ब्लग
आदरणीया सुजाता कोइरालाज्यू,
तपाईँलाई क्यान्सर रोग लागेको खबरले मलाई दुःखी तुल्याएको छ । तपाईँ कुशल राजनीतिज्ञ हुनुहुन्छ । तपाईँले बेलाबेलामा पार्टीभन्दा माथि उठेर व्यक्त गर्ने फरक विचार मलाई मन पर्छ । त्यसमाथि तपाईँ उप्रधानमन्त्री भइसक्नुभएको व्यक्ति, यसै पनि नागरिकको हैसियतले तपाईँप्रति श्रद्धा नै छ । सामाजिक सञ्जालहरूमा तपाईँलाई लागेको रोग, तपाईँले सरकारबाट मागेको सहयोग र सरकारको निर्णयबारे विभिन्न टिप्पणी पढेपछि यस पत्रमार्फत् मनमा लागेका कुरा लेख्ने जमर्को गरेको छु ।
मुलुक चलाउने सरकार नै भ्रष्टाचारको अखडा बनिरहेको देशमा नेताहरूविरुद्ध जनताले निराशा र आक्रोश व्यक्त गर्नु अस्वाभाविक होइन तर कुनै पनि नेता बिरामी हुँदा वा मृत्युको मुखमा पुग्न लाग्दा जनसाधारण खुसी नै भने हुँदैनन् । हामी सामान्य जनता त्यति निर्दयी कहाँ हुन सक्छौँ र ? आखिर संसारमा को पो अमरअजर छ र? मलाई लाग्छ, तपाईँलाई क्यान्सर लागेको खबरले नेपाली जनता दुखी नै होलान् । तपाईँको स्वास्थ्य लाभको कामना पनि गरिरहेका होलान् । तपाईँले उपचारका क्रममा लाग्ने खर्च सरकारसँग एक करोड रुपियाँ माग गर्नु भएकोमा मन्त्रिपरिषद्ले पचास लाख दिने निर्णय गरेछ । उपचारका लागि तपाईँ सिंगापुर पनि प्रस्थान गरिसक्नुभएको छ । चाँडै निको भएर फर्कनुहोला शुभकामना ! यसै क्रममा नेताहरूको स्वास्थ्य उपचार खर्चका बारेमा उठ्ने गरेका विभिन्न गुनासो र टीकाटिप्पणीका विषयमा मेरा विचार राख्न चाहन्छु ।
के नेताहरूलाई उपचार खर्च दिनुपर्छ ? दिनै परे कति र कस्तो अवस्थामा दिनुपर्छ ? तपाईँको स्वास्थ्य उपचारको प्रसंगमा आउने विचार, गुनासा र टिकाटिप्पणी अन्ततः यीनै दुई प्रश्नको वरिपरि घुिमरहेका छन् । मेरो विचारमा नेताहरू बिरामी पर्दा र उनीहरूलाई आर्थिक अभाव हुँदा राज्यले सहयोग गर्नुपर्छ । यस पछाडिको मान्यता के हो भने राजनीतिक नेता सिद्धान्ततः जनताको लागि निःस्वार्थ रातदिन खट्ने देशका अगुवा हुन् । जनतालाई सेवा गर्नुबाहेक उनीहरूको अर्को उद्देश्य केही हुँदैन । न त उनीहरूको नियमित आम्दानी नै हुन्छ । हामी निजी वा सरकारी क्षेत्रमा काम गर्ने जनता त धेरैथोरे जे भए पनि काम गरेबापत पैसा पाउँछाैं । हामी कमाएको पैसा बचत गर्न सक्छौँ र परेको बेला त्यही पैसा प्रयोग गरेर उपचार र्खचको जोहो गर्न सक्छौँ । तर, नेताहरू देशको लागि सबै नाफानोक्सानको हिसाब छोडेर खाली हात मैदानमा आउँछन्, सरकारमा वा संसद् भवनसम्म पुग्छन् । जनताको सेवा गर्छन् र खाली हात फर्कन्छन् । उनीहरू मृत्युको अवस्थामा पुग्दा राज्यले सहयोग नगरे कसले गर्छ ? यो बडो गम्भीर सैद्धान्तिक प्रश्न हो । यो प्रश्नमा मेरो सोझो उत्तर हो – पैसाको अभावमा कुनै पनि नेता मर्नु हुँदैन । यो सैद्धान्तिक प्रश्नको बारेमा पछि पुनः आउनेछु ।
