साँझको ६ बजेको छ । म यतिबेला काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम गेटअगाडि ठिंग उभिएको छु । बुझ्नुभो ? हो, म व्यवस्थापिका–संसद् भवनको ठीक अघिल्तिर छु । यहाँले अन्दाज गरिसक्नुभो होला– यसको मन्त्री, सांसद् या ठूलै राजनीतिक व्यक्तित्वसँग भेटघाट रहेछ, त्यही भएर त्यहाँ पुगेछ !
होइन !
देशको नियम कानुन, विधि, मर्यादामात्र नभई सिंगै देश यही भवनभित्र बन्धक बनेकाले होला, मलाई राजनीतिप्रति चरम वितृष्णा छ, पट्यार लाग्छ राजनीतिकर्मीको कुरा सुन्दा पनि ! अझ भनुँ, किन किन मलाई यो सेतो घरभित्र कालो मन भएका मानिसमात्रै बस्छन् जस्तो लाग्छ ! झन् सामुन्नेमै देशको दुर्दशा देख्छु कथम्कदाचित मन्त्री/सांसदसँग जम्काभेट भइहाल्यो भने पनि जिउ तर्काएर र मुन्टो फर्काएर हिँड्न मन लाग्छ, कस्सम !
तर, आज प्रसंग अर्कै छ ।
मेरो अघिल्तिर करिब एक सय जनाको जमात छ । दिल्लीको रेल्वे स्टेसन अघिल्तिर मेट्रो ट्रेन कुरिरहेका ‘प्यासेन्जर’ जत्तिकै भीडभाड, ठेलमठेल छ मानिसहरूको ।
अब सोच्नुहोला, यो त जुलुस–सुलुस पो गर्न गएको हो कि ? फेरि बानेश्वर अधिकार–सधिकारका नाममा आन्दोलन, धर्ना–सर्ना गरिरहने ठाउँ पनि त हो !
गलत !
तपाईं यहाँ पनि ‘फेल’ खानुभयो ! यिनीहरूको ‘बिजेनस’ यो होइन । यी त दिनभरि काम गरेर बेलुका घर÷कोठामा फर्कन गाडी कुरिरहेका बबुरा यात्रुहरू हुन् । तर, आधा घन्टा भयो गाडीको नाकमुख नदेखेको ! त्यसैले कर्कलो ओइलाएजस्तो एक तमासको अनुहार लगाएर कोही रेलिङमा अडेस लागिरहेका छन् । कोही मोबाइलमा औंला चलाइरहेका छन् । भीडमा युवा पनि छन् । यिनीहरूको ‘फुर्सद’ त तपाईं अनुमान लगाइहाल्नुहुन्छ । हो, आपसमा जिब्रो पाटपुट पार्दै, खाङखुङ, स्वाँक्कसुँक्क गर्दै आँखा छड्क्याएर एक अर्कालाई हेर्दै पनि छन् !
कुरा गर्दै थिएँ, ऊ माइक्रो आइहाल्यो ।
‘ल चाबहिल, चाबहिल !’
सलह ओइरिएजस्तो, चिलले कुखुरा छोपेजसरी सिट ओगट्न यात्रु माइक्रो भएतिर हान्निए । सबै एकैपटक कुदेपछि गाडी कसले चढ्न सक्नु !
‘ऐया मरेँ ! मेरो खुट्टा कुल्चियो !,’ वृद्धा चिच्याइन् ।
‘लौ न मेरो बच्चा निसास्सियो ! के गर्नुभा’को, आँखा छैन कि कसो ? विस्तारै गरे पनि त चढ्न सजिलो हुन्थ्यो नि, कति हतार गर्या होला !,’ बच्चा बोकेकी महिलाको अनुहार टिठलाग्दो देखियो, रुनमात्र सकिनन् उनी । रोला भन्ने भयले मझेत्रोले बच्चालाई गुटुमुटु बनाइन् !
‘लौन हिजो भर्खर बनाएर ल्याएको बैशाखी जुत्ताले त्यसरी कुल्चिएपछि सखापै भइहाल्छ नि ! यो भाँच्चियो भने त मेरो अर्को खुट्टो पनि ठनक्कै हुन्छ,’ भीडमा अपांगता भएका व्यक्ति पनि रहेछन्, लड्खडाउँदै याचना गर्न थाले उनी !
‘मरेँ नि बाबा !’
हुलमुलले गर्दा माइक्रोको ढोका आफैँ सर्न पुगेछ र एकजना यात्रुको हात कर्याप्यै पारेछ ! ती यात्रु त्यहीँ निलोकालो भए, धन्न रगतचाहिँ आएन । हात दुखेर खपिनसक्नु भएपछि उनी लाखापाखा लागे !
‘कहाँ हात लगाएको शरम छैन, खा.!’
