बसेबापत कष्ट नबेहोर्ने कमै छन् । भन्छन्, ‘कोठै पाईंदैन । कोठा भेटिहाले पनि घरबेटीको साह्रै किचकिच सहनुपर्छ, पानी, बत्ती उस्तै महँगो !
घर बहालमा बस्ने पनि ‘गाहकी’ हुन् । भनिन्छ, ग्राहक भगवान् हुन् तर काठमाडौंका घरबेटीले त भाडामा बस्नेलाई दोस्रो दर्जाको नागरिक मान्छन् । पानी, बत्ती, शौचालयको आदि सुविधा नदिए पनि हुन्छ, फोहोर फाल्ने व्यवस्थित ठाउँ नभए पनि हुन्छ ठान्छन् । तर, महिना मरेको दिनचाहिँ भाडा नबुझाई हुँदैन ।
नियमतः प्रत्येक घरधनीले घरबहाल कर अनिवार्य भुक्तानी गर्नुपर्छ । तर, काठमाडौंका अधिकांश भाडामा लगाएका घरहरू करको दायरामा आएका छैनन् । ‘घर बहाल कर बुझाउनुपर्छ’ भनेर कोठा भाडा बढाउँछन् तर कर तिर्दै तिर्दैनन् । समस्या साझा हो, सरोकारवालाको ध्यान जाओस् !