प्रसंग स्वाथ्यको भएकाले आज मेरो दिमागमा चार जना पात्रहरू नाचिरहेका छन्– विजय खड्का, सन्ध्या शाही, चित्र वाग्ले र शान्ता चौधरी जसले स्वास्थ्य क्षेत्रमा विद्यमान फरकफरक चित्र र मान्छेको चरित्रलाई प्रतिबिम्वित गर्छन् ।
विजय खड्काः एक गरिब परिवारका १९ वर्षीय छोरा विजय खड्काले गत भदौ महिनामा आफ्नो उपचारका खर्चका कारण परिवारमा परेको चरम छटपटाहट सहन नसकेर टिचिङ अस्पतालको छतबाट आफैलाई खसालेर मृत्यूवरण गरे । त्यसो त मृगौलाका बिरामीलाई सरकारले डायलोसिसको सुविधा दिएको छ तर यो प्रशासनिक रूपमा निकै झन्झटिलो छ । सहुलियत पाउन सबैभन्दा पहिले रोग पहिचान भएको डाक्टरको पूर्जी चाहियो । गाउँ विकास समिति वा नगरपालिकाले यो बिरामी विपन्न हो भन्ने सिफारिस दिनुपर्यो, अनि त्यो पत्र लिएर जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालयमा धाउनुपर्यो । त्यहाँबाट पत्र पाएपछि मात्र सरकारले तोकेको अस्पतालमा गएर सुविधा उपचार गराउन पर्यो । एउटा गाउँको सोझो र अशिक्षित बिरामी यति कुरा जान्नु र अस्पताल पुग्नुअघि नै थला पर्छ । उता मिर्गौला डायलोसिसमा दिइने सहुलियत पनि पूरा थिएन । साताको दुईपटकभन्दा धेरै डायोलसिस गर्नुपर्ने भए बिरामीले आफैँ तिर्नुपर्छ । परिवारको आर्थिक भार सहन नसकी विजयले मृत्यु रोजे । गरिबीले थिचिएका र गम्भीर स्वाथ्य समस्यामा परेका नागरिकको पीडा र राज्यको अप्रभावकारी जनस्वाथ्य सेवाको सन्देश दिँदै संसारबाट उनी मौनरूपमा बिदा भए । (हाल सरकारले जति पटक डायोलसिस गर्नुपरे पनि निःशुल्क हुने निर्णय गरेको छ ।)
सन्ध्या शाही – क्यान्सरबाट ग्रसित जुम्लाकी किशोरी सन्ध्या शाही स्वास्थ्य मन्त्री गगन थापालाई भेटेको केही दिनमै मृत्युुवरण गरिन् । भेटमा उनले मन्त्री थापालाई उपचार गराउँदा गराउँदै परिवार सडकमा आएको बताइन् । त्यसभन्दा पनि गम्भीर विषय उनले मर्ने र बाँच्ने विषयमा बिरामीलाई निराश बनाउने अस्पतालको व्यवहार र उपचारमा संलग्नहरूको व्यवहारबारे कटु अनुभव पनि पोखिन् । पूरा जीवन बाँच्न नसके पनि मृत्युसँग कठोर सामना गर्दै गरिबको पीडा र स्वास्थ्य क्षेत्रको बेथिती बारे बोलेर बिदा भइन् ।
चित्र वाग्ले – अर्घाखाँची जिल्लामा १२ वर्ष चिकित्सका रूपमा सेवा गरेका वाग्ले पेटको क्यान्सरबाट संसारबाट बिदा भए । देशविदेशबाट शुभचिन्तकले बीस लाख रुपैयाँ उठाए तर उनलाई बचाउन सकेनन् । सयौं बिरामीलाई बचाएका सरकारी चिकित्सक नै उपचार सहयोग नपाएकोमा सरकारसँग गुनासो गर्दै धर्ती छाडे ।
