गरिमा लुइँटेल
हिजोआज सामाजिक संजाल र अनलाइन पोर्टलहरूमा प्रस्तुत सामग्री हेर्दा नारीवादी सोच र प्रवृत्तिका पक्षमा सकारात्मक विकास भएको मान्न सकिन्छ । नैसर्गिक अधिकार प्राप्त भएको छैन भने महिलाले मात्र हैन प्रत्येक नागरिकले आवाज उठाउनु आवश्यक छ । एक्काइसौँ शताब्दीका महिला घरधन्दामा सीमित छैनन् । आफ्नो हक अधिकार र स्वतन्त्रताका लागि आफैँ बोल्न सक्षम हुँदैगएका छन् । यो परिवर्तन हो ।
हाम्रो मानसिकतामै नेपाली समाज पुरुष प्रधान छ भन्ने गलत छाप बसेको छ । युगौँदेखि यही सोचको सेरोफेरोमा रुमल्लिएकाले पनि होला । हिजो साँझ, म घर आइपुग्दा सधैँभन्दा अलि ढिलो भयो । आमाका प्रश्नको वर्षा सुरु भयो । दाजु मभन्दा अझै ढिलो भए । हामी दुवै ढिलो हुनुको कारण एउटै थियो – अफिसबाट ढिलो निस्कनु, बाटामा ट्राफिक जाममा फस्नु । तर आमाले मलाई गर्नु भएको केरकार र दाजुलाई किन ढिलो आइस् भनेर सोधिएको प्रश्नमा आकाश जमिनको फरक थियो ।
यसको कारण के हो त ? आमाको मस्तिष्कमा बसेको परम्परागत सोच । छोरो ढिलो आउँदा कसैले केही भन्दैन तर छोरी अबेर घर फर्किँदा समाजले कुरा काट्छन् भन्ने डर यसमा जिम्मेवार छ । सुरु तपाईँ, ऊ, त्यो या समाजभन्दा पहिले म र हामीबाटै गर्ने हो । अरूले के सोच्छन् वा के भन्छन् भन्ने डरले हामीलाई आफँै विचार गर्न नसक्ने बनाएको छ ।
केही महिलावादी महिलालाई अघि ल्याउन पुरुषलाई पछाडि पार्नु जरुरी छ भन्ने सोच्छन् । सबै पुरुषलाई गाली गरेर घृणा ओकलेर लेखिएका थुप्रै लेखरचना अचेल पढ्न पाइन्छ । लाग्छ, त्यस्ता शब्दहरू लेख्न कलम समाउने वा ल्यापटपको की बोर्ड थिच्ने औँलाले ती औँला वा हातमा बाबुको पनि अंश छ भन्ने वा बाबु पनि एक पुरुष नै हुन् भन्ने बिर्सेका छन् । लाग्छ, लेख्ले बेलैमा उनले भोलि कुनै पनि अवस्थामा पुरुषको मुखै नहेर्ने अठोट पनि गरिसकेका छन् ।
म नारी भएरै पनि मेरो मनमा त्यस्ता सोच राख्ने नारीप्रति दया जागेर आउँछ । मेरो प्रश्न छ त्यस्ता नारीवादी सोचका ठेकेदारलाई – के तपाईंहरूसँग प्रकृतिलाई चुनौती दिनसक्ने क्षमता छ ? पुरुषको सहभागिताविना एक्लैले सृष्टि अघि बढाउने क्षमता छ ? यसो त आफूलाई जन्म दिने आमा पनि नारी नै हुन् भन्ने भुलेर नारीको अस्मितालाई नै चुनौती दिएर लेख्ने पुरुष पनि छन् । आफू अघि आउन अरूलाई पछि पार्नुपर्छ भन्ने सोच राख्नु नै हाम्रो ठूलो कमजोरी हो । अझ कोही त पुरुषसँग समान हुनकै लागि आफूले पनि मनपर्दी बोल्न र गर्न पाउनुपर्छ भन्ने रोगबाट ग्रस्त पनि छन् । तिले बिर्सन्छन् – गलत पुरुषले गरोस् या महिलाले गलतै हुन्छ । पुरुषले गरेको गल्ती सही र महिलाले गरेका सहीलाई गलत भनेर समाजले आकलन गर्छजस्तो त लाग्दैन । कम्तीमा आजको समाजले त पक्कै गर्दैन ।
हाम्रो सामाजिक आर्थिक वा राजनीतिक जीवनमा महिला पछि पर्नुको मूल कारक पुरुष हुन् र पुरुषमात्र जिम्मेवार छन् भन्ने सोच्नु हाम्रो भ्रम हो । आजको समयमा कुनै शिक्षित पुरुषले घरगृहस्थीमा मात्रै सीमित अनपढ महिलालाई घरमा भित्र्याउन चाहँदैन । आफ्नी पत्नी पढेलेखेकी र बाहिरी दुनियासँग घुलमिल हुनसक्ने होस् भन्ने चाहना सबैको हुन्छ । बाबु छोरासँगै छोरीलाई पनि राम्रो शिक्षा दिएर सक्षम बनाउन चाहन्छन् ।
बरु महिला आफै महिलाका शत्रु बन्ने गरेका छन् । कहिले बोक्सीको आरोपमा मलमूत्र खुवाउने, कहिले दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गरेर घरबाट निकाल्ने सासुका रूपमा त कहिले पुरुष विवाहित भएको जान्दाजान्दै सौता हुन तम्सने नारीका रूपमा ।
महिलाहरूका यिनै रूपले गर्दा महिला भएर पनि महिलालाई नै पछि पार्ने ‘मैला’ बनेका हुन् । यस्ता हजारौँ घटनाको थुप्रोमा उभिएर पनि महिला हेपिनुको कारण पुरुषमात्रै हुन् भन्ने ठान्नु कति उचित होला ?
हो, समाजमा बलात्कारलगायतका यौन दुव्र्यवहारका घटना आफ्नै घरभित्र आफ्नाहरूबाटै समेत हुनेगरेका छन् । यसको एउटा कारण प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको हाम्रो देशको कानुन हो । यस्ता विषयमा बोल्न आवश्यक छ। आवाज उठाउन जरूरी छ ।
महिला र पुरुष दुवै समाजका अभिन्न अङ्ग हुन् । एकविना अर्को अपूर्ण नै रहन्छ । एकले अर्कोलाई सहयोग गर्दै दुवै मिलेर अघि बढ्न सके सुन्दर, सभ्य र समृद्ध समाजको निर्माण सम्भव छ । एकपाखे चिन्तन, एकपक्षीय विचार वा दृष्टिकोण बोकेर समाजलाई कसरी अगाडि बढाउन सकिएला र?