site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
बड्डाको न्यायको  प्रतीक्षामा सुदूर पश्चिम

सुदूर पश्चिमका बासिन्दाको लामो समयदेखि केन्द्रसँग एउटा गुनासो रहने गरेको छ । केन्द्र अर्थात् काठमाडौंले हामीलाई सौतेनी व्यवहार गर्छ ! गुनासो जायज पनि हो । नेपाल समग्ररूपमा विकासको वाञ्छित गतिमा अगाडि बढेको त छैन । तर मन्द नै सही, एउटा गति भने समातेको छ भन्ने नकार्न पनि मिल्दैन । तर, त्यो मन्द गतिमा समेत सुदूर पश्चिमलाई हातेमालो गरेर लग्न नसकिएको पनि यथार्थ हो । झुम्रेली बाजा, देउडा नाच, गौडा नृत्य, अनुपम लोक सङ्गीत, सुन्दर भाषा र सबभन्दा महत्त्वपूर्ण सोझा मानिस । आर्थिक पछौटेपन त छँदैछ । नेपालको मानव विकास सूचकांक नै यसको साक्षी छ। सामाजिकरूपमा समेत यो क्षेत्रको पछौटेपनलाई देखेर आखा भरिएर आउँछ! छाउपडी प्रथा, छुवाछुत, भेदभावको अवस्था अझै कहालीलाग्दो छ ।

निश्चितरूपमा त्राणको आवश्यकता छ र यस दुरवस्थाबाट मोचन जरुरी छ । आशा भरेको नेत्रले सुदूर पश्चिमले काठमाडौंलाई हेरिरहेछ । त्यो आशा पूरा गराउन, लोकतान्त्रिक अधिकार प्रयोग गरेर, धेरैलाई, हामीलाई न्याय देऊ भनी पठाइयो । तर, बिचराहरूको हातमा शून्य सिवाय केही लागेन । पंचायतमा लोकेन्द्रबहादुर चन्द, अहिले शेरबहादुर देउवा !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शेरबहादुर देउवालाई यस क्षेत्रले धेरै दियो । उनलाई स्थापित गराएको नै सुदूर पश्चिमले हो । विसं २०४८ सालको चुनावमा सुदूर पश्चिमलाई कांग्रेसमय बनाएकै पारितोषिक आजसम्म खाँदैछन् देउवा ।  तीनपटक प्रधानमन्त्री, पार्टी सभापति सबै उनलाई सुदूर पश्चिमले नै बनायो ।

चुनावी पारितोषिकमात्र हैन माया पनि अगाध पाए । स्नेहिल भावले उनलाई त्यस क्षेत्रका बासिन्दाले नामै  दिएका छन् - "बड्डा"! बड्डा जबजब मत माग्न आए, तबतब उनको आशाभन्दा बढी नै दिएर विजयी बनाएर पठाए । चाहे कांग्रेस, चाहे कम्युनिस्ट जोसुकै होउन् जब उनी त्यस भूमिमा टेक्छन् - "बड्डा आया हुन्" भन्दै सादर उनको स्वागतमा तत्पर हुन्छन् सुदूर पश्चिमेलीहरू । हुनत, त्यहाँका वासिन्दाले धेरैलाई उचाइ दिए पनि देउवाको उचाइलाई, भीम रावल, तारणीदत्त चटौत, लेखराज भट्ट, लोकेन्द्रबहादुर चन्द आदिले आजसम्म छुन सकेका छैनन् ।

उनले पनि त्यहाँका लागि केही नगरेको होइन। तिनीहरूकै संसर्गमा रमाउने बड्डाले, अवसर प्राप्त गर्ना साथ, अरू सबैलाई थाती राखेर, पहिलो खेपमै, रमेश लेखकलाई मन्त्री बनाउनुले उनको त्यस क्षेत्रप्रतिको मोह स्पष्ट हुन्छ । तर, त्यतिमात्र किमार्थ पर्याप्त छैन । त्यत्रो प्रेमको ऋण तिर्न त संभव छैन परन्तु इमानदार प्रयत्न भने गर्नु आवश्यक छ। बड्डाको न्यायका प्रतीक्षारतहरूले न्याय पाउनु जरुरी छ ।

sumedhmishranp@gmail.com

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३  १३:१७
प्रतिक्रिया दिनुहोस्