शान्ता चौधरी – दाङकी नेतृ चौधरी नितान्त गरिब पृष्ठभूमिबाट संघर्ष गर्दै पहिलो संविधान सभाको सदस्य भएकी थिइन् । उनलाई क्यान्सर लाग्यो । उपचारका लागि सरकारले उनलाई पाँच लाख दिएको थियो तर उपचार गराएर बचेको दुई लाख दुईहजार रुपियाँ अरू गरिब दुःखीलाई उपचार गर्न सहयोग मिलोस् भन्दै फिर्ता गरिन् । र, आदर्श नेताको पहिचान दिइन् ।
सुजाता कोइरालाज्यू,
अब तपाईँकै प्रसंगमा फर्काैं ।
मैले माथि लेखेको थिएँ – सैद्धान्तिकरूपमा नेताहरू जनताका सेवक हुन् जसले जीवन नै राजनीतिमा खर्चेका हुन्छन् भने उनीहरूको हेरचाह राज्यले नगरे कसले गर्ने ? साथसाथै मलाई के पनि लाग्छ सिद्धान्त निरपेक्ष नहुने रहेछ, सिद्धान्तले व्यावहारिक अभ्यासको पनि माग गर्छ । हाम्रा व्यवहारहरू समाजको निश्चित सन्दर्भबाट निर्देशित हुन्छन् र समाजकै सहउत्पादनको रूपमा देखापर्छन् ।
जब म सिद्धान्त र व्यवहारलाई सँगै राखेर हेर्छु, माथि आफैँले लेखेका कुरा र वास्तविकताबीच अन्तर्विचार पाउँछु । नेताहरू शक्तिको हिसाबकिताव गरेर राजनीतिमा आउनुहुन्छ – खाली हात आउनुहुन्छ र हात भरेर जानुहुन्छ । जनसेवा कम र मनसेवा ज्यादा गर्नुहुन्छ । प्रजातन्त्र र लोकतन्त्रको २७ वर्षमा नेताज्यूहरूले न त देशको पूर्वाधारमा कायापटल गर्नुभयो न त नागरिकका स्वाथ्य, शिक्षा र रोजगारजस्ता आधारभूत सवालमा क्रान्ति गर्नुभयो । जापान र मलेसियाको विकासको नमुना हेर्दाहेर्दा हामीले वर्षौँ बितायौँ । विकसित देशहरूको अवलोकन भ्रमणमा अनुभव बटुलेर रमायौँ, मलेसियाको ट्विनटावरको मुन्तिर फोटो खिचाएर फर्कियौँ । राज्यले जनतालाई सेवासुविधा दिने होइन कि युद्ध, अस्थिरता, बन्द, हड्ताल गरेर धेरै जुझारु युवालाई तपाइहरूले पलायन गराउनुभयो । देश यसै पनि कछुवाको गतिमा थियो तपाईँहरूले कछुवालाई खरायोमा रुपान्तिरित गर्नु त कहाँ हो जवान कछुवालाई पनि बूढो बनाइदिनुभयो ।
सुजाता ज्यू, सायद, यतिबेला सबै नेपालीहरू सम्पन्न भइदिएको भए र उपचार खर्चका अभावमा मर्न नपर्ने अवस्था भएको पचास लाख त के पचास करोड नै तपाईँको उपचारमा खर्च हुने भए पनि त्यसबारे टीकाटिप्पणी हुने थिएन । मैले यहाँ व्यक्त गर्न खोजेको के हो भने जुन देशमा उपचार खर्चको अभावमा नागरिकले आत्महत्या गर्नुपर्ने परिस्थिति छ, त्यस देशमा आर्थिक रूपमा अपेक्षाकृत सम्पन्न तपाईँजस्ती नेताले अस्वाभाविक उपचार खर्च मागेर तपाईँले आफ्नो राजनीतिक मूल्यसँग कसरी सम्झौता गर्नुभयो ?