भीडभाडको मौका छोपेर शरीरमा हात लगाउन खोजेपछि एउटी युवतीले दुव्र्यवहार गर्ने युवकको झाँको झारिन् । सात्तो खाएपछि युवक भीडमै अदृष्य भयो !
भीडमभीडमा एक प्रौढ पनि देखिए । आत्तिँदै उनले ज्वारीकोटको गोजीमा हात पुर्याए र आफैं ढुक्क भए । उनको अनुहारबाट भय र त्रासको प्रतिबिम्ब तुरुन्तै निस्तेज भयो । पाकेटमारले गोजी काट्न त भ्याएन भनेर उनी खंग्रङ्ग भएका रहेछन्, बल्ल बुझेँ !
पर बसेर यो सब दृष्य हेरिरहेको मलाई एकाएक रिंगटा चल्न थाल्यो, भाउन्न भएँ !
० ० ०
१६–१७ जना अट्ने सिटमा ३० जना कोचिइसकेका थिए, गन्तव्यमा पुग्ने हतारोले सकी नसकी म पनि त्यहीँ मिसिएँ । र, एउटामात्रै खुट्टा टेकेर ढोकामा झुन्डिएँ ।
‘माइक्रो भरिसक्यो अब जाऊँ गुरुजी !,’ भीडबाट निसास्सिएको आवाज आयो ।
तै पनि खलाँसी चिच्याउन छाडेको थिएन– ल है जानै लाग्यो, चाबहिल चाबहिल ! यही हो अन्तिम गाडी, आउनुस् सीट खाली छ !
तर, माइक्रोमा तीलको दाना राख्ने ठाउँ थिएन ! सोचेँ– मिल्ने भए यी ड्राइभर खलासीले हुटमा पनि ५० जना राखेर लैजान्थे । मानवधिकार–सानवधिकारका चर्का कुरा गर्दै चिल्ला गाडी चढेर हिँड्नेलाई यसैगरी गाडीमा खाँद्नुपर्ने, अनि आवाज उठाउँथे कि ?
बचेखुचेको मानव अधिकार पनि काठमाडौँका माइक्रोले यसरी खिल्ली उडाइरहेका छन् ।
फुच्चे खलासी पीपलको फेदतिर अघि बढ्यो । नजिकैको नांग्लो पसल पुग्यो । पाइलट चुरोट किन्यो र झ्वार्र सलाई कोरेर सल्कायो । चार सर्को चुरोट तानेपछि फेरि त्यहीँ आयो र पूर्ववत् मुद्रामा चिच्याउन थाल्यो– ‘ल चाबहिल, चाबहिल !’
भीडमा चाबहिलसम्म मात्रै जाने यात्रु छैनन् । आधा बढी त गोठाटारै पुग्ने छन् । जोरपाटी जाने पनि उत्तिकै छन् । तर, माइक्रोले चाबहिलसम्म मात्रै जान्छु भन्छ । हेर फसाद् ! र पनि यात्रु सकीनसकी चढे । बाध्यताजति निर्मम दुनियाँमा के हुन्छ र !
चढ्न सक्ने चढे, नसकेका जति क्वारक्वार्ती हेर्दै अर्को गाडीको प्रतीक्षामा बसे ।
‘बाबु ! यो गाडी त गोठाटारको हैन र, ब्यान त्यहीँबाट चढेर आएको थिएँ त ?,’ लट्ठी टेकेका वयोवृद्धले खलासीलाई उदेकलाग्दो पाराले सोधे ।
‘ब्यान गएको भन्दैमा अहिले पनि जान्छ ? चाबेलसम्म यसमा जानुस्, त्यहाँबाट अर्को पाइन्छ, पर्खेर नबस्नुहोस् । यो गाडी पनि छुटे यतै रात बिताउनुपर्ला नि !,’ खलासी च्याँट्ठियो ।
आनाकानी गर्दै वृद्ध माइक्रो चढे । र, खाँदिदै भित्र पुगे ।
ढोकाको छेवैमा नातिनीकी उमेरकी कलेज पढ्ने युवती बसेकी रहिछन्, तिनलाई अनुरोध गर्न थाले– नानु, भर्खर अस्पताल गएर आएको एकछिन बस्न दिन्छ्यौ कि, ढाड दुखेर उभिनै सकिनँ ?
‘यो महिला सिट भन्ने थाहा छैन ? ऊ त्यहाँ पढ्नुस्, महिला सिट, दुई जना लेखेको छ त,’ लट्टे पड्केजसरी युवती पड्किएपछि वृद्ध लल्याकलुक भए । र, खुइया काढ्न थाले ।
दुई जना मुस्किलले अड्ने ढोकामा दश जना झुन्डिएका छन् । समाउने त परै जाओस्, खुट्टा टेक्नेसमेत ठाउँ छैन । कसैले कुममा समाएका छन् ।
कोही सिटमा अढेस लागेका छन् । कुप्र्याउँदा कुप्र्याउँदा ढाड भाँच्चिनै लागिसक्यो ! ब्रेक लगाउँदा पछाडिका यात्रु ढुन्मुनिँदै अगाडि आइपुग्छन् । यस्तो सकस बेहोरेर पनि गाडी चढ्नु ! तर, त्यो भन्दा अर्को विकल्प के छ र !
‘ओई ! राम्ररी समात्न भन्, खस्लान् नि तेरा बाजेहरू अनि झ्यालखानामा जाकिएलास् !,’ अगाडिबाट चालक बेलाबेला खलासीलाई हकार्छन् । आफैँ त एउटा खुट्टा मात्रै टेकेर झुन्डिएको छ, कसलाई बचाउनु उसले !
० ० ०
‘ए ! ए ! सबैलाई टाउको भित्र हाल भन् है, त्यहाँ पर ट्राफिक रहेछ, फेरि चिट काट्यो भने त दिनभरिको कमाइ स्वाहा हुन्छ ?,’ चालक फेरि चिच्च्याए ।
गाडीभित्र जति खाँदे पनि हुने, तर गाडी बाहिर टाउको निकालेको चाहिँ देख्न नहुने ! धन्य ट्राफिक, धन्य नियमकानुन !
‘ढोका लगाउनै मिल्दैन हजुर, के गर्ने होला, टाउको भित्र हाल्नूस् भन्दा कोही मान्दैनन्,’ खलासी निरीह देखियो ।
‘अघि हाल्ने बेलामा आँखा नदेख्ने, अहिले कसरी टाउको भित्र राख्नू, त्यही परसम्म त हो नि,’ भीडभित्र यात्रुको आवाज पनि आयो ।
‘ओई गाडी रोक् !’
‘ला ! भेट्टाइहाल्यो नि ! चिट् काट्न पाइन्छ भनेर अँध्यारामा लुकेर बस्या पो रहेछ, लोभले लाभ, लाभले विलाप भन्या यही हो, खाइस् खले !,’ ड्राइभर चिसो भयो ।
‘किन हालिस् हँ यसरी मान्छे, चड्कन लाउँ?’
त्यही बखत भित्तामा आँखा पुगेछ । लेखिएको रहेछ– जिब्रोको गरिमा मिठो बोलिमा !
ट्राफिकले यस्तै बोल्दा रहेछन् र पो संगठनले आफ्नै कर्मचारीलाई सिकाउन नारै बनाउनुपरेछ, धत् !
कागजपत्र लिएर चिट थमायो ट्राफिकले !
० ० ०
‘ल चाबहिल आयो सबैजना झर्नूस् ।’
‘अनि यहीँसम्म मात्रै भनेको होइन, त्यसो भए गाडी फर्काऊ न त ?,’ अघिका वृद्धले जिज्ञासा राखे ।
‘फर्काउँछौँ, तपाईं झर्नुस् न पहिला ।’
खलासीले तानेरै वृद्धलाई ओराल्यो । खाली भयो गाडी ।
वृद्ध ओर्लिएपछि कम्मरबाट मुढी हात तल झरेको पाइन्ट माथितिर तान्दै खलासी फेरि चिच्याउन थाल्यो– गोठाटार गोठाटार !
‘अघि चाबहिलसम्म मात्रै भन्या होइन,’ वृद्धले आश्चर्य माने । मौन देखियो खलासी ।
अर्का यात्रुले वृद्धलाई सम्झाए, ‘बानेश्वरबाटै गोठाटार भनेर आयो भने त पैसा कम उठिहाल्छ नि ! गोठाटारकै यात्रुले गाडी भरिइहाल्छ, बीचको यात्रु कहाँबाट हाल्न पाउनु ? चालक खलासीले दिनहुँ यसैगरी बठ्याईं गर्छन् र यात्रुलाई सकस दिन्छन् ! जमाना बाठाहरूको हो, तपाईं–हामीजस्तो सोझासिधाको होइन, कुरा बुझ्नुभो बाजे ?’
वृद्धले मुन्टो हल्लाए । र, खुइया काढ्दै पुनः माइक्रो भित्र गएर बसे ।
यो त एउटा प्रतिनिधि घटनामात्रै हो । यातायात क्षेत्रमा यस्ता अनेकौं ज्यादती छन्, जसले यात्रुहरूलाई दिनहुँ प्रताडित तुल्याउँछ । यसप्रति सरोकारवालाको ध्यान कहाँ पुग्छ र ?
हामी उपभोक्ताहरूको खुसी स–साना कुरामा छन् । पैसा तिरेबमोजिमको बिजुली पाए, खानेपानीको सट्टा धारामा हावा नआए, स्टेसनमा भनेको बेला बस आए, सुविधासँग गाडी चढ्न पाए र श्रमसीप बिचौलियाले नखाए औधी खुसी हुन्छौँ । यत्ति त गरिदिउँ !
abiralram75@gmail.com