नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—१ स्थित रमपुरवा गाउँका बाढी प्रभावित समुदायलाई मंगलबार राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ ।
पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको पहलमा गोंगबु आवास क्षेत्र दिदीबहिनी समूहद्वारा ती बाढीपीडित परिवारलाई नेता कँडेलको निवासमै राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो ।
पाल्हीनन्दन गाउँपालिकाको वडा नं १ नेता कँडेलको आफ्नै वडा भएका कारण नेता कँडेलले बाढीपीडित घरपरिवारका लागि काठमाडौँमा राहत संकलनमा जुटेका थिए ।
वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, खानेतेल, एक पोका नुन, एक जोडी चप्पल, र लत्ताकपडा रहेको नेता कँडेलले जानकारी दिए ।
नेता कँडेलले आफ्नो पहलमा पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकामा गरी एक हजार ६२३ घरपरिवारलाई राहत वितरण गरिसकेको जानकारी दिए । रासस