म दोधारमा छु, तपाईँको पदीय हैसियतलाई माथि सम्झौँ वा शान्ता चौधरीको चरित्रलाई ? समाजको चरित्र निर्माण गर्ने पनि त तपाईँजस्ता नेताहरूकै काम हो । यति बेला म नमन गर्न चाहन्छु, अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनलाई जसले दुवै मिर्गाैला खराब हुँदा विदेशमा उपचार गर्ने पार्टी र सरकारको पहललाई अस्वीकार गर्दै नेपालमै उपचार गर्ने र मर्नुपरे नेपालमै मर्ने शंखघोष गरे र उनको आत्मबलले उनलाई बचायो पनि ।
राज्यले नेताहरू बिरामी पर्दा सहयोग गरोस् तर तपाईँलगायत सम्पूर्ण नेतागणहरूलाई मेरो आग्रह छ – हामी हरेक निर्णयहरू हावादारीरूपमा नगरौँ । विधि अपनाऊँ, प्रणाली बसालौँ । गरिब देश, अस्थिर सरकार र ठूलो मन्त्रिपरिषद् –यो नै हाम्रो राज्यको पहिचान हो । तपाईँ ठूला नेताहरूले नै यस्तो नजिर बसालिदिनु भयो भने सबै पूर्व मन्त्री र नेताहरूको अस्वाभाविक उपचार खर्च हामी थेग्न सकौँला र ? त्यसैले कुन हैसियतको नेतालाई कस्तो प्रकारको स्वास्थ्य उपचारका लागि अधिकतम कति दिन सकिन्छ, सरकारले कानुन, नियम, कार्यविधि जे बनाउनुपर्ने हो बनाओस् र निर्णय गरोस् । यस्तो गर्दा यत्रो हल्ला खल्ला पनि हुँदैन, कानुनीरूपमा पाउने सुविधा तपाईँहरूले पनि पाउनुहुन्छ ।
अर्को कुरा पनि मनमा लिनु होला, तपाईँहरू नेता बन्नु जनताको छनोट होइन । तपाइहरूकै रोजाइ हो । नियमको अभावमा सरकारसँग सहयोग माग्न त पाउनुहुन्छ तर नेताको हैसियतमा तपाईँंहरूले सरकारलाई बाध्य पार्न मिल्दैन । सरकारले चाहेको भए एक रुपैँया पनि तपाईँलाई सहयोग नगर्न सक्थ्यो तर पचास लाख दिने निर्णय गरेर सरकार तपाईँप्रति उदार बनेको छ । त्यसैले प्रणाली बसाल्नुस्– राज्यबाट उचित सहयोग लिनुस् । स्वदेशकै अस्पतालहरूलाई सुविधासम्पन्न बनाउन पहल गर्नुस् । माथि मैले उल्लेख गरेका पात्रहरूको यथार्थभित्र लुकेको गरिब नेपालीको दुःख र स्वास्थ्य सेवाको चित्र हेरिदिनुस् । सम्भव भएसम्म स्वेदेशमै उपचार गराउनुस् । नबिर्सनुहोला– गरिबहरू उपचार खर्च नभएर आत्महत्या गर्ने अवस्था भएको देशमा उपचार खर्चको नाममा राज्यकोषको दुरुपयोग गर्न पाइँदैन । उपचार खर्चको अभावमा कोही सडकमा भौँतारिनुपर्ने बाध्यता त कोही राज्यको सुविधामा सिंगापुरमा जानपाउने प्रवृत्तिको अन्त्य गरिदिनुस् ।
- विज्ञान शर्मा
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ ११:५०
प्रतिक्रिया दिनुहोस्