चण्डिका मैनाली
दोलखा जिरीका ६५ वर्षे मानबहादुर जिरेललाई मैले जिरीमैै भेटेकी थिएँ । दौरा, सुरुवाल कोटमा चस्मा लगाएका लगाएका जिरेल बाजे पछाडि झोला भिरेर जिरी अस्पतालमा आँखा जचाउँन जाँदै थिए । के काम गर्नुहुन्छ भनेर सोध्दा उनले भने, ‘म अहिले घरैमा बसिरहेको छु, झाँक्री काम गर्छु, अनि आलीकोदाली, घाँसपात गर्ने त्यही त हो नि’ ।
आँखाको उपचारका लागि आफू अस्पताल जान लागेका भए पनि जिरेल बाजेले भुईँचालोमा सातो गएका १५–२० जनाको सातो फकाए रे ! भूईँचालोको डरले ज्वरो आएका, खान रुचि नभएका र झस्कने बेथा लागेका बिरामीलाई तन्त्रमन्त्र र जडीबुटीबाट उपचार गरेको सुनाउँदा उनी दंग परेका देखिन्थे ।
गत वर्ष वैशाख २९ गतेको भुइँचालोले दोलखा जिल्लै स्वाहा पारेको थियो । मेरो आफ्नो घर पनि ढलेको थियो । बाल्यकालका सबै कुरा सम्झनामा राखिदिएर भुइँचालोले मुटु चस्काएको थियो आजभन्दा ठीक एक वर्ष अगाडि । मैले ‘नोस्टाल्जिक’ हुँदै कम्प्युटरमा फोटो ग्यालरी खोलेँ । भदौ २०७२ को फोल्डरमा जिरेल बाजेको फोटो भेटियो । म २०७२ भदौ ताका एन्टेना फाउन्डेसनमा काम गर्थेंँ । त्यतिबेला सहकर्मीहरूसँगै भुइँचालोपछिको अवस्था हेर्न र सकेको सहयोग जुटाउन मद्दत गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रेको भ्रमणमा गएको थिएँ ।
जिरेल बाजेले त्यस भेटमा आँखाभरी आँसु पारेर भनेका थिए – ‘भुँइचालाले सबै कुरा सखाप पार्यो बाबु, तै’ नि कान्छो छोरालाई छुट्याएको घर भने जस्ताको तस्तै छ । भगवानले पनि मेरी टुहुरी नातिनीलाई चाहिन्छ भनेर नभत्काई राखिदिएजस्तो ! ’
हुनत, मानबहादर जिरेल आफैँ पनि भुँइचालापीडित हुन् । उनी बस्ने घर कटेरो सबै लडाएपछि पाल टाँगेर बसे । दुई छोराका बाबु मानबहादुरले बुढेसकालमा बूढाबुढीमात्रै बस्नु परेको दुखेसो गरेका थिए । जेठो छोरा गाउँमै खेतीकिसानी गर्ने भए पनि कुरो नमिलेपछि भिन्नै बसेका छन् । कान्छो छोरा रङ्गे जिरेल १४ वर्षको उमेरमै भूमिगत भएका थिए रे २०५२ सालतिरै । अनि २४ वर्षको उमेरमा त उनको मृत्यु पनि भएछ २०६२–०६३ को आन्दोलनताका । भूमिगत हुँदा नै रङ्गे जिरेलले बिहे गरेका रहेछन् हेटौंडाकी तामाङ्की छोरीसँग । बुहारी ल्याएपछि बैङ्कबाट ऋण लिएर उनले जिरी बजारमा छोराबुहारीलाई पसल पनि खोलिदिएका थिए रे उनले । तर छोराले पार्टी छोडेनन् भूमिगत नै भइरहे । ‘कमरेड बलिदान’ थियो रे छोराको पार्टीको नाम । राजनीति गर्दा बेलाबेला घरआउने जाने गर्थे रे । पसल गर्दा लिएको ऋण छोराको मृत्युपछि आएको पैसाले तिरे रे ।
‘१० वर्ष भयो । र पनि रङ्गेको घर चाहिँ केही भएको छैन’ भन्दै थिए मानबहादुर जिरेल, ‘त्यत्रो भुईँचालोमा पनि ठाडै छ उसको घर । दलानको सिकुवा अलिकति नुहेको छ, अरु जस्ताको तस्तै छ । उसलाई छुट्याको सिरक डस्ना, खाट, दराज भाँडाकुँडा सबै छ । हामीले चलाएका पनि छैनौ ।
मैले सोधेँ ‘छोराको त्यो सबै घर र सम्पत्ति के गर्ने सोच्नुभएको छ,’ उनले भने, ‘नातिनी छ नि मेरो । पहिला त यहीँ बस्थी । छोरो बितेपछि बुहारीले उतै लगेकी हो । माइतीमा राखेको छ रे । बुहारीले भने अर्कैै बिहे गरी रे ! हेटौंडामा नातिनीले ‘मेरो घर जिरी हो, रङ्गे जिरेलको छोरी हुँ’ भन्छे रे !
‘ए… अनि आइन् भने नातिनीलाई चिन्नुहुन्छ ?’ मैले सोधेको थिएँ । ‘चिन्न त केलाई नचिन्थ्यो नि ? पाँच बर्खसम्म पालिराखेको नातिनी पो त ! आमाले लुकाएर लगी । अब त ठूलै पो भई होला । १० वर्ष भइसक्यो नातिनीलाई नदेखेको पनि । उसले पो हामीलाई चिन्छ कि चिन्दैन ?
आफ्नो मायाको डोरो कान्छो छोराको सन्तानले आफूलाई चाहिँ नचिन्ने हो कि भन्ने पीर थियो बाजेलाई । आउनेबित्तिकै छोराको नामको सम्पत्ति नातिनीको जिम्मा लगाउन पाए मरेपछि नि शान्ति हुन्थ्यो भन्थे जिरेल बाजे । ‘नातिनी आओस्मात्रै उसकै नाममा पास गर्दिन्छु, उसको घर र अरू सबै सम्पत्ति ।’
यति माया गर्ने बाजेकी नातिनी आइन् कि आइनन् होला ?
फेरि भेट भए सोध्ने थिएँ – जिरेल बाजे ! नातिनी भेट्नु भयो ?
हाल कीर्तिपुर, काठमाडौं ।
kanchhuchandi@gmail.com