site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमै डुबाउने चिनियाँ जहाज ल्याउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले बाँकी रहेका ४ वटा चिनियाँ जहाज खरिद प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई पत्र काटेपछि निगमले खरिदको प्रक्रिया अघि बढाएको हो । निगमले यसअघि दुईवटा चिनियाँ जहाज ल्याइसकेको छ ।

सरकारले यसअघि ल्याएको चिनियाँ जहाज निगमलाई ‘सेतो हात्ती’ बनिरहेकै बेला थप ४ वटा जहाज ल्याउने तयारी थालेको हो । “मन्त्रायलबाट जहाज खरिद प्रक्रियाका लागि पत्र आएको छ,” निगम स्रोतले बाह्रखरीसँग भन्यो, “मन्त्रालयको पत्रअनुसार निगमले पत्र काटेको हो ।”

पर्यटनमन्त्री जीवनबहादुर शाहीले केही दिनअघि नागरिक उड्डयन प्राधिकरण र निगमलाई तत्काल जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । प्राधिकरणबाट मिलाउनुपर्ने प्राविधिक कुरा तत्काल समाधान गर्न र निगमलाई आन्तरिक रूपमा तयारी गर्न निर्देशन दिएका थिए । 

अहिले भइरहेकै दुई थान चिनियाँ जहाजको आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको छ । निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) ले एक वर्ष र १८ सिटे ‘वाई १२–ई’ जहाजले नौ महिनामा जति आम्दानीको तीन गुणाभन्दा बढी सञ्चालन खर्च गराएको छ । 
०७१ पुसबाट ०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, वाई १२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । यही एक वर्षमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र वाई १२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ ।
मन्त्रालय स्रोतका अनुसार थप चार वटा जहाज ल्याएपछि निगम झन् धराशायी बन्छ । “दुईवटै जहाज पाल्न नसकिएको बेला थप चार वटा जहाज पाल्न निकै गाह्रो हुन्छ,” स्रोतले भन्यो, “तर, सरकारले थप जहाज ल्याउने भनेपछि नल्याउने कुरै हुँदैन ।” 
अहिले भएकै एमए–६० ले एक वर्षमा १४ करोड १० लाख आम्दानी गरेको छ । तर, यसलाई उडाउन आवश्यक इन्धनमा १३ करोड ६ लाख खर्च भएको छ । त्यस्तै, वाई १२–ईले नौ महिनामा १ करोड २२ लाख रुपैयाँ आम्दानी गरे पनि त्यति अवधिमा इन्धनका लागिमात्र १ करोड ४९ लाख खर्च भएको छ ।
चिनियाँ पक्षले बिमा, स्पेयर पार्ट्स, जहाजको पर्फर्मेन्स तथा पाइलटको विषयमा समाधान गरेमा जहाज ल्याउन कुनै समस्या नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए ।
सरकारले एउटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज खरिदको निर्णय गरेको थियो । दुई वर्षअगाडि नै चीनले एउटा एमए–६० र एउटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो । खरिद गरिने जहाजको ७० प्रतिशत रकम सरकारले पठाइसकेको छ । बाँकी खरिद गरिने जहाजको निर्णय मन्त्रीस्तरीय निर्णय भए पुग्ने अवस्था रहेको भन्दै मन्त्रीरिषद् समितिले मन्त्रालयलाई आफैं निर्णय गर्न पटक पटक ताकेता गरेको थियो । 
चिनियाँ जहाज ६ वटा किन्न ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंक मार्फत ऋण उपलव्ध गराइएको हो । उक्त रकम मध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिनेछ भने बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो । 
निगम स्रोतका अनुुसार कहिलेसम्म जहाज आइपुग्छ टुंगो भएको छैन । “जहाज ल्याउनका लागि अहिले प्राविधिक रूपमा काम अघि बढेको छ,” स्रोतले भन्यो, “प्राविधिक रूपमा काम सकेपछि जहाज नेपाल ल्याउँछौं ।” 
 
तस्बिर : सुशील भट्टराईको ट्वीटर
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro